हरिविनोद अधिकारी | साहित्य | भदौ २५, २०७९
जीवन गणित जस्तै ठ्याक्कै लयमा जोडिन्छ, घट्छ , गुणा हुन्छ र भाग लाग्छ ? जीवन तय भएको लयमा हिँड्छ कि आफ्नै बाटोमा अनवरत हिँडिरहन्छ ? या पूर्व जन्ममा नै तय हुन्छ ? या जन्मेका छैठौँ दिनमा भावीले लेख्छ ? अनि ६ दिन पनि नपुगी अवसान हुनेहरुको चाहिँ कसले के लेखेको हुन्छ ? के साँच्चै भविष्यका बारेमा चिनामा, हातका रेखामा वा निधारका रेखामा लेखेकै हुन्छ होला त ? या त्यो विश्वास मात्र हो कि ? धेरै जसो मिलेकोमा दोहोरिँदा दोहोरिँदा मिलेको परिणाम जस्तो लाग्छ कि ?
मेरो लामो शिक्षण कालमा धेरैजसो मेरो कक्षाबाट फुर्सदको समय पुस्तकालयमा पत्रिका तथा पुस्तक पढ्नमा व्यतीत हुन्थ्यो । त्यो बेलामा फुर्सदको बेलामा पुस्तकालयमा आउने कक्षा १ देखि १०सम्मका हुन् कि बी एड् या एम एड्का विद्यार्थीहरु हुन्, अझ विद्यालयका विद्यार्थीहरुको कुरा गरौँ, पुस्तकालयमा आउने बित्तिकै दैनिक पत्रिकाको राशी फल हेर्थे र आफ्नो राशीको महलमा लेखेको फल हेरेर आफ्नो आजको दिनचर्याको आँकलन गर्थे जबकि उनीहरुको दैनिक कार्य भनेको विद्यालयमा आउने र विद्यालयबाट घर जाने नै हो ।
तर पनि कुनै शब्दको बारेमा साथीहरुसँग सोध्ने गर्थे जस्तो कि कान्ति क्षय लेखेका हुन्थ्यो अनि अरुलाई सोध्थे, यो के भनेको ? अनि अरुले पनि आफ्नै अर्थ दिन्थे अनि भन्थे, मेरो पनि त्यस्तै छ, धन क्षय या त्यस्तै केही । अर्थात् त्यसले भविष्यका प्रति सानो भए पनि जिज्ञासा देखिन्थ्यो । त्यसो त ज्योतिष पनि एउटा विधा हो, विज्ञान हो र खगोलका बारेमा पूर्वीय ज्योतिषले दिने तर्क र परिणाम अकाट्य मानिन्छ । फलित ज्योतिष पनि गणित नै हो । आखिर ग्रहको परि भ्रमणका आधारमा व्यक्तिको भविष्य बताउने गरिको हो किनभने राशी भनेको ग्रहहरूको नाम हो या वातावरणको विभाजनको नाम हो । हाम्रो जन्मको गणना नक्षत्रको आधारमा हुन्छ र नाम पनि त्यसैको आधारमा राखिन्छ ।
हिजोका दिनमा या घडीको प्रचार प्रसार नहुँदा र घडीको प्रयोग उपयुक्त तरिकाले नहुँदा जन्मको समय स्पष्ट हुँदैनथ्यो जसले गर्दा नामाकरण कसरी गर्ने भन्ने समस्या पर्थ्यो । कति वैज्ञानिक तरिका रहेछ ज्योतिष शास्त्रमा खगोल विज्ञानको गणना जसले प्रत्येक व्यक्तिलाई नक्षत्रसँग जोड्थ्यो र राशीको भागी बनाउँथ्यो । पूर्वीय परम्परामा पञ्चाङ्गको चलन छ जस्तो कि ६० सांवत्सर छन्, पूरा दिनरातको चक्रलाई ६० घडीमा बाँडिएको छ । घडी , पला र विपला सबै नै ६०को आधारमा गणना हुन्छन् । तर मेट्रिक प्रणाली १०० का आधारमा गणना तयार गरिएको छ र पनि घडीमा ६० सेकेन्डको एक मिनेट, ६० मिनेटको एक घण्टा यस्तै ।
अनि मलाई अहिले पनि अचम्म लाग्छ, कसरी हजारौँ वर्षपछिको ग्रहको परि भ्रमण परिधिका बारेमा पूर्वीय शास्त्रमा, ग्रहणका बारेमा भन्न सकेको होला? म सानै थिएँ सायद २०१८सालमा हो जस्तो लाग्छ, भूकम्प आउँछ भनेर हाम्रो घरको आँगनमा एउटा काठको घर बनाएर, बाँसको टाटीले घेरेर राखिएको थियो र साँझ सुत्ने ठाउँ त्यहीँ थियो परिवार सबैको । तर भूकम्प आएन, माघको दिनमा पानी चाहिँ परेको थियो धेरै दिनसम्म धुम्म पनि भएको थियो ।
