लोकसंवाद संवाददाता | समाचार | असार २७, २०७९
काठमाडौँ। ‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड राख्न सफल शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । सोमबार काठमाडौंको स्वयम्भुमा बौद्ध परम्परा अनुसार तामाङको अन्त्येष्टि गरिएको हो । तामाङको अन्तिम विदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पुग्नुभएको थियो । मन्त्री श्रेष्ठले राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट तामाङप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित तामाङको ७० वर्षको उमेरमा गत असार २३ गते बिहान निधन भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्को गत शुक्रबार बसेको वैठकले तामाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गरेको थियो । नेपालको पर्वतारोहणबारे अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न र नेपालका हिमाल प्रचार गर्न तामाङले अतुलनीय योगदान गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
तामाङले १७ वर्ष ६ महिना १५ दिन उमेरमा सन् १९७३ मे ५ का दिन सगरमाथा आरोहण गर्नुभएको थियो । तामाङकै पहलमा नेपाल पर्वतारोहण संघको स्थापना भएको हो ।