लोकसंवाद संवाददाता | साहित्य | साउन २७, २०७९
युवा कवि बाबुराम श्रेष्ठ ‘यात्री’ को दोस्रो काव्यकृति ‘बूढो समय’ सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा एक कार्यक्रममा गीतकार डा. कृष्णहरि बराल, कृति कार बाबुराम श्रेष्ठ ‘यात्री’, ज्ञानु अधिकारी, महेश पौडेल र सुरेश किरणले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
सिन्धुलीको मरिणमा रहेर कविता लेखनमा सक्रिय कवि यात्रीको पहिलो काव्यकृति २०६३ सालमा ‘देश स्वप्न’ प्रकाशित भएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा.बरालले नेपाली साहित्यमा कवि यात्रीका कविताले प्रगतिवादी धार समातेको चर्चा गरेका छन् । कवि यात्रीका कविताले वैदेशिक रोजगारीका पीडा, विद्यमान राजनीतिक अव्यवस्था, माओवादी युद्धले नेपाली समाजका विविध क्षेत्रमा पारेका प्रभावबारे भन्ने जमर्को गरेको डा। बरालले बताएका छ ।
कार्यक्रममा विद्यमान कविता लेखन, प्रवृत्ति र पुस्ताका विषयमा चर्चा गरिएको थियो । समालोचक ज्ञानु अधिकारीले उनको कवितामा जति डुबेर, हराएर पढिन्छ त्यति मजा आउने रहेको बताए । उनले भने, ‘कविता पढ्नु सरल छैन । कविले जुन चेतना, अनुभूति विचारमा डुबेर लेखेको हुन्छ त्यो तहमा कविता बुझ्नु जटिल बिषय हो ।’
कवि सुरेश किरणले अहिले शब्दकोश पल्टाएर कविताको अर्थ पढ्नु पर्ने समय नभएको बताए । उनले कवि यात्रीका कविता चर्चा गर्दै भने( ‘कवितामा शब्द छनोट र वाक्य निर्माण छोटा छन् । फ्रेस जस्तो लाग्यो । अरू कविको भाषासँग मेल खाएको लागेन । अहिलेको कविता सरल भाव, शैलीमा धेरै अर्थ भन्ने नै हो ।’
यात्रीको ‘काठमाडौंहरू’ कवितामा असहमति राख्दै कवि किरणले भने(‘काठमाडौंले कसलाई चुसेको छ रु म काठमाडौंमा जन्मिएको मानिस हुँ । म सोच्छु बाहिरका मानिसले हामीलाई पो चुसिरहेको छ कि रु’ कवि महेश पौडेलले कविको भूगोलमा प्रवेश गरेर कविता पढ्नु पर्ने बताए । उनले भने, ‘क्लिष्ट शब्दको ठाउँमा सरलको खोजी हुनुपर्छ । नयाँ बिम्ब, प्रतिक, भाव अभिव्यञ्जना कविता पढ्दा पाउनु पर्छ ।’ कवि यात्रीले शहरभन्दा टाढा ग्रामीण वस्तीका अनुभूतिलाई आफूले कवितामा उतारेको बताए ।
सिन्धुलीको विजय छापमा जन्मिएका कवि यात्री हाल मरिणमा बसोबास गर्दै आएका छन् । मरिण बहुमुखी क्याम्पस र कपिलाकोट माध्यमिक विद्यालयमा अध्यापनरत कवि यात्रीले अङ्ग्रेजी साहित्यमा स्नातकोत्तरपछि काठमाडौँ विश्वविद्यालयबाट एमफिल गरिरहेका छन् ।