डा. सदानन्द कडेल | साहित्य | साउन ०६, २०७९
रातको ११ बजेको छ । चन्द्रमा अत्यन्तै प्रसन्न भएर मुस्कुराइरहेको छ । बादलले छेक्न नभ्याए काले आकाशमा ताराहरू आँखा झिम्क्याइ रहे जस्ता देखिन्छन् । कालो बादल पश्चिमी आकाशबाट पूर्वतिर बेगमार्न लालायित देखिन्छ । पूर्वी आकाशमा सेता वादलका झुण्डहरू बिछट्टै आकर्षक देखिन्छन् । घरीघरी दक्षिण क्षितिजमा बिजुली चम्किरहेछ ।
दिपायलको बगर तथा बसपार्कमा मात्र हैन राजपुरको डाँडो र जोगिडा बरे स्थित शिक्षक तालिम केन्द्रका भवन तिर बत्ति बलेको देख्न सकिन्छ । पिपल्ला देखी तल चन्द्रमाको किरणले सेती नदीको पानी टल्किरहे झैं लाग्छ । सेतीको स्वर लहरी सँगै विभिन्न खाले कीराहरूको आवाज पनि सुनिन्छ ।
दिपायल विमानस्थलको पूर्वी भागमा सेती नदी कै छेउमा अवस्थित एउटा घरको सानो कोठा अगाडिको छतमा म्याट र तौलिया ओछ्याएर पल्टिरहेको छु म । मेरो जीवनको १३ औं डेरा हो यो । कोठामा न आज बिजुली बत्ती छ न त साथी नै । मेरो रुम पार्टनर तथा अनन्य मित्र भानुभक्त जोशी केही दिन अगाडी नै हुम्ला तर्फ प्रस्थान गरिसक्नु भएको छ ।
धादिङको बैरेनी स्थित बागेश्वरी माध्यमिक विद्यालयमा पढाउँदा का मेरा विद्यार्थी तथा पेशागत कामको सिलसिलामा डोटी आउनु भएका शिव रिमालसँग अचानक भेट भयो । उहाँसँगै दुइ रात बिताएर बैरेनीमा शिक्षक हुँदाका मिठा क्षणहरूको बारेमा कुरा गर्दा असाध्यै मज्जा भएको थियो । उहाँ पनि सिलगढी तिर जानु भयो । त्यसैले अलिक दिक्क पनि लागेको छ ।
पहिलो पटक दूर्गम स्थानमा जागिर खान आएको झन्डै ४ महिना बित्न लागेको छ । भोली फेरी एक महिनाको लागि जुम्ला प्रस्थान गर्दैछु । घर जान ढिलाइ भएपनि कर्णाली अञ्चलको भ्रमण गर्न पाउने अवसर मिलेकोले मन उत्साहित भएको छ । जुम्लाबाट नेपालगन्ज फर्किएपछि दुई हप्ताको बिदा स्वीकृत गराएको छु–सेती परियोजनाका निर्देशक तथा क्षेत्रीय शिक्षा निर्देशनालयका निर्देशक बखत बहादुर चित्रकारबाट । उहाँ त मलाई गजुरीमा व्यावसायिक कृषि पढाउने मेरा गुरू रवि चित्रकारको बुवा पो हुनु हुँदो रहेछ । आफ्नो छोरोको विद्यार्थी भन्ने थाहा भएपछि उहाँले धेरै नै स्नेह देखाउनु भयो । मलाई सरकारी जागिर खानको लागि सुझाव पनि दिनु भयो ।
भोलिपल्ट शाही नेपाल वायुसेवाको टि्वनअटर विमानले दिपायलबाट उडेको ३४ मिनेटमा नेपालगन्ज विमानस्थलमा अवतरण गर्यो । रिक्सा लिएर सिधै नेपालगन्जको शीतल गेष्ट हाउसमा गयौं । साथमा इन्द्र क्षेत्री पनि भएकोले एकदम रमाइलो छ ।
शनिबारको दिन भएकोले कतिपय पसलहरू खुलेका थिएनन् । उखुम गर्मी भएपनि हामीलाई खासै केही गाह्रो लागेन । दिपायल–राजापुर को गर्मी पचाउने बानी परेको थियो हामीमा । दिपायल बगरको होटेलमा १० रूपैयाँ तिर्नुपर्ने कोल्ड ड्रिंक्स नेपालगन्जमा ४.५० रूपैयाँमा पाउँदा त हामी मक्ख थियौं । राम राज्य नै आएको हो कि जस्तो लाग्ने !
