लोकसंवाद संवाददाता | समाचार | जेठ ११, २०७६
काठमाडौँ । विगत छ महिनादेखि निर्माण सुचारु नभएको मेलम्ची खानेपानी आयोजनाको काम अब सुरु हुने भएको छ । मन्त्रिपरिषद्ले विशेष कानुनी आधारमा टेकेर बाँकी काम अघि बढाउने निर्णय गरेपछि काम सुचारु हुने भएको हो । मन्त्रीपरिषद्ले जेठ ६ गते बाँकी काम टुक्राएर ठेक्का दिने निर्णय गरी मेलम्ची खानोपानी आयोजनालाई निर्देशन दिएको छ ।
गत पुस १ गते इटालियन निर्माण कम्पनीले काम छाडेपछि मेलम्ची आयोजना रोकिएको थियो । बाँकी काम सम्पन्न गर्न मेलम्ची खानेपानी विकास समितिले दुईवटा विकल्पसहित खानेपानी तथा सरसफाइ मन्त्रालयलाई प्रस्ताव गरेको थियो । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले पेस गरेको प्रस्तावमाथि मन्त्रिपरिषद्ले विशेष परिस्थितिसम्बन्धी कानुनी आधारअनुसार द्रुत मार्गबाट जाने निर्णय गरेको हो ।
मेलम्चीको बाँकी काम सम्पन्न गर्न बाटो खुला भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । जसले जे काम पहिला गरेका थिए उनीहरूमार्फत नै बाँकी काम सम्पन्न गरिने भएको छ । समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले भन्नुभयो, पहिला जसले जे गरेका थिए उनीहरूमार्फत् नै गरिन्छ, मुख्य काम हेड बक्स र टनेलका लागि टेन्डर गरिन्छ, अर्को हप्ता टेन्डर प्रक्रियामा जान्छौँ । द्रुत मार्गबाट जाँदा कम्तीमा छ महिना र बढीमा एक वर्षमा काम सम्पन्न हुने कँडेलको भनाइ छ । कान्तिपुर दैनिकमा यो समाचार छ ।