नकारात्मक सोचाइ मानवीय स्वभाव हुन् या समाजबाटै सिर्जित मान्यता ?

नकारात्मक सोचाइ मानवीय स्वभाव हुन् या समाजबाटै सिर्जित मान्यता ?

सुशीला शर्मा  |  दृष्टिकोण  |  साउन १७, २०७९

मनोविज्ञ केन्ड्रा चेरीका अनुसार हाम्रो प्रवृत्ति प्रायः खराब कुराहरूमा बढी ध्यान दिने र असल कुराहरूलाई बेवास्ता गर्ने खालको हुन्छ । यो सम्भवतः विकासको परिणाम हो । मानव इतिहासको सुरुवाती चरणमा संसारका खराब, खतरनाक र नकारात्मक कुरामा ध्यान दिनु भनेको जीवन या मृत्युको सवाल थियो । मनिसहरूलाई अनेक प्रकोप, रोगव्याधीहरूबाट बच्नु थियो र यसैमा बढी सजग हुनुपर्ने थियो । जो यस्ता खतरनाक कुराहरूमा बढी सजग भए, उनीहरू नै अलिक बढी बाँच्ने सम्भावना पनि बढी नै थियो । विकासवादी अवधारणाअन्तर्गत सकारात्मकभन्दा नकारात्मक कुराहरू दिमागमा बस्ने प्रवृत्ति मस्तिष्कले हामीलाई सुरक्षित राख्ने प्रयास गर्ने एक तरिकामध्ये पनि पर्छ । 

यदि निज मनोविज्ञको तर्कलाई सान्दर्भिक नै मान्ने हो भने पनि मानिसको व्यवहार ऊ हुर्केको परिवेश, वातावरण, सामाजिक मूल्य-मान्यताहरूले नै हाम्रा जीवनलाई डोहोर्‍याइरहेका छन् र यदि हाम्रा जीवन तिक्तता, नकारात्मकतातिर गइरहेका छन् भने पनि हाम्रै समाज, संरचना, व्यवस्था, गरिबी, पछौटेपन नै हाम्रा अविकासका कारण र मानव स्वभावको विकासका कारण हुन सक्छन् । 

कतै हिंसा बनेर, कतै गरिबी र विभेद बनेर त कतै अधीनस्थ दोस्रो दर्जाको नागरिक बनेर मानिस प्रजातिहरूले अनेक दुःख र हण्डरहरू खपिरहेकै छन् ।  हुनत लैंगिक भूमिका र समाज बुझ्नुभन्दा पहिले त सिक्ने अवस्थादेखि नै मानिसले महिला र पुरुषको शरीरबारे प्रष्ट हुनै पर्छ तर समग्रमा विश्वमै र अझ हाम्रा जस्ता अविकसित, सयौँ धर्म, संस्कृतिले निर्देशन गरेका समाजमा त महिला-पुरुषका जैविक भन्दा पनि समाजले के भूमिका दिएको छ र हाम्रो मगजमा के गढेको छ भन्ने कुराले फरक पार्छ ।

थिचोमिचो, अपराध, माया, दया, यी सब मानिसहरूले नै अपनाउँदै आएका हुन्छन् । प्रत्येक मान्छेको आ-आफ्नो स्वभाव हुन्छ । त्यही स्वभाव हावी भइदिँदा नै मानिसहरूले आफ्नो र अरूको पनि जीवनलाई उचित व्यवस्थापन गर्न सकिरहेका हुँदैनन् । हामी हाम्रै समाजमा पनि देख्न सक्छौँ, कोही यति पठित हुन्छन कि हरबहसमा खरो उत्रिन सक्छन्, कोही यस्ता तगडा लेखक हुन्छन् कि काव्य, महाकाव्य नै लेखी भ्याउँछन् तर तिनै मानिसहरूको भित्री स्वभाव भने विल्कुल भिन्न पनि हुन सक्छन् ।

व्यावहारिक, पारिवारिक, सामाजिक अनि सम्बन्ध र अरू जीवन व्यवस्थापनका कुरामा ती तीक्ष्ण भनिएका मानिसहरू एकदमै केही नजानेका र अव्यवस्थित पनि हुन सक्छन् । त्यस कारण पनि मानिसका एउटा क्षमतालाई हेरेर उसका सम्पूर्ण जीवन नै सकारात्मकता र हरियालीले भरिपूर्ण छ भन्ने भ्रम पनि पालेर बस्नुहुँदैन । एकातिर कमजोरी भएका मान्छेहरू हुन्छन भने अर्कातिर तिनै कमजोरी भएका मानिसको कमजोरीसँग खेल्दै फाइदा लुट्ने मान्छेहरू पनि हुन्छन् । मान्छे त प्रकृतिका हरचिजसँग समन्वय गरेर बस्नुपर्ने ठाउँमा मान्छेसँगै दुश्मनी, अस्वस्थ प्रतिस्पर्धा गरेर नै बस्ने गर्छ । ठूलो माछाले साना माछा खेदेजस्तै सम्पन्न भनी खाने मान्छेले आफूभन्दा निर्धालाई शक्तिको आडले पेलिरहेकै छ ।

