हरिविनोद अधिकारी | साहित्य | भदौ १८, २०७९
त्यसै पनि पुराना दिनहरु र ती बेलाका अल्प ज्ञानका अनुभवसँगै आफूलाई परेको प्रभाव अझै पनि जेहेनमा ताजा नै हुने रहेछन् । पहिलोपटक सिनेमा हेरेको कुरा अझै पनि ताजा छ । मैले पहिलोपटक हेरेको सिनेमा जनकपुरको बजरंग टाकिजमा हो इज्जत भन्ने फिल्म । सायद धर्मेन्द्र हिरो र सर्मिला ठाकुर(टैगोर) हो वा तनुजा सामर्थ हो र थिए ।
आराधना फिल्ममा चाहिँ सायद राजेश खन्ना र सर्मिला ठाकुर( टैगोर) भएजस्तो लाग्छ । हामी जनकपुरबाट कहिलेकाहीँ जयनगर पनि जान्थ्यौँ फिल्म हेर्न । मैले पहिले पटक दिलीप कुमारको फिल्म हेरेको जय नगरमा हो जस्तो लाग्छ । अब धेरै वर्ष भयो, फिल्मको नाम पनि बिर्सन थालियो । जनकपुरमा हप्तामा फिल्म परिवर्तन हुन्थ्यो । रिक्सामा बसेर फिल्मको प्रचार गर्ने तरिका गज्जबको थियो । फिल्मको गीत बजाउँदै भनिन्थ्यो- आइए, आइए, फलानू फलानू फिल्म लागेको छ, हेर्न आउनू भनेर हिन्दीमा भन्थे प्रचारकले ।
के भनेको भनेर बुझिँदैनथ्यो तर पोस्टरमा फिल्मको नाम र हिरो हेरोइनको नाम हुन्थ्यो । मोटरको बेट्रीले माइक्रोफोन चलाएकोले होला, केही पनि बुझिँदैनथ्यो तर प्रचारकको काम कराई कराई आफ्नो काम सम्पन्न गरेको पाइन्थ्यो । जनकपुरको बजारको बिचमा बजरंग टाकिज हुनाले पोस्टर हेरेर थाहा हुन्थ्यो कुन फिल्म चलेको हो भनेर ।
पछि हामीले आन्दोलन गरेर शुक्रवार एउटा सोमा कन् सेसन र शनिवार दुई ओटा सोमा विद्यार्थी कन् सेसन दिइन्थ्यो र विद्यार्थी युनियनका लागि एउटा टिकटमा २५ पैसा जस्तो लाग्छ, चन्दा लिईन्थ्यो शुक्रवार र शनिबारको सोहरुबाट ।
५० प्रतिशत छुट दिने गराइएको थियो सिनेमामा र यातायातमा विद्यार्थीहरुका लागि जनकपुर अञ्चल भरि । वीरगन्ज जाने विद्यार्थीहरुका लागि समस्या के हुन्थ्यो भने वाग्मती पुलसम्म भने ५० प्रतिशत अनि वाग्मतीबाट ३३प्रतिशत छुट हुन्थ्यो । खासगरी विद्यार्थीहरुको कार्ड अनिवार्य देखाउनु पर्थ्यो । कतिले त नक्कली सही गरेर कार्ड रि न्यू गर्ने हुनाले खलासीसँग विवाद परिरहन्थ्यो । अहिलेजस्तो सहचालक पढेका हुँदैनथे तर बसमा बस मालिकको प्रतिनिधि बसेकै हुन्थे किनभने भाडाको हिसाब गोलमाल नहोस् भन्ने बस मालिकको चाहना हुने नै भयो । सीमित बस थिए नेपाल पब्लिक मोटर सर्भिस का जसमा चालक धेरैजसो पञ्जाबी सरदारहरू हुन्थे ।
हाम्रो लोकल यातायातमा गोयन्का सर्भिस थियो । गोयन्का सर्भिस ले गाउँ गाउँसम्म यातायातको व्यवस्था गरेको हुन्थ्यो । जनकपुर वरिपरिको यातायातको सेवाका लागि पर्खेर पनि गाउँबाट आएका मानिसहरुलाई जनकपुरसम्म ल्याउने कामको क्रान्तिकारी प्रयास गर्ने गोयन्का बस सर्भिस नै थियो । सिनेमा हलमा पनि विद्यार्थी परिचय पत्र देखाएर मात्र कन् सेसन पाइन्थ्यो तर क्याम्पसका विद्यार्थीहरुसँग त परिचय पत्र हुन्थ्यो तर विद्यालयका विद्यार्थीहरुसँग खासै परिचय पत्र नहुने हुनाले पछि परिचय पत्र अनिवार्य त गरिएको थिएन तर उमेर हेरेर टिकट दिइन्थ्यो ।
