लोकसंवाद संवाददाता | समाचार | जेठ १२, २०७६
काठमाडौं । नारायणहीटिभित्र बनेको गणतन्त्र संग्रहालय जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ। संग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि संकलनको जिम्ममा नेपाल कला परिषद्ले पाएको छ।
परिषद्ले आफ्नो ७५ प्रतिशत काम पूरा गरिसकेको परिषद्का कार्यकारी सदस्य नरेश सैँजुले जानकारी दिए। ‘काठमाडौँका विभिन्न पुराना तथा नयाँ फोटोग्राफरमार्फत् नेपालका विभिन्न राजनीतिक घटनाक्रमलगायत विसं २००७ अघिका तस्बिर पनि संकलन गरिसक्यौँ,’ उनले भने।
पहिले नारायणहिटी संग्रहालयभित्र पूर्व राजाको जीवनशैली, खानपान, उनीहरूले प्रयोग गरेका लत्ताकपडा आदि मात्र हेर्न पाइन्थ्यो। संग्रहालय स्थापना भइसकेपछि नेपालमा प्रजातन्त्रको प्राप्ति कसरी भयो, राजतन्त्रको अन्त्य कसरी भयो भन्ने जानकारी पछिका पुस्ताले समेत अवलोकन गर्न पाउने परिषद्का सदस्यसचिव जीवन राजोपाध्यायले बताए। उनले भने, ‘संग्रहालयमा यति वटा नै तस्बिर र सामग्री राख्ने भन्ने टुंगो लागेको छैन।’
परिषद्ले तस्बिर संकलनको काम पूरा गरिसकेको उनले जानकारी दिए।
संग्रहालयले गणतन्त्रसम्बन्धी जानकारी दिने मात्र नभई विभिन्न अध्ययन/अनुसन्धान गर्ने व्यक्तिलाई समेत सहयोगी भूमिका खेल्न सक्ने परिषद्का अध्यक्ष तथा संस्कृतिविद् सत्यमोहन जोशीले बताए। उनले भने, ‘यो नेपाली इतिहासलाई बचाइराख्ने एउटा महत्वपूर्ण पाइला हो।’
गणतन्त्रको प्राप्तिका लागि कतिकोे ज्यान गयो, कति अंगभंग भए, कति बेपत्ता भए र कति हराए भन्ने विवरणसमेत संग्रहालयमा राख्दा पछिसम्मका पुस्ताले त्यसबारे जानकारी पाउने उनले बताए। यसले राष्ट्रको इज्जत र गरिमा बढाउने जोशीले विश्वास व्यक्त गरे। उनका अनुसार सुरुवातमा थोरै मात्र संग्रहालयमा राखिए पनि पछि विस्तार हुँदै जानेछ। सरकारले भवन पहिले नै बनाइसके पनि संग्रहालय ढिलो मात्र सञ्चालनमा ल्याउन लागेकोमा उनले दुःख व्यक्त गरे।
नेपाल सरकारको ४२ करोड रूपैयाँको लगानीमा बन्न लागेको संग्रहालय जिम्मेवारी वैशाख ८ गते परिषद्लाई दिइएको थियो। संग्रहालयलाई सजाउने जिम्मेवारी पाइसकेपछि परिषद्ले आफूसँग भएको ऐतिहासिक तस्बिर उपलब्ध गराउन सर्वसाधारणका लागि विज्ञापन गरेको थियो। कतिपय तस्बिर विज्ञापनमार्फत् परिषद्मा आएका थिए भने कतिपय तस्बिर परिषद्ले व्यक्तिगत सम्पर्कका आधारमा संकलन गरेको थियो ।
संग्रहालयमा जनआन्दोलनका क्रममा बेपत्ता बनाइएका, हराएका, अंगभंग भएका र मृत्यु भएकालाई झल्काउने स्मारकसमेत निर्माण भइसकेकोे छ। स्मारकमा बहुउद्देश्यीय हल, विशिष्ट कक्ष, चमेनागृह, शौचालयलगायत संरचनासमेत निर्माण भएको छ। स्मारकभित्र एकैपटक दुई हजार जना अटाउन सक्ने सभाहलसमेत निर्माण गरिएको छ। देशभित्र विभिन्न कालखण्डमा भएका आन्दोलनका दस्तावेजसमेत त्यहाँ समावेश गरिनेछ। त्यहाँ प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउनका लागि गरिएको साहस, त्याग र बलिदानीको महत्वपूर्ण पक्ष झल्काइनेछ।
मन्त्रिपरिषद् बैठकले स्मारकमा बगैँचासहितको संरचना निर्माणका लागि ८२ रोपनी जग्गा उपलब्ध गराएको थियो। तर, नेपाली सेनाले जग्गा उपलब्ध नगराउँदा हाल ३५ रोपनीमा सीमित रहेको खबर राससमा छ ।