टङ्क भट्टराई | साहित्य | असार ३१, २०७९
ऊ बेला पूर्वको कालीकोट भनेर चिनिने खोटाङ जिल्लामा जन्मेको म । जीवन के हो ? जीवनको उद्देश्य के हो ? पढेर के हुने ? साहित्य कला भनेको के हो ? यी सबै कुरा स्कूल पढ्दा सम्मै अन्धकारमा थिए । स्कूलमा शिक्षकले घोकाएको र खेती–किसानी, घाँस–दाउरा, मेलापात, गोठाला, खेतालाबाहेक जीवनका अरू कुराहरू प्रायः थाहा थिएनन् । पाठ्यपुस्तकबाहेक अरू पढ्ने सामग्री तथा पत्र पत्रिकाहरू त झन् कहाँ पाउनु र !
स्कूल पढ्दा सुरुमा महेन्द्र माला र त्यसपछिका नेपाली किताबका कथा, कविता दोहोर्याउँदा–दोहोर्याउँदा सबै कण्ठ हुन्थे र ती निकै मीठा लाग्थे । हिउँदको बेला गाउँघर पूरै स्वस्थानी मय हुन्थ्यो । स्वस्थानीको कथा जति पढ्यो उति मीठा लाग्ने । कथा कसले मीठो वाचन गर्छ उसकै बढी चर्चा हुन्थ्यो गाउँमा । यो बाहेक बेला–बेला बुढाहरूको सिलोकले गाउँ रन्किन्थ्यो ।
बिहा–बटुलोमा सिलोकको जुहारीले रात छर्लङ्गै । गाउँमा कसै–कसैका घरमा गुण रत्न माला, रामायण, महाभारत, देवी भागवत, कृष्ण चरित्रका पुस्तक हुन्थे । एस.एल.सी. दिए पछिको खाली समयमा भने मैले यी किताबहरू खोजी–खोजी पढेँ । नजानिँदो ढङ्गले साहित्यको रस त्यसै बेलादेखि पसेको हुन सक्छ म भित्र । तर, यो कुरा मेरो हकमा मात्र होइन, त्यतिखेर अक्षर फुटाउन जानेका अग्रज र स्कुले जीवन पार हुन लागेका विद्यार्थीहरू कोही–कोहीले यसतर्फ चासो लिएको थाहा हुन्थ्यो ।
एस.एल.सी. पास गरेर दिक्तेल क्याम्पस पढ्न सुरु गरेपछि भने सोच केही फराकिलो भयो । नयाँ–नयाँ साथीहरूसँग सम्पर्क पनि भयो । पुस्तकालयबाट साहित्यका विभिन्न विधाका पुस्तकहरू घरमा लगेर पढ्ने बानीको विकास भयो । क्याम्पसमा बेला–बेला हुने कविता गोष्ठी र त्यसमा आफ्नो सहभागिताले पनि कवितातर्फ रस भरिँदै गयो।
जिल्लाका विभिन्न ठाउँहरूबाट आएर दिक्तेल क्याम्पस पढ्ने र साहित्यमा रुचि हुने साथीहरूसँगको अन्तरङ्ग सम्बन्ध बढ्दै जाँदा र दिक्तेल बजारमा हुने विभिन्न साहित्य गोष्ठी तथा प्रतियोगिताहरूमा भाग लिंदै जाँदा तिनै साथीहरूसँगको निरन्तर भेटघाट र सल्लाह बमोजिम अन्ततः हामीले २०५२ साउन १७ गते दिक्तेल निवासी मिलन चाम्लिङ (घँघरुको लौरो बनाउने प्रसिद्ध कलाकार) को घरको एउटा कोठामा भेला भई ‘नव–प्रतिभा साहित्यिक मञ्च’ को गठन गर्यौं ।
धनप्रसाद सुवेदी (अध्यक्ष), गोविन्दप्रसाद आचार्य (उपाध्यक्ष), टङ्क भट्टराई (सचिव), केशवप्रसाद आचार्य (सहसचिव), रेखा राई (कोषाध्यक्ष), कल्याण रोका (सदस्य), दिलकुमार खड्का (सदस्य), यादेवी ढकाल (सदस्य), मनकुमार राई (सदस्य), मनविक्रम राई (सदस्य) र भगत राई (सदस्य) यस संस्थाका संस्थापक सदस्य (तत्काल तदर्थ समिति) रहेका थिए ।
