ऋतु आशिक | साहित्य | साउन १४, २०७९
प्रिय ! तिमीले जानी राख
इतिहासको आरोह अवरोह
थाहा पाइ राख है ।
कमरेड मनमोहन बाबैको आदेशमा
बुर्जुवा पढाइ छोडेर
वर्ग सङ्घर्षको युद्धमा होमिएका थियौ ।
हामीले ठानेका थियौ
जीवन नै युद्ध हो ।
उनी भन्ने गर्थे
आराम त श्मशान घाटमा लिन्छु ।
उनको फौलादी आदेशमा
हामी लाल सलाम गर्दै हिँडेका थियौ ।
प्रेयसी !
उनी भन्ने गर्थे
महाकाली सवालमा
म संसद मै सुति दिन्छु
पास कहाँ हुन्छ र ?
अरबौं– खर्बौंको सपना देखाएर
महाकाली सन्धि पास भयो ।
खरब–खरबको सपना देखाउने लाई
कतै प्रधानमन्त्रीको आवरणमा
भेट्नु भयो भने
कृपया टुप्पी पक्रे सोध्नु होला
कता कसले तल वितल गरिरहेको छ ?
ती खर्बौं खरबहरू
कृपया जसले भेटे पनि सोध्नु होला
बाबै कमरेड हेरेका हेरै भए ।
नेपाली सबै तिन छक्क परेका परै भए ।
हामी थिचिएर इन्तु न चिन्तु भएका छौ ।
त्यसैले होला –
हामी झन् – झन् भासिँदै भाँसिदै गइरहेका छौँ ।
मेरी प्रेयसी !
यी यस्ता देश घाती बिरुद्ध
हामी युद्धमा फर्किनुको विकल्प छैन ।
स्वतन्त्रताकै निम्ति हामी युद्धमा फर्किदै छौ ।
साथीहरुको लस्कर बढी रहेको छ ।
गाँस छोड्नु साथ नछोड्नु भन्छन् ।
यसैले तिमी चिन्ता नगर
देश समृद्धिको लागि
हामी फेरि युद्धमा होमिएका छौ ।
हो ! आश्वासन हाम्रै बगलमा हुदै जाँदैछ ।
ऊ आउँछ !
हो ऊ आउँछ,
हामी फर्किन्छौ विजया उत्सव सँगै
अवसानलाई परास्त गर्दै फर्किन्छौ ।
तिम्रो बिहानको मुस्कान सँगै फर्किन्छौं ।
आँपगाछी, इटहरी