२०४६ साल असार ११ गते आइतबार बिहान ७.०८ बजे नेपालगन्ज विमानस्थलबाट जुम्ला तर्फ उड्यौँ । हवाइजहाजले जति जति उचाई लिदै गयो त्यति त्यति कर्णाली अञ्चलमा पाइला टेक्ने मनको रहर चुलिँदै गयो । जुम्लाको अनुहार हेर्ने उत्सुकता मनको आकाश भरी फैलियो ।
सुर्खेत उपत्यका पार गरेपछि प्लेनको बायाँ पट्टीको सिटमा बसेका इन्द्रले भने, ‘ल हेर सउडी, म जाने कालीकोट चाहिं मेरै साइडबाट राम्रो देखिने रहेछ ।’
मैले निकै रुची पूर्वक उभिएर उनको झ्यालबाट हेर्ने प्रयास गरें । तर तत्काल कालो बादलको झुण्डले छेकिदियो ।
अर्को सिटमा बसेका एकजना यात्रुले भने, ‘महावु लेक माथि पुगेपछि त हल्लाउन पो थाल्यो त !’ मैले पनि हतारमै सिटमा बसेर आफ्नो पेटी बाँध्ने काम गरि हाले । ४२०० मिटर (१३,७८० फीट) उचाईमा रहेको कालिकोटको सिमानामा अवस्थित महावु लेक दैलेखको सबैभन्दा अग्लो भूभाग रहेछ । यो लेक त खप्तड भन्दा पनि अग्लो रहेछ ।
प्लेनले जुम्ला विमानस्थलमा अवतरण गरेपछि हाम्रो ३५ मिनेट अवधिको हवाई यात्रा समाप्त भयो । प्लेनको भर्याङबाट ओर्लिएर कर्णाली अञ्चलको भूमिमा टेक्दा मलाई एकदम रमाइलो लाग्यो । रूकस्याक बोकेर बाहिर निस्कियौँ । एक छेउमा बसेर फोटो खिच्यौँ ।
जुम्ला उपत्यकाको बीचबाट तिला नदी कलकल छलछल बग्ने रहेछ । दुबै तिर फाँट देखेर मनै आनन्दित भयो । मलाई नजिकै ताल, खोला, नदी तथा समुन्द्र भएको बस्ती, गाउँ, बजार तथा शहर असाध्यै मनपर्छ । यसका उदाहरण हुन्–अमिल्टार, मलेखु, काठमाडौं, ललितपुर, मेलम्ची, हेटौडा, पोखरा, चैनपुर, दिपायल, जुम्ला, जोमसोम, पेरिस, हाइफा, कश्मीर, मुम्बई, गोवा, ऋषिकेश, ब्रिसबेन, गोल्ड कोष्ट, क्यानबेरा ।
फुर्सदको समयमा उहाँले मलाई सिनेमा हेर्न भिडियो हलमा लैजानु भयो । १२–१५ जना दर्शक अट्ने सानो कोठामा मैले पहिलो पटक हिन्दी फिल्म हेर्ने मौका पाएँ । त्यो थियो अमिताभ बच्चन र अमृता सिंह अभिनित फिल्म ‘मर्द’ । यूनेस्कोको तलव भत्ता खाएर जुम्लामा सिनेमा हेर्न पाउँदा खुबै रमाइलो लाग्यो । यस अघि मैले काठमाडौंको रन्जना सिनेमा हलमा नेपाली फिल्म ‘जीवन रेखा’ र धादिङको सिम्लेमा शिक्षक हुँदा खुल्ला चौरमा ‘मनको बाँध’ नामक नेपाली फिल्म मात्र हेरेको थिएँ ।
विमानस्थलबाट खलङ्गा बजार पुगेपछि सुप्रसिद्ध चन्दन नाथको मन्दिरमा दर्शन तथा अवलोकन गरियो । भारतको काश्मिरबाट आएका चन्दननाथ पहिले सिद्ध गुफामा बसेका रहेछन् । उनले त्यहाँ सिद्धि प्राप्त गरेपछि नै खलङ्गामा बस्ती बसाएका रहेछन् । धानखेती गर्न गर्न लगाउने पनि चन्दननाथ बाबा नै हुन् भन्ने किम्बदन्ती रहेछ । भित्र रहेको सरस्वतीको मूर्ति वि. सं. ६०० मा निर्माण गरिएको रहेछ ।