उक्त संस्था २०५३ सालमा जिल्ला प्रशासन कार्यालय, खोटाङमा विधिवत रूपमा दर्ता (दर्ता नंं. ६३/०५२/५३) भयो । २०५३ सालमा संस्था दर्ता भए पनि २०५२ सालबाटै हामीले ‘प्रतिभा’ नामक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशनको शुभारम्भ गर्यौं । पछि उक्त पत्रिका ६ (२०५९ सम्म) अङ्कसम्म प्रकाशित भयो ।
‘नव–प्रतिभा साहित्यिक मञ्च’ वैधानिक रूपमा खोटाङमा स्थापना भएको पहिलो साहित्यिक संस्था हो । यसअघि २०१४/१५ मा बुइपामा पुस्तकालयको स्थापना भई २०२० देखि ‘गोरेटो’ पत्रिकाको प्रकाशन, २०४२ सालमा बम थुलुङकJ अध्यक्षतामा ‘पूर्वाञ्चल साहित्यिक प्रतिष्ठान सम्पर्क समिति, खोटाङको गठन भई यसबाट ‘हलेसी’ पत्रिकाको प्रकाशन भएको पाइन्छ । यसै क्रममा खोटाङको साहित्यिक विकासमा दिक्तेल स्थित ‘हिमाली क्लव’ र ‘सौजन्य पुस्तकालय’को पनि महत्वपूर्ण भूमिका रहेको छ ।
‘नव–प्रतिभा साहित्यिक मञ्च’ को स्थापनापछि संस्थागत रूपमा दिक्तेलमा साहित्यिक गतिविधिहरू निकै अगाडि बढे । जस्तो कि भानु जयन्ती, लेखनाथ जयन्ती, देवकोटा जयन्ती, मोतीराम जयन्ती, नयाँ वर्ष, प्रजातन्त्र दिवस, शहीद दिवस आदि अवसरहरूमा कविता प्रतियोगिता, गजल प्रतियोगिता, वादविवाद प्रतियोगिता, दोहोरी गीत प्रतियोगिताहरू आयोजना हुँदै गए ।
साहित्यिक कार्यक्रमहरू सम्पन्न गर्न मञ्चको कार्यकारी समिति, साधारण सदस्य, आजीवन सदस्य, कर्मचारी, शिक्षक, व्यापारी आदि शुभेच्छुकहरूबाट सहयोग रसिद मार्फत् रकम सङ्कलन गरिन्थ्यो । पत्रिका प्रकाशन गर्नको लागि जिल्लास्थित सरकारी कार्यालय, स्थानीय निकाय, निजी/सरकारी स्कूल तथा व्यापारीहरूसँग विज्ञापन मार्फत रकम जुटाइन्थ्यो । यी विविध खाले कार्यक्रम तथा साहित्यिक पत्रिका ‘प्रतिभा’ प्रकाशनको माध्यमबाट अग्रज स्रष्टाहरूले नयाँ प्रतिभाहरू चिन्दै गए । नयाँ प्रतिभाहरूले अग्रज स्रष्टाहरूको बारेमा थाहा पाउँदै गए । अग्रज श्रष्टा र उदीयमान स्रष्टाहरूको सङ्गम बन्यो–नव–प्रतिभा साहित्यिक मञ्च ।
संस्था स्थापनापछि केही अग्रज स्रष्टाहरूबाट यसको नाम किन ‘नव–प्रतिभा साहित्यिक मञ्च’ राखियो ? के यो भर्खरका नयाँ प्रतिभाहरूको मात्र हो ? यसमा पुराना स्रष्टाहरूलाई ठाउँ छैन ? भन्ने प्रश्नहरू पनि आए । नाम नव प्रतिभा भए पनि यो संस्था नयाँ, पुराना सबै खाले स्रष्टाहरूको सङ्गम थियाे । त्यसैले यो संस्थाबाट निस्किने पत्रिकाको नाम ‘प्रतिभा’ राखिएको हो भन्ने कुरामा हामीले जोड दियौं । त्यसैले यसको नाममा कुनै फेरबदल भएन ।
