बुद्ध शिक्षाको पहुँच बाहिर नेपाली बालबालिका: विद्यालय शिक्षा र यसको व्यावहारिक पाटो

बुद्ध शिक्षाको पहुँच बाहिर नेपाली बालबालिका: विद्यालय शिक्षा र यसको व्यावहारिक पाटो

महेन्द्रकुमार शाक्य  |  शिक्षा  |  भदौ १६, २०७९

सन्दर्भ 
जापानमा बालबालिकाहरुलाई सानै देखि ' हाम्रो देशमा प्राकृतिक स्रोत साधनको अभाव छ । हाम्रो देश दुई दुई पटक विश्वयुद्धको चपेटामा परेको देश हो । त्यसैले हामीसँग परिश्रम गर्नुको विकल्प छैन' भनेर सिकाइन्छ । त्यसैले जापानीजहरु सानैदेखि परिश्रमी हुन्छन् । उनीहरु सम्पन्न भएर पनि फजुल खर्च गर्दैनन् । उनीहरुका घर हाम्रो जस्तो अनावश्यक ठूला हुदैन, सानो परिवारलाई मात्र पुग्ने हुन्छ ।

हामी हाम्रा बालबालिकाहरुलाई कस्तो वातावरणमा हुर्काउँछौ कस्तो शिक्षा दिन्छौ त्यसले हाम्रो समाजको चित्राङ्कन गर्छ भन्ने सन्दर्भमा केहि समय अगाडी एकजना प्राज्ञिक व्यक्तित्वसँगको भेटमा भन्नु भएको कुरा हो यो । तर हाम्रो देशमा 'सुति सुति खान लाउन पुग्छ । सात पुस्तालाई पुग्ने सम्पत्ती छ' भनेर भन्ने चलन छ । यस्ता कुराहरुले हाम्रा बालबालिकाहरुलाई सानैदेखि घमण्डी, अल्छी र खर्चालु बनाउने खतरा रहन्छ ।

विद्यार्थी जीवन काँचो माटो जस्तै हुन्छ भनेर हामी साना छंदैदेखि सुन्दै आएको कुरा हो । काँचो माटोलाई जस्तो साँचोमा राख्यो त्यस्तै आकार लिन्छ त्यसरी नै विद्यार्थीहरुलाई पनि नैतिक र धार्मिक शिक्षा दियौं, असल संगत र वातावरण दियौं भने असल नागरिक बनाउन सकिन्छ । उनीहरुलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो शिक्षा प्रणाली र पारिवारिक वातावरणमा निर्भर गर्दछ । यसै सन्दर्भमा विश्वास गौचन (२०७८) लेख्नुहुन्छ कि शिक्षा प्रणाली र शैक्षिक क्षेत्रको वातावरणले देशको सभ्यता, संस्कार, चेतना र समृद्धिको स्वरुप झल्काउँछ  । महान दार्शनिक एरिष्टोटलले दुईहजार वर्ष अगाडी भनेका थिए कि कुनै पनि देशको भाग्य युवाहरुको शिक्षामा निर्भर हुन्छ । असल र राष्ट्रप्रति समर्पित नागरिक जन्माउन शिक्षाको अहम भूमिका हुन्छ ।

शिक्षालाई परापूर्वकालदेखि नै विकासको मुख्य अंग मानिँदै आएको छ । शिक्षाले कुनै पनि देशको विकासमा महत्वपूर्ण भूमिका खेल्दछ । बालबालिकाको व्यक्तित्व विकासमा ज्ञान र प्रतिस्पर्धात्मक क्षमतामात्र नभएर इमान्दारी र नैतिक मुल्यको पनि भूमिका हुन्छ (यूनेस्को, १९९१) । असल र देशप्रति समर्पित नागरिक उत्पादन गर्न शिक्षाको अहम भूमिका रहन्छ । तर यसो भनिरहँदा हामी कानुन बनाएर कसैलाई पनि इमान्दार, दयालु बन भन्न सक्दैनौ  (म्याकडोनाल्ड, १९९५)।

