लोकसंवाद संवाददाता | समाचार | जेठ ११, २०७६
काठमाडौं, एजेन्सी । ब्रुनाईका सुल्तान हस्सानाल बोल्कियाले २६ वर्ष पहिले अक्सफोर्ड युनिभर्सिटीले प्रदान गरेको मानार्थ डिग्री फिर्ता गरेका छन् ।
ब्रुनाईमा समलिंगी विरोधी कानून लागु गर्ने सरकारको निर्णयको बारेमा युनिभर्सिटीले चिन्ता व्यक्त गरेपछि सुल्तानले यस्तो निर्णय गरेका हुन् । उनलाई यो डिग्री सन् १९९३ मा युनिभर्सिटीले प्रदान गरेको थियो ।
युनिभर्सिटीले नयाँ कानूनको बारेमा चिन्ता व्यक्त गर्दै सुल्तानका बारेमा समीक्षा समेत गरेको छ । साथै युनिभर्सिटीले यो कानूनका बारेमा बिचार गर्न सुल्तानलाई पत्र समेत लेखेको छ ।
गत अप्रिल महिनामा १लाख १८ हजार ५ सय मानिसले हस्ताक्षर गर्दै सुल्तानको डिग्री रद्द गर्न माग गर्दै निवेदन दिएका थिए ।
ब्रुनाईका सुल्तानले गत अप्रिलमा समलिंगी यौन सम्बन्ध राख्नेलाई ढुंगाले हानेर मार्ने कानूनी प्रावधान पारित गरेका थिए । जसको विश्वस्तरमा निकै आलोचना भएको थियो ।
ब्रुनाइमा समलिंगी सम्बन्धलाई पहिले देखि नै अपराध मानिन्थ्यो । यसका लागि १० वर्षको कैदको कानूनी व्यवस्था थियो ।