डा. सदानन्द कडेल | साहित्य | असार २९, २०७९
ढपक्क ढाक्ने त्यो बिर्के टोपी थपक्क शिरमा
टपक्क टिप्यौ घन्किने भाका वन पाखा भिरमा
जनताको बोली लिपिमा घोली पस्किने कलम
नेपाली दिलमा धड्किने कवि भानुलाई सलाम ।
गरेर उल्था रामायण ठेली नेपाली भाषामा
छरेर ज्योति ज्ञानको खेती सपार्ने आशामा
सुरुका स्रष्टा भविष्य द्रष्टा सशक्त कलम
नेपाली दिलमा धड्किने कवि भानुलाई सलाम ।
महान शिक्षा लिएर हरदम ‘दरिद्र’ घाँसीको
रैथाने ज्ञान फैलाउने ध्यान सम्मान गाउँ बासीको
तिम्रा ति सरल शब्दमा शक्ति दुःखीको मलम
नेपाली दिलमा धड्किने कवि भानुलाई सलाम ।
सम्झायौ तिम्ले दुनियाँलाई ‘विद्या नै गहना’
हुन्छन् जो खुसी तिनै हुन् धनी थ्यो तिम्रो भावना
तरबारको सामु झुकेन कहिल्यै त्यो तिम्रो कलम
नेपाली दिलमा धड्किने कवि भानुलाई सलाम ।