लोकसंवाद संवाददाता | शिक्षा | भदौ १७, २०७९
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । आज बसेको बैठकले बोर्डको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभयो ।
यस वर्ष परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्र्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । त्योभन्दा कम अङ्क ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।
उहाँका अनुसार नियमिततर्फ तीन लाख ६३ हजार आठ, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ तीन हजार १३२ गरी कूल तीन लाख ९६ हजार १८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए ।
तीमध्ये नतिजामा चार हजार १७९ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ३० हजार १०७ जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६० जिपिए, ६५ हजार २८४ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २० जिपिए, ६४ हजार ९३ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० जिपिए, १० हजार ९०० जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए र ३५ जनाले एक दशमलव ६१ देखि दुई जिपिए ल्याएका छन् ।
बोर्डका उपाध्यक्ष डा शर्माले भन्नुभयो, 'यस वर्ष एक लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् । त्यस मध्येमा एक लाख ३० हजार ८७८ जनाले मात्रै ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउँछन् ।' दुई विषयमा निर्धारित प्रतिशतभन्दा कम ल्याउने विद्यार्थीले पुनः ग्रेड वृद्धि परीक्षा सहभागि हुन पाउँछन् । बोर्डले देशभरका एक हजार २९२ परीक्षा केन्द्रमा परीक्षा केन्द्रमा गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।
बोर्डले यस वर्षको नतिजामा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने एक लाख ३० हजार ८७८ परीक्षार्थीका लागि आउँदो असोज ३० र ३१ गते परीक्षा सञ्चालन गर्ने गरी आजै परीक्षा तालिकासमेत सार्वजनिक गरेको अध्यक्ष डा. शर्माले जानकारी दिनुभयो ।