लोकसंवाद संवाददाता | समाचार | जेठ १३, २०७६
काठमाडौं । स्थानीय तहले गत आर्थिक वर्षमा संघीय सरकारबाट पाएको अनुदानमध्ये साढे २८ अर्ब ५७ करोड खर्च सकेनन् । आव ०७४/७५ मा वित्तीय समानीकरण र ससर्त अनुदान गरी दुई शीर्षकमा स्थानीय तहले दुई खर्ब ३३ अर्ब पाएका थिए । महालेखानियन्त्रकको कार्यालयका अनुसार त्यसमध्ये दुई खर्ब पाँच अर्ब खर्च भएको छ ।
गाउँपालिकाले १४ अर्ब पाँच करोड र नगरपालिकाले १३ अर्ब २३ करोड खर्च गरेका छैनन् । त्यस्तै, उपमहानगरपालिकाले एक अर्ब र महानगरपालिकाले २८ करोड ५० लाख अनुदान रकम खर्च गर्न सकेनन् । संघीय सरकारले गत आवमा वित्तीय समानीकरण अनुदानबापत एक खर्ब ४८ अर्ब ७५ करोड निकासा दिएको थियो ।