बुद्धको जन्मभूमि भएको कारण सैद्धान्तिक र व्यवहारिक शिक्षाको हाम्रो शिक्षा क्षेत्रमा सुधार ल्याउन कस्तो भूमिका हुन सक्छ ?  उहाँको शील सदाचार र कर्मफल सम्बन्धि शिक्षा, ध्यान भावना विषेश गरी आना पान ध्यान अभ्यासको अवसर हाम्रा छात्रछात्राहरूभित्र विद्यमान रहेको शैक्षिक तथा प्राज्ञिक क्षमता साथै इमान्दारी, जिम्मेवारी र नैतिकता जस्ता मूल्यहरु उजागर गर्न कत्तिको महत्वपूर्ण हुनसक्छ ? भनेर देशभरबाट ६५ जना शिक्षक  शिक्षकहरुका विशेष गरेर प्रधान अध्यापकहरूको विचार बुझ्न अनलाईन मत सर्वेक्षण अध्ययन गरिएको थियो र अध्ययनको क्रममा सहभागीहरूसँग सोधिएका प्रश्नहरु मध्येबाट भ्रष्टाचार विरुद्धको आन्दोलनमा विद्यालय शिक्षाको महत्व, पाठ्यक्रममा नैतिक शिक्षाको महत्व, बालबालिकाहरुलाई ध्यान भावना, बुद्ध र उहाँको शिक्षासँग परिचित हुने अवसर दिने जस्ता प्रश्नहरूमा उहाँहरुको मत यहाँ  प्रस्तुत गर्ने जमर्काे गरिएको छ । 

भ्रष्टाचार विरुद्धको आन्दोलनमा विद्यालय शिक्षाको दिर्घकालिन महत्व

भ्रष्टाचार समय र भूगोलको सिमा भन्दा बाहिरको एउटा विश्वव्यापी जटिल समस्या हो । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार भ्रष्टाचार आधुनिक विश्वको अहम चुनौतीहरु मध्येको एउटा हो । यसले शासन प्रणालीलाई खोक्रो बनाउँछ, सरकारी नीतिलाई विकृत बनाउँछ, स्रोतसाधनको गलत विनियोजन र नीजि क्षेत्रको विकासमा क्षति पुर्‍याउनुको साथै निम्न आय वर्गको जीवनलाई कष्टकर बनाउँछ  (Amundsen, 2006)

श्रेष्ठ र सापकोटा (२०१८) का अनुसार नेपालमा भ्रष्टाचारले यति गहिरो जरा गाडेको छ कि यहाँ  'रूपैयाँसँग न्याय साटिन्छ' । ट्रान्सपरेन्सी इन्टरनेसनलको २०२० को प्रतिवेदनमा भ्रष्टाचार नेपालमा माथि देखि तल स्थानीय तहसम्मै फैलिएको उल्लेख गरिएको छ ।  प्रतिवेदन अनुसार ८४ प्रतिशत जनताहरुले सरकारमा हुने भ्रष्टाचार ठूलो समस्या भएको बताएका छन् भने ५० प्रतिशत जनताहरुले प्रधानमन्त्रीको कार्यालय सबभन्दा भ्रष्ट भएको बताएका छन् ।

दुई शताब्दी अगाडि कन्फुसियसले आफ्नो देशमा व्याप्त भ्रष्टाचार हटाउन सरकारी कर्मचारीहरु ज्ञानी मात्र भएर नपुग्ने त्यो भन्दा महत्वपूर्ण उनीहरु असल हुनु पर्ने बताएका थिए । उस्लेनर र रोथस्टेन (२०१६) का अनुसार भ्रष्टाचार नियन्त्रणमा विश्वव्यापी शिक्षा (Universal education)को सुक्ष्म महत्व हुन्छ किनभने शिक्षाले इमान्दारी बढाउने कारकहरूलाई अग्रसर गराउँछ ।