नभन्दै २०५६ सालको माघ महिनामा धनप्रसाद र यादेवीको बिहे भव्य रूपमा सम्पन्न भयो । म सोलुबाट केही दिनको बिदा लिएर बिहे खान अघिल्लो दिनै नेर्पा गएँ । नेर्पाबाट पञ्चेबाजाको तालमा डाँडागाउँ रतन्छा जन्ती गइयो । बारीका पाटामा बसेर सालका टपरीमा भतेर खाइयो । रेखा चाहिं भोलिपल्ट जन्तेबाख्रो खान नेर्पा आइन् । अन्ततः रेखा र मेरो प्रयासले सार्थकता पाएकोमा हामी औधि खुसी भयौं ।
यस मञ्चबाट प्रकाशित हुने साहित्यिक पत्रिका ‘प्रतिभा’ सुरुमा दुई अङ्कसम्म अर्धवार्षिक र त्यसपछि वार्षिक रूपमा ६ अङ्क (२०५९) सम्म प्रकाशन भयो । वर्षमा दुईचोटि प्रकाशन गर्नको लागि त श्रोत जुटाउन पनि गाह्रो । रचना सङ्कलन गर्न पनि गार्हो । किनकी, धेरै अग्रज स्रष्टाहरू त काठमाडौंमै थिए । दाहाल यज्ञनिधि, राधेश्याम भट्टराई, प्रल्हाद पोखरेल, नगेन्द्रराज रेग्मी आदि ।
बाहिरका रचनाहरू प्रायः हुलाक मार्फत् सङ्कलन हुन्थ्यो । यही ‘प्रतिभा’ साहित्यिक पत्रिका नै खोटाङ र खोटाङ बाहिर रहेका नयाँ र पुराना खोटाङे स्रष्टाहरूको सम्बन्ध सेतु बन्यो । काठमाडौंमा रहेका माथि उल्लेखित स्रष्टाहरूबाट रचना सङ्कलन, सम्पादन र प्रकाशन सम्बन्धमा सुरुदेखि नै महत्वपूर्ण सल्लाह, सुझाव प्राप्त हुँदा हामीलाई हौसला बढ्नुका साथै काममा निपुणता पनि हासिल हुँदै गयो ।
त्यो बेला धनप्रसाद गाविस सचिव, रेखा राई टाइपिस्ट मुखिया, दिलकुमार खड्का मुखिया र गोविन्दप्रसाद आचार्य, कल्याण रोका, मनकुमार राई, भगत राई र म लगायत धेरै साथीहरू प्रायः आ–आफ्नै गाउँमा शिक्षक थियौं । महिना–महिनामा हुने बैठक र विभिन्न अवसरमा हुने साहित्यिक कार्यक्रमहरूमा हामी भेला हुन्थ्यौं । अगाडिदेखि नै तयारी गरी कार्यक्रमलाई राम्रैसँग सम्पन्न गर्थ्यौ। पत्रिका निकाल्ने बेला कामको निकै चाप हुने हुँदा हामी सम्पादक टिमका व्यक्तिहरू दिक्तेलमै बसेर फुलिस्केपमा रचनाको पाण्डुलिपि तयार गर्थ्यौँ । पत्रिकाको पाण्डुलिपि तयार भएपछि हामीमध्ये कोही काठमाडौं आएर पुतली सडक स्थित खोटाङेहरू कै त्रियुगा अफसेट प्रेसबाट पत्रिका छपाएर दिक्तेल पुर्याउँथ्यौँ । यसरी छापिएको पत्रिका हेर्न हामी निकै आतुर हुन्थ्यौं । अरू स्रष्टाहरू पनि त्यत्तिकै व्यग्र हुन्थे ।
‘नव–प्रतिभा साहित्यिक मञ्च’ स्थापनापछिका केही वर्षसम्म पत्रिका प्रकाशन लगायत हरेक साहित्यिक गतिविधिमा हामी सबैको उत्साहजनक सहभागिता रह्यो । बुइपाका प्रसिद्ध कवि जसराज किराँतीसँग मञ्चकै कार्यक्रमको सिलसिलामा त्यही बेला दिक्तेलमा एकचोटि मात्र भेट भई कविता सुन्ने र सुनाउने मौका मिल्यो । जसराजको कविता सुनेर हामी मख्ख भयौं ।
