रारा राष्ट्रिय निकुञ्ज कार्यालय : तीन महिनादेखि बिना हाजिर कर्मचारीलाई तलब !

रारा राष्ट्रिय निकुञ्ज कार्यालय : तीन महिनादेखि बिना हाजिर कर्मचारीलाई तलब !

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १४, २०७९

मुगु । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका पोष्टमा कार्यरत कर्मचारीहरूले  गत वैशाखदेखि हाजिर नगरी तलब खाएका छन् । 

गत १ वैशाखदेखि नयाँ हाजिरी प्रयोग आउने व्यवस्था भएसँगै निकुञ्जमा र यस अन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षाका लागी स्थापन गरिएका पोष्टका कर्मचारीलाई बिना हाजिर तलब खुलाइएको हो । 

निकुञ्ज कार्यालयले गत चैत सकिएलगत्तै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सी शाखाले नयाँ हाजिरी फाइलको व्यवस्था गरी र मातहतका सबै पोष्टमा पठाई सक्नु पर्ने भए पनि  तीन महिना बित्न लाग्दासमेत हाजिरी फाइलको व्यवस्था गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीहरूको खातामा हाजिरी नगरी तलब जम्मा गरिदिएको हो । 

मासिक हाजिरी प्रतिलिपी उतार गरी सम्बन्धित कार्यालयको प्रशासन शाखामार्फत कार्यालय प्रमुखले प्रमाणित गरि लेखा शाखाले कार्यरत कर्मचारीहरूको हाजिरी अनुसार सम्बन्धित कर्मचारीको खातामा पाउनुपर्ने मासिक पारिश्रमिक तथा अन्य सुविधाको रकम जम्मा गरिदिनुपर्ने प्रावधान छ । तर, रारा राष्ट्रिय निकुञ्जले हाजिरी बिना नै जेठसम्मको तलब कर्मचारीहरूलाई खुवाएको हो । 

रारा राष्ट्रिय निकुञ्ज कार्यालय र मातहतका ६ वटा पोष्टमा ५५ जना  कर्मचारी कार्यरत छन् । उनीहरूले हालसम्म गत वैशाखदेखि हाजिर गर्न पाएका छैनन् । 

कार्यलय संरक्षण अधिकृत बद्री विनोद दाहालका अनुसार एक हप्ता अगाडि हाजिर रजिष्ट्रार पठाइएको छ । मंगलबार (आज)सम्ममा ती हाजिर रजिष्ट्रार सम्बन्धित कार्यालयमा पुग्ने उनको दाबी छ । 

हाजिरी उतारको  प्रतिलीपी बिनै कर्मचारीको खातामा रकम जम्मा गर्न सम्बन्धित निकायबाट तोक भएअनुसार आफूले रकम जम्मा गरेको लेखापाल नरबहादुर डाँगीले बताए ।

  खड्क सुनार/न्युज कारखाना