विश्वमा सबभन्दा कम भ्रष्ट सुशासनमा सबभन्दा राम्रो देश फिनल्याण्डको विदेश मन्त्रालयको एउटा प्रतिवेदन अनुसार भ्रष्टाचार नियन्त्रणको अनुभवबाट विश्वले सिक्नसक्ने सबभन्दा राम्रो पाठ शिक्षाको पहुँच सबैमा पुग्नुपर्छ साथै शिक्षामा भौतिक र बौद्धिक मात्र हैन धार्मिक तथा आध्यात्मिक पाटो पनि समाहित गर्नु त्यति नै जरुरी हुन्छ भन्ने हो ।

शिक्षामा बालबालिकाहरुलाई नैतिक आचरण र राष्ट्रको निम्ति निष्पक्ष सेवा भावकोबारे बुझाउन नसक्नु नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य सामाजिक कारण भएको पूर्व सहायक महालेखापरीक्षक रामबाबु नेपालको मत छ । समाजमा धार्मिक मुल्यको अभिबृद्धि गर्न हामीलाई जीवनको प्रारम्भिक काल मानिने विद्यार्थी जीवनमा मुल्यमा आधारित धार्मिक शिक्षा आवश्यक हुन्छ ।

धम्मानन्द महास्थविरका अनुसार नैतिकता र मानवीय मूल्य बिनाको राजनीतिले अराजकता, अपराध र भ्रष्टाचार जस्ता परिणाम ल्याउँछ । आध्यात्मिक धरातल बिनाको मानिसमा नैतिक जिम्मेवारी हुँदैन र नैतिकता बिनाको मानिसले समाजमा गम्भिर चुनौति खडा गराउँछ ।

अध्ययनको क्रममा ९६.९ प्रतिशत सहभागि शिक्षकहरुले भ्रष्टाचार न्यूनिकरणमा विद्यालय शिक्षाको दिर्घकालिन महत्व हुने कुरामा सहमति जनाएको पाइयो ।

युवाहरुलाई राष्ट्र र राष्ट्रियताप्रति संवेदनशील बनाउन वर्तमान शिक्षा प्रणालीको प्रभाव 

युवाहरुलाई राष्ट्रको मेरुदण्ड मानिन्छ । विद्यालय शिक्षाले बालबालिकाहरुको विकासको महत्वपूर्ण आधार बनाउँछ । त्यसैले विद्यालय शिक्षा सम्पूर्ण रुपमा जिम्मेवार नागरिक उत्पादन गर्ने सिद्धान्तबाट निर्देशित हुनुपर्छ । इमान्दारी, नैतिकता, र राष्ट्र प्रतिको माया जस्ता सद्‌गुणको विकास गर्नु नै आजको र भविष्यको पनि आवश्यकता हो । शिक्षाविद तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले हाम्रो शिक्षाले जानेर वा नजानेर हाम्रा बालबालिकाहरुलाई राष्ट्र, भाषा र संस्कृतिप्रति गौरव गर्न सिकाउन नसकेकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।

भगवान बुद्ध नेपालको लुम्बिनीमा आजभन्दा करिब साढे २६ सय वर्षअघि  जन्मनुभएको थियो । हामी नेपालीहरु बुद्ध नेपालमा जन्मेको भनेर भन्न कहिलै थाक्दैनौ तर दुःख लाग्दो कुरो के छ भने हाम्रो विद्यालयका पाठ्यक्रमहरूमा बुद्ध  शिक्षाबारे दुई चार पृष्ठ सामग्री पनि समाबेश भएको पाइदैन । बुद्धको जन्मभूमि भएको नाताले नेपालमा उहाँको शिक्षा देशैभरी सहज पहुँच हुनुपर्छ ताकि उहाँको शिक्षाबाट व्यक्ति, समाज र देश सबै लाभान्वित हुनुपर्छ  ।