हामी त्यतिखेर भर्खर–भर्खर साहित्यमा ताते गरिरहेका थियौं । केही सिकिरहेका थियौं । साहित्यमा लागेर ठूलो मान्छे बन्ने, भानुभक्त, लेखनाथ, लक्ष्मीप्रसादको जस्तै नाम चम्काउने सपना देख्थ्यौँ हामी त्यो बेला । हुन पनि सपना देख्ने समय नै थियो त्यो । हामी युवा जोश–जाँगरले भरिएका थियौं । प्रतियोगितामा पुरस्कृत हुने बित्तिकै के–के न जितियो, ठूलै पो भइयो कि भन्ने लाग्थ्यो । पत्रिकामा लेख–रचना छापियो भने भुईंमा खुट्टा हुँदैनथे । हातमा पत्रिका बोकेर अरूलाई देखाउँदै हिंड्थ्यौं । आफ्नो रचना अरूले तत्काल पढि दिऊन् र प्रशंसा गरि दिऊन् भन्ने लाग्थ्यो ।
त्यतिखेर हामीमा नामको पछाडि उपनाम राख्ने लहड नै चलेको थियो । किनकी, कवि/लेखक भएपछि आम मान्छेभन्दा आफूलाई फरक देखाउन नामको पछाडि उपनाम राख्नै पर्छ भन्ने थियो हामीमा । यो उपनामको भूत चढेर नै मैले टङ्क भट्टराई ‘विवश’ लेखेँ । मैले यसको छाप नै बनाएको थिएँ । धनप्रसादको पछाडि ‘श्रमिक’, गोविन्दप्रसाद आचार्य ‘विसाचॉ (नाम र थरको बीच–बीचको अक्षरबाट), रेखा राई ‘क्षितिज’, केशवप्रसाद आचार्य ‘प्रमित’, हेम बाँस्तोला ‘भावुक’, एम.सि.‘सुमित’ (मकरचन्द्र राई), भोगेन ‘एक्ले’(भोगेन्द्र राई), ,पृथ्वी तामाङ ‘जिम्बा’, बम बानिया ‘प्रभात’, केशव फुयाँल ‘भूमरी’ आदि । यस्ता उपनाम राख्नेहरूमा कतिको नाम त मैले अहिले भुलें ।
यी उपनामका विषयमा ‘प्रतिभा’ को दोश्रो अङ्कमा काठमाडौंबाट राधेश्याम भट्टराईले व्यङ्ग्यात्मक रूपमा एउटा सानो लेख नै लेख्नुभएको थियो । त्यसको केही वर्षपछि मैले चाहिं नामको पछाडि ‘विवश’ लेख्न छोडिदिएँ । किनकी, मभन्दा अगाडि नै खोटाङ, सिम्पानीका अग्रज श्रष्टा ज्ञानेन्द्र श्रेष्ठले ज्ञानेन्द्र विवश लेख्न थालि सक्नुभएको थियो । ‘विवश’ उपनाम भएका खोटाङ बाहिरका साहित्यकारहरू अरू पनि थिए ।
संस्था स्थापनाको सुरुमा गठन भएको तदर्थ समिति अर्थात संस्थापक सदस्यहरू रहेको समिति २०५३ असारको साधारणसभाबाट पुनर्गठन भई गोविन्दप्रसाद आचार्य (अध्यक्ष), कल्याण रोका (उपाध्यक्ष), टङ्क भट्टराई (सचिव), टीका थापा (सह–सचिव), रेखा राई (कोषाध्यक्ष), यादेवी ढकाल, भगत राई, डम्बर हम्रुङ, गोकुल परियार, रोहित धिताल र जगतराम राई सदस्यहरू रहेको नयाँ कार्यसमिति चयन भयो ।
२०५६ मङ्सिरको साधारणसभाबाट सुकराज राई (अध्यक्ष), चक्र मोक्तान (उपाध्यक्ष), धनप्रसाद सुवेदी (सचिव), झमप्रसाद आचार्य (सह–सचिव), बिन्दाकुमारी आचार्य (कोषाध्यक्ष), रामविक्रम थापा, धनराज राई, गोविन्दप्रसाद आचार्य, विद्याप्रसाद लम्साल, रेखा राई र नयन राई सदस्यहरू रहेको कार्यसमिति चयन भयो । त्यसैगरी २०५९ श्रावणको साधारणसभाबाट रामविक्रम थापा (अध्यक्ष), चक्रबहादुर मोक्तान (उपाध्यक्ष), धनप्रसाद सुवेदी(सचिव), मकरचन्द्र राई (सह–सचिव), झमप्रसाद आचार्य (कोषाध्यक्ष) र सदस्यहरूमा सुकराज राई, गोविन्दप्रसाद आचार्य, ध्रुवराज राई, बमबहादुर बानियाँ, पाँचकुमार राई र मनिता राई रहेको अर्को कार्यसमिति चयन भयो । र, यो नै यस मञ्चको अन्तिम कार्यसमिति रह्यो ।