पछि ती सोहरुमा विद्यार्थीहरुका लागि मात्र भनेपछि अरु आएनन् । कहिलेकाहीँ मात्र हो फस्टक्लासमा सिनेमा हेर्ने, नत्र दोस्रो श्रेणीमा हेरिन्थ्यो । त्यो बेलामा दोस्रो श्रेणीमा १ रु ५० पैसा थियो र कन् सेसनमा ७५पैसा पथ्र्यो । नयाँ सिनेमा आएपछि भने बेलैमा हेर्न मन लाग्थ्यो । अझ मज्जाको कुरा त के हुन्थ्यो भने जुन फिल्म लागेको हुन्थ्यो , त्यसका गीतहरु बाहिर बेच्न राखेको हुन्थ्यो । सिनेमामा त मज्जा लाग्थ्यो गीत सुन्न, बाहिर आएर १० पैसामा गीत किनेर गाउन खोज्यो , के पो मिल्थ्यो र ? तै पनि कोठामा आएर गाइन्थ्यो, आफैँले सुन्ने गरी गाउने हुँदा मिलेको जस्तो लाग्थ्यो ।
हाम्रो बेलामा एकजना साथी थिए जनार्दन सुवेदी जसले गीत पनि गाउँथे, सिनेमाका डाइलगहरु जस्ताका तस्तै गरी सुनाउँथे । अनि विभिन्न ड्रेसमा सिनेमाको झलक दिन सक्थे । अचेल ती साथी अमेरिकाको कुनै विश्वविद्यालयमा प्रोफेसर छन् र नेपालमा बालबालिकाको लागि स्वास्थ्यसेवाको काम गरेको जस्तो लाग्छ , खासगरी जुकाबाट कुनै बच्चा पीडित नहुन् भन्ने चाहना राखेर । खुसी लाग्छ, त्यस्तो पावन काम गर्ने हाम्रै साथी हुन् ।
जनकपुरको राम स्वरुप रामसागर डिग्री कलेज जसलाई अचेल हामी आर आर क्याम्पस भनेर भन्छौँ, हाम्रो क्षेत्रमा उच्च शिक्षा प्रदान गर्ने मुख्य शिक्षालय थियो । त्यसो त ज्ञानकूपको संस्कृत विद्यालय र महाविद्यालय, जसलाई अहिले याज्ञवल्क्य विद्यापीठको रुपमा पाउँछौँ, त्यो त झन धेरै पहिलेदेखि नै शिक्षा प्रसार र चेतना प्रसारको केन्द्र थियो । सबै मानिसहरु संस्कृत पढ्न वनारस जान सक्दैनथे, अनि नेपालमा खासगरी संस्कृत शिक्षाको ज्ञानार्जनका लागि मटिहानी र जनकपुरको ज्ञानकूप नै शिक्षाकेन्द्रको लागि प्रख्यात थिए ।
अनि मसँग १०० माग्दै थियो, त्यही बेलामा बस आयो, म बस तिर लम्कन थालेपछि उसले मेरो हातबाट रुद्राक्ष र १० को नोट थुत्यो र लग्यो । मलाई बस भरि त्यही जादु भनौँ या तन्त्र मन्त्रको प्रभाव परेको थियो, आज पनि मैले त्यो बिर्सन सकेको छैन । के थियो त्यो शक्ति ? या भ्रम थियो ? कसरी मेरो हातमा १०को नोट आयो, रुद्राक्ष आयो ? मानवीय क्षमताको सदुपयोग हो कि दुरुपयोग हो ? मानवीय क्षमता नै हो कि ? थाहा छैन ।
