ऋतु आशिक | साहित्य | साउन ०७, २०७९
महाकालीको सपना तुहिएका छन् ।
नाकाबन्दीको विश्वास रोपेर
देश नै त्यसबेला उल्टिएको थियो ।
तिम्रो त्यसबेलाको राष्ट्रियता
गर्व वोध भएको थियो हामीलाई,
वालुवाटार छिर्न
राष्ट्रियता खजमजाउनु नियति नै थियो ।
तिमी स्वचालित परिवर्तित भइसकेको बुझ्दा बुझ्दै,
हामीले तिमी माथि विश्वास रोपेका थियौ ।
मोदी जसकेलाबाट जनकपुर छिरे कै दिन
जानकी मन्दिरको शिरोपरमा
तिरङ्गा झण्डा फहराएका थियौ ।
दक्षिणी सिमानामा भारतीय सैनिकहरु
जङ्गे पिलर डाल्दै थिए ।
तिम्रो राष्ट्रियता
मलाई शंका लाग्न थालेको छ ।
पृथ्वीनारायणले सिमाना कटाएका पादरीहरु
राणा शासन, पञ्चायती शासन
नेपाली काँग्रेसको शासनमा पनि नफर्किएका हरु
तिम्रो राज्यकालमा
होली वाइनको अमृत छर्केर
नाटकीय सन्मान ओढेर
दिनरात अहो रात्रि
नाथे रअको अर्दली लाई
मध्यरातमा मन्त्रणाका लागि निम्त्याउँछौ ।
तिम्रो राष्ट्रियता मलाई घृणाको वान्ता आएको छ ।
भ्रष्टाचारको सञ्जाल
राजदूतलाई अमृत छर्केर चोख्याउनुको अर्थ
सुनकाण्ड, प्रहरी, न्यायाधीशहरुको फौजहरू
देशमा लुटमार चलिरहँदा
वाइडवडी भित्र्याइएका अपराधीहरु
बालुवाटारमा तथास्तुको थमौती खाएका छौ ।
निर्मला पन्तका हत्यारालाई
गृहमन्त्री आफै ओथारो बसेर
न्यायलाई दिग्भ्रमित बनाइ रहेका छन् ।
वर्दीवालाहरु न्यायलाई ओझेल पारिरहँदा
देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ ।
वालुवाटार नै यसबेला
देशप्रति घात प्रतिघात गरिरहेको छ ।
मुलुकलाई सिध्याउने खेलमा
स्वयम् बल्छी थापिरहेको छ ।
२०७५ माघ २०
विराटनगर