विषय भोगको शूल हृदयमा नगाडि कहिल्यै र कसैको मुक्ति असम्भव

विषय भोगको शूल हृदयमा नगाडि कहिल्यै र कसैको मुक्ति असम्भव

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  असार १८, २०७९

    नभस्पृशं दीप्तमनेकवर्णं
    व्याप्ताननं दीप्त विशालनेत्रम् ।
    दृष्ट्रा हि त्वां प्रव्यथितान्तरात्मा
    धृतिं न विन्दामि शमञ्च विष्णो ।। २४ ।।

अन्वय र अर्थ – विष्णो = हे विष्णु ! नभस्पृशं = अन्तरीक्षव्यापी, दीप्तं = प्रज्वलित, अनेकवर्णै = अनेक भयङ्कर आकृतिहरूले युक्त, व्याप्ताननं = फैलिएको मुख भएका, दीप्तविशालनेत्रं = प्रज्वलित विशाल आँखा भएका, त्वां = तपाईलाई, दृष्व्टा = देखेर, प्रव्यथितान्तरात्मा = अत्यन्त भयभीत अन्तःकरण भएको मैले, धृतिं = धैर्य, शमं च = उपशम (मनको शान्ति) पनि, न हि विन्दामि = प्राप्त गरेको छैन ।

भावार्थ – हे विष्णु ! अन्तरीक्ष व्यापी, प्रज्वलित, अनेक वर्ण, विकृत मुख, दीप्त विशाल नेत्र युक्त तपाईलाई देखेर भय भीत चित्त भएको मैले धैर्य तथा उपशम (मनको शान्ति) लाभ गर्न नै सक्दिन ।

विशिष्टार्थ – विष्णु = दूधमा घिउ जस्तै, पुरुष विश्वमा व्याप्त भएर रहेको छ उसैलाई विष्णु भन्दछन् । आकाशलाई आफ्नो गर्भ भित्र लिएर, अनेक वर्णको तथापि अतीत, ज्वलन्त अग्निशिखा मय त्यो जुन तपाईको विस्तृत मुख गव्हर छ, अनि ज्वालामयी  तेजोराशियुक्त ती तपाईका विस्तृत चक्षु छन्, तिनीहरूलाई देखेर मेरो अन्तरात्मा भयले व्याकुल र संकुचित भइरहेको छ । धैर्य  धारण गरेर म आफ्नो  समतालाई अरू ठीक राख्न सक्दिन ।

दंष्ट्राकरालानि च ते मुखानि
दृष्व्टैव कालानलसन्निभानि ।
दिशो न जाने न लभे च शर्म
प्रसीद देवेश जगन्निवास ।। २५ ।।

अन्वय र अर्थ – देवेश = हे देवेश ! दंष्ट्राकरालानि = दाराहरुद्वारा विकृत, च = र, कालानलसन्निभानि = प्रलयाग्निसदृश, ते = तपाईका, मुखानि = मुखहरू, दृष्व्टा = देखेर, एव = नै, दिशः = पूर्व पश्चिम दिशाहरू, नजाने = दिग्भ्रान्त भएको छु, शर्म च = सुख पनि, न लेभे = पाउंदिन । जगन्निवास = हे जगन्निवास ! प्रसीद = प्रसन्न हुनुहोस् ।

विषय भोग पनि कामना हो, 'त्यो मुक्ति, अहिले म पाउँछु'– यो पनि एक कामना मात्र हो । कुनै केही पहिले, कुनै केही पश्चात्, परन्तु अद्भुत ब्रम्हाग्निमा परेर जल्दा कोही पनि वाँकी रहँदैन, यो म देखिरहेको छु । चिदाभास, संस्कार, कर्तव्य, कामना, विवेक, वैराग्य यी सबै छुट्छन् ।

भावार्थ – हे देवेश ! दंष्ट्राद्वारा विकृत र प्रलयाग्नि सदृश तपाईको मुख समूहलाई दर्शन गरेर म दिग्भ्रान्त भएको छु, सुख लाभ गर्न सक्दिन । हे जगन्निवास ! प्रसन्न हुनुहोस् ।

विशिष्टार्थ – हे देवेश ! तपाईको भयावह मुखका  विकृत दन्त समूहको ज्योति प्रलयकालको जगत् ध्वंशकारी विद्युत–अग्नि–शिखा सदृश दशै दिशामा व्याप्त देख्दछु, यसले मलाई दिग्भ्रमित बनाइदियो, अव म सुख मात्रको पनि अनुभव गर्न सक्दिन । हे जगन्निवास ! प्रसन्न हुनुहोस् ।

