रारा तालमा पुग्यो बिजुली !

रारा तालमा पुग्यो बिजुली !

लोकसंवाद संवाददाता  |  समाज  |  असार २१, २०७९

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रारा ताल क्षेत्रमा बिजुली पुर्‍याएको छ । कर्णाली प्रदेशको मुगुमा दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुगेको हो । 

प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत गृहबाट उत्पादित विद्युत करिब २५ किलोमिटर प्रसारणलाइन निर्माण गरी सोमबारबाट रारा क्षेत्रका ग्राहकलाई विद्युत् उपलब्ध गराएको हो ।

हाल त्यस क्षेत्रमा सौर्य ऊर्जाबाट घरायसी प्रयोजनमा मात्र विद्युत् प्रयोग हुँदै आएको थियो । अब जल विद्युत गृहबाट उत्पादित विद्युत् २४सै घण्टा आपूर्ति हुनेछ । रारा ताल परिसरमा सञ्चालनमा रहेका होटलहरू, कार्यालयहरू र छेउछाउका घरहरूले विद्युत् आपूर्ति पाएका छन् । 

रारा ताल परिसरमा २५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरी विद्युत् आपूर्ति गरिएको छ ।  प्राधिकरणका प्रादेशिक कार्यालय कर्णालीका प्रमुख शम्भु कुसियत यादवले ट्रान्सफर्मर सोमबारबाट सञ्चालनमा ल्याइएको बताए । 

‘रारा राष्ट्रिय निकुञ्जको जंगलमा करिब १० किलोमिटर लाइन बनाउनु पर्ने थियो, त्यसले गर्दा केही समय लागेको हो, निकुञ्ज, स्थानीय प्रशासन, नेपाली सेना र स्थानीयसँगको समन्वय र सहयोगमा लाइन निर्माण गरी त्यस क्षेत्रमा विद्युत् पु¥याउन सफल भएका छौं,’ यादवले भने ।