यसको विपरित हामीले उनीहरुलाई नेपाली संस्कृति र परम्पराप्रति लज्जित हुन सिकायौँ । अंग्रेजी भाषा प्रतिको हाम्रो पागल पनको कारण हाम्रा बालबालिकाहरूमा सूक्ष्म सोंच र सृजनात्मकताको विकास गर्ने विषय ओझेलमा पर्दै गयो  । पश्चिमा चाहनामा भएकोले शिक्षा क्षेत्रको सुधारको कारण अहिले आधुनिक विद्यालयहरूबाट निस्केका विद्यार्थीहरु आफ्नो  समुदायसँगको सामीप्यमा लज्जा महसुस गर्छन । उनीहरु मध्ये धेरै आफ्ना  जेष्ठ, आमाबुवा र संस्कृतिप्रति सन्मान गर्दैनन् (वाग्ले र साथीहरु, २०१९)।

हाम्रो विद्यालय शिक्षा र यसको व्यावहारिक पाटो

सरकारी विद्यालयहरुको शैक्षिक स्तर सुधार गर्नु कुनै पनि देशको विकासको पूर्वशर्त हो । वरिष्ठ पत्रकार तथा राजनीतिज्ञ रविन्द्र मिश्रका अनुसार नेपालमा सरकारी विद्यालयहरुको स्तर यति खस्केको छ कि एकदुई प्रतिभाशाली बाहेक अरुले अहिलेको विश्वव्यापी प्रतिस्पर्धामा उत्रन लगभग असम्भव छ । पूर्व अख्तियार प्रमुख सूर्यनाथ उपाध्याय र दिपेश घिमिरे (२०१७)का अनुसार हाम्रा विद्यालय र अन्य सार्वजनिक शैक्षिक संस्थाहरुमा अनुशासन भन्दा पनि अराजकता ज्यादा छ । कानुन तथा व्यवस्था प्रतिको प्रतिबद्धता भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक हुन्छ । तर शैक्षिक संस्थाहरुमा हुने चरम राजनैतिक र अन्य गैह्र जिम्मेवार हस्तक्षेपहरूको कारण नयाँ पुस्ता कानुन र व्यवस्थाप्रति प्रतिबद्ध छैनन्।

शिक्षाविद केदारभक्त माथेमाले हाम्रो शिक्षा प्रणालीले हाम्रा युवाहरुलाई आफ्नो देश र जनताप्रति जति संवेदनशील बनाउनु पर्ने हो त्यति बनाउन नसकेकोमा चिन्ता व्यक्त गर्नु भएको छ । युवाहरु १० जोड २ सकेपछि बाहिर जान्छु भन्दै आमाबाबुलाई पिरोलिरहेको देख्दा हाम्रो समाज कुन दिशातिर जाँदैछ भन्ने सोचले सताइरहने बताउनु भएको छ ।  उहाँका अनुसार नीजि विद्यालयहरु परीक्षा केन्द्रित पाठ्यक्रम बनाउन धेरै समय लगाउँछन् तर सुक्ष्म र रचनात्मक चिन्तन गर्न सिकाउने विषयलाई ध्यान दिँदैनन् ।

प्राध्यापक तथा बौद्ध विद्वान डा. बज्रराज शाक्यले एउटा द्वैमासिक मा दिएको अन्तरवार्तामा भन्नुभएको छ कि नेपालको शिक्षा व्यावहारिक छैन । किनभने यसमा मानिसहरुलाई नैतिक, अनुशासित र जिम्मेवार बनाउन चाहिने धार्मिक तथा सांस्कृतिक विषयवस्तुहरु समावेश छैनन् । यदि युवाहरुलाई साँघुरो साम्प्रदायिक आस्थाको सट्टा शुद्ध धर्म विज्ञान बारेमा शिक्षा दिन सकिन्थ्यो भने उनीहरुले स्वाभाविक रुपमै शिष्ट संस्कार धारण गर्ने थिए ।

पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्ने

नैतिक शिक्षा भन्नाले त्यस्ता सद्गुणी र नैतिक आदतहरूलाई जनाउँछ जसले बालबालिकाहरुलाई असल उत्पादनशील जीवन जिउन साथै आफ्नो समुदायमा योगदान गर्न सक्ने बनाउँछ । आध्यात्मिक खोकलापन र धार्मिक आस्थामा क्षयी करण भ्रष्टाचार बढ्नुका जिम्मेवार कारण मध्येका हुन् । अहिले यो सर्वमान्य भैसकेको छ कि हाम्रो शिक्षा बालबालिकाहरुलाई के सही र के गलत छुट्याउन सक्ने बनाउन केन्द्रित हुनुपर्छ । कमसेकम पनि नेपाली बालबालिकाहरुलाई प्रत्येक दुष्कर्मको पीडादायी र अपरिहार्य परिणाम हुन्छ भन्ने तथ्यसँग परिचित गराउनु पर्छ ।

२०औँ शताब्दीका महान वैज्ञानिक आईन्टाइनले मानव जातिलाई सुखी र सम्मानित  जीवन जीउन  ज्ञान र सिप मात्रले नपुग्ने र नैतिकता अपरिहार्य हुने बताएका छन् । सदाचारलाई धर्मबाट अलग र निरपेक्ष विषय बनाएर मानव मात्रको जीवन सुखी र सम्मानित बनाउन प्रयोग गर्नु पर्ने बताएका छन् । फिनल्याण्ड सरकारको थप अनुभवमा माथिल्ला निर्णायक तहका कर्मचारीहरुले देखाउने इमान्दारिता र नैतिक चरित्रले सिंगो सरकारमा नैतिक संस्कृतिको विकास गर्न महत्वपूर्ण भुमिका खेल्नसक्ने उल्लेख छ ।

यस सन्दर्भमा हाम्रो सर्वेक्षणको नतिजा निक्कै उत्साहजनक छ, किनकि ६५ मा ६४ जनाले शिक्षा प्रणालीमा सुधार ल्याउन विद्यालयको पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्न आवश्यक भएको बताएका छन् ।

विद्यालयका छात्रा छात्रहरूलाई ध्यान भावनाको अवसर

विपसेनाको अनुसन्धान संस्थाद्वारा प्रकाशित Value Inculcation through Self Observation  (आत्म अवलोकन मार्फत नैतिक मुल्य मान्यताको ग्रहण) पुस्तकले आत्म अवलोकनको विद्या (विपश्यना) लाई साम्प्रदायिकताको सीमा भन्दा माथि रहेको र सत्य, इमान्दारी, मैत्री, करुणा, त्याग, सदाचार जस्ता विश्वव्यापी मानव मूल्यबारे कोे शिक्षा आत्मसात गर्ने उपयुक्त विधि भएको सुझाव दिएको छ । सारांशमा यस पुस्तकले कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक शिक्षाले मानव मूल्यहरूको महत्व बुझाउन र एउटा बौद्धिक प्रारुप कोर्न सिकाउँछ तर त्यस्ता मानव मूल्यहरूलाई आत्मसात गर्न, जीवनमा समाहित गर्न यो काफी हुँदैन । यसको लागि ध्यान अभ्यास गर्न आवश्यक हुन्छ ।

बलियो नैतिक धरातलमा रहेर गरिने ध्यान भावनाको अभ्यासलाई प्रज्ञा प्राप्ति र मन सफा गर्ने साधन मानिन्छ । आना पाना अथवा श्वासप्रश्वास हेर्ने ध्यानमा साधकहरू निरन्तर भित्र बाहिर गरिरहने स्वासमा आफ्नो  ध्यान केन्द्रित गर्ने अभ्यास गर्छन । आफ्नै श्वासप्रश्वास लाई हेर्ने विधि भएकोले आना पाना कुनै धर्म सम्प्रदायभित्र पर्दैन त्यसैले यसको अभ्यास विद्यार्थीहरुको लागि उपयुक्त छ ।