यस मञ्चबाट प्रकाशित हुने साहित्यिक पत्रिका ‘प्रतिभा’ को दोश्रो अङ्कसम्म धनकर्ण श्रेष्ठ प्रधान सम्पादक, धनप्रसाद सुवेदी उपसम्पादक तथा टङ्क भट्टराई, कल्याण रोका र दिलकुमार खड्का सम्पादकमा रहेका थिए । त्यसपछि भने दोश्रो अङ्कमा अतिथि सम्पादक रहेका राम बिक्रम थापाको प्रधान सम्पादकत्वमा ‘प्रतिभा’ का अरू अङ्कहरू प्रकाशन भए ।
त्यो बेला मञ्चमा आवद्ध हामीहरू जिल्लाभित्रका विभिन्न ठाउँमा रहे पनि बेलाबखत दिक्तेलमा भेटघाट गरिरहन्थ्यौँ । साहित्यिक कार्यक्रम तथा पत्रिका प्रकाशनको औपचारिकता मात्र होइन हामी भित्रको अनौपचारिक सम्बन्ध पनि त्यत्तिकै प्रगाढ थियो । हामी कति साथीहरू एक–अर्काको घरसम्म बेलाबखत आउजाउ गर्थ्यौ । धनप्रसादजी र म कहिले उहाँको घर नेर्पा त कहिले मेरो घर खाल्ले धेरै चोटि आइजाइ गरेका छौं । एउटै खाटमा सुतेर राति अबेरसम्म पनि ननिदाई–ननिदाइकन बात मारेका छौं । दिक्तेल, रत्नपार्कस्थित जीवन श्रेष्ठको होटलमा अरू साथीहरू सहित भएर खानपिन र हँसीमजाक गर्दै निकै चोटि रात बिताएका छौं ।
त्यतिखेरको एउटा रमाइलो कुरा यहाँ उल्लेख नगरे अपुरो हुन्छ ।
मैले केही वर्षअघि नै बिहे गरिसकेको थिएँ । रेखा नेर्पाका धनीराम राई (शिक्षक) सँगको प्रेम सम्बन्धमा थिइन् । रेखा हाँसि रहनुपर्ने, बोलि रहनुपर्ने खुला दिलकी । यादेवी पनि त्यस्तै । एक दिन रेखा र मैले त्यस्तै प्रसङ्गमा एउटा सल्लाह गर्यौं । धनप्रसादजी र यादेवीको प्रेम बसाइदिने सल्लाह थियो त्यो । यही सल्लाह बमोजिम मैले केही दिनपछि धनप्रसाद जीसँग कुरा गरें । रेखाले यादेवीसँग । संस्थामा रहेर त्यत्रो काम गर्दा हामी सबैबीच एक किसिमको नजिकको सम्बन्ध त थियो नै । त्यै पनि मायाप्रिति लाउने कुरामा त्यो बेला त्यति सहज त कहाँ हुन्थ्यो र ! त्यसमाथि सुवेदीजी त्यस मामिलामा निकै कमजोर । अघि बढ्न डराउने ! हामीले आपसमा चिठीको माध्यमबाट मनका कुराहरू राख्दै जाने कुरा दुवै जनालाई सुझाएका थियौं । त्यसपछि बिस्तारै–बिस्तारै दुई जनाको प्रेम सम्बन्ध बढ्दै गएको कुरा हामीले छनक पाउँदै गयौं । बेला–बेला उनीहरूले चिठी पनि लेखालेख गरेजस्तो लाग्यो हामीलाई ।