    अमी च त्वां धृतराष्ट्रस्य पुत्राः
    सर्वे सहैवावनिपालसङ्घैः ।

    भीष्मो द्रोणः सूतपुत्र स्तथासौ
    सहास्मदीयैरपि योधमुख्यैः ।। २६ ।।

    वक्त्राणि ते त्वरमाणा विशन्ति
    दंष्ट्राकरालानि भयानकानि ।
    केचिद्विलग्ना दशनान्तरेषु
    संदृश्यन्ते चुर्णितैरुत्तमाङ्गै ।। २७ ।।
    
अन्वय र अर्थ – अमी = ती, धृतराष्ट्रस्य पुत्राः = धृतराष्ट्रका दुर्योधनादि पुत्रहरू, च = पनि, सर्वे = सबै, अवनिपालसंघैः सह = राजाहरूका समुदायका साथ, त्वां = तपाईको मुखमा, विशान्ति = प्रवेश गर्दछन्, तथा = त्यस्तै, भीष्मः = भीष्म, द्रोणः = द्रोण, असौ = यी, सूतपुत्र (कर्णः) = कर्ण, अस्मदीयैः अपि = हाम्रा तिरका पनि, योधमुख्यैः सह = धृष्टद्युंम्नादि मुख्य मुख्य योद्धाहरूका साथ, त्वरमाणाः = अत्यन्त शीघ्रता पूर्वक, ते = तपाईका, ढंष्ट्राकरालानि = विकराल दाराहरूका कारण, भयानकानि = भयङ्कर देखिने, वक्त्राणि = मुखहरूमा, विशन्ति = प्रवेश गर्दछन्, (तेषां मध्ये = मुखमा प्रवेश गरेका तिनीहरू मध्ये), केचित् = कुनै कुनै, चूर्णितैः = टुक्रा टुक्रा भएका, उत्तमाङ्गैः = शिरहरू सहित, दशनान्तरेषु = दांतहरूका वीचमा, संलग्नाः = चपाएको मासु जस्तै टाँसिएका, सदृंश्यन्ते = देखिन्छन् ।

भावार्थ – धृत राष्ट्रका पुत्रहरू पनि समस्त भूपतिहरूका साथ तपाईँमा अति वेगले प्रवेश गर्दछन्, त्यस्तै भीष्म, द्रोण तथा कर्ण, हाम्रो पक्षका पनि प्रधान प्रधान योद्धा गणका साथ तपाईको दाराहरूले विकृत भयङ्कर मुखहरूमा छिटो छिटो गर्दै प्रवेश गर्दछन्, तिनीहरूमध्ये कुनै कुनै  चूर्णित मस्तक सहित भएर दन्त सन्धि समूहमा सलग्न भएका छन्, यस्तो देखिन्छ ।

विशिष्टार्थ – विषय भोगको शूल हृदयमा नगाडि कन कसैले कहिल्यै पनि मुक्ति तिर बढ्ने मौका पाउँदैन । मुक्तिच्छुक साधकको अन्तः करणले काम–भोग–विषयादिलाई पराई ठानेर विवेक वैराग्य आदिलाई आफ्नो सम्झन्छ, सेवा पनि गर्दछ । परन्तु साधक जति जति माथि उठ्दै जान्छ, त्यति त्यति उसको आफ्नो समूह पनि एक पछि एक गर्दै आफै  छुट्दै जान्छ, यस्तो उसलाई प्रत्यक्ष हुन्छ–किन कि आदि अन्त युक्त केही रहेमा  मुक्ति हुँदैन अर्थात् सबैबाट अलग भइँदैन ।

त्यसकारण पहिले पराइलाई उत्सन्न (नष्ट) हुन दिनु पर्छ, साधकले यसलाई प्रत्यक्ष गर्दछ । अन्तः करणबाट प्रसूत जे कुरा छ त्यो नै विकार हो, यिनीहरूमा असल वा खराब भन्ने हुँदैन । विषय भोग पनि कामना हो, 'त्यो मुक्ति, अहिले म पाउँछु'– यो पनि एक कामना मात्र हो । कुनै केही पहिले, कुनै केही पश्चात्, परन्तु अद्भुत ब्रम्हाग्निमा परेर जल्दा कोही पनि वाँकी रहँदैन, यो म देखिरहेको छु । चिदाभास, संस्कार, कर्तव्य, कामना, विवेक, वैराग्य यी सबै छुट्छन् ।

