लोकसंवाद संवाददाता | दृष्टिकोण | साउन ०७, २०७९
मलाई सन् २०१९ मा गरेको नर्वेको ओस्लोको याद आइरहन्छ । ३ वर्ष अघिका घटनाहरु सबै मिति र घटना सबै याद नहुन पनि सक्ने बेला भयो तर केही प्रसङ्ग यात्राको र धार्मिक स्वतन्त्रताको उपयोग गर्न थालेको नर्वेको समानताको देश जहाँ इसाइहरुको बाहुल्य रहेको भए पनि तिनै इसाइहरुले हिन्दू धर्मको अभ्यास गर्न थालेको लोभलाग्दो प्रेरक प्रसङ्गसहित ।
वास्तवमा जीवन नै यात्रा हो, जीवनका प्रत्येक पल नै, हरेक पल नै अनुभवका लागि हुन् । कुनै अनुभवले खुसी दिएको जस्तो लाग्छ त कुनै अनुभवले दुःख भएको जस्तो लाग्छ । वास्तवमा जीवन भनेको नै सबै चिजको समाहित स्वरुप रहेछ । हामी अर्थात् म, मेरी श्रीमती देवकी, छोरी अर्चना , ज्वाईँ नवराज सापकोटा तथा २ वर्षकी नातिनी अदिति सापकोटा सहित ५ जना अनलाइन टिकट किनेर जर्मनीको राजधानी बर्लिन र चेक गणराज्यको राजधानी प्रागका लागि जुलाई २५ अर्थात् साउनको ९ गते ओस्लोबाट बर्लिनतर्फ लाग्यौँ ।
ओस्लोमा सार्वजनिक यातायातको राम्रो व्यवस्था भए पनि विहानै ७बजे जस्तो बेलाको प्लेन हुनाले र अन्तराष्ट्रिय हवाइ मैदान टाढै हुनाले चाँडै निस्कियौँ र द्रूत मार्गको रेल मार्फत् बेलैमा पुग्यौँ । अनि सामानको सुरक्षा जाँच गर्न लाग्दा सानी नातिनी कुन बेला कुनबेला हामीलाई छोडेर सुरक्षा घेराभन्दा भित्र पुगेकी रहिछन् । हामीले त्यो बेलामात्र थाहा पायौँ जब हामी उनका पानीका बोतल र खाने कुराहरुको विवरण अध्यागमन प्रहरीलाई भन्दै थियौँ ।
नातिनी त छैन, कता गई गई । तर अलि पर कतै जाँदै थिई र हामीले त्यहीँको प्रहरीलाई अनुरोध गरेर फिर्ता ल्यायौँ । कस्तो अप्ठेरो भने न त हामी सुरक्षा रेखा पार गरेर भित्र जानै सक्थ्यौँ सुरक्षा जाँच विना, न त बच्ची नै अरुसँग मान्ने वाली थिई । तर सुरक्षाकर्मी बहिनीले बोकेर ल्याइदिइन् । सुरक्षा चेक गरेर भित्र पसेपछि बल्ल डर लाग्यो यदि बच्ची भीडमा प्रवेश गरेर हराइकी भए ? त्यस्तो बेलामा के हुन्छ भने कसले गर्दा बच्चीको वास्ता भएन ? हामी सबैले भन्यौँ, चकचके नानीलाई सबैले ध्यान दिनु पर्थ्यो तर दिइएन , नानी भेटिई , तत्कालै देखियो र खासै केही सेकेन्डमै भेटियो ।
अब हामी सतर्क भयौँ बच्ची कतै पनि कुनै पनि बेला फुत्त कतै जान सक्ने अवस्था छ । हामी बर्लिन झरेपछि जानु थियो बिजिसवेगसम्म जहाँ हाम्रा वैज्ञानिक दम्पति हिमेन्द्र झा र रानी झा बस्थे । बर्लिन ठूलो सहर रहेछ । हवाइ मैदानदेखि स्पान्दाउसम्मको लामो सहरी रेल मार्ग सतहमा रहेछ । भूमिगत रेलमार्गलाई त्यहाँ यु बाहन भन्दा रहेछन् र सतहमा रहेको रेलमार्गलाई एस बाहन भन्दा रहेछन् ।
