ऋतु आशिक | साहित्य | असार २०, २०७९
कोशी, गण्डकीमा ठगिँदै–ठगिँदै भोगेको नियति
महाकाली सन्धिमा नियोजित राष्ट्रघात भएको थियो ।
राष्ट्रघात माथि नून चुक दलिँदा
नाकाबन्दीको ज्यादतीको विरोधमा
देशै उचालिएको थियो ।
यसबेला तिनै नाकाबन्दीका नाइकेलाई
देश जिम्मा लगाएका छौँ ।
ती लुटेरामा परिवर्तित भएको पत्तै नभएको होइन ।
हेर्दा–हेर्दै तीनै लुटेराहरू,
कतै एनसेल, कतै वाइडबडीमा,
कतै अख्तियारमा
कतै सुनको थुप्रोमा
कतै प्रहरीमा
कतै न्याय प्रशासनमा
अहिले धेरै बुझ्दै आएका छौ
त्यसबेलादेखि यस बेलासम्म लैनचौरले चलाएको रहेछ ।
दश वर्षे जनयुद्ध,
छिमेकीले चलाएको रहेछ ।
सत्र हजारको मृत्युवरण उसैको आदेशमा भएको रहेछ ।
जनयुद्धका नाममा जनयुद्ध चलाएर
माओवादी नेताको फुली चढाएर
राजतन्त्र खाली गरेर
यसबेला लैनचौरको हाली मुहाली मा
राजदरबार यसबेला लैनचौरमा सुटुक्क सरेको रहेछ ।
आम नेपालीलाई थाहा नहुन सक्छ ।
कुनै पार्टीका नेता, पत्रकार
ठूला कलेवरमा देखिएका पत्रिकाहरू
त्यतैबाट पालिँदै आएका रहेछन् ।
त्यसैबाट संरक्षित हुँदै आएका रहेछन् ।
सबै पार्टीका चप्पल घसिट्दै हिँड्नेहरु,
माथिल्लो प्रधानमन्त्रीसम्म पड्काउन थालेका छन् ।
अरु कुरा के गर्नु हुन्छ ?
धेरै कुरा पारदर्शी भएको छ ।
सबै पार्टीका नेताहरु सम्पत्ति छानविनमा
करोडपतिको पति हुँदै खरब पतिको हैसियतमा उक्लेछन् ।
मुलुकमा भ्रष्टाचारको बढाले
थामी नसक्नु भएको छ ।
देश त कङ्गाल भएको छ ।
भ्रष्टाचारीहरु को लागि स्वर्गको भूमि भएको छ ।
म्यानपावरका दलाललाई राजदूत बनाएर
प्रधानमन्त्री यसबेला देश विकासको कुरा छाँटिरहेका छन् ।
करोडौंको दाम ढोगाइएको स्तुति चलिरहेको छ ।
संसद यसबेला पूरै सुतेको छ ।
उसलाई भ्रष्टाचार गनाउँदैन ।
दक्षिणी सिमानामा जङ्गे पिल्लर लडाउँदै छ ।
प्रहरी र सेनालाई आदेशमा मौनता साध्छ
देशप्रति घात प्रतिघातका कसैलाई किन दुख्दैन् ?
यसबेला –
प्रधानमन्त्री, सांसद, कर्मचारी, न्याय प्रशासन, प्रहरी, सेना
यी सबैको मौनतामा
देश कतै हारिरहेको त छैन ?
मदन भण्डारीको हत्यापछि
होली वाइनको चास्नीमा डुबुल्की मार्नेहरू
ती कम्युनिष्ट नाम धारीको पार्टीमा
बग्रेल्ती देखिने गरेका छन् ।
होली वाइन र लैनचौरको मिलोमतोमा
विखण्डनकारी सम्मानित भएका छन् ।
लाज पचाएर,
सरकार झुट बोलिरहेको छ ।
यसबेला देशलाई थिलथिलो पारेर
चारैतिरबाट प्रहार हुँदैछ ।
देशले कति दिन जुझ्न सक्छ ?
आम नेपाली जनता निद्रामा मस्त भएको बेला
हुँडार र ब्वाँसोको आक्रमणबाट
साँच्चै भन्छु –
मेरो देश यसबेला मर्ने र बाँच्ने दोसाँधमा उभिएको छ ।
उठ ! उठ ! देशबासीलाई !
आउ ऐक्यबद्धता भएर
मुलुकभित्र देश घाती विभीषणको खोजी–खोजी गरौँ
देश द्रोहको अपराधमा आउँ त्यसलाई सजायको माग गरौँ ।
आउ देश हाम्रो हो ।
देशभक्त नेपाली हो हातेमालो गरेर देश बचाउ ।
देश जोगाउने अन्तिम युद्धमा
आउँ हामी फेरि पनि हातेमालो गरौँ ।