भारतको महाराष्ट्र राज्यका प्राथमिक देखि माध्यमिक तहसम्मका सम्पूर्ण विद्यालयहरुमा आना पाना ध्यान शुरु गराउने सम्बन्धि महाराष्ट्र राज्यले जारी गरेको परिपत्रमा आना पाना ध्यान भावनाको नियमित अभ्यासले विद्यार्थीहरुको मानसिक एकाग्रता, जागरुकता, सावधानीमा सुधार हुनुको साथै अनुशासन, स्मरणशक्ति, निर्णय क्षमता र आत्मविश्वास बढ्ने उल्लेख गरिएको छ । यसको अभ्यासले डर र तनाव कम गराउने, काम गर्ने क्षमता, पढाई, खेलकुद, अतिरिक्त क्रियाकलापहरूमा सुधार गर्ने उल्लेख गरिएको छ । कुनै साम्प्रदायिक रितिरिवाज, संस्कारहरु नहुने हुँदा आना पानाको अभ्यास नयाँ पुस्तामा स्वस्थ मानसिकताको विकास गर्न आवश्यक भएको उल्लेख छ (महाराष्ट्र सरकार, २०११)।

हैदरावादको एउटा दिवा विद्यालयमा बिहानको प्रार्थना भेलापछि ५ मिनेट र घर जानु अगाडि ५ मिनेट आना पाना ध्यान अभ्यास गराउँदा विद्यार्थीहरुको सामाजिक व्यावहारमा ठूलो परिवर्तन भएको पाइएको बताइन्छ । विद्यार्थीहरुको व्यवहार र शैक्षिक उपलब्धिमा आएको परिवर्तन सम्बन्धि अविभावक र शिक्षकहरूसँग गरिएको अन्तरक्रियामा नकारात्मक आचरणमा कमि र सकारात्मक गुणहरू स्मरण शक्ति, एकाग्रता, र ग्रेडमा समेत उल्लेख्य सुधार भएको पाइएको छ (शाह र काटाकम, २०१०) ।

सर्वेक्षणको क्रममा सहभागि ६५ मा ६४ शिक्षकहरुले विद्यालयमा आना पाना ध्यान अभ्यासको शुरुवात गराउँदा नेपाली बालबालिकाहरूमा सकारात्मक परिवर्तन आउने विचार व्यक्त गरे भने एकजना यसमा असहमत रहे ।

हाम्रा बालबालिकाहरुलाई बुद्ध र उहाँको शिक्षासँग परिचित हुने अवसर दिनु पर्छ ?

भगवान बुद्ध नेपालको लुम्बिनीमा आजभन्दा करिब साढे २६ सय वर्षअघि  जन्मनुभएको थियो । हामी नेपालीहरु बुद्ध नेपालमा जन्मेको भनेर भन्न कहिलै थाक्दैनौ तर दुःख लाग्दो कुरो के छ भने हाम्रो विद्यालयका पाठ्यक्रमहरूमा बुद्ध  शिक्षाबारे दुई चार पृष्ठ सामग्री पनि समाबेश भएको पाइदैन । बुद्धको जन्मभूमि भएको नाताले नेपालमा उहाँको शिक्षा देशैभरी सहज पहुँच हुनुपर्छ ताकि उहाँको शिक्षाबाट व्यक्ति, समाज र देश सबै लाभान्वित हुनुपर्छ (शाक्य, २०१९) ।

देशको नेतृत्व वर्ग, कर्मचारीतन्त्र, निजीक्षेत्र सबैतिर नैतिक तथा सदाचारमा तिब्र रुपमा ह्रास भैरहेको अहिलेको अवस्थामा बुद्धको शिक्षा विशेष गरी शील र ध्यान भावना एउटा दिर्घकालिन समाधान हुनसक्ने नेपाली बुद्धिजीवी र व्यवसायीहरुको धारणा रहेको पाइएको छ (शाक्य २०१९) ।

