बसन्त कुमार उपाध्याय | दृष्टिकोण | जेठ १२, २०७६
यस पटक पूर्वका तराई र पहाडी जिल्ला घुम्ने अवसर मिल्यो ।
धनकुटादेखि तराई–मधेस इटहरी झर्दा संघीयताको राजधानी कहाँ बनाउने भन्ने सरगर्मीले भने पर्याप्त स्थान पाइरहेको थियो । बहसको केन्द्रमा थिए, विराटनगर हुँदै इटहरीदेखि धनकुटासम्मका स्थान । यस्तै, सुनसरी र मोरङका केही क्षेत्रलाई समेटेर नामाकरण गरिएको विराट क्षेत्रको सन्दर्भले चिया पसल, स्थानीय मिडिया र राजनीतिक मञ्चका तातताता कुरा थिए ।
कुनै बेलाको सत्ता र शक्तिको केन्द्र विराटनगरस्थित कोइराला निवास प्रायः आजकाल सुनसान नै रहने गरेको पाइन्छ । सायद, विगतको सत्ता र शक्तिको केन्द्र विराटनगरको सक्रियता रहेको भए यो प्रदेश राजधानीले त्यत्रो स्थान नै नपाउन पनि सक्थ्यो । विराटनगर जे चाहान्थ्यो, त्यही हुन्थ्यो ।
कोइराला निवासको विरासत नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले थाम्ने कोशिश गरे पनि पछिल्लो समय जहाँ बिपी कोइराला, गिरिजाप्रसाद कोइराला बसेको चेयरमा शशांक कोइराला बसाईको निकै चर्चा हुने गरेको छ । यसरी कोइराला निवासको उत्तराधिकारी संकटका कारण पनि चहलपहल र प्रभाव कम भएको प्रष्ट अनुभूति गर्न सकिन्छ । जसले गर्दा विराटनगर तथा कोइराला निवासको प्रभाव कम भएका कारण नै राजधानीको बहसले स्थान पाएको अनुमान गर्नेको पनि कमी छैन । ‘डा. शेखरजी पनि नेपाली कांग्रेस सभापतिका आकांक्षी रे त !’ कोइराला निवासको रेखदेख गर्न बसेका सुरक्षाकर्मी अनभिज्ञताको जानकारी दिँदै थिए– ‘कता–कता जागरण अभियानतिर कुद्नु भा’छ रे !’
उत्ता प्रदेश राजधानी विराट क्षेत्र वा इटहरीबाट केही टाढा रहेको सप्तकोशी कोशी ब्यारेज आसपास डुंगा खियाउँदै माछा मारेर दुई छाक गुजार्ने भनौं आजभोलि बालुवा बेच्नेसम्ममा संलग्नलाई यी कुनै विषयको सरोकार छैन, अर्थात् उनीहरू बेखबर छन् । उनीहरूको सरोकार छ– वर्षायाममा भारतले बाँधका ढोका बन्द गर्ने र खोल्ने साँचो नदिएको भन्ने समाचार सुन्न र भोग्न अब फेरि केही हप्ता कुर्ने पर्ने नियतिको । राजधानीको साथै यी विषयले पनि कुनै कुनामा स्थान पाएको भए सायद यो विषय पनि उनीहरूको सरोकारको विषय हुँदो हो ।
एकातर्फ राजधानीको बहस र तानातान चतरा धामतिर अर्ध–कुम्भ चलिरहेको थियो । सामान्यतया १२ वर्ष कुम्भमेलाको आयोजना गर्ने परम्परलाई तोड्दै अर्ध–कुम्भ मेलाको आयोजना गरिएको छ । सायद आयोजकलाई १२ वर्ष कुर्न नसकेर ६ वर्षमा नै आयोजना गरेर ‘अर्ध–कुम्भ’ नाम दिएको प्रष्ट हुन्थ्यो ।
यसअघिको कुम्भमेलामा तत्कालीन प्रधानमन्त्री स्व. सुशील कोइराला हेलिकप्टरबाट चतरा पुगेका थिए भने अहिले मूल गेटमा प्रधानमन्त्रीको फोटो टाँसेर अर्ध–कुम्भ मेलाको तामझामले चित्त बुझाएको अनुभूति गर्न सकिन्थ्यो । बीचबीचमा नेत्रविक्रम चन्द विप्लव समूहकोे बन्दको आह्वान छिटफुट प्रभाव र चर्चा भए मेला चलिरहेको नै थियो ।
