सगरमाथामा पनि ट्राफिक जाम

सगरमाथामा पनि ट्राफिक जाम

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १२, २०७६

काठमाडौं । काठमाडौंको सडकमा हुने जामबाट सर्वसाधारण आजित भइरहेका बेला अब विश्वको सर्वोच्च शिखर सगरमाथामा पनि जाम भएको समाचार आएको छ । आरोहणको सिजन शुरु भएसँगै सगरमाथामा जाम हुन थालेको हो ।  

नेपाल सरकारले यसपटक सगरमाथा आरोहणको लागि ३८१ जनालाई आरोहणको अनुमति दिएको छ । आरोही र सहयोगी शेर्पाहरु गरेर ४४ टिमका ७५० जना यसपटक सगरमाथा चढ्दै छन् । 

यसपटक तिब्बत पट्टीबाट पनि १४० जनाले आरोहण अनुमति प्राप्त गरेका छन् । यो सबै मिलाएर कुल ८९० जनाले यसपटक सर्वोच्च शिखर सगरमाथा आरोहणको अनुमति प्राप्त गरेका छन् । 

अघिल्लो वर्ष कुल ८०५ जनाले सगरमाथा चढेका थिए । 
करिब दुइसय जनाले सगरमाथा शिखर चढ्ने कोशिश गरिरहेकाले त्यहाँ ट्राफिक जामको स्थिति देखापरेको हो ।

थुप्रै देशका आरोहीले चौथो आधार शिविरबाट ८८४८ मिटरको शिखरतर्फको आरोहणमा २ घण्टा भन्दा बढी समय कुर्नुपरेको गुनासो गरेका छन् । जामका कारण आरोहीले कष्ट भोग्नु परेको तथा कतिपयले ज्यान समेत गुमाउन पुगेका छन् । 

अमेरिकी आरोही डोनाल्ड कैश सगरमाथा शिखरमा पुगेर फकर्ने क्रममा चिप्लिएर मृत्यु भयो । 

यसपटक सगरमाथाको मौसम खराब भएका कारण आरोहणको समय पनि कम हुँदै गएको छ । त्यसकारण आधार शिविरमा पनि आरोहीको भिड लागेको छ । 

आरोही निर्मल पुर्जाका अनुसार भिडका कारण उनले तीन पटक आरोहण स्थगन गर्नु परेको थियाे ।