लोकसंवाद संवाददाता | समाचार | जेठ १२, २०७६
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहिचान गरिएका नेपालका १५ सम्पदाको अवस्था अन्योलमा परेको छ । १० वर्ष अघि नेपालले १५ वटा सम्पदाको पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो । प्रत्येक वर्ष विश्वभरिबाट प्राप्त सम्भावना बोकेको सम्पदालाई अद्यावधिक गर्ने विश्व सम्पदा समितिको पूर्ण बैठक जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा बस्दै छ । नेपालले प्रत्येक १०÷१० वर्षमा समितिलाई सूची पठाउँदै आएको छ ।
त्यसअघि नेपाल पनि आफ्ना कुन कुन सम्पदा सूचिकृत गर्न अवश्यक मापदण्ड पूरा गरेका छन् कुन छैनन् भन्ने टुङ्गो लगाउनुपर्ने हुन्छ । तर सो काम हुन सकेको छैन ।
नेपालबाट सन् १९९६ मा मुस्ताङस्थित मुतिmनाथ उपत्यकाको गुफा, तोरीको तेलका लागि प्रसिद्ध खोकना, रामग्रामस्थित बुद्धको स्तुपा, पनौती र गोरखाको मध्ययुगीन पूर्वाधार र दरबार तथा तिलौराकोटमा अवस्थित शाक्य वंशको पुरातात्विक अवशेषहरूसँगै लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत हुन योग्य पहिचान गरिएको थियो । लुम्बिनी क्षेत्र भने सूचिकृत हुन सफल भएको छ ।
त्यस्तै पुरातत्व विभागले सन् २००८ मा दैलेखको भूर्ति मन्दिर, कीर्तिपुरको मध्ययुगीन बस्ती, लोमान्थाङको मध्ययुगीन माटोको पर्खाल, नुवाकोट दरबार, रामजानकी मन्दिर, रूरूको ऋषिकेश क्षेत्र, जुम्लाको सिञ्जा उपत्यका, मध्ययुगीन तानसेन सहर र वज्रयोगिनी र साँखुको परापूर्वकालीन बस्तीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहिचान गरेको थियो । आजको गाेरखापत्र दैनिकमा खबर छ ।