मैले बा सँग सोधेको थिएँ, हामी किन बाहिर सुतेको राती आँगनमा बनाएको कुटीमा ? अनि बाले मलाई सम्झाउँदै भन्नु भएको थियो, छोरा ९० सालमा ठुलो भुइँचालो आएको थियो, त्यो बेलामा जस्तो ग्रहको अवस्था थियो, त्यस्तै छ रे ! भनेर बाहिर सुतेको किनभने सुतेको बेलामा भुइँचालो आयो भने घर भत्कन्छ अनि हामी सबै पुरिन्छौं भनेर । केही बुझेँ, केही बुझिन तर के मात्र बुझेँ त्यो बेलामा भने पात्रोमा लेखेको छ रे ! हल्ला चलेको छ रे ! भुइँचालो आउँछ भनेर । अहिले पो थाहा भयो, भुइँचालोको पूर्व ज्ञान दिने कुनै प्रविधि अहिलेसम्म विकास भएको छैन । तर गाउँघरमा यसो चाहिँ भन्छन् - भुइँचालो आउने बेलामा बस्तुभाउ रमाउँदै ठाडो पुच्छर लाएर दौडन्छन्, गोठमा पस्न चाहँदैनन् ।
१९९० साल माघ २ गते दिउँसो आएको भुइँचालोमा त्यस्तै भएको थियो रे भन्छन् । मेरो बाको जेठी फुपू हुनुहुन्थ्यो पहिले, जसलाई हामी बालकहरु समेत सबैले ठुल्दिदी भन्थ्यौँ, उहाँले भनेको मलाई अलिअलि याद छ, ९०सालको भुइँचालोभन्दा पहिले सुनकोसीको तीरमा बालुवा चालेर सुन कमाउने काम गरिन्थ्यो रे ! जसले जति कमाउने हो, त्यो उसैको हुन्थ्यो रे ! र, पछि गाउँमा बाण आउँदा सुनले या त गहना बनाउने न भए बाणलाई बेच्ने काम गरिन्थ्यो रे !
तर ९० सालको भुइँचालोपछि भने बालुवामा सुनका कणहरु पाइन छोडेको हो रे ! नेपालको कतिपय नदीको तीरमा अहिले पनि बालुवा चालेर सुन कमाउने चलन छँदैछ भनिन्छ । कतिले शालिग्रामभित्र सुन फेला परेको कथा पनि सुनाउँछन् । कति सत्य होला ? थाहा छैन तर पृथ्वीको गति र भूकम्पको झड्काका कारणले पृथ्वीको गर्भमा रहेको सुन छचल्किएर बाहिर आएको हो कि ? त्यसो त सुन रासायनिक तरिकाले बन्ने रहेछ ।
पानी पनि त रासायनिक प्रक्रियाले बन्ने हो । नेपालमा पानीको अथाह स्रोत छ । हाइड्रोजन र अक्सिजनको मिलनले बन्ने हो, दुवै ग्याँस हुन् र देखिँदैनन् तर ती दुई ग्याँसको मिलनबाट बनेको पानी देखिन्छ र प्राण धान्नका लागि अक्सिजन या प्राणवायु पछिको अति आवश्यक पदार्थको रुपमा पानीलाई लिइन्छ । पृथ्वीको गर्भमा कसरी हाइड्रोजन र अक्सिजनको मिलन हुन्छ होला, त्यो कुराको यथार्थ जानकारी प्रकृतिलाई थाहा होला , प्रकृति मौन भाषामा बोल्छ जसलाई हामी बुझ्दैनौ ।
लाग्छ, हाम्रा श्रुति र स्मृतिले भनेको देवता पनि हामी नै हौँ जस्तो, राक्षस पनि हामी नै हौँ जस्तो, मानव त हामी हुँदै हौँ । सर्जक पनि हामी, विध्वंसक पनि हामी र पुनर्निर्माण कर्ता पनि हामी । पुराण बनाउने पनि हामी, आफैँले बनाएका नियम तोड्ने पनि हामी अनि नैतिकताको पाठ पढाउने पनि हामी अनि नैतिकता भनेर आफैँले बनाएको सीमा उल्लंघन गर्ने पनि हामी ।
बुझ्छन् त ती अनुसन्धाताहरुले या वैज्ञानिकहरुले । सामान्य मानिसहरुले नबुझिने भाषामा वैज्ञानिकहरुले सूत्रमा भन्दा हुन्, हामी बुझ्दैनौँ या बुझ्ने कोसिस पनि गर्दैनौँ । एकदम सहज जिज्ञासा मेरो मनमा आउँछ कि यत्ति धेरै पानी छ, के त्यति नै हाइड्रोजन र अक्सिजनको भण्डार हाम्रो भुइँ मुनि छ त ? त्यसो त अहिले अक्सिजनको मात्रा कमी हुँदैछ हाम्रो वातावरणमा जसले सास फेर्न गाह्रो हुँदैछ किनभने त्यसलाई बिटुलो पार्ने कार्बनडाइअक्साइडको मात्रा बढ्दो छ । कार्बनडाइअक्साइडलाई अक्सिजनमा बदल्ने वन जङ्गलको कमी हुँदैछ या ठुला ठुला कम्पनीहरुको उत्पादन कार्बनको उत्पादन दिनदिनै बढ्दो छ । त्यसले जलवायुको नियमित प्रक्रियामा असन्तुलन आएको छ र जलवायुको नियमित चक्रमा फेरबदल आएको छ जसको कारणले हामीजस्ता निर्दोष देशहरु, निरपराध नागरिकहरु पीडामा छौँ र जलवायुमा देखिएको परिवर्तनसँग जुधिरहेका छौँ ।