नभन्दै २०५६ सालको माघ महिनामा धनप्रसाद र यादेवीको बिहे भव्य रूपमा सम्पन्न भयो । म सोलुबाट केही दिनको बिदा लिएर बिहे खान अघिल्लो दिनै नेर्पा गएँ । नेर्पाबाट पञ्चेबाजाको तालमा डाँडागाउँ रतन्छा जन्ती गइयो । बारीका पाटामा बसेर सालका टपरीमा भतेर खाइयो । रेखा चाहिं भोलिपल्ट जन्तेबाख्रो खान नेर्पा आइन् । अन्ततः रेखा र मेरो प्रयासले सार्थकता पाएकोमा हामी औधि खुसी भयौं ।
मान्छेको रुचि कता ? जीवनको गति कता ? जिन्दगी आफूले चाहेजस्तो त कहाँ हुन्छ र । खोजेको एउटा हुन्छ पाउने अर्कै । सोचेको एउटा हुन्छ भइदिने अर्कै । थोरै मान्छेको जीवनमा मात्र होला सोचाइ र गराइ बीचको तालमेल ।
संस्था स्थापनाको केही वर्षपछि हामी जागिरको क्रममा छिन्नभिन्न हुन थाल्यौं । यो स्वभाविक हो कि हामीले आफ्नो भविष्यका बारेमा पनि सोच्नुपर्ने थियो । कविता त सोख हो, यसबाट जीवन चल्दैन भन्ने कुराको पनि हामीलाई बोध हुँदै गयो ।
लोक सेवा आयोग, दिक्तेलबाट खरिदार पास गरेर म २०५३ सालमा ओखलढुङ्गातर्फ हिंडेको । दिलकुमार त्यो भन्दा अघि नै मुखिया पास गरेर सोलुखुम्बु गएका थिए । धनप्रसाद गाविस सचिवको स्थायी जागिर छोडेर डिग्री पढ्न काठमाडौं आए । कल्याण रोका पनि स्थायी शिक्षकको जागिर छोडेर डिग्री पढ्न काठमाडौं आए । केशव आचार्य पनि डिग्री पढ्न काठमाडौं नै आए । रेखा निजामती जागिर खाँदै दिक्तेलमै रहिन् । जगतराम ब्रिटिश आर्मीमा भर्ना भए । फोटो व्यवसाय सञ्चालन गर्दै आएका डम्बर हम्रुङ जिल्लामै रहेर कान्तिपुर दैनिकको संवाददाताको भूमिकामा क्रियाशील रहे । गोविन्द र भगत सरस्वती मा.वि. दिक्तेल र अरू साथीहरू कोही आफ्नै गाउँ ठाउँतिर शिक्षण पेशामा र कोही अरू विभिन्न पेशामा संलग्न रहे ।
संस्था स्थापनाताकाका केही स्रष्टाहरू जागिर वा पढाइका खातिर दायाँबायाँ लागे पनि विधानअनुसार तीन–तीन वर्षमा कार्यसमिति पुनर्गठन हुँदै गयो । कार्यसमितिमा नयाँ स्रष्टाहरू पनि थपिँदै गए । केही वर्षपछि सुकराज राई (चमा थुलङ) र रामविक्रम थापा जस्ता साहित्यिक हस्तीहरूले पनि संस्थाको नेतृत्व सम्हाल्न पुगे । त्यसैले पनि संस्थाका गतिविधिमा सुस्तता आउन पाएन । रामविक्रम थापाले त तेश्रो अङ्कदेखि नै प्रधान सम्पादकको भूमिका निर्वाह गरी कार्यकारी सम्पादक धनप्रसाद सुवेदी, सम्पादक चमा थुलुङ, सह–सम्पादक गोविन्दप्रसाद आचार्य लगायतका साथीहरूको सहयोगमा ‘प्रतिभा’ लाई अझ स्तरीय बनाउँदै लगे । त्रि.वि.वि.बाट नेपालीमा डिग्री सकेर दिक्तेल क्याम्पस पढाउन सुरु गरका धनप्रसादले मञ्चको तेश्रो र चौथो कार्यकालमा सचिवको भूमिका निर्वाह गरे ।