त्यसो त रेल, बस सबैलाई नै बाहन नै भन्दा रहेछन् । स्पान्दाउसम्म रेलको हवाइ मैदान देखिको अन्तिम स्टेसन रहेछ । एकजनाको करिब ४ युरो लाग्दो रहेछ । ओस्लोमा कम्तीमा एक घन्टे टिकट हुन्छ भने बर्लिनमा कम्तीमा दुई घन्टे टिकट हुँदोरहेछ । हामी त्यही स्पान्दाउ सम्मको टिकटमा नै विजिसवेग सम्म पुग्यौँ । करिब डेढ घन्टा सम्मको रेल यात्रा र २२ मिनेटको बस यात्रा गर्दै ।
हामी ५ जना भएकाले एउटा ट्याक्सीमा बस्न मिल्दैन रहेछ, मिलेन नै । एउटा सामान्य ट्याक्सीमा जम्मा ५ जनामात्र बस्न पाउने जसमा ड्राइभर पनि हुन्छ । अनि ४ वर्षसम्मको बच्चाका लागि बेबी सिट अनिवार्य चाहिन्छ । अर्थात् पछिल्तिर ३जना, अनि ड्राइभरसमेत अघिल्तिर दुई जना । एकजना अर्कोको लागि बेग्लै ट्याक्सी अनिवार्य चाहिने । यो कुरा हाम्रालागि कहिले समस्या मूलक भयो भने २८ जुलाईमा जब हामी प्राग जानका लागि बर्लिन को सेन्ट्रल स्टेसन जानु पर्ने बेला भयो, आइतबारको दिन थियो, विहानै रेल र बस कुनै पनि समयमा चल्ने वाला थिएनन् अनि हाम्रो विहानै को ७बजेर ३० मिनेटको रेल लिपजिग समात्नु थियो ।
ट्याक्सी ठिक ६ बजेर ३५ मिनेटमा आयो तर अर्को ट्याक्सी पनि वरिपरि थिएन अनि उसले ५ जनालाई कुनै पनि हालतमा लान मानेन । हामीले भन्यौँ हाम्रो रेल छुट्छ, अनलाइन टिकट हो, समय सर्दा पनि सर्दैन । ड्राइभरले भन्यो , यो तपाईँहरूको समस्या हो । उसले मानेन र अर्को ट्याक्सी मगाएर जाँदा रेल छुट्दै थियो । त्यही बेलामा रानी झाले छिमेकी भारतीय बन्धु विवेक श्री वास्तवसँग अनुरोध गर्नुभयो हामीलाई जसरी हुन्छ रेल्वे स्टेसनसम्म समयमा पुर्याइ दिनका लागि ।
नर्वेले माता सनातनीले नर्वेको हिन्दू धर्मको प्रचार र अभ्यासको जिम्मा लिनु भएको रहेछ भने थुप्रै नर्वेलीहरु हिन्दू धर्मप्रति आस्थावान् भएको पाइयो । अझ अचम्म त त्यसबेला लाग्यो मलाई , दुईजना लिथुआनियाली युवतीहरु निरन्तर रुपमा सत्सङ्गमा सहभागी हुने, वैष्णवले लगाउने टीका लगाउने र सत्सङ्गका सबै क्रियाकलापमा सक्रिय सहभागी हुने देखियो ।
कुरो फेरि त्यही ५ जना, बेबी सिट अनि एकजना के गर्ने ? उहाँले एउटा खतरा मोल्नुभयो, बाटामा अर्को ट्याक्सी नभेटेसम्म सबै जनालाई उहाँले नै लिएर जाने, अनि जहाँ ट्याक्सी भेटिन्छ, त्यहाँ बच्चालाई बेबी सिटमा राखेर पठाउने । तर एउटा धर्म निभाउने कुरा के रहेछ भने प्रत्येक ट्याक्सीसँग बेबी सिट हुने नै रहेछ । विना बेबी सिट बच्चालाई चढाउन पाइँदैन, चढाइएमा दण्डको कुराभन्दा पनि त्यो ट्याक्सीको अनुमति नै रद्द हुने रहेछ ।
