प्रज्ञा गजल महोत्सव : ४९ जनाद्वारा  गजल वाचन

प्रज्ञा गजल महोत्सव : ४९ जनाद्वारा  गजल वाचन

लोकसंवाद संवाददाता  |  साहित्य  |  भदौ १४, २०७९

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा ‘प्रज्ञा गजल महोत्सव २०७९’ आयोजना गरियो । युवाकवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा भवनको सिद्धिचरण सभाकक्षमा आयोजित उक्त महोत्सवको समुद्घाटन कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो भने अध्यक्षता काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले गर्नुभएको थियो । सो अवसरमा उहाँहरूले युवाकवि मोतीराम भट्टको तस्बिरमा सामूहिक रूपमा माल्यार्पण गरी महोत्सवको शुभारम्भ गर्नुभएको थियो । 

महोत्सवलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले नेपालमा पहिलोपटक गजललाई प्रवेश गराउने, गजल आफैँले सिर्जना गर्ने, गायन गर्ने र स्थापित गर्ने पहिलो प्रतिभा मोतीराम भट्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो– 'मोतीरामले धेरै कुराको पहिलो प्रयोग गर्नुभएको थियो । नेपाली भाषाका विभिन्न विधामा विशेष गरी काव्य विधामा नयाँ नयाँ प्रयोग हुँदै आए । गजल नयाँ होइन तर प्रभावकारी विधा हो । मानवीय संवेदनालाई छोएर, मानवलाई जुरुक्क उठाउने र मानवलाई प्रेम, सद्भाव र भावनात्मक संसारमा पुर्‍याउने र त्यहाँबाट सिर्जनात्मक शक्ति दिने तागत गजलमा हुन्छ । गजल लेख्ने क्रम मोतीराम भट्टका पालाबाट आयो । त्यसपछि अलि मुर्झाएको गजललाई हाम्रै समकालीन पुस्ताका गजलकारको  प्रयत्‍नले गजल जगायो ।'  

कुलपति उप्रेतीले गजल नेपाली वाङ्मय विशेष गरी काव्य विधाको महत्त्वपूर्ण अङ्ग बनेको उल्लेख गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानले गजललाई सम्बोधन गर्दै विशेष कार्यक्रम गरी तीन वर्षअघि राष्ट्रिय गजल महोत्सवको आयोजना गरेको बताउनुभयो । उहाँले भन्नुभयो– हामीले उक्त गजल महोत्सवमा गजल लेखनमा भएका सैद्धान्तिक विवादमा छलफल गर्दै गजलसम्बन्धी घोषणापत्र जारी गरेका थियौँ । त्यो घोषणापत्रमा हामीहरूको एउटा प्रतिबद्धता थियो–नेपाली गजलको प्रवद्र्धनका निमित्त हरेक मोती जयन्तीलाई गजल महोत्सवका रूपमा मनाउने ।

२०७७ मा कोरोनाको महामारीमा समेत हामीले भर्चुअल माध्यमबाट नै भए पनि महोत्सव गर्‍यौँ । २०७८ मा अलि सहज वातावरण भएकाले बेविनार माध्यमबाट महोत्सव सम्पन्न गर्‍यौँ । यसरी गजललाई प्रवद्र्धन गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दियौँ । यसपटक खुला वातावरण भएकाले भौतिक रूपमा गजल महोत्सव आयोजना गर्‍यौँ । नेपाली वाङ्मयका विभिन्न विधामा गरिएका प्रतिबद्धता मध्येको यो एउटा प्रतिबद्धता हो । यसका निम्ति हाम्रो काव्य विभागका प्रमुख प्रा. डा. हेमनाथ पौडेलको सक्रियता रहेको छ । उहाँको सक्रियता र सम्पूर्ण प्राज्ञ परिषद्को सहयोगमा यो महोत्सव सम्पन्न भएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानको नेतृत्व आउँछ, जान्छ तर यस परम्पराले निरन्तरता पाउने छ । आउने नेतृत्वले पनि यसलाई निरन्तरता दिने छ भन्नेमा म आशा गर्दछु ।'