इन्द्रको साथी बालाजुका सागर बैद्य विज्ञान विकास एकाइ जुम्लाका प्रमुख रहेछन् । उनैको आवासमा मैत्रीपूर्ण वार्तालाप सहित खानपिन गर्यौं ।
अपरान्हमा खलङ्गा बजारबाट करिब पौने घण्टाको पैदल यात्रा गरेर हामी पहाडको काखमा रहेको कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गर्न गयौं । शिक्षालयको प्रमुख हुनु हुँदो रहेछ– टंक नाथ शर्मा । मूल द्वारमा त्यहाँ अध्ययनरत विद्यार्थीहरूसँग फोटो पनि खिचियो ।
एक रात बैद्य जीको आवासमा बसेर भोलिपल्ट बिहानै इन्द्र कालीकोट तिर लागे । हिड्ने बेला ‘राम्रो काम गरेर फर्क है, सउडी ?’ भन्दै गम्लङ्ग अँगालो हालेर बिदा भए उनी । मैले पनि उनलाई कालीकोटमा सर्वेक्षण राम्रोसँग सम्पन्न गर्नको लागि शुभकामना दिएँ । बिदाइका समयमा मन अलिक अमिलियो पनि । सेती अञ्चलमा ‘तिमी’ शब्दले दोहोरो रोटी पकाउने बिरलै साथी मध्येका एक हुन् इन्द्र सउडी ।
सेती अञ्चल संचालित ग्रामीण विकासको निम्ति शिक्षा परियोजनालाई कर्णाली अञ्चलमा पनि बिस्तार गर्नको लागि बेस लाइन सर्वेक्षणको जिम्मेवारी सेती परियोजनाकै फिल्ड को-कोअर्डिनेटर दिइएको थियो । जस अनुसार हुम्लामा भानुभक्त जोशी, कालीकोटमा इन्द्र क्षेत्री, मुगुमा मोहन नर्सिङ बोगटी, डोल्पामा रोहित प्रधान र जुम्लामा मलाई खटाइएको थियो ।
शिक्षा मन्त्रालय र परियोजनाको पत्र जुम्लाका जिल्ला शिक्षा अधिकारी हुतराज बस्नेतलाई बुझाएर सर्वेक्षणबारे बताउँदै मैले कार्यारम्भ गरें । उहाँले सहायक जिल्ला शिक्षा अधिकारी मदन पराजुली, माध्यमिक विद्यालय निरीक्षक लोकनाथ पौडेल, प्राथमिक विद्यालय निरिक्षक गणेश के.सी.सँग परिचय गराउनु भयो । सर्वेक्षणका विभिन्न फारमहरू बारे करिब ४ घण्टा अभिमुखीकरण कार्यक्रम संचालन गरें मैले । सबै जनाको प्रतिक्रिया राम्रो पाएकाले प्रभाव राम्रो छोड्न सके जस्तो लाग्यो आफूलाई ।
तीन सदस्यीय सर्वेक्षण टोली (सदानन्द, लोकनाथ र गणेश) निर्माण भएपछि उत्साहका साथ हामी जुम्ला जिल्लाको सदरमुकाम खलङ्गामा अवस्थित चन्दननाथ मा. वि. मा गएर प्रधानाध्यापक इश्वरीदत्त न्यौपानेसँग अन्तर्वार्ता लियौं । शिक्षकहरूसँग अन्तरक्रिया तथा शिक्षक दुःखाप्रसाद सिंह (सप्तरी)को कक्षा अवलोकन गरियो । शिक्षक कृष्णदेव यादवले पहिले धादिङको मैदीमा पढाउनु भएको थियो । म पनि शिक्षक हुँदा उहाँसँग चिनजान भएको थियो । फेरी मित्रता नविकरण भयो । त्यस्तै राजु शरण न्यौपाने सँगको चिनजानले चन्दननाथ मा. वि. मा काम गर्दा निकै सहज र रमाइलो बनाइदियो ।
प्रसिद्ध शिक्षा सेवी तथा पूर्व सहायक मन्त्री अदनसिङ कठायतले स्थापना गर्नुभएको कर्णाली अञ्चलकै पहिलो विद्यालय चन्दननाथ मा. वि. मा ५८१ जना विद्यार्थी र १९ जना शिक्षकहरू रहेछन् । जसमध्ये ९ जना शिक्षकहरू जुम्ला जिल्ला बाहिरका रहेछन् ।