श्रीवास्तव जीले त्यो खतरासँग यस कारणले जुध्ने साहस गर्नुभएको थियो कि आइतवार सामान्यतया विहान ९बजेसम्म कुनै चेक पनि नहुने रहेछ किनभने सडकमा गाडी नै नदेखिने रहेछन् । सार्वजनिक यातायात पनि आइतवार कम चल्ने, ढिलो चल्ने र चाँडै बन्द हुने रहेछन् । करिब एक किलोमिटर टाढा हामीले ट्याक्सी पायौँ र ज्वाईँ र छोरी ट्याक्सीमा र हामी श्रीवास्तव जीकै कारमा रेल्वे स्टेसन पुग्यौँ । त्यो दिनको समय हाम्रा लागि एका विहानै देखि किन किन अप्ठेरो जस्तो भयो । सडकको रातो ट्राफिक बत्ती पनि धेरै बेर बलेको जस्तो लाग्ने, अब रेल छुट्यो , छुट्यो जस्तो भयो । हामी होप बाहन हफ रेल्वे स्टेसनको २ नम्बर प्लेटफर्ममा पनि पुग्नु अनि त्यो आइ सी रेल पनि आइ पुग्नु ।
कस्तो ठीक समय भयो भने , यदि एक मिनेट मात्र पनि ढिलो भएको भए त्यो लिपजिग सम्मको द्रूत वाहन रेल छुट्ने रहेछ । लिपजिगबाट बसमा प्राग जाने टिकट थियो । हामी बस पार्कमा पुग्यौँ । ९ बजेर २६मिनेटको बस थियो, आरामसँग बस टर्मिनलमा बसेर बसको प्रतीक्षामा थियौँ, बस आयो तर हामीलाई बेबी सिट नभएकाले लान नसक्ने अड्डी लियो । बच्चाबाहेक आफ्नो सिटमा बस्न भन्यो । ऊसँग बेबी सिट पनि थिएन र विना बेबी सिट नलाने भने पछि हामीले अनुरोध गर्यौँ, अब हामीले के गर्ने त ?
उसले त्यो तपाईँहरूको समस्या हो भन्दै बस गुडायो उसको गन्तव्यमा । हामीलाई त्यहीँ छोडेर । नेपाली विद्यार्थीहरु पनि थिए तिनले पनि अनुरोध गरे, तर उसले मानेन । त्यो ड्राइभर टसमस भएन, उसले हामीलाई छोडेर जान न त कुनै अप्ठेरो मान्यो, न त कुनै पछुताउ । हाम्रै आँखा अगाडि हाम्रा सिटहरु खालि राख्दै आइ सी बस प्रागतर्फ गयो हामीलाई जर्मनीको लिपजिगमा छोडेर ।
नियमको कडाइ मान्ने कि अमानवीयताको पराकाष्ठा मान्ने ? ज्वाइँले टिकटमा बेबी सिटको कुरा नलेखेको भनेर भन्दा पनि ड्राइभरले बसको नियम देखायो, ४ वर्षसम्मको बच्चालाई बेबी सिट आवश्यक छ, नत्र विना बेबी सिट चलाए ड्राइभरको अनुमतिसमेत रद्द हुने कुरा बारम्बार देखायो । हामीले सामान राख्न खोज्दा नै उसले सोधेको थियो बच्चा कतिको हो ? हामीले झुठो कुरो भन्नु थिएन, भन्यौँ २ वर्ष । अनि उसले कुनै पनि हालतमा मानेन । हामी छक्क पर्यौँ , अलमल्ल पर्यौँ । गन्तव्य प्राग अब के हुने ?
