गन्तव्य श्रीलङ्का: आर्थिक सङ्कट र मूल्यवृद्धिमा सरकार रमितामा, प्रतिपक्षी सत्तोसरापमा मस्त

लोकसंवाद टिप्पणी

गन्तव्य श्रीलङ्का: आर्थिक सङ्कट र मूल्यवृद्धिमा सरकार रमितामा, प्रतिपक्षी  सत्तोसरापमा मस्त

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७९

आइतबार दिउँसो नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लेखे– ‘हामी अहिले नै श्रीलंकाको अवस्थामा पुगिसकेका छैनौं । यो सहि नै हो । तर तीतो र नाङ्गो सत्य यो पनि हो कि निष्ठा, विचार, सिद्धान्त एवं मूल्य विहीन भ्रष्ट, स्वार्थी राजनीतिको बोलवाला, कुशासन, भ्रष्टाचार, अ पारदर्शिता, आसेपासे एवं दलालिकृत सत्ता, समस्या समाधानप्रतिको गैरजिम्मेवार प्रवृत्ति र तदर्थवादले ढिलो वा चाँडो, एउटा वा अर्को रुपमा पुर्‍याउने त्यतै हो ।’

नेपालको अर्थतन्त्र विस्तारै अधोगतितिर लागेको र श्रीलंका बन्ने दौडमा रहेको भन्दै पछिल्लो समयमा चौतर्फी आवाज उठ्न थालेको छ । तर पछिल्लो समयमा निरन्तर संकटतिर धकेलिँदै गएको अर्थतन्त्रलाई बलियो बनाउन तिर भने कसैको ध्यान गएको छैन । बरु एक अर्कामा आरोप प्रत्यारोप बढिरहेको छ ।

खासगरी कोभिड–१९ का समयमा अर्थतन्त्र ठप्प बनेपछि सुरु भएको अर्थतन्त्रको ओरालो यात्रा अझै रोकिने अवस्थामा छैन । अर्थतन्त्रको यो संकटको अवस्थालाई हल गर्नका लागि राजनीतिक दलहरुले जुन किसिमको सामूहित प्रयत्न गर्नु पर्दथ्यो, त्यो पनि हुन सकेको छैन ।

बरु राज्य स्रोतमाथि राजनीतिक दलहरुले पालैपालो र संगठित रुपमा नै दोहन गरिरहेका छन् । अर्थतन्त्रको यो अवस्था हुनुका पछि वर्तमान सरकार मात्रै होइन, लामो समयदेखिका सरकार, तिनीहरूका नीति, दूर दृष्टिको अभाव, राजनीतिक स्वार्थ, विकासका नाममा कार्यकर्ता पोस्ने प्रवृत्ति, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा देखिएको उदासीनताजस्ता कुरा प्रमुख हुन् ।

कुनै एउटा पनि नेता अर्थतन्त्रको यो अवस्थाको जिम्मेवारी लिने पक्षमा छैन । देशको यो अवस्था ल्याउनुमा यी सबै राजनीतिक दलहरु, तिनका नेता–कार्यकर्ताहरु, प्रशासकहरू जिम्मेवार छन् । तर उनीहरु आफ्नो स्वार्थको दुनो सोझ्याइनु पाए अरुलाई जेसुकै भए पनि हेर्ने पक्षमा छैनन् । अर्थतन्त्रमा जुन प्रकारको सिथिलता आइरहेको छ, यसले सिंगो देशलाई नराम्रो धक्का दिने खतरा बढिरहेको छ ।

नेपालले पछिल्ला वर्षमा त खाद्य सामाग्री देखि, दाँत कोट्याउने सिन्का समेत ठूलो मात्रामा आयात गर्न थालेको छ । देशमा रोजगारीको प्रवद्र्धन, युवालाई उद्योगतिर आकर्षित गर्ने, त्यसका लागि सहज वातावरण बनाउने काम राज्यले नगर्दा देशको अर्थतन्त्र नकारात्मक दिशातिर उन्मुख भएको छ ।

तर अझै पनि त्यसलाई कसरी सुधार गर्ने भन्नेतिर न सरकारको ध्यान गएको छ, न त सामूहिक प्रयत्न नै भइरहेको छ । प्रतिपक्षी एमालेलाई आफ्नो सरकारका पालामा भएका सयौं काण्ड, दर्जनौं भ्रष्टाचार, अनियमितता र अराजकता ढाकछोप गर्नका लागि वर्तमान सरकारको न्वारान देखिको बल निकाले गालि गलौज गर्दै ठीक छ भने सरकार अर्थतन्त्र सुधार गर्नेबेला मस्त निद्रामा छ ।

यसैले देशको अर्थतन्त्र झनै संकट तिर धकेलिँदै बिस्तारै श्रीलंका जस्तै टाट पल्टिने अवस्थामा छ । अकासिँदो पेट्रोलियम पदार्थको भाउ, निरन्तरको मूल्यवृद्धिका कारण जनतालाई जीवन धान्न धौधौ परेको अवस्था छ । यो अवस्थाप्रति राज्यको कुनै ध्यान गएको देखिदैन । महंगी बढेको बहानामा व्यापारीले अत्याचारपूर्ण रुपमा मूल्यवृद्धि गर्दा सरकार रमिते बनेको छ भने प्रतिपक्षी सरकारमाथिको सत्तोसरापमा मस्त छ । 