खलंगा बजारबाट उत्तर पूर्वी भेगमा रहेका विद्यालयहरूको सर्वेक्षण गर्ने मिसन लिएर हाम्रो टोली अगाडी बढ्यो । जुम्ला स्याउ फार्मको बाटो हुँदै अगाडि बढेर उर्थु चौतारामा अवस्थित भगवती प्रा.वि.मा सर्वेक्षणको काम सम्पन्न गरियो । कक्षा २ र ३ का विद्यार्थीहरूलाई एउटै कोठामा राखिएको थियो । केवल ३ जना छात्रहरूको मात्र उपस्थिति पाइयो । कक्षामा बेच्न थियो तर डेस्क र कालो पाटी थिएन ।
डिल्ली चौर पुग्दा ऋण मोक्ष मा. वि. बन्द भइसकेको थियो । सौभाग्य बस साना किसान विकास आयोजनाको कार्यालयमा प्रधानाध्यापक टिकाराम सापकोटा (चितवन)सँग भेटघाट भयो । उहाँले आफ्नो डेरामा लिएर जानु भयो । शिक्षाका निरीक्षकहरू नै सँगै भएपछि बास बस्नको लागि समस्या हुने कुरै भएन ।
टिकाराम सरले ‘भात खाने कि राब्लो ?’ भनेर विहानको खानाको लागि रोज्न लगाउनु भयो । मैले भनें, ‘जीवनमा भात त कति खाइयो खाइयो । कहिल्यै नखाएको परिकार 'राब्लो' नै खाने नि !’
उसिनेको सिस्नुको मुन्टालाई मसिनो सँग पिँधेर बनाइएको पिठो र जौको पिठोमा नून खुर्सानी हाली पकाइएको अर्ध ठोस परिकारलाई 'राब्लो' भनिँदो रहेछ । कहिल्यै नखाएको हुनाले स्वाद चाहिं कस्तो अचम्मको जस्तो लाग्यो । प्यारसँग दिएको खानेकुरालाई नमिठो भन्ने त कुरै थिएन । ‘एकदम मिठो’ भनें तर निल्न चाहिं गाह्रो परिरहेको थियो । सेतो मकैको स्वादिष्ट ढिँडोमा लट पट्याएर खाने काम गरियो । जे होस् गज्जबको अनुभव भयो ।
हेड सर सदरमुकाम जानु भएकोले निमित्त प्रधानाध्यापक शालिकराम कंडेल (बागलुङ)ले सर्वेक्षणको काममा राम्रो सहयोग गर्नुभयो । दुई बर्ष एसएलसीको नतिजा शून्य प्रतिशत भएको विद्यालयको शैक्षिक र भौतिक अवस्था दयनीय रहेछ । भवन पनि भत्किन लागे जस्तो देखिन्थ्यो । कक्षा १ देखी ४ सम्मका विद्यार्थीहरूलाई एउटै कोठामा अध्ययन गर्नुपर्ने बाध्यता रहेछ ।
छुन चौर गाउँ पञ्चायतका भू.पू. प्रधानपञ्च तथा मालिका प्रा. वि., लोठचौर (छुनचौर गा. पा. २) का व्यवस्थापन समिति अध्यक्षको घरमा बास बस्ने प्रबन्ध मिलाइयो । दुई जना शिक्षक जर्किन (जेरी क्यान) बोकेर खासखुस कतै जान लाग्नुभयो । मैले प्रधानाध्यापक रामदेव यादव (सिरहा) सँग कानेखुसी गर्दै सोध पूछ गरें । स्थानीय रक्सी खोज्न जान लागेको बुझेपछि मैले जर्किन बोकेर कतै नजान अनुरोध गरें ।
यादव सरले भन्नुभयो, ‘अचम्ममै लाग्यो सर आज ! मैले ११ बर्ष जुम्लामा शिक्षण गरें । तर रक्सी इन्कार गर्ने निरिक्षक मैले केवल हजुरलाई मात्र पहिलो पटक भेट्दैछु ।’ उहाँ पनि रक्सी नपिउने मान्छे नै हुनु हुँदो रहेछ । जर्किन बोक्ने संस्कृति बाध्यता रहेछ उहाँको लागि !