अध्ययनको क्रममा ९८.५ प्रतिशत शिक्षकहरुले पाठ्यक्रममा समावेश गरेर नेपाली बालबालिकाहरुलाई बुद्ध र उहाँको शिक्षासँग परिचित हुने अवसर दिनुपर्ने मत व्यक्त गरे ।

निश्कर्ष

भनिन्छ, शिक्षाका दुइवटा पाटाहरू हुन्छन्, एउटा बाहिरी संसारलाई बुझने र अर्को भित्री संसारलाई । बाहिरी संसार सम्बन्धि शिक्षाबाट आर्जित ज्ञान र सीप जिविकोपार्जन गर्न काम लाग्छ भने भित्री संसार सम्बन्धि ज्ञानले जीवन जिउने कला सिकाउँछ जो आफ्नो र अरुको सुख शान्तिको लागि आवश्यक हुन्छ (शाह र काटाकम, २०१०)। तर वर्तमान शिक्षा प्रणाली विद्यार्थीहरुको शैक्षिक र खेलकुदको विकासमा मात्र केन्द्रित छ भने आध्यात्मिक र भावनात्मक पक्षलाई यसले पूरै वेवास्ता गरेको पाइन्छ । भित्री संसार बुझ्ने  पाटोलाई हाम्रो शिक्षा नीतिले ध्यान दिइएको पाइदैन ।

प्रभात बिहारमा जाँदा एकजना मित्रले हामी हिडिरहेका बाटोलाई प्रमाणको रुपमा देखाउँदै भन्नुभएको थियो कि थितिले चलेको देशमा बाटाहरु राम्रा हुन्छन् तर बेथितिले चलेको देशमा घरहरु चिल्ला राम्रा हुन्छन् बाटाहरु लथालिङ्ग । अहिले हाम्रो देश वेथिति नै बेथितिले थलिएको छ ।  नेताहरु एकअर्काको कुरीकुरी गर्नमा नै सम्पूर्ण उर्जा लगाइरहेछन् । भ्रष्टाचारले देश आक्रान्त छ तर यस्ता मुद्दाहरु उनीहरुको प्राथमिकतामा कहिलै परेजस्तो लागेन । देश प्रतिको माया, माटो प्रतिको माया, समर्पण, प्रतिवद्धता हामीसँग कतै बाँकी भएन (उपाध्याय र घिमिरे, २०१७) ।

सर्वेक्षणको क्रममा सहभागि अधिकांश शिक्षकहरु शिक्षाको वर्तमान अवस्था र शैक्षिक वातावरणसँग सन्तुष्ट नभएको पाइयो भने ९७ प्रतिशतले भ्रष्टाचार न्युनिकरण गर्न विद्यालय शिक्षाको महत्वपूर्ण भूमिका हुने मत व्यक्त गर्नु भयो । साथै उहाँहरुले हाम्रो विद्यालयको पाठ्यक्रममा युवाहरुलाई संवेदनशील बनाउन आवश्यक सास्कृतिक र आध्यात्मिक विषयवस्तुहरूको कमि रहेको बताउनु भयो । उहाँहरुले विद्यालयहरुमा नैतिक शिक्षा समावेश गरिनु पर्ने र नेपाली विद्यार्थीहरुलाई बुद्ध र उहाँको शिक्षासँग परिचित हुने अवसर दिनु पर्नेमा अभिमत जाहेर गर्नु भयो ।