राजनीति, व्यापार, जग्गाको भाउदेखि आफ्नो ठाउँमा प्रदेश राजधानी बनाउने स्वार्थी समूह बहसमा विराटनगरदेखि धनकुटासम्म जुटे पनि त्यही बीचमा रहेको भेडेटारमा प्रेम जोडीहरू जुटेको नै देखिन्थ्यो । समाज र राजनीतिले नछोएको अनुभूति हुने उनीहरूको प्रेम त थियो कि थिएन । तर, जोडीचाहिँ प्रेममा झुमिरहेको आभाष दिलाइरहेका हुन्थे ।
सामाजिक द्वन्द्वका सूचकांकको अध्ययनले मलाई सप्तरीतर्फ डो¥यायो, जो प्रदेश २ मा पर्छ । आफू सिभिल इन्जिनियरिङको विद्यार्थी । सप्तरीको राजविराज जो नेपालकै पहिलो टाउन प्लानिङ अनुसार निर्मित सहर भन्ने सुनेको र पढेको मानिस थिएँ म ।
ई. डिल्लीजंग थापाले भारतको राजस्थानस्थित जयपुर सहरकै ढाँचामा राजवरिाजको डिजाइन गरेका थिए । ८ औं शताब्दीको ढुंगाको राजदेवी मन्दिरलाई १४ औं शताब्दीमा मकवानपुरका शेनहरूले राजदेवी मन्दिरको जीर्णोद्धार गरी पुनस्र्थापना गराएसँगै ‘राजविराज’ नाम रहन गएको भन्ने मैले सुनेको थिएँ ।
कुनै बखतका कुशध्वजको कूल देवताको मन्दिरका रूपमा पनि राजदेवी मन्दिर परिचित छ । कुशध्वज जो राजा जनकका भाइ हुन् । काशी र जनकपुरको लडाइँमा ओझेलमा परेको क्षेत्र पनि हो, राजविराज । उनै कुशध्वजकी तीन छोरी माण्डवी, उर्मिला र श्रुतकीर्तिका पनि यो क्षेत्रका हकदार थिए रे ! कुनै बेला । पूर्वपश्चिम राजमार्गदेखि करिव १० किलोमिटर दक्षिणमा अवस्थित राजविराजमा बोलिने मुख्य भाषा मैथली नै हो ।
सप्तरी नेपालको राजनीतिमा ‘लाइमलाइट’मा आइरहने जिल्ला हो । बरमझियाको पेंडाले पनि सिन्धुली खुर्कोट इटहरी हुँदै पूर्वका कतिपय सडक यात्रुलाई सप्तरी स्मरण गराउने विषय हो । सप्तरीको सदरमुकाम राजविराज सहर भौतिक पूर्वाधार र सुविधाका हिसावले एउटा बजारमा सीमित भएर खुम्चिएको अनुभूति हुन पुग्यो मलाई ।
राजविराज पुग्न साथ सम्झनै पर्ने नाम हो स्व. गजेन्द्र नारायण सिंह अर्थात् ‘गजेन्द्रबाबु’ । सायद त्यसै भएर होल बजारको मुख्य चौराहमा उनको शालिक अवस्थित छ । उनलाई सप्तरीवासीले यही नामले सम्बोधन पनि गर्छन् ।
नेपालको राजनीतिमा निकै सादगी जीवन बिताएका गजेन्द्रबाबुको जीवन उनले नै स्थापना गरेको गजेन्द्र नारायण सिंह वेलफेयर ट्रस्टमा बिताएका थिए । ट्रस्टलाई आफ्नो सबै जायजेथा सुम्पेर जीवनको उत्तरार्धको अधिकांश समय त्यहीँ बिताएका थिए ।
सन् १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसबाट सुरु भएको राजनीतिक यात्रा सद्भावना पार्टीसम्म पुगेको थियो । प्रजातान्त्रिक आन्दोलनमा लागेकै कारण कलिलै उमेरमा करिव ७ वर्ष जेलजीवनसमेत भोगेका थिए ।