हामी बसेकै घरमा स्वास्थ्य चौकी पनि रहेछ । साँझ रमाइलो कुराकानी भयो । भोलिपल्ट कक्षा २ मा चन्द्रावती न्यौपाने (तनहुँ)को कक्षा अवलोकन गरियो । जम्मा ६ जना छात्रहरू मात्र थिए । निकै संकोच मान्दै उहाँले भन्नुभयो, ‘सर, म त पढाउन राम्रो जान्दिनँ । बल्ल १ महिना भयो शिक्षण पेशामा लागेको ।’ केही हौसला दिने शब्दहरू छोडेर हामी बाटो लाग्यौं । पछि थाहा भयो–२०४२ सालमा शिक्षा सहायक मन्त्री भएका क्षेत्रप्रताप अधिकारीको चिठ्ठी लिएर आउनुभएका तनहुँका एक जोडीलाई जुम्लाका दुई विद्यालयमा जागिर दिइएको रहेछ । आफ्नो जिल्ला बासीलाई उद्धार गर्नुभएको रहेछ सहायक मन्त्रीले ।
यो विद्यालयको ४६ रोपनी जग्गा रहेछ। केबर्ड परियोजनाको सहयोगमा एउटा ठूलो र राम्रो घेरबार बनाइएको रहेछ । तर विद्यालयको छुट्टै कार्यालय कोठा, फर्निचर र कालो पाटी केही पनि रहेनछ ।
समुद्र सतहबाट २५१४ मिटर (८२५१ फिट) उचाईमा रहेको खलङ्गाभन्दा अग्लो स्थानमा रहेका डिल्ली चौर र छुनचौर गाउँ पञ्चायतको वडा नं. २ मा धानखेत देखेर अचम्म मान्दै मैले सोधें, ‘यति धेरै उचाईमा पनि धान राम्रो फल्छ त ?’ मेरो प्रश्नलाई सन्तुष्टि दिने मनसायले एकजना स्थानीय शिक्षकले भन्नुभयो, ‘नजिकै छुमचौर गाउँ पञ्चायतमै अवस्थित छुमचौर ज्यूलो (खेत) विश्वकै सबैभन्दा अग्लो ठाउँमा धानखेती भएको ठाउँ हो ।’
समुन्द्र सतह देखी ५८ मिटर (१९० फिट) उचाईमा रहेको झापाको केचना देखी २८५० मिटर (९३५० फिट) भन्दा बढी उचाईमा रहेको छुमचौर ज्यूलोसम्ममा धान फलाउने मेरो कृषि प्रधान देश सम्झेर मलाई गर्वको अनुभूति भयो ।
निकै लामो बाटो हिँडेर जुम्लाकै गुर्गम ठाउँमा रहेको खड्का देवी नि.मा.वि., मणि साँघु पुग्दा झमक्कै साँझ परेको थियो । बाटोमा गज्जबको काठे साँघुहरू पर गर्यौं । फलामका भन्दा बलिया होलान् जस्ता देखिन्थे ती साँघुहरू । अत्यन्तै कलात्मक बुट्टाहरू कुँदिएका थिए त्यसमा ।
लोकनाथ सर जस्तो साह्रै ठट्यौलो मान्छे सहयात्री यस अघि मैले कहिल्यै भेटेको थिइन । मन भित्र अन्तर छिन्तरका कुरा पनि सहजै भन्ने स्पष्टबक्ता, अत्यन्तै फरासिलो तथा मिजासिलो हुनुहुन्थ्यो उहाँ । सम्बोधन गर्दा ‘हजुर’बाट सुरु गर्नुहुन्थ्यो । त्यसपछि ‘तपाई’, ‘तिमी’, ‘तँ’ हुँदै ‘फटाहाको नाती’सम्म पुग्ने बे जोडको शैली थियो उहाँको । त्यस्तो साथीसँगै भएपछि त बाटो काट्न पनि धेरै नै सजिलो भएको थियो ।