रेलबाट झरिसकेका थियौँ , प्रागमा होटेल बुक थियो ३ दिनलाई , साथमा बच्चा छ अनि बर्लिन फर्कन पनि अर्को टिकट आवश्यक हुन्छ किनभने हामीले प्रागबाट फर्कने टिकट त ३० जुलाईको छ , ३१ बर्लिनबाट ओस्लो फर्कन प्लेनको ।
ज्वाईँ जानु भयो डच बाहनको अफिसमा । अनि सबै समस्या सुनाउनु भएछ । डच बाहन संसारमा नै समयको वारेमा सच्चा यातायात संस्था र यात्रुको कुनै पनि समस्या सुन्ने संस्था मानिँदो रहेछ । डच बाहनले हामीलाई त्यही दिनको ड्रेस्डनसम्मको यात्रा र ड्रेस्डनबाट बसमा प्राग सम्मको व्यवस्था गरेर लेखेर दियो सबै समस्या समेतको कागज जर्मन भाषामा ।
हामी ११बजेर ३८ मिनेटको रेलमा जाने भनेको टिकट कन्ट्रोलरले पहिले पनि जान सक्ने भनेर हामीलाई रेलमा बोलायो र हामी करिब १२ बजे नै ड्रेस्डन पुग्ने द्रूत वाहनमा चढ्यौँ प्राग जाने क्रममा । प्राग जानका लागि सीमासम्म बसको व्यवस्था गरिएको रहेछ रेलको सट्टा भनेर । हामी १ बजेको बसमा प्राग तर्फ लाग्यौँ , त्यहाँ कुनै बेबी सिट चाहिएन, त्यो पनि डच बाहन कै बस थियो, उही कम्पनीको ।
वास्तवमा बसका लागि आवश्यक थिएन र ड्राइभरले त्यो अडान लिएकाले सायद हामीलाई बाहन कम्पनीले हाम्रालागि त्यो व्यवस्था गरेको होला । ड्रेस्डनमा त रेल्वेका कर्मचारीहरुले हामीलाई बसमा चढाएरमात्र विदाइ गरेका थिए ।
हामीलाई चेकको उस्ती सम्म पुर्याएर बसले छोड्यो र ड्राइभरले भन्यो- अब १० मिनेटमा नचढे अर्को एक घन्टापछि मात्र रेल आउँछ । उस्ती बाट प्रत्येक एक एक घन्टामा प्रागको केन्द्रीय रेल्वे स्टेसनमा रेल जाने रहेछ । हामीलाई डच बाहनले उस्तीको रेल्वेको समेत व्यवस्था गरेको थियो । तर उस्तीको रेलले हामीलाई छुट दिएन, मात्र उसले त्यही मूल्यमा टिकट दियो प्रत्येक व्यक्तिको ६.५ युरो बराबरको ।
हामीले डच बाहनले दिएको कागज देखायौँ, टिटीले मानेन तर भन्यो-त्यो बसको टिकट मिलाएको कागज हो । हामी चेक रिपब्लिकन हौँ, यो कागज दिने जर्मन कम्पनी हो । उसको त्यो भनाइमा कता कता अभिमान थियो, कता कता उसको नमिलाउने दम्भ थियो । वास्तवमा त्यो कागजमा प्राग सम्मको स्पष्ट त्यही रेलको वारेमा समेत लेखिएको थियो । हामीलाई प्राग पुग्ने कुराले खुसी तुल्याएको थियो । नदीको तिरै तिर तिरै तिर करिब ५० मिनेटमा पुर्यायो प्रागको केन्द्रीय रेल्वे स्टेसन ।
हामीले बुक गरेको पेन्सन प्राग होटेल कता हो भन्ने कुराको लागि सोध्दा थाहा छैन भन्छन् पुलिसहरू पनि । ट्याक्सीहरु पनि । फोनमा चार्ज सकिन लागेको छ नक्शा देखाउन पनि । स्टेसनको अर्को भागपट्टि भनेर देखाउँछ स्टेसनको अर्को भागतिर जाने बाटै छैन कतै पनि । करिब एक घन्टासम्म हामी भौँतारियौँ स्टेसनमा नै । ठूलो स्टेसन रहेछ । युरोपका सबै सहरमा रेल्वेको जालो फिँजाएको प्राग स्टेसन । पुरानो सहर युरोपकै ।
