लोकसंवाद संवाददाता | समाचार | भदौ २२, २०७९
काठमाडौं ।समाजवादी प्रेस संगठन नेपालले मिडिया काउन्सिल विधेयकमार्फत नेपाल सरकार निरंकुश बन्न खोजेको भन्दै विरोध जनाएको छ ।
हाल प्रतिनिधिसभामा पेस गरिएको विधेयकले नेपाललाई विश्वमै स्वतन्त्र प्रेस विरोधी देशका रूपमा चिनिनु का साथै काउन्सिल गठन विधिलाई हेर्दा सरकार थप निरंकुश हुन खोजेको देखिएको संगठनले जनाएको छ ।
संगठनका अध्यक्ष शम्भु श्रेष्ठद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी मान्यता विपरीत ल्याउन खोजिएको यो विधेयकले नेपाल विश्वमै स्वतन्त्र प्रेस विरोधी देशका रूपमा चिनिनुका साथै काउन्सिल गठन विधिलाई हेर्दा सरकार थप निरंकुश हुन खोजेको प्रस्टै छ ।’
विज्ञप्तिमार्फत संगठनले विधेयक ल्याएर सरकारले प्रेसमाथि अंकुश लगाउन खोजेको भन्दै भत्र्सना गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार बनाउँदै सरकार र प्रेस जगत बीचको पुलको काम गर्नुपर्ने मिडिया काउन्सिललाई यस विधेयकले अर्धन्यायिक अधिकार प्रदान गर्नु प्रेसमाथि अङ्कुश लगाउनु हो । समाचार सम्प्रेषण गरेबापत दण्ड, सजाय, दर्ता खारेजीदेखि क्षतिपूर्तिसम्मका बुँदाहरू संविधानविपरीत कुरा हुन् । यस्ता स्वतन्त्र प्रेस विरोधी विधेयकको समाजवादी प्रेस सङ्गठन नेपाल घोर विरोध, निन्दा र भत्र्सना गर्दछ ।’
विधेयकलाई लिएर डाबोस सम्मलेलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तर्राष्ट्रिय जगतले प्रश्न उठाएको स्मरण गर्दै संगठनले अन्तर्राष्ट्रिय चासोको विषय बनेका बेला हतार हतार निरंकुशतालाई पक्षपोषण गर्ने विधेयक पास नगर्न सरकारसँग आग्रह गरेको छ ।
समाजवादी प्रेस संगठन नेपालद्वारा जारी विज्ञप्ती