शिक्षक नन्दबहादुर थकालीको घरमा बास बसियो । उहाँले घिउ र नून हालेर बनाएको ‘भोटे चिया’ ले स्वागत गर्नुभयो । डोल्पाबाट ल्याइएको मकै भुटेर खुवाउनु भयो । करिब ५ महिना पछि भुटेको मकै खान पाउँदा म त दंग परें । दाङबाट ल्याएको चामलको भात र खुर्सानीको तरकारी खाइयो । मेरी बास्सै ! खुर्सानी अत्यन्तै पिरो रहेछ । हावा कावा खेलायो पिरोले त ।
मणि साँघुको काम सकेर फर्किंदा सिम सिमे पानीले चुनौती दिएपनि हामीले गुठीचौर स्थित कर्णाली भेडा अनुसन्धान केन्द्रको अवलोकन गरी छाड्यौँ । २८३४ मिटर (९३०० फिट) उचाईमा रहेको गुठी चौरमा हिउँ पर्ने बेलामा माइनस १६ डिग्रीसम्म तापक्रम घट्ने र झन्डै ६ महिना हिउँले ढाक्ने हुँदा घुम्ती गोठ बनाइ भेडा पालन गरिने रहेछ । २०२७ सालमा स्थापना भएको फार्ममा ११ वटा भवनहरू तथा ९२८ भेडाहरू र ४७ जना कर्मचारीहरू रहेछन् ।
कर्णालीका सह-अञ्चलाधीश, अञ्चल न्यायाधीश, जुम्ला क्याम्पसका उप–प्राध्यापकहरू लगायत अन्य कर्मचारीहरू वनभोज खानको लागि गुठीचौर आउनु भएको रहेछ । केही स्न्याप फोटो खिचेर हानियौँ खलङ्गा तिर ।
कास्की घर भएका सहायक जिल्ला शिक्षा अधिकारीले मलाई उहाँकै कोठामा बस्न आग्रह गर्नु भएकोले उहाँको आंशिक रुम पार्टनर भएको छु म । मज्जाको मान्छे हुनुहुन्छ उहाँ । खाना खानको लागि होटेल छँदैछ । अलिकति फुर्सद हुने बित्तिकै म कृष्णदेव सरलाई भेट्ने गर्छु । उहाँ औधी नै हार्दिक हुनुहुन्छ । मेरो दुःख बिसाउने चौतारी उहाँ नै हुनुहुन्छ खलङ्गामा ।
फुर्सदको समयमा उहाँले मलाई सिनेमा हेर्न भिडियो हलमा लैजानु भयो । १२–१५ जना दर्शक अट्ने सानो कोठामा मैले पहिलो पटक हिन्दी फिल्म हेर्ने मौका पाएँ । त्यो थियो अमिताभ बच्चन र अमृता सिंह अभिनित फिल्म ‘मर्द’ । यूनेस्कोको तलव भत्ता खाएर जुम्लामा सिनेमा हेर्न पाउँदा खुबै रमाइलो लाग्यो । यस अघि मैले काठमाडौंको रन्जना सिनेमा हलमा नेपाली फिल्म ‘जीवन रेखा’ र धादिङको सिम्लेमा शिक्षक हुँदा खुल्ला चौरमा ‘मनको बाँध’ नामक नेपाली फिल्म मात्र हेरेको थिएँ ।
मैले नुहाई धुवाईको लागि छुट्टयाएको दिन थियो असार १८ गते । खाना खाने बित्तिकै धुने कपडा बोकेर म खलङ्गा बजार नजिकै कर्णालीको सहायक नदी तिलाको छेउमा गएँ । पानी नपरेकोले दिन सफा थियो । निर्मल आकाशमा सेतो बादलका थुँगाहरू विचरण गरिरहेका थिए । तिला नदीको पानी ज्यादै नै कन्चन र सफा थियो । पहिला लुगा धुने काम गरें । धोएको लुगालाई ठूला ठूला ढुंगामा सुकाएँ ।