कुनैबेला युरोप नै आफ्नो कब्जामा राखेर शासन गरेको प्राग पछि सोभियत संघको कब्जामा परेको थियो र १९८९मा मात्र स्वतन्त्र भएर पनि चेक र स्लोभाक गणराज्यको रुपमा बाँडिएको थियो । भूपरिवेष्टित देश चेकको राजधानी प्रागमा पनि सार्वजनिक यातायातको साह्रै राम्रो व्यवस्था रहेछ खासगरी सहरमा ट्रिक अर्थात् ट्रली बस। प्रत्येक स्टेसनमा वाइफाइ फ्रि रहेछ जुन जर्मनीमा र नर्वेमा अझै सम्भव हुन सकेको रहेनछ ।
अनि हामीले केही मात्र चार्ज बाँकी रहेको फोनलाई प्रयोग गर्दै होटेल पेन्सन प्राग सिटीसम्म पुग्यौँ र ३० तारिखको ४बजेसम्म प्राग सहर घुम्यौँ । त्यसपछि त ४ बजेर ३२ मिनेटको इसीको रेल थियो सिधै बर्लिन सम्मको । रमाइलोसँग बर्लिन आयौँ अनि भोलिपल्टको साँझको ओस्लोका प्लेनमा गान्डेमुन अन्तराष्ट्रिय विमान स्थलसम्म आइ पुग्यौँ र रातको १२बजेतिर लाक्केगाताको राथ्खेसगाता आइपुग्यौँ ३१ तारिखको अन्तिम मिनेटमा ।
बाहन भन्दा रहेछन् जर्मनीमा यातायातलाई । नर्वेमा पनि बान भन्दा रहेछन् खासगरी मेट्रोलाई थि-बान वा टी-बान । बान पक्कै जर्मनी बाहनको बान भएको हुनुपर्छ जस्तो लाग्यो किनभने संस्कृतमा वाहन भनेको परिवहनको साधन हो ।
अब अर्को प्रसङ्ग
अब त सूर्य पनि दक्षिणायन भए । ओस्लोमा पनि घाम झुल्कने बेला आजको ( ८ जुलाई)विहानको ५ बजेर १६ मिनेटमा थियो र घाम अस्ताउने साँझको ९ बजेर २९ मिनेटमा हुनेछ । फेरि यो पनि अर्को अचम्म लाग्यो, किन हो प्रत्येक मोबाइल र आइप्याडमा फरक फरक समय देखाउँछ । मेरो आइ फोनमा देखाएको समय मात्रै मैले लेखेको ।
हामीले सुन्ने गरेका थियौँ- नर्वे इसाईहरूको देश हो, इसाई धर्म प्रचारका लागि नर्वेले आफ्ना चर्च मार्फत् विश्वभर, खासगरी गरिबी भएका देशहरुमा प्रशस्त लगानी गर्छ र इसाई करणमा भूमिका निर्वाह गर्छ । आधिकारिक रुपमा त्यस्तो बुझिएन र होइन होला पनि । हुन त राजधानी ओस्लोमा चर्चहरूको संख्या धेरै देखिन्छ । चर्चहरू अत्यन्त धनी संस्थाका रुपमा छन् भनिँदो रहेछ ।
हाम्रो देशमा जसरी मन्दिरको गजुर देखेर मन्दिर हो भन्ने ठोकुवा गर्न सकिन्छ, त्यस्तैगरी ओस्लोमा आकाश तिर चुच्चो परेको गजुरले गिर्जाघर वा चर्चको पहिचान स्पष्टदै हुन्छ । थुप्रै चर्चहरू देखिन्छन् ओस्लो सहरमा । चर्चको पहिचान बेग्लै देखिन्छ आकाशसम्म पुग्नेगरी ठडिएको गजुरको आकारले ।
राजदरबारका लागि धार्मिक परम्परा निर्वाह गर्न मुख्य चर्च राजदरबारबाट देखिने ठाउँमा रहेको छ सहरको मुख्य भागमा । राजा चाहिँ चर्चप्रति आस्थावान् हुनु पक्कै जरुरी ठानिन्छ तर धार्मिक स्वतन्त्रताको वातावरण रहेछ । हुन त अहिले पनि करिब ७२प्रतिशत नर्वेलीहरु इभान्जेलिकल लुथरन चर्च अन्तर्गतका इसाईहरू हुन् । क्याथोलिक चर्च अन्तर्गतका करिब ३ प्रतिशत इसाईहरू रहेको अनुमान छ ।
