लोकसंवाद संवाददाता | समाचार | असार १९, २०७९
केही दिनअघि काठमाडौंमा आयोजित समाजवादसम्बन्धी एक कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादकी नेतृ रामकुमारी झाँक्रीले मन्त्री पद छाड्नुपर्दा बगाएको आँसुतर्फ लक्षित गर्दै भनेका थिए– रामकुमारी झाँक्रीलाई रुवाएर समाजवाद आउँछ ? उनको यो अभिव्यक्ति एकीकृत समाजवादीले ८ महिनामै मन्त्री परिवर्तन गरेर नयाँ मन्त्रीलाई सरकारमा पठाएको आक्रोशमा आएको अभिव्यक्ति थियो त्यो । देशमा मन्त्रीहरुलाई पालो पुर्याउने प्रणालीको विरोधमा उनको यो भनाइको चर्चा निकै नै पायो ।
तर यतिबेला त्यही वरिष्ठ नेता पौडेलको पार्टी नेपाली कांग्रेस बाग्मतीमा आफ्नो सरकार बनाउन कम्मर कसेर लागेको छ । त्यसका लागि कांग्रेस र माओवादीले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे विरुद्ध हस्ताक्षर संकलन नै गरिसकेका छन् । यसबाट राजनीतिक दलहरु आफ्नो अनुकूलता पर्दा केसम्म अभिव्यक्ति दिन्छन् र उनीहरुको भनाई र गराईमा कति भिन्नता छ भन्ने कुरा प्रष्टसँग देख्न सकिन्छ । केपी शर्मा ओलीले करिब दुई तिहाई नजिकको जनमत भएको पार्टीमा बितण्डा मच्चाउँदै नेता र पार्टीको ठूलो पंक्तिलाई लत्याएपछि बनेको अहिलेको सत्ता गठबन्धन पनि सत्ताकै लोभी पापी हरुको मात्र गठबन्धन बनेको रहेछ भन्ने यो एउटा गतिलो उदाहरण हुन पुगेको छ ।
नेकपा एकीकृत समाजवादीले पार्टीबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री भएर गएकालाई फिर्ता बोलाएर अर्को सेट पठाएको छ । यसरी मन्त्री फेर्नमा कार्यक्षमताको अभाव भन्दा बढी सबैलाई मन्त्रीको भाग पुर्याउने मनसायबाट ग्रस्त भएको देखिन्छ ।
सत्ता गठबन्धनको हरेक कुरामा भागबण्डा गर्ने प्रवृत्तिप्रति जनता दिक्क भइरहेका बेला अब केही समयका लागि बाग्मतीमा सरकार फेर्ने अभियान सुरु भएको छ । यो कुनै तर्कद्वारा पुष्टि हुने कुरा होइन, बरु सत्ताको भागबण्डा पुर्याउने र सबैलाई सत्ताको स्वाद चखाउने दुषित मनसायबाट ग्रसित दुर्गन्धित आशय बाहेक केही देखिदैन ।
। देश ७ दशकभन्दा लामो समयदेखि अनेकौं प्रकारका अस्थिरताको सिकार भइरहेको छ । यसै कारणले अघिल्लो चुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिएका थिए । तर केपी ओली र उनको पार्टीका नेताले त्यसलाई दुरुपयोग गरेँ । त्यसको बिकल्प भन्दै आफूलाई उभ्याएका सत्ता गठबन्धन देउवा प्रधानमन्त्री भएको एक वर्ष पुग्नै लाग्दा सत्ता भोगमा चुर्लुम्म डुब्न पुगेका छन् ।
साढे चार वर्षमा सत्ता परिवर्तन नभएको सुदूरपश्चिम प्रदेशमा मात्रै हो । अन्य प्रदेशमा २ पटक र प्रदेश एक र बाग्मतीमा तीन पटक सत्ता परिवर्तन भइसकेको छ । यसबाट सरकार जनताका समस्या समाधानमा भन्दा सत्ताको चास्नीमा बढी रमाइरहेका छन् भन्ने प्रष्ट भएको छ ।