स–साना ढुंगा पखालेर पानी तर्किएपछि सुकाएको लुगा माथि चेपेर राखें हावाले नउडाओस् भनेर । नधोएका लुगा तथा रूकस्याकलाई पाखाको अर्को ढुंगामा राखेर तिला नदीमा चुर्लुम्म डुबें । हत्तेरिका ! असारको तेस्रो हप्ता हुँदा पनि कत्ति चिसो पानी ! रगत नै जम्ला जस्तो लाग्ने । पानीको बेग पनि तिब्र थियो । मज्जाले नुहाई धुवाई गर्दा आनन्द आयो ।
ढुंगामा घाम ताप्दै गर्दा मलेखु खोलाको हिर्मिरे दहमा पौडी खेलेका दृश्यहरू मेरो आँखा अगाडी आए सिनेमाको पर्दामा झैं । बाल्यकालका साथी भाइलाई निकै नै मिस गरें ।
घाम ताप्दै गर्दा जब पोल्न सुरू हुन्थ्यो, म फेरी पौडी खेल्न थाल्थेँ । पौडी खेल्न मरिहत्ते गर्थें म सानै देखी नै । खोलाको तीरमा हुर्किएको मान्छे भएर पनि होला । कपडा सुकेपछि मात्रै म कोठामा फर्किएँ ।
जुम्ला आएको दशौं दिनमा जिल्लाको चौधौं वीरेन्द्र शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रम अवलोकन गर्ने मौका मिल्यो । कर्णाली अञ्चलाधीश अखिलेश्वर प्रसाद सिंहद्वारा उद्घाटित प्रतियोगिताको सुरुमा भीआइपी दौड निकै नै रोचक रह्यो । पूर्वमन्त्री हरिश्चन्द्र महतले भने दौडमा भाग लिन रुचाउनु भएन । अञ्चल तथा जिल्लाका अड्डा प्रमुखहरूको दौडमा कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टंकनाथ शर्मा (कास्की)ले सबैलाई पछाडी पार्नुभयो । केही दिन अघिमात्र भेट भएका शिक्षा क्षेत्रकै बौद्धिक व्यक्तिले विजय प्राप्त गर्नु भएकोले मैले मैदानमै गएर बधाई दिएँ ।
जुम्लामा वीरेन्द्र सिल्ड प्रतियोगिता अवलोकन गरीरहेको बखत मलाई आफूले २०३५ सालमा कक्षा १० मा अध्ययनरत रहँदा धादिङ जिल्लाको सुनौला बजारमा आयोजित वीरेन्द्र सिल्डमा हाइ जम्प र भलिबलमा भाग लिएको सम्झना भयो । साथै, केही बर्ष अघिमात्र धादिङबेसीमा संचालित वीरेन्द्र सिल्डमा खेल शिक्षकको रूपमा बागेश्वरी मा.वि. बैरेनीका खेलाडी विद्यार्थीहरू लिएर गएको स्मरण भयो ।
कार्यक्रम चल्दै थियो । म चाहिं आफ्नो काम अघि बढाउनु पर्ने भएकोले जनता प्रा. वि. महत गाउँतिर लागें । दिउँसो १.३० विद्यालयमा पुग्दा कोही पनि भेटिएन । प्राथमिक विद्यालयलाई पनि खेलकुद लागेछ भन्ने ठानेँ। बाटोमा स्याउ बेच्न राखिएको थियो । थुप्रा थुप्रामा विभाजन गरेर । मैले एउटा थुप्रोमा भएका १३ दाना स्याउ झोलामा हालेँ। त्यसको मूल्य केवल ३ रूपैयाँ मात्र भएको सुनेर म आश्चर्यचकित भएँ । मैले ५ रुपैंया दिन खोज्दा पनि स्याउ बिक्रि गर्ने दाइले ‘अरूलाई ३ रूपैयाँमा बेचीसके’ भन्दै लिन मान्नुभएन । उहाँको इमान्दारिता र महानता देखेर नतमस्तक भएँ म !