एकातिर मानिसको भाले या पोथी हुनुको जैविक विशेषता छ भने अर्कोतिर तिनै जैविकताभित्र पनि मानिस कस्तो प्रकृतिको छ या स्वभावको छ भन्ने पनि हुन्छ । परिवार, समाज, वातावरण र जीवनमा आइपर्ने उतारचढावलाई एउटा व्यक्तिले कसरी ग्रहण गर्छ भन्ने कुरा पनि उसको प्राकृतिक स्वभावमै निर्भर रहन्छ ।

मानव स्वभावलाई पनि एक अवधारणाको रूपमा विकास गरिरहेका छन् अध्येताहरूले । मानव स्वभावको अवधारणाले मानवको आधारभूत स्वभाव र विशेषताहरूलाई जनाउँछ । यसअन्तर्गत व्यक्तिको सोच्ने तरिका, कार्य गर्ने शैली आदि पर्छन् । हुनत मान्छे यस्तै वा त्यस्तै हुनुपर्छ भन्ने छैन । पृथ्वीमा भएका अन्य सजीव प्राणीको तुलनामा मानिसको चेतना र चेतनालाई व्यवहारमा ढाल्न सक्ने शक्तिलाई आधार मानेर नै मानिस चेतनशील, सामाजिक प्राणी हो भन्दै पढ्दै र नयाँ पुस्तालाई पढाउँदै आइरहेछन् मानिसहरू नै ।

मानव स्वभावका अवधारणालाई प्राकृतिक विज्ञान, सामाजिक विज्ञान, इतिहास र दर्शन जस्ता प्राज्ञिक क्षेत्रमा पनि जोडेर अध्ययन गर्न सकिन्छ । व्यक्तिको स्वभाव या व्यक्ति जे हो, त्यही बन्छ भन्ने खालका कुराहरू पनि गरिन्छ । यो कुरा उही भाग्यमा जे लेखेर आएको छ, त्यति पाउने त हो नि भन्ने खालको पनि सुनिन सक्छ । मानव प्रकृति परम्परागत रूपमा मानव विशेषताहरूसँग विपरीत हुन सक्छ । विशिष्ट संस्कृतिहरूसँग सम्बन्धित हाम्रा प्रत्येक साना साना बानीले हाम्रो व्यक्तित्वलाई परिवर्तन गर्छ । 
चार्ल्स डार्विनको विकासवादको सिद्धान्तले मानव जातिका पुर्खाहरू आजका मानव जाति जस्ता थिएनन् भन्ने प्रस्तावलाई समर्थन गर्छ । व्यवहारवाद, निर्धारणवाद तथा आधुनिक मनोचिकित्सा र मनोविज्ञानभित्रको रासायनिक मोडेलको अध्ययन र मानव प्रकृति तथा यसको उत्पतिको ब्याख्या गर्नका लागि यी सबै अवधारणाहरूको अध्ययन गर्नुपर्ने हुन्छ । 'ओरिजिन अफ स्पेसिस'मा चार्ल्स डार्विनले मानव विकासका बारेमा भनेका छन् कि हामी मानवहरू विकसित भएका छौँ साथै हामी पनि अन्य सबै प्रकारका जीवहरूसँगै अन्तर सम्बन्धित प्राकृतिक संसारको हिस्सा हौँ भन्ने दाबी गर्नुबाहेक अरू विकल्प पनि छैन । विज्ञान, औपनिवेशिक विस्तार, औद्योगिक प्रगति, धार्मिक विश्वास र नैतिक र दार्शनिक बहसका लागि मानव विकासका बारेमा विश्वव्यापी बहसको प्रारम्भ सन् १८७० को दशकमा भएको थियो ।

मानव स्वभावअन्तर्गत बाहिर एकअर्कामा संचार र सम्बन्धका लागि मानव स्वभाव कसरी प्रस्तुत हुन्छन् त भन्ने कुराले पनि अर्थ राख्छ । संचार सम्बन्धहरू पनि मानव स्वभावमा प्रमुख हुन आउँछन् ।

यो सत्य नै हो कि मानव स्वभावलाई धर्म, संस्कृति, चालचलनले प्रभाव पार्दै गएर एक किसिमले व्यक्तिभित्र सेट नै भइसकेको हुन्छ । किशोरावस्थादेखि नै मानिस गसिप, र्‍युमरतिर पनि आकर्षित भइरहेका हुन्छन् । यो बानी कालान्तरसम्म पनि रहिरहन्छ । संचार बोलेर गर्ने र भाषाको अर्थ बुझ्ने भएकाले यो मानवीय स्वभाव हो भन्न पनि मिल्छ । गफसफ प्राकृतिक पनि हो । मानिस सचेत प्राणी हो भन्ने कुरा उसले हरेक विषयवस्तुलाई गर्ने सूक्ष्म विश्लेषण, खोज, अनुसन्धान र संसारभर त्यसलाई फैलाएको तथ्यबाट पनि बुझ्न सकिन्छ ।