    यथा नदीनां बहवोऽम्बुवेगाः
    समुद्रमेवाभिमुखा द्रवन्तिः ।

    तथा तवामी नरलोकवीराः
    विशन्ति वक्त्राण्यभि विज्वलन्ति ।। २८ ।।

अन्वय र अर्थ – यथा = जस्तै, नदीनां = नदीहरूका, बहवः = अनेकौं, अम्बुवेगाः = जल प्रवाहहरू, अभिसुखाः = समुद्रतिर अभिमुख भएका छँदा, समुद्रे एव = समुद्रमा नै, द्रवन्ति = प्रवेश गर्दछन्, तथा = त्यस्तै, अमी = यी, नरलोकवीराः = मनुष्यलोकका शूरवीरहरू, तव = तपाईका, अभिविज्वलन्ति = सर्वत्र देदीप्यमान, वक्त्राणि = मुखहरूमा, विशन्ति = प्रवेश गर्दछन् ।

भावार्थ – जस्तै नदीहरूको जलराशिप्रवाह समुद्राभिमुख भएर समुद्रमा नै प्रवेश गर्दछ, त्यस्तै यी सबै नरलोक वीरगण सर्वत्र प्रदीप्यमान तपाईका मुखहरूमा प्रवेश गर्दछन् ।

विशिष्टार्थ –  ”नरलोकवीराः” – न = नास्ति, रं = प्रकाश, अर्थात् स्वप्रकाश र परप्रकाशकत्व जसमा छैन त्यसैलाई  'नर' भन्दछन् । मनुष्य जबसम्म त्याग र ग्रहणको लोभमा परिरहन्छ, तबसम्म ऊ  'नर'  हो ।

'नर' – ज्योति हीन वस्तुलाई नर भन्दछन् भने दर्शनीय जे छ त्यसैलाई लोक भन्दछन्, अनि जसमा वांध्ने शक्ति छ, उसलाई वीर भन्दछन् । ज्योतिहीन दृश्य मायिक पदार्थ हुन्, फेरि यिनमा बाँध्ने शक्ति पनि छ, यस्ता गुणहरू जुन मानिसहरुमा छन् ती नरलोक वीर हुन् । साधक !

अब हेर, तिमीमा तिम्रो अन्तः करणको असल खराब जे जस्तो स्फुरण हुन्छ, त्यो संस्कार प्रवाहा कारले कहीं बाट आएर तिमीलाई दर्शन दिएर तिम्रो अन्तः करणमा छापको बन्धन वाँधेर एकै छिनमा सोही प्रलयकारी ज्योतिमा प्रवेश गर्दछ । यी सबै आकाश फूल जस्तै अलीक (असत्य) हुनाले पनि  ब्रम्हमार्गका विरोधी हुन् । अतः भनिएको छ – जस्तै नदी पानीको वेगले वग्दै वग्दै समुद्रमा गएर मिल्दछ उसको अस्तित्व नै मेटिन्छ त्यस्तै यस मायाको धोकामा  'नरलोकवीर' समूह तपाईको ज्योतिमा परेर अस्तित्व शून्य हुन्छन्, अर्थात् साधकको भ्रम अज्ञानता मेटिन्छ ।

    यथा प्रदीप्तं ज्वलनं पतङ्गा
    विशन्ति नाशाय समृद्धवेगाः ।

    तथैव नाशाय विशन्ति लोका
    स्तवापि वक्त्राणि समृद्धवेगाः ।। २९ ।।

अन्वय  र  अर्थ –  यथा =  जसरी,  समृद्धवेगाः =  अति वेगले,  पतङ्गाः = कीट पतङ्गहरू (पुतलीहरू), नाशाय = मर्नका लागि, प्रदीप्तं = बलेको, ज्वलनं = अग्निमा,विशन्ति = प्रवेश गर्छन्, तथा = त्यस्तै, एव = नै, समृद्धवेगाः = अत्यन्त वेगले, लोकाः = प्राणीहरू, अपि = पनि, नाशाय = मृत्युका लागि, तव = तपाईका, वक्त्राणि = मुखहरूमा, विशन्ति = प्रवेश गर्दछन् ।

भावार्थ – जसरी कीट पतङ्गहरू मर्नका लागि अति वेगले अग्निमा प्रवेश गर्दछन् त्यसरी नै प्राणीहरू पनि मृत्युका लागि अतिवेगले तपाईका मुखहरूमा प्रवेश गर्दछन् ।

विशिष्टार्थ – जस्तै बलेको आगोको ज्वालामा सलह (पुतली) आदि कीराहरू वेगले गएर जलेर भस्म हुन्छन् त्यसरी नै उत्पत्तिलयशील असत् अज्ञानताको आश्रय समूह (दृश्यमान्) जे छन् तपाईको मुखमा परेर अदृश्य हुन्छन् । जस्तो – सूर्यलोकमा अन्धकार । 

    लेलिह्यसे ग्रसमानः समन्ता
    ल्लोकान् समग्रान् वदनैज्र्वलद्भिः ।
    तेजोभिरापूर्य जगत् समग्रं
    भास स्तवोग्राः प्रतपन्ति विष्णो ।। ३० ।।

क्रमश: