लोकसंवाद संवाददाता | समाचार | जेठ १३, २०७६
काठमाडौं । आगामी तीन वर्षभित्र संघीय संसद्को आफ्नै भवन निर्माण हुने भएको छ । सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ७३ रोपनी आठ आना जग्गामा सात अर्ब रुपैयाँ लगानीमा भवन बनाउन लागिएको हो । चालू आर्थिक वर्षदेखि नै निर्माण सुरु गरी आर्थिक वर्ष ०७८/७९ मा सम्पन्न गरिने भवन निर्माण विकास तथा भवन निर्माण विभागको योजना छ ।
सरकारले चालू आवको नीति तथा कार्यक्रममा संघीय संसद् भवन निर्माण गर्ने व्यवस्था गरेको थियो । जसअनुसार गत कात्तिकदेखि सुरु गरिएको डिजाइनको काम सम्पन्न भएको विभागका महानिर्देशक मणिराम गेलालले बताए । भवनको आर्किटेक्चर डिजाइन इन्गर कन्सल्टेन्सीले र स्ट्रक्चरल डिजाइन डिजिकम इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो । विभागले भवन निर्माणका लागि आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । हाल नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडा तिरेर संघीय संसद् सञ्चालन भइरहेको छ ।
संघीय संसद् भवनमा तीनवटा प्रवेशद्वार हुनेछन् । गुरुयोजनाअनुसार मूलढोका दक्षिणतर्फ रहनेछ भने उत्तरतर्फको ढोकाबाट सांसद आवतजावत गर्नेछन् । दक्षिण–पूर्वको ढोकाबाट कर्मचारी तथा सर्वसाधारण प्रवेश गर्नेछन् । अत्याधुनिक सुरक्षा जाँच पार परेर मात्र प्रवेशको व्यवस्था गरिनेछ । दक्षिणतर्फको मूलढोकाबाट बायाँतर्फ प्रतिनिधिसभा हल हुनेछ भने दायाँतर्फ राष्ट्रिय सभा हल हुनेछ । आजको नयाँ पत्रिकामा खबर छ ।