मनिसहरू गफसफ यानिकी गसिप मनपराउँछन् । यसले उनीहरूलाई अर्को व्यक्तिका बारेमा गोप्य जानकारी छ भन्ने भावना दिन्छ । गफ हाम्रा लागि धेरै स्वाभाविक रूपमा आउने कुरा हो । गफमा कुराकानी, जानकारी, साझेदारी र समुदाय निर्माणका लागि नभई हुँदैन । जर्जिया ग्विनेट कलेजका मनोविज्ञानका प्राध्यापक 'भाषाको मनोविज्ञानः एक एकीकृत दृष्टिकोण'का लेखक डेभिड लुडेन भन्छन्, 'गसिप नकारात्मक नै हुन्छ भन्ने छैन । यति भईकन पनि अधिकांश मानिसहरूको स्वभाव यस्तो हुन्छ कि अरूका बारेमा नकारात्मक कुरा गरे पनि आफ्नाबारेमा चाहिँ कसैले नकारात्मक नभनिदेओस् भन्ने चाहन्छन् ।'

स्थिर र व्यवस्थित व्यवस्था नभएका, बेरोजगारी, गरिबी विविध खालका सांस्कृतिक अभ्यासहरूमा तल्लीन जमात भएको समाजमा त झन गसिपले ठूलै ठाउँ लिने रहेछ । कतिपय अवस्थामा गसिपले अन्याय, अत्याचारको विरोध गर्न मलजल गरे पनि गसिपको आधारमा कुनै एक ठाउँमा नउभिएसम्म सम्बन्धित पीडितले न्याय नै नपाउने र राज्य कानमा तेल हालेर बस्ने जस्ता प्रवृत्ति त बढ्न जाँदैनन् भन्ने प्रश्न खडा हुन्छ, जुन हाम्रो देश नेपालमा भइरहेको छ । 'न्याय खोज्न माइतीघर मण्डला जाऔँ' भन्ने उक्ति अबको पुस्तालाई नपर्ला भन्ने पनि छैन ।

अर्कोतिर, कुनै अवधारणा या सिद्धान्तलाई लिएर वर्षौं अध्ययन गर्ने, घोक्ने, कण्ठ गर्ने र सयौँ पटक ती सिद्धान्तहरूलाई बहसमा ल्याउने पनि गरिन्छ । तर, ती बहसहरू व्यवहारमा कतिको फिट छन् या त्यसलाई व्यवहारमा पनि लागू गरियो कि गरिएन भन्ने नै हेरिँदैन । हामी सिद्धान्तनिष्ठ तर अव्यावहारिक जीवनशैली त बाँचिरहेका छैनौँ ? हाम्रा प्राकृतिक मानवीय स्वभाव भनेका सिद्धान्त एउटा, काम र व्यवहार एउटा भन्ने हो त ? हामी बाहिर मलमलको खोलले ढाकिएका तर भित्र ढुसी परेका कपासले बुनिएका सिरक-डस्ना हौँ त ?, जसले बाहिर राम्रो देखाउने तर एलर्जी गराओस् ?

असमान लैंगिक सम्बन्ध, बलात्कारजन्य अपराध अनि ती अपराधलाई ढाकछोप गर्नै पर्ने संयन्त्र किन विकास भइरहेको छ ? हामीकहाँ पीडितलाई न्याय निरूपण गर्नभन्दा पहिले नै चौतर्फी रूपमा गसिपकै आधारमा अत्याइसक्ने, कलंकित गरिसक्ने चलन पनि छ । यहाँसम्म कि हालसालै एउटा गपसपवाला टेलिभिजन कार्यक्रममा कलाकारहरूले आफ्नो बलात्कारसम्बन्धी दृश्यका बारेमा बडो इज्जत तरिकाले आफ्ना धारणा राखिराखेका थिए । यस्ता गम्भीर मुद्दा बोकेका र आपराधिक लाग्ने विषयहरूमा किन मानिसहरू हाँस्छन् या मनोरंजन लिन्छन् ? हाम्रा सोच, मनोदशाहरू के हाम्रा स्वभाव हुन् ? के यी सब हुनुमा हाम्रा धर्म, संस्कृति, राज्य व्यवस्था, पुँजीवादी व्यवस्था मात्र कारक हुन् या व्यक्तिगत तहदेखि या परिवार तहदेखि नै हामीहरूले आफ्नातर्फबाट पनि एउटा सभ्य नजरिया बनाउनुपर्ने हो ?

पीडितलाई अझ पीडित बनाउने परपीडकहरूको समाज बनाउने पनि मानवीय प्राकृतिक स्वभाव हो र ? यदि हो भने आजैदेखि यो स्वभाव त्यागिहालौँ । उच्च मानवीय संवेदना बोकेको सम्मानित र मानवीय समाज बनाउनेतिर आजैदेखि सुरु गरौँ हामी प्रत्येकले यो कार्य सुरु गरौँ । गपसप पनि यसैलाई बनाऔँ । यो सम्भव छ है !