डा.रविन्द्र पाण्डेले श्रीलंकाको वर्तमान अवस्थाबारे कोलम्बोबाट साथीको सन्देश भन्दै लेखेका छन्– ‘कुनैबेला हिन्द महासागरको मोती भनेर चिनिने श्रीलंका अहिले आर्थिक रुपमा टाट पल्टिएको छ । हामी स्वर्गमा थियौं, अहिले नर्कमा छौं । यसको प्रमुख कारण गलत राजनीति, गैह्र जिम्मेवार नेता, ती नेताले बनाएको गैह्रजिम्मेवार नीति, पारिवारिक राजनीति, तलदेखि माथिसम्म संस्थागत भ्रष्टाचार, असन्तुलित विदेश नीति, तिर्न नसक्ने ऋण र त्यसको दुरुपयोग तथा नेताले भ्रष्टाचार गर्दा पनि ताली बजाउने कार्यकर्ता हुन् । कोभिड त सहायक कारण मात्र हो ।’ 

उनी थप लेख्छन्– ‘पहिले महँगीले आकाश छोएको थियो, अहिले अभावले सागरको पिँध छोएको छ । आम नागरिकसँग पैसा छैन, पैसा भएपनि यहाँ काम छैन ।  सरकारले इन्धन, औषधि, खाद्यान्नजस्ता लाइफलाइन किन्न सकेको छैन । देशमै नभएपछि पैसा र कागजमा के फरक ? अहिले स्कुल बन्द छन्, कार्यालय घरबाट चलेका छन्, चर्को लोडसेडिङ छ, धनी व्यक्तिसमेत दाउरामा पकाएर एकछाक खाना खाएका छन्, पेट्रोल पम्पमा सुरक्षाकर्मी छन्, तेल छैन । जनतामा आक्रोश यति बढेको छ कि उनीहरु यो अवस्था ल्याउने नेता, ठूला कार्यकर्ता, ठूला कर्मचारी, सांसद, मन्त्री आदिको घरमा आगो लगाउने, उनीहरुलाई लखेट्ने, उनीहरुको घरबाट लुटपाट गर्ने गरेका छन् । आजै मात्र राष्ट्रपति भवन लाखौँले घेर्दा उनी भागेका छन् । उनको बगैचा र स्वीमिङ पुलमा जनता आक्रोशको आगो शान्त पार्दैछन् । यस्तै हो भने यहाँ खान नपाएर, औषधि नपाएर हाम्रो सामूहिक मृत्यु हुनेछ । तिम्रो देशको सरकार कस्तो छ ? नेता कति इमान्दार र जिम्मेवार छन् ? कार्यकर्ता कति दास छन् ? राज्यको एकएक पैसाको सदुपयोग भएको छ कि छैन ? भ्रष्टाचार कस्तो छ ? सम्भावित आर्थिक संकट प्रति राजनैतिक, आर्थिक र प्रशासनिक योजना के के छन् ? वैदेशिक मुद्राको संचित बढाउने काम भएको छ कि छैन ? आयात घटाएर निर्यात बढाउने, पर्यटक ल्याउने, कानुनीरुपमा रेमिट्यान्स भित्र्याउने व्यवस्था छ कि छैन ? यसको पक्षमा लबिङ के कस्तो छ ? एउटा कुरा याद राख्नु, जब ठूलो संकटमा राष्ट्र फस्छ, बाहिरी देशको सहयोग देखावटी मात्र हुन्छ । त्यसैले समयमै देशको अर्थतन्त्र बचाउने नेतृत्व स्थापित होस्, नीति बनोस्, कार्यान्वयन होस् । अन्यथा ४–६ महिना अघिपछि मात्र हो । हाम्रो नियति धेरै देशले भोग्नेछन् । अझ तिमीहरू त भूपरिवेष्ठित छौ । नेपालका नेता तथा ठूलाबडाको नियति हाम्रो देशका नेता तथा प्रशासकजस्तो नहोस् जो संग अहिले केबल खरानीको थुप्रो छ ।’ 

हो, अहिले नेपालको अवस्था करिब उनले भनेको जस्तै छ । कुनै एउटा पनि नेता अर्थतन्त्रको यो अवस्थाको जिम्मेवारी लिने पक्षमा छैन । देशको यो अवस्था ल्याउनुमा यी सबै राजनीतिक दलहरु, तिनका नेता–कार्यकर्ताहरु, प्रशासकहरू जिम्मेवार छन् । तर उनीहरु आफ्नो स्वार्थको दुनो सोझ्याइनु पाए अरुलाई जेसुकै भए पनि हेर्ने पक्षमा छैनन् । अर्थतन्त्रमा जुन प्रकारको सिथिलता आइरहेको छ, यसले सिंगो देशलाई नराम्रो धक्का दिने खतरा बढिरहेको छ ।

आज आयल निगमले तेल आपूर्तिमा समस्या देखाइरहेको छ, भोलि अन्य संस्थाले पनि यस्तै समस्या देखाउन थाल्छन् र एक दिन देश श्रीलंकाका बाटोमा पुग्ने खतरा हाम्रा अगाडि मडारिएको छ । यो अवस्थामा पनि नेताले नीति बनाउन सक्दैन, कार्यकर्ता दास बनेर तिनै नेताको चाकडीमा मस्त छन् ।

देशको अर्थतन्त्र यही गतिमा ओरालो लाग्ने र त्यसलाई रोक्न ठोस कदम अहिले बाटै नचाल्ने हो भने यहाँका नेताहरुले पनि श्रीलंकाकै नियति भोग्नुपर्ने हुनसक्छ । त्यसबेला सत्ता पक्ष र प्रतिपक्ष होइन, सबै पक्ष जनताको आक्रोशको सिकार बन्ने अवस्था आउन सक्छ, बेलैमा सचेतता पूर्वक कदम चाल्नुपर्ने आवश्यकता छ ।