नेशनल मण्डेलाले  भनेझैं विद्यालय शिक्षामा सिंगो संसार रुपान्तरण गर्ने शक्ति हुन्छ । त्यसैले हामीले समाज र सिंगो देश रुपान्तरणका प्रयासहरु विद्यालय बाटै शुरु गर्नु पर्दछ । हाम्रा बालबालिकाहरु बाटै शुरु गर्नु पर्दछ । अहिले हाम्रो छिमेकी देश भारतले विपसेना ध्यानलाई समाज बदल्ने एउटा साधनको रुपमा अँगालेको अवस्था छ । आफ्ना धेरै राज्यका विद्यालयहरुमा आना पाना ध्यान अभ्यासको शुरुवात गरिसकेको छ । हामी खाद्यान्न, तरकारी, फलफुल, लत्ताकपडामात्र हैन राजनीतिक दाउपेच पनि भारतबाटै आयात गर्छौ । भारत सरकारले आफ्ना  अधिकांश राज्यहरूका विद्यालयहरुमा शुरु गरेको आना पाना ध्यानको संस्कृति चाही आयात गर्न किन ढिलाई गर्ने ?

आआफ्नो  सम्पर्कमा रहेका, विद्यालयका संस्थापक, शिक्षकहरुलाई सम्झाएर बुद्धको सदाचारको शिक्षा र आना पाना ध्यान भावनाको संस्कृति शुरु गराउन आवश्यक छ । स्थानीय सरकारहरुको पनि ध्यान जान जरुरी छ ।

सन्दर्भ सामग्री

Amundsen,I. (2006). Political Corruption.—U4 Anti-Corruption Resource Centre. Chr. Michelsen Institute (CMI), https://www.cmi.no/publications/file/2565-political-corruption.pdf
Government of Maharashtra. 5th October 2011. Government Circular no. Sankirn2011/296/11/se-3. https://www.vridhamma.org/sites/default/files/node-uploads/Government%20Circular-English.pdf
McDonald, S.; (1995). Dharma – Its Role in Current Social Problems in Dharma Its True Nature, Paper presented in the International Seminar on May 1995, in Dhamma Giri, Igatpuri, India. https://www.vridhamma.org/research/Dharma-Its-role-in-Current-Social-Problems
Shah, S. and Katakam, S. (2010). Education and Children's Courses. Vipassana Research Institute. https://www.vriDhamma.org/research/Education-and-Children-Courses 
Shakya, M. Journey to Happiness. 2019, pp: 8. https://www.academia.edu/39857797/Journey_to_Happiness
Shakya, M. K.; 2019. Perceptions of Buddhism among Professionals in Nepal. OUSL Journal. 14. 123. https://ouslj.sljol.info/articles/abstract/10.4038/ouslj.v14i2.7476/ 
Shrestha, T. and Sapkota, T.P. (5 August 2018) Role of Civil Society in Countering Corruption: Nepalese Experience. International Journal of Legal Studies and Research (IJLSR). P: 229.   https://papers.ssrn.com/sol3/papers.cfm?abstract_id=3429760
UNESCO. 1991. Principal Regional Office for Asia and the Pacific & Bakar, O & Monakhov, V. M & Perera, D. A & Shukla, R. D et al. Values and ethics and the science and technology curriculum. pp: 54.
Upadhaya, S. N. and Ghimire, D. K. (2017). Samaj ra Bhrastachar (Society and Corruption), its cause, dimension and consequence, Shangrila Books, ISBN 978-9937-9148-4-0.
Uslaner, E. and Rothstein, B. (January 2016) The historical roots of corruption: state-building, economic inequality, and mass education. Comparative Politicshttps://ora.ox.ac.uk/objects/uuid:e6b46934-f9b2-4cda-b22e-29c31dc0bbd4/download_file?file_format=pdf&safe_filename=Historical%2BRoots.pdf&type_of_work=Journal+article
Wagle, S. et al. (2019). Irrelevance of Basic School Education in Nepal: An Anti-Colonial Critique on Problems and Prospects. Dhaulagiri Journal of Sociology and Anthropology13, 31-39. https://doi.org/10.3126/dsaj.v13i0.24032