त्यहीँबाट धेरै प्रख्यात राजनीतिज्ञ, विद्वान तथा समाजसेवीहरु नेपालले पाएको छ । सहिदहरु केशवप्रसाद कोइराला, महेश कोइराला, वरिष्ठ राजनीतिज्ञ तथा वरिष्ठ पत्रकार हरिहर विरही, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति कुलप्रसाद कोइराला, राराव क्याम्पसका पूर्व क्याम्पस प्रमुख नारायण घिमिरे जस्ता व्यक्तित्वहरु ज्ञानकूपका उत्पादन हुन् ।
यसै पनि जनकपुर मानवीय चेतनाका लागि उर्वर भूमि थियो र राजा महेन्द्रको प्रजातन्त्र विरुद्धको कदममा चित्त नबुझेर राजालाई नै बम हान्ने सहिद दुर्गानन्द झा, क्रान्तिकारी नेता अरविन्द ठाकुर जस्ताको भूमि हो । नेपाली प्रजातान्त्रिक राजनीतिका अमूल्य नक्षत्रहरू महेन्द्रनारायण निधि, बीपी कोइरालाको सरकारमा उद्योगमन्त्री राजनीतिज्ञ रामनारायण मिश्र,सहिद सरोज कोइराला, क्रान्तिकारी राजनीतिज्ञ बोधप्रसाद कोइरालाजस्ताको जन्मभूमि र कर्म भूमि हो ।
अझ कति होलान् ज्ञात तथा अज्ञात वीर सहिदहरु र प्रजातन्त्रको घरमा पुरिएर रहेका जगका ढुंगाहरु । आज पनि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर , नेपाली कांग्रेसका पूर्व उपसभापति तथा उपप्रधानमन्त्री विमलेन्द्र निधि, नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगाना, पूर्वमन्त्री लीला कोइराला, पूर्व राष्ट्रपति, नेपालको गणतन्त्रको पहिलो राष्ट्रपति हुने सौभाग्य पाउने डाक्टर रामवरण यादव, काठमाडौँ विश्वविद्यालयको स्थापना गर्ने र त्यसको संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेशराज शर्मा जसले यो देशका लागि , प्रजातन्त्रका सधैँ इँट्टा थप्ने काम गरेका हुन् । जनकपुर आफैँमा एउटा धार्मिक तथा जन जागरणको पावन स्थल हो ।
अर्थात् मेरो जेहेनमा अहिले पनि जनकपुरको त्यो जागरणको छवि- छाप ताजै छ र म मैथिली भाषामा खासै लेख्न नसक्ने भए पनि केही बोल्छु र तत्कालीन अवस्थामा प्राध्यापक धीरेन्द्र झा धीरेनको सद्प्रयासले नेपालमा पहिलोपटक मैथिली विषयमा स्नातकोत्तरतहको पढाइ सुरु भएको थियो । उहाँले हामी मैथिली भाषा मातृभाषा नभएकालाई पनि मैथिलीमा लेख्न प्रेरणा दिनु हुन्थ्यो ।
राराव क्याम्पसका सम्माननीय प्राध्यापक गुरु कृष्णप्रसाद उपाध्याय त मैथिली भाषाको पोख्त विद्वान मानिनु हुन्थ्यो । मैले पनि मिथिला मिहिरका लागि दुई ओटा कविता लेखेको थिएँ धीरेन्द्र सरको प्रेरणाले । एउटा भारतीय नागरिक भएर पनि नेपाली मैथिलीको बारेमा अत्यन्त चिन्तित रहने र नेपाल नै विद्या पतिको शिक्षा केन्द्र भनेर हामीलाई नेपालको वारेमा जानकारी दिने काम गर्नुहुन्थ्यो । हाम्रो संसारको मानचित्रमा विशिष्ट ठाउँ ओगट्ने र नेपालको साँस्कृतिक फाँटमा जनकपुर, मैथिली भाषा, मैथिली संस्कृति र रहन सहन विशिष्ट सम्पत्ति मानिन्छन् र हाम्रै अनुसन्धानको कमीले जनकपुर पछि परेको हो भन्नै पर्छ ।