त्यस्तै अरु इसाईहरू पनि न्यून संख्यामा रहेका छन् । इसाई धर्मपछिको दोस्रो ठूलो संख्या इस्लाम धर्मको छ जसको संख्या ३ प्रतिशतभन्दा बढी रहेको अनुमान छ । वास्तवमा इस्लाम धर्म मान्नेहरुको संख्या आधिकारिक गणनाभन्दा बढी नै रहन सक्ने अनुमान यस कारणले गरिएको रहेछ कि शरणार्थी र स्वतः नर्वेमा आउन पाउनेहरुको संख्या र अफ्रिकाबाट नर्वे आउनेका संख्यामा वृद्धि भइरहेको छ ।
ईदको बेलामा यो समीक्षकले देख्यो, ओस्लो इस्लाम मय थियो । जताततै इस्लाम धर्मीहरुको भीड । कम्तीमा पनि महिलाहरु कोही त बुर्का नै लगाउने अनि र सबै महिलाहरुले हिजाब (टाउको ढाक्ने रुमाल)को प्रयोग गरेकै हुन्छन् बालिकादेखि बृद्धा सम्मले । धार्मिक रुपमा पुरुषहरुको पनि पहिचान हुनेगरी पहिरन लगाएको जहिले पनि देख्न पाइन्छ जुन संख्या अत्यधिक मात्रामा छ । अहिले पनि ओस्लोका कम्युनहरूमा पाकिस्तानी मूलका इस्लामहरूको दबदबा छ र केन्द्र सरकारमा एकजना मन्त्रीको रुपमा इस्लाम धर्मावलम्बीको प्रतिनिधित्व गराइन्छ भनिन्छ । सन् २०१२ पछि इस्लाम धर्मीहरुको संख्या करिब २७ प्रतिशतले प्रत्येक वर्ष बढेको छ भन्ने अनुसन्धानले देखाएको मानिन्छ ।
आजकाल नर्वेका युवाहरुमा धर्म प्रतिको धारणा निरपेक्ष रुपमा तटस्थ देखिन्छ । करिब १७ प्रतिशत नर्वेलीहरु कुनै पनि धर्मप्रति झुकाव नरहेको बताउँछन् भन्ने एउटा अनुसन्धानले देखाएको छ ।
एउटा अनुसन्धानले के पनि देखाएको पाइन्छ भने २२ प्रतिशत नर्वेलीहरु भगवानप्रति आस्थावान् छन् । ४-४प्रतिशत चाहिँ भगवानको सत्ताभन्दा पनि केही न केही आध्यात्मिक शक्ति छ भन्ने पत्याउँछन् ।२९ प्रतिशत भगवान र अरु कुनै शक्तिप्रति विश्वास गर्दैनन् र ५ प्रतिशतले यस वारेमा केही पनि भन्न चाहेनन् । अनि एउटा अर्को अनुसन्धानले चाहिँ भगवानका वारेमा विश्वास गर्नेहरुको संख्या ३७ प्रतिशत र विश्वास नगर्नेहरूको संख्या ३९ प्रतिशत रहेको देखाएको छ भने अरु प्रतिशतले आफू यसबारेमा केही पनि नभन्ने बताए । पुरुषभन्दा महिलाहरुले ईश्वरप्रति बढी आस्था देखाएको पाइएको पनि अनुसन्धानले भनेको बताइएको छ ।
यहाँका आदिवासी सामीहरू हुन् जसको धर्मलाई सामिनिस्टिक वा सामी धर्म भनिन्छ । प्रकृति पूजक सामीहरूलाई पहिले नै इसाई करण गरिसकिएको छ र पनि कतिपय सामीहरू अझै आफ्नो परम्पराको धर्मलाई कट्टरताका साथ मान्ने पनि छन् । हिन्दूहरू र बुद्ध धर्महरूको संख्या पनि नगण्य छ । ती हिन्दू र बुद्ध धर्म मान्नेहरु एसियाका देशहरुबाट आएकाहरु हुन् ।
ह्रिन्दूहरु चाहिँ खासगरी भारत र नेपालबाट आएका हुन् । बुद्धको स्तूप पनि छ । इस्लामका मस्जिदहरू पनि छन् र हिन्दूका मन्दिरहरु पनि छन् । यहुदीहरु पनि छन् र बहाई धर्मका अनुयायीहरु पनि रहेको तथ्याङ्क पनि छ । तर संख्या अत्यन्त न्यून छ । सन् २०१२सम्म नर्वेको राजकीय धर्मको रुपमा चर्च अब नर्वेलाई राज्यको धर्मको रुपमा मानिएको थियो तर अहिले कुनै पनि धर्मलाई राजकीय धर्मको रुपमा मानिएको छैन तर सरकारले कानुनीरुपमा भने चर्चलाई महत्वपूर्ण संस्थाको रुपमा मानेको छ ।