देशको अर्थतन्त्र संकटमा पुगेको छ भने वैदेशिक व्यापार असन्तुलन बढेको बढ्यै छ । पेट्रोलियम पदार्थमा भएको अनियन्त्रित मूल्यवृद्धि, पेट्रोलियम पदार्थको मूल्य बढेको बहानामा भएको अत्यधिक मूल्यवृद्धिका कारण जनता मारमा परेका छन् । गतवर्ष भन्दा शतप्रतिशत मूल्य बढ्दा समेत बजार अनुमगन समेत कसैको प्राथमिकतामा पिररहेको छैन ।
देश भद्रगोल र जनताको जनजीवन असामान्य तरिकाले समस्यामा पर्दै जाँदा पनि राजनीतिक दलहरुलाई भने सत्ता भागबण्डा र कसरी पाले पुर्याएर खाने भन्नेमात्रै चिन्ताले सताएको छ । जनताका लागि भने ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखानजस्तै सास्ती भोग्न बाध्य छन् ।
मुख्यमन्त्रीमा फोटो टाँस्ने रहर
कांग्रेसका प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने पहल सुरु भएको छ । यदि समाजवादीका पाण्डे हटेर बानियाँ मुख्यमन्त्री बने पनि बाग्मतीले साढे ४ वर्षमा चौथो र पछिल्लो एक वर्षमा तेस्रो मुख्यमन्त्री पाउनेछ । हरेक प्रदेशमा प्रदेश प्रमुख फेर्ने र मुख्यमन्त्री परिवर्तन गरिहाल्ने र आफू वा आफ्नो पार्टीको मुख्यमन्त्री बनाइहाल्ने रोगबाट दलहरु ग्रस्त भइरहेका छन् ।
बाग्मतीको मुख्यमन्त्री फेर्ने कुराले केही दिनदेखि राजनीति फेरि तरंगित बनेको छ । गत असोजमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच कांग्रेस र समाजवादीले बाँकी आधा–आधा कार्यकाल प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।
सोही सहमति अनुसार एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री भएको र अब काँग्रेसलाई पालो दिनुपर्ने विषय बाहिर आएको छ । बागमती प्रदेशसभाको कार्यकाल करिब ५ महिनामात्रै बाँकी छ । यस्तो अवस्थामा दलहरु पदका लागि सत्ता परिवर्तनको खेलको दुर्गन्धी खेलमा लागेको प्रष्टै हुन्छ ।
बाग्मतीमा सत्ता गठबन्धनले पाण्डेलाई हटाएर बानियाँलाई मुख्यमन्त्री बनाउन खोजे एमालेले साथ दिएर भए पनि पाण्डेको सत्ता जोगाएर गठबन्धन भत्काउने कोशिस गरिरहेको छ । एकीकृत समाजवादीले पनि तत्काल सत्ता परिवर्तन आवश्यक नभएको निष्कर्ष निकालेपछि आगामी दिनमा बाग्मतीको राजनीति कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।
बागमतीमा सरकार परिवर्तन भए अन्य प्रदेशमा पनि सरकार परिवर्तन हुनुपर्ने समाजवादीले बताइरहेको छ । त्यस्तो भएमा सुदूरपश्चिममा समाजवादीले दाबी गर्नसक्छ । सबैभन्दा ठूलो दल भएकाले सुदूरपश्चिममा उसको दाबी स्वभाविक पनि हो ।
साढे चार वर्षमा सत्ता परिवर्तन नभएको सुदूरपश्चिम प्रदेशमा मात्रै हो । अन्य प्रदेशमा २ पटक र प्रदेश एक र बाग्मतीमा तीन पटक सत्ता परिवर्तन भइसकेको छ । यसबाट सरकार जनताका समस्या समाधानमा भन्दा सत्ताको चास्नीमा बढी रमाइरहेका छन् भन्ने प्रष्ट भएको छ ।