विभेद छ, भन्दै मौलिक पहिरन धोती र कुर्तामा संसद् छिरेका थिए, गजेन्द्रबाबु । राजाको सक्रिय शासनकालमा डा. हर्कबहादुर गुरुङको नेतृत्वमा बनेको एक समितिले ‘तराईवासीहरू भारतीय हुन्’ भन्ने रिर्पोट सार्वजनिक भएपछि विभेदका विरुद्ध उनले सशक्त राजनीतिक लडाइँ सुरु गरेको मानिन्छ ।
राजविराजको चौराहमा पुग्दा एउटा गजबको दृश्य देख्न सकिन्छ । चौराहको बीचमा रहेको पार्कमा तार नभएको विद्युतको पोलमा माओको तस्बिर सहितको रातो ब्यानर झुण्डिएको थियो, तल स्व. गजेन्द्रबाबुको शालिक ।
राजविराजको चौराहमा पुग्दा एउटा गजबको दृश्य देख्न सकिन्छ । चौराहको बीचमा रहेको पार्कमा तार नभएको विद्युतको पोलमा माओको तस्बिर सहितको रातो ब्यानर झुण्डिएको थियो, तल स्व. गजेन्द्रबाबुको शालिक ।
स्व.गजेन्द्र बाबुको शालिकलाई माओले केही प्रश्न गरेझैं वा फेरि स्व. गजेन्द्रबाबुले माओलाई प्रश्न सोधेझैं भान हुन पुग्छ ।
वि.सं. १९८६ मा कोइलागढीमा जन्मिएका स्व. गजेन्द्रबाबुको र सन् १८९३ मा जन्मेका कम्युनिस्ट नेता माओबीच कहिँकतै साइनो भेटिँदैन । न राजनीतिमा न त दर्शनमा नै मिल्छ दुई नेताको । तर प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा पुग्दा शालिक र तस्बिरले एक आपसमा दोहोरो संवाद गरेको हो की भन्ने अनुभूति दिलाउँछन् ।
सायद अहिलेको समयमा दुवै नेता जिवित भएको भए अभिवादन यस्तो हुन्थ्यो कि !
माओ ः जय मधेश गजेन्द्रबाबु ।
गजेन्द्र: लालसलाम माओ ।
सत्तामा त गजेन्द्र नारायण सिंह पनि नपुगेका कहाँ हुन र ? २०४३ सालमा राष्ट्रि«य परिषद्को निर्वाचन जितेका थिए । सप्तरीको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य भए । २०४७ सालमै सदभावना पार्टीको गठन गरेका उनले २०५३ सम्म पार्टीको नेतृत्व गरे । २०५२ सालको संयुक्त सरकारमा मन्त्री पनि भए । नयाँ पार्टी खोल्दा उनलाई भारत निकटस्थको जवरजस्त आरोप पनि थोपरियो । डा. राममनोहर लोहिया र जयप्रकाश नारायणसँग उनको निकटता रहेको नेता मानिन्छ । ‘तराई मधेस’का विषयमा नेपाली कांग्रेस स्पष्ट नरहेको भन्दै उनी पार्टीबाट अलग हने नेतामा पर्छन् ।
काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल र खड्गप्रसाद ओली, नेता माधवकुमार नेपाल पार्टीको र सरकार सञ्चालन असन्तुष्टिको सरगर्मीमा छन् भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस आत्मरतिकै लागि भए पनि छाया सरकारको सरगर्मीमा तल्लीन भइरहेको अवस्थामा छन् । जसरी तराई मधेसको ‘प्रचण्ड’ गर्मीमा झुण्डिएको माओको तस्बिरले उद्यानको बीचमा शितल छाहारीमा रहेको गजेन्द्रबाबुको शालिकसँग छहारी खोजेझैं, प्रदेश राजधानीको बहसमा रहेको विराटनगर (विराट क्षेत्र)देखि पुरानो सहर राजविराजले शितल छहारी खोजीरहेका छन् । जसरी म कोशीटप्पु वन्यजन्तु आरक्षतर्फ अघि बढे शितल छहारी खोज्नको लागि ।