२०६० मा प्रल्हाद पोखरेल खोटाङमा स्थानीय विकास अधिकारी भई गएपछि उनी लगायत बम थुलुङ, विष्णु आभूषण, रामविक्रम थापा, चक्र मोक्तान, चमा थुलुङ, धनप्रसाद सुवेदी लगायतका स्रष्टाको सक्रियतामा ‘नव प्रतिभा साहित्यिक मञ्च’ लाई बिस्तार गरी ‘राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान’ बनाइयो । यसले केही अङ्कसम्म ‘वाङ्मय’ नामक द्वैमासिक पत्रिका पनि प्रकाशित गर्यो । ‘खोटाङ गजल मञ्च’ (२०६१) यसै प्रतिष्ठान मातहत खोलिएको संस्था हो । यस प्रतिष्ठानको पहिलो अध्यक्षमा बम थुलङ र त्यसपछि साहित्यकार विष्णु आभूषणले हालसम्म पनि नेतृत्व सम्हालिरहेका छन् । तर, पछिल्लो अवस्थामा यस प्रतिष्ठानको सक्रियतामा भने कमी आएको छ ।
ऊ बेलाका साथीहरू को कहाँ पुगिसके । कतिसँग भेट हुन्छ । कतिसँग हुँदैन । भेट नभए पनि कतिको हालखबर थाहा हुन्छ । कतिको हुँदैन । पि.एच.डि गरिसकेका धनप्रसाद र यादेवी दुवैजना यतिखेर क्रमशः सह–प्राध्यापक र उप–प्राध्यापक छन् । आ–आफ्नो ढङ्गले साहित्यमा क्रियाशील छन् । सुकराज राई दिक्तेल क्याम्पस प्रमुखसम्म भएर विद्यावारिधि गरी हाल काठमाडौंमै रही कलेजतिर पढाउँछन् । दिलकुमार खड्का निजामती सेवाको उपसचिव पदमा छन् राजधानीमै । खड्काजीको साहित्य लेखन भने सुस्तायो । विदेशबाट विद्यावारिधि गरेका कल्याण रोका राजनीतिमा स्थापित भइसकेका छन् । ऊ बेलादेखि निरन्तर दिक्तेल बसी जागिर खाँदै स्थानीय तहमा अधिकृत भएकी रेखा यतिखेर निजामती कर्मचारी सङ्गठन, खोटाङकी जिल्ला अध्यक्ष छिन् । साहित्यमा कलम पनि चलाइ रहेकै छिन् ।
रामविक्रम थापा मा.वि.तहको प्रथम श्रेणीसम्म भएर जिल्लामै बसी साहित्य साधना गरिरहेछन् । डम्बर हम्रुङ पत्रकारितामै छन् । बेलायती सेनाको क्याप्टेन भइसकेका जगतरामको साहित्यिक सक्रियता उस्तै छ । ऊ बेलैदेखि शिक्षण पेशा गरिरहेका एम.सि.सुमित अझै कविता लेखिरहेका छन् । जिल्ला तिरै शिक्षण कर्ममा तल्लीन झमप्रसाद बेला–बेला कवितामा कलम चलाउँछन् । राजधानीमा बसे पनि चाँडो–चाँडो जिल्ला धाइरहने बम बानियाँले कविता र राजनीति दुवैतिर तरङ्ग लेइरहे कै छन् ।
२०६४ सालमा खोटाङे स्रष्टाहरूको सक्रियतामा ‘रावासावा प्राज्ञिक समाज’ को स्थापना भएपछि यसले गर्दै आएका साहित्यिक गतिविधिहरू मार्फत् राजधानीमा रहेका धेरैजना खोटाङे स्रष्टाहरूसँग भेट हुन्छ । एक–अर्काका कुरा थाहा हुन्छन् । कतिका नयाँ फुटकर रचना तथा कृतिहरू पढिन्छन् । जिल्लामा सँगै कविता लेख्ने, कार्यक्रम हुँदा सँगै वाचन गर्ने कति साथीहरूसँग त नव–प्रतिभा छोडेदेखि नै भेट भएको छैन । कतिले लेख्न छोडे । कतिले लेखिरहेका छन् । कतिले किताब निकाले । कतिका डायरीमै सीमित छन् । राजधानीमै रहने नयाँ–पुराना सबै स्रष्टाहरूसँग पनि सँधै कहाँ भेट हुन्छ र !