'यस महोत्सवमा प्रस्तुत गरिएका गजल जीवनका महत्त्वपूर्ण पक्षलाई छुने प्रकारका छन् । प्रेम, विरह, व्यथा र करुणा जीवनका महत्वपूर्ण कुरा हुन् । प्रेमलाई हामीले एक समय श्रृङ्गार रस भन्थ्यौँ । श्रृङ्गार रसबाट सुरु भएको गजलको परम्परालाई कायम गर्दै यहाँहरुले सुन्दर गजलहरू सुनाउनुभयो । सामाजिक चेतना भएका गजल सुनाउनुभयो । यति सुन्दर गजल सुन्यौँ जसमा जीवनको स्वाभिमान के हो ? जीवनको महत्त्व के हो ? अर्थ के हो ? कतिबेला जीवन सार्थक रहन्छ ? आफ्ना प्रयत्‍नले केही गरे मात्र जीवन सार्थक रहन्छ । जीवनलाई उज्यालो दिने खालका गजल पनि सुन्यौँ । यी सबै प्रकारका विविधतालाई पस्किएका गजलले नेपाली साहित्यमा गजलको स्तरोन्नतिको एउटा सङ्केत दिएको छ' उहाँले भन्नुभयो ।

महोत्सवमा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो । सो अवसरमा उपाध्यायले गत वर्ष पनि १५६ औँ मोती जयन्तीको अवसर पारेर ‘प्रज्ञा गजल महोत्सव’ आयोजना गरिएको बताउनुभयो र उहाँले भन्नुभयो– 'उक्त गजल महोत्सवमा पनि धेरैको सहभागिता रहेको थियो । तिथिका दृष्टिले कुशै औँसी मोतीराम भट्टको जन्म दिन हो । गतेका दृष्टिले भदौ २३ गते जन्म दिन हो । संसारभरि जहाँ जहाँ नेपाली भाषी र साहित्यिक अनुरागी छन् तिथिका आधारमा मोती जयन्ती मनाउने गरिएको छ । हामीले पनि तिथिलाई आधार मानेर मोती जयन्ती मनाउने गरेका छौँ । मोतीराम भट्टका बहुआयामिक विशिष्टताका बारेमा हामी सबैले पढेका छौँ, सुनेका छौँ र तिनका बारेमा प्रत्येक वर्ष चर्चा गर्ने गरेका छौँ । नेपाली साहित्यको माध्यमिक कालका प्रवर्तक, नेपाली कविताका शृङ्गारिक धाराका प्रवर्तक, नेपाली गजल लेखनप रम्पराका प्रवर्तक, नेपाली समालोचनाका प्रवर्तक, नेपाली जीवनी लेखन परम्पराका प्रवर्तक र नेपालमा प्रथम साहित्यिक सङ्गठकका रूपमा हामी मोतीराम भट्टलाई लिने गर्छौं । त्यति मात्र होइन छापाखाना सञ्चालन गर्ने, मुद्रणको व्यवस्थापन गर्ने, पत्रपत्रिका सम्पादन गर्ने, प्रकाशन गर्ने अभियानको प्रारम्भ बिन्दुमा मोतीराम भट्ट जोडिनुहुन्छ । १९२३ साल भदौको कुशे औँसीमा जन्मिएर १९५३ साल भदौको कुशे औँसीकै दिन ३० वर्षका उमेरमा उहाँको निधन भएको थियो । ३० वर्षको अल्पायु पाएर पनि मोतीरामले आफूलाई नेपाली साहित्यको माध्यमिक कालका विशिष्ट प्रतिभाका रूपमा स्थापित गरेर जानुभयो ।' 