किशोर अवस्थाको मानसिकतामा जनकपुरको बसाइले होला, मलाई दोस्रो भाषाको रुपमा मैथिली नै हो भनेर लेख्छु जबकि नेपाली पछि धेरै काम अंग्रेजीमा नै गरिन्छ । मैथिली बोल्न राम्रोसँग नआए पनि, लेख्न नआए पनि मैथिलीमा नै मैले अपनत्व पाउँछु र कोही मैथिली भाषी भेटेमा म मैथिलीमा बोल्न रुचाउँछु र सीमित शब्दहरु बाटै काम चलाउँछु र कुरा गर्छु ।
जनकपुरको अर्को सम्झना भनेको जादुगर को उपस्थिति हो । मलाई थाहा छैन , जादु टुना मुना हुन्छ कि हुँदैन तर जादुगरले खुल्ला ठाउँमा रमाइलो गर्दा गर्दै, देखिएको मानिसलाई तत्कालै गायब गर्दै, पैसालाई कागज बनाउँदै, कागजलाई पैसा बनाएर देखाउँदै गम्भीर विषयमा प्रवेश गर्थ्यो र आफ्नो बच्चालाई लुगाले छोपेर फोक्सो निकाल्थ्यो र भन्थ्यो- कोही पनि उभिएको या बसेको ठाउँबाट नहल्लिनु होला, आफ्नो खुट्टा मुनिको माटो फुकेर बच्चाको जीवन जोखिममा न पार्नुहोला । अनि रुन थाल्थ्यो र पैसा माग्न थाल्थ्यो । एकछिन पछि केके भन्थ्यो, के के गर्थ्यो , बच्चा पहिलेजस्तै गरी उठ्थ्यो र पैसा सोहोर्थ्यो । खोइ के के गर्थ्यो, जादुगर थाहा छैन, लुगाले छोपेको ठाउँमा हतियार चलाउँथ्यो र बच्चा मरे मरे भनेर चिच्याउँथ्यो र फोक्सो बाफ आउँदै गरेको देखाउँथ्यो । कसरी मिलाउँथ्य , थाहा छैन तर त्यसो गर्थ्यो । अनि कथा भनिन्थ्यो जनकपुरमा, एकपटक त्यस्तै गर्दा छोरो मारेको थियो रे ! पहिलेको जादुगरले भनेर । तर कुन जादुगरको छोरो मरेको थियो थाहा भने कसैलाई पनि थिएन । जादु त हुन्छ त होला नि !
ठुलो परिवारकी बुहारीहरू संयुक्त परिवारमा पेटको विरामी हुने स्वाभाविकै हो । मेरो आमाको पनि पेटको विरामी थियो । गानु गोला भनिन्थ्यो । हामी सानै थियौँ । त्यति बुझेका पनि थिएनौँ, संसार त झन कहाँ गएर देख्ने र । एकपटक दुई जना सिखहरू आए । हाम्रो घरमा अठार पुराण लगाएको हुनाले र त्यस्ता जोगी सन्न्यासी आउँदा बस्ने ठाउँ नै हाम्रो घरमा हुनाले ती परिपक्व सिख जोगीहरू आए । आमा विरामी भनेको सुनेर उनीहरुले उपचार गर्ने धारणा राखे । विरामी बिसेक पार्छु भनेर कोही मानिसले घरैमा आएर भन्छ भने नमान्ने कुरै भएन ।
उनीहरुले राम्रो दाउराको फुल खरानी बनाए, काँसको बाटीमा गाईको घिउ लगाउँदै धेरै बेरसम्म फुक्दै फुक्दै त्यो खरानी त्यो बाटीमा लुप्त गराए र आमाको पेटमा त्यो बाटी राख्न लगाए । आमाले तातो भयो भन्दै बाटी बाहिर निकाल्नु भयो र पेटमा रहेको विकार भनेर फुल खरानी नै बाहिर आएको देखियो । बाले खुसी भएर ती सिखहरूलाई केही भेटी पनि दिनु भयो । ती ठगजस्ता थिएनन् । पैसा पनि मागेका होइनन् । तर आमालाई केही समयसम्म ठिक भएको जस्तो लाग्यो भन्नुहुन्थ्यो । त्यो जादु थियो कि मन्त्रविद्याको करामत थियो कि ? थाहा छैन, मेरो बाल मस्तिष्कमा तन्त्रको केही प्रभाव हुने रहेछ भन्ने परेकै हो ।