मैले २०६८ देखि २०७६ सालसम्म गोर्खा एफ.एम. मा साहित्यिक कार्यक्रम ‘सम्बोधन’ चलाउँदा स्वदेश तथा विदेशमा रहेका निकै जना खोटाङे स्रष्टाहरूलाई रेडियोमा ल्याउने मौका पाएँ । कतिलाई चाहेर पनि सकिएन । २०७० साल वैशाखमा दिक्तेलमा सम्पन्न तीन दिने खोटाङ साहित्य कला महोत्सवले जिल्ला र काठमाडौंमा रहेका धेरै स्रष्टाहरूलाई भेट गरायो । अघिल्ला र पछिल्ला स्रष्टाहरूबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरायो । त्यो महोत्सवमा सहभागी भएकामध्ये एक श्रीराम राई अहिले राजधानीमै बसेर पत्रकारिता र साहित्यमा स्थापित भइसकेका छन् ।
पछिल्लो समय बेलाबखत कामको सिलसिलामा गाउँ जाँदा दिक्तेलमा विष्णु आभूषण, कृष्ण आचार्य(साहित्यकार/पत्रकार), रेखा राई, रामविक्रम थापा, मिनप्रसाद दाहाल लगायत स्रष्टाहरूसँग भेट हुन्छ । संयोग मिले कुनै कार्यक्रममा र नभए त्यतै कतै एकछिन चिया पिउँदै बात मारिन्छ । साहित्य र अरू विषयका कुरा गरिन्छ ।
अन्तमा,
आज २७ वर्ष भएछ यो कहानी सुरु गर्दाको । यो बीचमा म्याखोला, भालुखोला, रावा, सावा, साप्सु र दिखुवामा धेरै पानी बगिसक्यो । जिल्लामा बिजुली बत्ती बल्यो । मोटर बाटो पुग्यो । प्रायः गाउँ–गाउँमा इन्टरनेटको सुविधा छ । मुलुकमा आएका ठूला–ठूला राजनीतिक परिवर्तन र घटनाक्रमले खोटाङ अछुतो रहने त कुरै भएन । त्यसमा खोटाङको पनि उत्तिकै देन छ । वर्तमान संघीय संरचनाअनुसार जनताको नजिकमा स्थानीय सरकार छ । आज कालीकोट भनिँदैन खोटाङलाई ।
राजधानीबाट सरर–र सात–आठ घण्टैमा दिक्तेल पुगिन्छ । यो भौतिक विकासले मान्छेको चेतनामा परिवर्तन आएको छ । शिक्षा र ज्ञानको दायरा फराकिलो भएको छ । लेख्नको लागि पात्र, परिवेश, घटना र विषयहरूले फरक रूप लिएका छन् । तर, परिस्थिति र मनस्थिति बदलिए पनि प्रकृतिको लय उही छ । खोला उसैगरी बग्छन् । ऋतु पिच्छे फूलहरू त्यसैगरी फुल्छन् । उस्तै छ बतासको चाल । उही प्राकृतिक गतिमा नृत्य मग्न छन् वन–वनेलीहरू ।
आज खोटाङमा थुप्रै अनुज पुस्ताहरू साहित्यको आकाशमा उदाइसकेका छन् । हिजोका अग्रज पुस्ता हुँदै हामीले खनेको साहित्यको गोरेटोलाई अझै फराकिलो बनाउन ती लागिपरेका छन् । हामीले हाम्रो माटो, समाज, संस्कृति र प्रकृतिका धेरै कुराहरू लेख्नुछ । कति छन् कति हाम्रा ओझेल परेका कुराहरू । लेख्न बाँकी कुराहरू । तिनलाई राष्ट्रिय स्तरमा मात्र होइन विश्वस्तरमा पनि चिनाउन सक्ने सामर्थ्य हामीले राख्नुछ । त्यसो गर्न सके मात्र हामी पनि उठ्नेछौँ । खोटाङ र खोटाङेलाई पनि माथि उठाउनेछौँ ।
२०७९ जेठ ११, नारानथान