सदस्य सचिव उपाध्यायले अगाडि भन्नुभयो– 'मोतीरामले बाल्यकाल काशीमा बिताउनुपरेको  थियो । त्यहाँ संस्कृत पाठशाला र मदरसाको शिक्षा प्राप्त गर्नुभएको थियो । त्यसपछि फारसी र उर्दु भाषा सिक्ने अवसर पाउनुभयो । त्यहीँबाट गजल सिक्ने अवसर उहाँले पाउनुभयो । प्राचीन र आधुनिक दुवै खाले शिक्षा प्राप्त गर्ने अवसर उहाँले पाउनुभयो । विशिष्ट प्रतिभासँग सङ्गत गर्ने अवसर पनि उहाँले पाउनुभयो । त्यही सङ्गत गर्ने अवसर र शिक्षाको विविधताले मोतीरामलाई महान बन्ने उत्प्रेरणा प्राप्त भयो । त्यो उत्प्रेरणा नै मोतीरामका लागि नेपालको विभूति बन्ने आधार बन्यो । बनारस बस्दा गजल गाउन र सितार बजाउन सिक्नुभएका मोतीरामको बनारसमा १९३८ सालमा खडीबोली अर्थात् हिन्दीका नायक भारतेन्दु बाबु हरिश्चन्द्रसँग भेट भयो । त्यो भेटघाट र उत्प्रेरणाबाट मोतीराममा उत्प्रेरणा जागृत भयो । मोतीरामको जीवनमा नयाँ मोड आयो । भारतेन्दु हरिश्चन्द्रले हिन्दी भाषा साहित्यको उत्थानका लागि साहित्य मण्डली बनाउनुभएको थियो । त्यो कुरा मोतीरामले थाहा पाउनुभयो । साहित्य मण्डलीमा कविता वाचन गर्ने कार्यक्रममा मोतीराम पनि पुग्नुभयो । मोतीको प्रस्तुतिबाट प्रभावित भएर हरिश्चन्द्रले १० रुपियाँको पुरस्कार दिनुभयो । तिमीमा कवित्व शक्तिको बीज छ विस्तार विस्तार प्रयास गर्दै गर सुकवि बन्ने छौ भन्ने कुरा हाम्रा अनुन्धानकर्ताहरूले लेख्नुभएको छ ।' 

उहाँले भन्नुभयो– '१९४४ सालमा काठमाडौँ फर्किएपछि नरदेव पाण्डे, गोपीनाथ लोहनी, लक्ष्मीदत्त पन्त आदि रहेको कवि मण्डली बनाएर नेपाली भाषामा समस्याप्रति कविता लेखनलाई अगाडि बढाउनुभयो । पत्रिका प्रकाशन, छापाखाना सञ्चालन, अग्रज कविहरूको खोज अनुन्धान तथा पछिल्लो पुस्तालाई सिर्जनात्मक उत्प्रेरणाका अभियान सञ्चालन गर्नुभयो । भानुभक्त आचार्यको जीवन चरित्र लेख्नुभयो । यसबाट जीवनी र समालोचना लेख्ने परम्परालाई सुरुवात गर्नुभयो । गोरखा भाषामा धेरै कवि भए तर कविताको मर्म जानी भाषाबद्ध लेख्ने कविमा आदिकवि भानुभक्त नै हुन् भनेर समालोचना लेख्नुभयो । वस्तुनिष्ठ आधारसहित मोतीरामले भानुभक्तलाई आदिकवि मान्नुपर्ने तर्क प्रस्तुत गर्नुभयो ।

उहाँको तर्कलाई सबैले स्वीकार गरेर भानुभक्तलाई राष्ट्रिय मान्यता प्राप्त भएको हो । यसै आधारमा उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिएको हो । भानुभक्तका सबै रचनाको खोजी मोतीरामले नगरिदिएको भए आज भानुभक्तलाई भानुभक्तका रूपमा हामीले पाउँथ्यौँ कि पाउँदैन थियौँ भन्ने छुट्टै खोजी र अनुसन्धानको विषय हुन जान्छ । भानुभक्तलाई आदिकवि बनाउने श्रेय मोतीरामलाई नै जान्छ । मोतीराम भट्टले हामीलाई गजलका क्षेत्रमा नडोर्‍याउनु भएको भए अरू कुनै व्यक्ति निस्किन्थे होलान् तर अलि ढिलो हुन्थ्यो होला । मोतीरामले शृङ्गारिक धाराका गजललाई भित्र्याउनु भयो । त्यसभित्र भक्ति पनि हालिदिनुभयो । यस्तो विशेषता थियो उहाँमा । उहाँमा विलक्षण प्रतिमा थियो । नाटकमा अभिनय र निर्देशन पनि गर्नुभयो । अनुवाद पनि गर्नुभयो । उहाँले जुन जुन क्षेत्रमा कलम चलाएर योगदान पुर्‍याउनुभयो ती हरेक क्षेत्रमा अलग अलग गोष्ठी वा महोत्सव हुनसक्छ तर हामीले गजललाई आधार बनाएर गजल गोष्ठीको आयोजना गर्दै आएका छौँ । विगत वर्षदेखि नै गजल महोत्सव सम्पन्न गर्ने कुरामा हाम्रा काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलको सक्रियता रहेको छ । अव हामी समालोचना दिवस मनाउने सोच पनि बनाइरहेका छौँ । यस विषयमा छलफल भइरहेको  छ ।' 

