लोकसंवाद संवाददाता | कारोबार | असार १३, २०७९
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले सोमबारदेखि ६८ करोडभन्दा बढी मूल्यको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि उक्त आईपीओ बिक्रीमा ल्याएको हो ।
सर्वसाधारणलाई भने कम्पनीले यसअघि नै शेयर जारी गरेर दोस्रो बजारमा खरिद-बिक्रीसमेत हुँदै आइरहेको छ । कम्पनीले स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको १० प्रतिशत बराबरले हुने ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
यो शेयरमा आयोजनाबाट अतिप्रभावित क्षेत्र गोसाइँकुण्ड वडा- १ थुमन र वडा- २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा- ४ गोल्जुङ र वडा- ५ चिलिमेका साथै गोसाइँकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा- ४ लाङटाङ, वडा- ५ स्याफ्रुबेँसी र वडा- ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओको निष्कासन बन्द २७ असारमा हुनेछ । सो अवधिभित्र सबै शेयरको माग नपरेको खण्डमा भने ढिलोमा १० साउनसम्म आईपीओ खुला हुनेछ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल लिमिटेड छन् ।