कुनै पनि धर्म मान्ने स्वतन्त्रताको भने कानुनीरुपमा संरक्षण गरिएको छ । जुनसुकै धर्मका लागि पनि सदस्य संख्या तोकेर सरकारी कार्यालयमा दर्ता भएको धार्मिक संस्थालाई सदस्यताको आधारमा आर्थिक सहयोग गर्ने चलन रहेछ
खासगरी हिन्दूहरुको सक्रिय संस्था भनेको इस्कोन अर्थात् अन्तराष्ट्रिय श्रीकृष्ण चैतन्य समाज नै हो । यहाँ विश्व हिन्दु परिषदको कार्यालय पनि देखिन्छ तर सक्रिय रुपमा रहेको छैन । नर्वे सरकारले प्रत्येक दर्ता भएका धार्मिक संस्थाहरुलाई सक्रिय सदस्यहरुको संख्याको आधारमा आर्थिक सहयोग तथा अन्य सहयोग दिने रहेछ ।
खासगरी हिन्दू धर्मको वारेमा छलफल र सत्सङ्गका लागि इस्कोनले नै प्रत्येक आइतवार भेटघाट, छलफल र श्रीकृष्ण सम्बन्धमा श्रीमद्भागवत महापुराण, श्रीमद्भागवत गीताका वारेमा प्रश्नोत्तर गरिँदो रहेछ । धेरै जसो भारतीय मूलका भक्तहरूको जमघटमा नेपालीहरु पनि भेटिएका हुन्छन् ।
विदाका दिनमा परेकाले प्रत्येक हप्ता कम्तीमा ५०-६०जना जम्मा हुने रहेछन् । जमघटमा श्रीकृष्णको आराधना गरिँदो रहेछ जसमा हरे कृष्ण हरे रामको मन्त्र गायन गरिँदो रहेछ । सबै प्रक्रिया धार्मिक रीतिअनुसार गरिन्छ । आरती गरिन्छ, शङ्ख बजाइन्छ, भोग लगाइन्छ र महाप्रसाद बितरण गरिन्छ । यसैक्रममा हरिशयनी एकादशीको उपलक्ष्यमा श्रीकृष्ण रथयात्रा पनि गरिएको थियोे । जन्मसिद्ध हिन्दूले हिन्दू धर्मको पक्षमा बोल्नु र हिन्दू धर्म मान्नु स्वाभाविकै हो तर जन्मसिद्ध इसाईहरूले हिन्दू धर्ममा मात्र शान्ति र मानवता देखेर हिन्दू धर्मको कडाइका साथ पालना गर्नु चाहिँ मननीय छ ।
नर्वेले माता सनातनीले नर्वेको हिन्दू धर्मको प्रचार र अभ्यासको जिम्मा लिनु भएको रहेछ भने थुप्रै नर्वेलीहरु हिन्दू धर्मप्रति आस्थावान् भएको पाइयो । अझ अचम्म त त्यसबेला लाग्यो मलाई , दुईजना लिथुआनियाली युवतीहरु निरन्तर रुपमा सत्सङ्गमा सहभागी हुने, वैष्णवले लगाउने टीका लगाउने र सत्सङ्गका सबै क्रियाकलापमा सक्रिय सहभागी हुने देखियो ।
ती भक्तिनीहरु थिए युर्गा र युलुलु । दुर्गाजस्तै सुनिने नाम युर्गा आफूलाई दुर्गा नै भने पनि हुने कुरा व्यक्त गर्नुहुन्थ्यो । जब मैले उहाँलाई र युलुलुलाई के कारणले हिन्दू धर्मप्रति आस्था जाग्यो भन्दा हिन्दू धर्ममा मात्र मानवता र शान्तिको सही व्याख्या र बाटो देखाइएको दर्शन पाएको बताउनु भयो । भौतिक सुख सुविधाले मात्र जीवनको रथ नचल्ने रहेछ, त्यसका लागि खुराक भनेको आध्यात्मिक चिन्तन र शान्तिको बाटो नै महत्वपूर्ण रहेको बताउँदा ती महिलाहरुमा एकप्रकारको चमक देखिन्थ्यो । सत्सङ्ग, भजन, आरती र महाप्रसाद वितरणका केही तस्बिर पनि यहाँ छन् जसमा युर्गा र युलुलुको मात्र पनि फोटो देखिन्छ । क्रमशः