महोत्सवको अन्त्यमा साहित्य (पद्य/काव्य) विभाग प्रमुख एवम् महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलले सभाध्यक्षको आसनबाट प्रज्ञा–प्रतिष्ठानले कवितालाई जत्तिकै गजललाई पनि महत्त्व दिएको बताउनुभयो । उहाँले भन्नुभयो– “हाम्रो कार्यकाल अब लगभग सकिँदैछ । यो कार्यकालमा हामीले गजल महोत्सवको थालनी र गर्दै यसलाई निरन्तरता दियौँ । आगामी प्राज्ञ परिषद्ले पनि गजल महोत्सवलाई निरन्तरता दिने नै छ । यो गोष्ठी होइन, कार्यक्रम मात्र पनि होइन, यो महोत्सव हो । हामीले सातै प्रदेशबाट गजलकारहरूलाई जोडेका छौँ । विदेशमा भएका गजलकारहरूलाई पनि प्रविधिका माध्यमबाट जोडेका छौँ । त्यसैले यो महोत्सव सार्थक बनेको छ । अब चाँडै नै मुक्तक महोत्सव आयोजना गर्ने योजनामा छौँ । यसमा पनि सातै प्रदेश र विदेशमा बस्ने मुक्तककारलाई समेत हामी जोड्ने छौँ । सकभर दसैँअघि नभए दसैँ र तिहारका बिचमा यो महोत्सव आयोजना गर्नेछौँ ।” यस क्रममा सभाध्यक्ष पौडेलले महोत्सव सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै व्यक्ति र उपस्थित गजल स्रष्टाहरूलाई धन्यवाद दिनुभयो । 

कार्यक्रममा समीक्षक डा. नारायणप्रसाद गैरेले युवाकवि मोतीराम भट्टको व्यक्तित्व र कृतित्व एवम् गजलका सम्बन्धमा प्रवचन दिनुभएको थियो । प्रवचनका क्रममा उहाँले भन्नुभयो–'मोतीराम भट्ट साँच्चि नै मोती हुनुहुन्थ्यो । नेपालमा भर्खर भर्खर एकीकरण भएको अवस्था थियो । त्यस अवस्थामा भानुभक्त आचार्यले नेपाली भाषाको जग बसालेको अवस्था थियो । नेपाली भाषाको व्याकरण स्पष्ट थिएन । भाषाको स्वरूप स्पष्ट थिएन । त्यस अवस्थामा भानुभक्त आचार्यले नेपाली भाषालाई स्वरूप दिने प्रयास गर्नुभएको थियो । नेपाल विशाल बन्दै थियो तर भाषा, साहित्य, संस्कृति, सभ्यता आदिका दृष्टिले नेपाल दयनीय अवस्थामा थियो । त्यस अवस्थामा नेपाली भाषा, साहित्यको जग बसालेर उत्थान गर्ने काम भानुभक्त आचार्यले गर्नुभएको थियो । हराइसकेका भानुभक्तका कृति खोजी गर्ने, नेपालमा बस्दा वा भारतमा बस्दा होस् भारतेन्दु हरिश्चन्द्रको प्रभावबाट साहित्यिक मण्डली गठन गर्ने, कविता तथा गजल रचनाका लागि आफ्ना साथीहरूलाई प्रेरित गर्ने, मिठो समालोचना गरेर उत्साहित गरिदिने, आफैँ रचना गर्ने, प्रकाशनका लागि मद्दत गर्ने, पुस्तकालय खोल्ने, छापाखाना खोल्ने, सम्पादन गर्ने यी सबै कार्य एकैपटक मोतीराम भट्टले गर्नुभएको थियो ।'

