ऋतु आशिक | साहित्य | असार २५, २०७९
प्रिय नन्दिता !
जीवन यसबेला बगि रहेको छ
हो ! जीवन फेरि पनि बगि रहेको छ
जीवन न हो, कुनै वेला पहिरो जान सक्छ
घरमा सुतेकाहरू बितेका छन्
घर पनि सुरक्षित भएन ।
पहिलो गएर ताण्डव नृत्य मच्चाइ रहेको छ
कसैलाई थाहै हुँदैन
पहिरो गएपछि शून्य ता
जीवनले त भोगी रहेको हुन्छ ।
त्रासदी हुँदा पनि
जीवनको लागि बाँचिरहेका हुन्छन् ।
प्रिय नन्दिता !
तिमीलाई सम्झना होला ?
मैले भन्ने गरेको थिएँ
तिमी सपनामा आउनु ल ?
मेरो बोली खस्न नपाउँदै
तिमीले यसो भनेकी थियौ –
पखेँटा जोडी देउ न त म आउँला !
समयको संयोजनमा
भूगोलको दूरी जहाँ रहे पनि,
मन त यतै कतै हुँदो रहेछ ।
तिमी भन्ने गथ्यौ त ...
ती शब्दहरु
'तिमी छौ र म छु,
म छु र तिमी छौ ।'
हो प्रिय ! नन्दिता
तिमीसँगको विछोडको नियति
नालापानी देखि भोगिरहेको छु ।
धैर्यताको अंकुशले बाँधिएर
तिमीलाई पर्खिरहेको छु ।
जीवन बगि रहेको छ ।
आशाको प्रज्वलित भएर
जीवन उठिरहेको छ
उकालो–उकालो लागि रहेको छ ।
विराटनगर