त्यसपछि म श्री ढुस्का प्रा. वि., श्री ढुस्कामा गएँ । ६ जनाको दरबन्दी मध्ये केवल २ जना शिक्षक मात्र विद्यालयमा उपस्थित हुनुहुन्थ्यो । कार्यालय खोल्न नपाएकाले बाहिरै बसिरहनु भएको रहेछ शिक्षकहरू । उहाँहरूले ‘अर्ली भेराइटी’ स्याउले स्वागत गर्नुभयो । ४१ जना विद्यार्थीहरूको उपस्थिति थियो । विद्यालयमा शौचालय थिएन । कक्षाकोठामा झ्याल ढोका तथा फर्निचर थिएन । अफिस खोल्न नपाएपछि तथ्यांक लिन सकिने कुरो भएन ।
श्री ढुस्कामा काम नहुने भएपछि म लागें तिला नदी तरेर गैरीगाउँ तिर । त्यहाँको कार्तिक स्वामी प्रा. वि. मा काम सकेर कार्तिक स्वामी गाउँ पञ्चायत वडा नं. ७ बारकोटे बाडा स्थित महिला विकास शाखामा पसें । धादिङ जिल्लाबाट आएकी एकजना कर्मचारी हुनुहुन्छ भन्ने कुरा सुनेकोले नै म त्यहाँ गएको थिएँ । नभन्दै धादिङको खहरेमा कक्षा १० सम्म पढेकी ज्यामरुक की बहिनी अम्बिका धमला रहिछन् । त्यस्तै मकवानपुर पालुङकी बिजुला बिष्ट र तनहुँकी माया थापा रहेछन् । उनीहरू सबै चैत्रमा मात्र नियुक्ति लिएर त्यहाँ काम गर्न थालेका रहेछन् । दुर्गम स्थानको बिरानो ठाउँमा काम गरिरहेका बहिनीहरूले आफ्नै दाजु झैं व्यवहार गरे ।
त्यहीं नै एसएलसीको रिजल्ट भएको गोरखा पात्र हात पर्यो । हतार हतार गर्दै आफ्नो भाइ कमलको सिम्बल नम्बर हेरें । उसले प्रथम श्रेणीमा पास गरेछ । प्रलय नै खुसी लाग्यो । त्यस्तै, आफूले पढाएका बैरेनीका ४ जनाले प्रथम श्रेणीमा उत्तीर्ण गरेछन् र अन्य १४ जना पनि सफल भएछन् । यो कुराले खुसीको पराकाष्टा नाघ्यो । तुरुन्तै फोन गरेर बधाई दिन पनि बिलकुल असम्भव थियो ।
तीनै जना बहिनीहरूलाई मेहनत पूर्वक काम गर्न र प्रति कुलतमा धैर्यता लिन आग्रह गर्दै निकै प्रफुल्ल मुद्रामा म बाटो लागें खलङ्गा तिर । मसँगै बारकोटे वडाका एक जना उपाध्याय (देवकोटा) दाइ पनि हुनुहुन्थ्यो । गफगाफ गर्दै खलङ्गा फर्किने क्रममा मैले भनें, ‘गुरू, आज मेरो भाइले एसएलसी पास गरेको थाहा पाएर म उल्का खुसी छु । म तपाईलाई चिया खाजा खुवाउँछु ।’
उहाँले आफूले कहिल्यै होटेलमा चिया र खाजा नखाएको कुरो बताउनु भयो र चुरोटको बट्टा तिर हेरिरहनु भयो । मैले कुरा बुझिहाले । आफू चुरोटबाट टाढा रहने मान्छे भएपनि मैले भनें, ‘एक बट्टा गैंडा चुरोट गुरुलाई दिनुस् त साहु जी ?’ साहु जीले चुरोट झिक्न नभ्याउँदै उहाँ उठ्नुभयो र खोलेको बट्टाबाट ४ खिली चुरोट झिक्नु भयो । उहाँको बढी लोभ नगर्ने बानी मलाई मन पर्यो ।
मैले चिया पिएर ४ खिली चुरोटको २ रुपैंया तिरिदिएँ । आज कै दिनमा जुम्ली किसानले १३ दाना स्याउ ३ रूपैँयामा बेचेको र ४ खिली चुरोट २ रूपैयाँमा अर्को किसानले किन्नु परेको तितो सत्यले निकै नराम्रोसँग पिरोल्यौ मलाई । ‘जुम्लाको स्याउले उचित मूल्य कहिले पाउला ?’ भन्ने प्रश्न मेरो दिमागमा घुमिरह्यो ।
अब केही दिन पछि जुम्ला कोट तथा सिँजा उपत्यका क्षेत्रका विद्यालयहरूको सर्वेक्षण गर्नेबारे कल्पना गर्दै म खलंगा फर्किएँ । डिनरको लागि होटेलमा पुग्दा झमक्क साँझ परिसकेको थियो ।