उहाँले भन्नुभयो–'मोतीराम भट्ट चन्दनको रुख जस्तै सबैलाई समेट्ने र साथमा लिएर साथीहरूलाई अगाडि बढाउने साहित्यकार, समालोचक र खोजकर्ताका रूपमा चिनिनुहुन्छ । चन्दन जस्तो जहाँ गयो त्यही सुवास आउने । एउटा साहित्यकारमा हुनुपर्ने गुण मोतीराममा थियो । हिन्दी साहित्यिक कार्यक्रममा जाँदा त्यहाँ पनि उहाँ सम्मानित र प्रतिष्ठित हुनुभयो । भारतमा नेपाली साहित्यको नेतृत्व गर्नुभयो । दरबारदेखि घरबारसम्म प्रतिष्ठित साहित्यकार हुनुभयो । नेपाली साहित्यमा फुटकर कवितादेखि, खण्डकाव्य, नाटक, निबन्ध, समालोचना लगायत २५ ओटा कृतिको रचना गर्नुभयो । जसमध्ये डेढ दर्जन कृति प्रकाशित छन् । बहुमुखी प्रतिभाका रूपमा मोतीराम भट्टलाई उच्च सम्मान गर्दै आएका छौँ । शृङ्गारिक धाराका साथसाथै आध्यात्मिक, सामाजिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक धारालाई समेत उहाँले अगाडि बढाउने प्रयास गर्नुभयो । नेपाली साहित्यमा माध्यमिक कालको प्रवर्तकका साथसाथै गजलको आरम्भ गर्ने कार्य गर्नुभयो । यद्यपि श्री ३ का दरबारमा यसअघि पनि गजल गाइन्थे भन्ने कुरा अपुष्ट सूचना हामीहरूले पाएका छौँ तर लिखित प्रमाण भेट्नुपर्छ । अनुसन्धान गर्दा मोतीरामलाई नै पहिलो गजलकारका रूपमा सम्मान गर्छाैँ ।'

डा. गैरेले अगाडि थप्नुभयो– 'मोतीराम भट्टले गजलको रचना गर्नुभयो । विविध भावको अभिव्यक्ति दिने प्रयत्न गर्नुभयो । आज हामी कता बरालिएका छौँ ? गजल सबैभन्दा बढी लोकप्रिय छ । सबैभन्दा बढी लेखिने, सुन्ने, समालोचना गरिने विषयका रूपमा प्रस्तुत भएको छ । यसमा शङ्का छैन । यही लोकप्रियतालाई दृष्टिगत गरेर होला केही व्यक्तिले यसमा खेल खेल्ने दुस्साहस गर्नुभएको छ । एक थरी गजलकारले अर्का थरी गजलकारलाई नमान्ने । नेपाली गजल क्षेत्रमा देखिएको यो दुर्भाग्यपूर्ण अवस्था हो । बहर र बेबहरको बहस आवश्यक होइन । नेपाल प्रज्ञा–प्रतिष्ठानको २०७६ सालको घोषणापत्रले नै अबको गजल कस्तो हुनुपर्ने, गजलको गन्तव्य कस्तो हुनुपर्ने भन्ने कुरा स्पष्ट पारेको छ । यो विवाद गर्नुपर्ने विषय नै होइन । गजल सैद्धान्तिक रूपमा बहरमा लेखिने रचना हो भन्नेमा विवाद छैन तर गजल स्वतन्त्र लय र लोकलयमा पनि लेखिदै आएका छन् तिनको पनि सम्मान गर्नुपर्छ । म उहाँहरूलाई बहस नगर्नुस् भन्दिनँ तर एउटा कुरा अनुरोध गर्दछु । दुई वर्षयता सिकारु गजलकारको सङ्ख्या घटिरहेको छ । स्थापित गजलकार कतिपय पलायन भएर अहिले आएर मुक्तकका साना विधामा देखिनुभएको छ । गजललाई राष्ट्रिय, अन्तर्राष्ट्रिय, सामाजिक, आर्थिक, राजनीतिक, वैज्ञानिक विविध भावलाई अभिव्यक्ति दिने प्रयास गरौँ । अनावश्यक विवाद नगरौँ । मोतीराम भट्टको एकीकृत सिद्धान्तलाई नै हामी अनुसरण गरौँ । नेपाली गजललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याऔँ ।'

कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष डा. विजय सुब्बा, प्रा.डा. कृष्णहरि बराल, पूर्व मुख्यसचिव एवम् पूर्व राजदूत, भोजराज घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, भाषा आयोगका सदस्य गोपाल अश्क, गायिका लोचन भट्टराई लगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य शशी लुमुम्बू र सञ्चारकर्मी सरोज घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमका प्रतिवेदक प्रकृति अधिकारी हुनुहुन्थ्यो । महोत्सवमा लालकाजी श्रेष्ठ र लोचन भट्टराईले युवाकवि मोतीरामका गजल गाउनुभएको थियो । 

महोत्सवमा प्रत्यक्ष सहभागीका साथै भर्चुअल माध्यमबाट उपत्यकाभन्दा बाहिर र विदेशमा रहेका नेपाली गजलकारको समेत उत्साहजनक सहभागिता रहेको थियो प्रत्यक्ष रूपमा २९ जनाले उपस्थित भएर, २० जनाले जुम प्रविधिमा जोडिएर गरी ४९ जना गजलकारले महोत्सवमा गजल वाचन गर्नुभएको थियो । 

प्रत्यक्ष रूपमा उपस्थित भएर गजल वाचन गर्नेहरूमा लोचन भट्टराई, बुद्धिसागर लामिछाने, रवि प्राञ्जल, भोजराज घिमिरे, डा. विजय सुब्बा, करुण थापा, देवी पन्थी, गोपाल अश्क, राधा कणेल, सविता बराल, बाबु त्रिपाठी, रेणुका थापा ‘सोलु’, रूपक अलङ्कार, रेजिना आपगाईं, सुमन स्मारिका, रविना घिमिरे ‘जिज्ञासु’ रामगोपाल आशुतोष, पुष्पा धमला, बिन्दा पराजुली बराल, उर्मिला पन्त पाण्डेय हुनुहुन्थ्यो । प्रत्यक्ष उपस्थित भएरै राजेन्द्र भट्ट– दार्चुला, हरीश जोशी– बझाङ, सिद्धनारायण आचार्य– कैलाली, सुशीला श्रेष्ठ– दोलखा, प्रकाश समीर– बागलुङ, उद्धव मिसन– बाजुरा, रज्जु बिडारी– धादिङ, नदी भट्टराई र खोलाघरे साइँलो– इलामले  पनि गजल वाचन गर्नुभयो ।  त्यस्तै जुम प्रविधिमा जोडिएर गजल वाचन गर्नेहरूमा बूँद राना– भैरहवा, लोकेन्द्र बन्जरा– झापा, जित कार्की– दोलखा, जनक रसिक– कैलाली, हरि पराजुली (झापा), सविन सिटौला– तेह्रथुम, सुमन घिमिरे, सुमित्रा आचार्य र विवश पौडेल– सर्लाही, वियोगी बुढाथोकी (हाल अस्टे«ेलिया), स्पन्दन विनोद (पोर्चुगल), गोमा रेग्मी (पोर्चुगल) हनुहुन्थ्यो । प्रत्यक्ष रूपमा उपस्थित भएर तरुन्नुम गाउनेहरूमा रामबहादुर पहाडी, धीरेन्द्र प्रेमर्षि, लालकाजी श्रेष्ठ, शान्ति शर्मा, ज्ञानु विद्रोही, सन्तोष श्रेष्ठ, आँचल शर्मा र अञ्जान यात्री हुनुहुन्थ्यो ।