पछि २०६२सालतिर हो, म विद्यालयबाट बिएडका विद्यार्थीहरुको कक्षा अवलोकन गर्न भनेर टंगाल मावि, नक्साल जान भनेर खाद्य संस्थान अघिको बस स्टपमा उभिएको थिएँ । एकजना दक्षिण भारतीय संन्यासी पहेँलो भेषमा देखिए । मसँग दक्षिणा मागे, मैले वास्ता गरिन । उनले मसँग ८५० रुपैयाँ हुँदा पनि जोगीलाई केही नदिने भनेर कड्किएर भने हिन्दीमा । म छक्क परेँ , साँच्चै मसँग ८५० रुपैयाँ नै थियो खल्ती र पर्समा गरी । मेरो पर्स हेर्नका लागि ढिपी गरिरहेका थिए किन रे भने उनले भनेको पुगेको छ कि छैन । म अल मल्लमा थिएँ । बस पनि आइरहेको थिएन । बाटामा मानिसहरु हिँडे कै थिए ।
मैले वास्ता नगरे पछि उनले मसँग कागजको टुक्रा छ भनेर माग्यो । मैले खल्तीमा रहेको कुनै चिठीको नेपाली कागजको एउटा खामको टुक्रा च्यातेर दिएँ । उसले त्यहीँबाट एउटा इँट्टा को टुक्रा उठाएर त्यसमा बेर्न भन्यो र मैले बेरेर हातमा लिएँ । खोल भन्यो उसले मैले हात खोले ।त्यहाँका अघिको कागजको टुक्रा पनि थिएन, इँटाको टुक्रा पनि थिएन, १० रुपैयाँको नोटमा रुद्राक्षको गेडो पो थियो । म छक्क परेँ !
त्यो के थियो, थाहा छैन तर त्यस्तो मैले नै भोगेको हो । अनि मसँग १०० माग्दै थियो, त्यही बेलामा बस आयो, म बस तिर लम्कन थालेपछि उसले मेरो हातबाट रुद्राक्ष र १० को नोट थुत्यो र लग्यो । मलाई बस भरि त्यही जादु भनौँ या तन्त्र मन्त्रको प्रभाव परेको थियो, आज पनि मैले त्यो बिर्सन सकेको छैन । के थियो त्यो शक्ति ? या भ्रम थियो ? कसरी मेरो हातमा १०को नोट आयो, रुद्राक्ष आयो ? मानवीय क्षमताको सदुपयोग हो कि दुरुपयोग हो ? मानवीय क्षमता नै हो कि ? थाहा छैन ।
भनिन्छ, पुट्टपर्तिमा साइ बाबाले पनि कसैलाई औँठी कसैलाई के कसैलाई के दिनुहुन्थ्यो रे आगन्तुकलाई । हावामा हात यसो हल्लाएर हातमा लिएर दिनु हुन्थ्यो रे ! एकपटक म ल्याब स्कुलमा हुँदा जादुगर शंकर काठमाडौँमा आएका थिए र उनले हाम्रो दृष्टिविहीन विद्यार्थीहरुको शाखाका लागि आफ्नो जादुगरी देखाउनु भएको थियो । तर के भयो, दुई तीन ओटा सो पछि उहाँले बरु चन्दा दिनुभयो १३५हजार तर सो गर्न चाहनु भएन । उहाँले आँखामा पट्टी बाँधेर काठमाडौँको व्यस्त सडकमा मोटर साइकल दौडाउनु भएको थियो र एउटा करुवाबाट सयौँ लिटर पानी वाटर अफ गंगेज भन्दै खन्याइरहनु हुन्थ्यो । अनि मानिस गायब गर्ने त मामुली काम जस्तै हुन्थ्यो । बरु चाहनेहरुलाई हावामा खाटमा जस्तै सुताउनु हुन्थ्यो । त्यो के थियो , दृष्टि भ्रम मात्रै कि सत्य र यथार्थ ? क्रमशः