निरीह प्रकृति आफ्ना सन्तानको गलत नियत, व्यवहारले मौन रुपमा बेहोरिरहेकी छिन् जसको परिणाम हामीले उहाँका काखमा हुर्कने प्राणी तथा प्राकृतिक सम्पदाले खप्नु परेको छ । सुनिन्छ, नेपालभन्दा ठुला हिउँका ढिस्का पग्लन थालेका छन् जसका कारणले तातो पानीमा खेल्ने सामुद्रिक प्राणीहरू चिसो पानीका कारणले अकालमा मर्ने अवस्थामा छन् भने हामी तापक्रम बढेर हाम्रो पानीको स्रोत पहाड, हिमालय र प्रकृतिको गर्भ गर्मीका कारणले सुक्दैछन् अनि हामी त्यसको मारमा पर्न थालेका छौँ । कुबेलामा पर्ने पानी, लामो खडेरी, धेरै गर्मी, धेरै जाडो, कुबेलामा हिउँ पर्ने र सहज तरिकाले बाँचेको जीवन, अनुकुलतामा बाँचेको, बाँच्न जानेको हाम्रो जीवन, प्राणीहरूको जीवन जोखिममा छ ।
अनुसन्धान गर्दैै होलान् प्राणी विद्हरुले, अहिले नै कति गतिशील प्राणी र स्थिर प्राणी वनस्पति लोप भइसके होलान् । खडेरीका कारणले युरोपका नदीहरु भित्रको गहिराइमा रहेको मानिएको डायनासोरसको पाइलाको डोब देखियो भनिन्छ । यसो हुँदा ती नदीहरूका भरमा बाँचेका कति जीवन आफैँ समाप्त भए होलान् । अनि यस्तै हो भने एकदिन हाम्रा गैँडा, बाघ, सिंह, हात्ती या हामी नै लोप हुने पो हौँ कि ?त्यस्तो लाग्दैन र ? मलाई त कहिलेकाहीँ लाग्छ, हामी आफ्ना लागि पनि किन यत्ति निर्मम र स्वार्थी भएका हौंला मानव जाति ?
हुन त उपर्युक्त कल्पना यथार्थमा आधारित नै हुन् यदि अब पनि कुनै नयाँ कदम नचालेको अवस्थामा । आखिर मानिसले नै हो यी सबै जानकारी दिएको, किनभने अनुसन्धान गरेर आपसमा सम्प्रेषण गर्ने त हामी मान्छेहरु नै हौँ । प्रकृतिको सम्पदा पत्ता लगाउने र दोहन गर्ने पनि हामी नै हौँ । दोहनबाट हुने बेफाइदा भन्ने पनि हामी नै हौँ र भावी दिनमा कसरी हाम्रो पर्यावरणको रक्षा गर्ने, वातावरणको अहिलेको कहालीलाग्दो अवस्थाको समाधान गर्ने भन्ने पनि हामी नै हौँ । त्यसैले लाग्छ, समाधान पनि त्यस्तै क्रान्तिकारी तरिकाले आउला र पर्यावरणको रक्षा अनि सुरक्षा होला ।
मानिसको मात्र होइन, सबै प्राणीहरूको चाहना हुन्छ बाँच्ने । सबैको कसरी बाँच्ने भन्ने प्रकृतिले अनुकूलन तयार गरेको छ जसलाई हामी परिस्थिति प्रणालीको चक्रको रुपमा अर्थ्याउँछौँ । परिस्थिति प्रणालीको चक्रमा अहिले हठात् परिवर्तन हुन थालेकोले पनि होला, चिन्ता थपिएको छ । वनस्पति विज्ञानका कतिपय वनस्पति मनोविद्हरुको धारणा छ रे ! कुनै मानिस जसले रुख काट्छ, त्यो मानिस नजिक आउँदा रुखहरूमा पनि अमिलो भावना पलाउँछ रे !
हामीले नै पत्ता लगाएका छौँ, प्रत्येक व्यक्ति आफैमा फरक छ र समान पनि छ । तर व्यक्ति फरक भएपछि उसको बानी, व्यवहार र धारणामा फरक हुन्छ । साँस्कृतिक प्रक्रियाले उसको जीवन कसरी बाँच्ने भन्ने सामाजिक मान्यता तयार भएको हुन्छ र पनि मानिस बाँच्ने प्रक्रिया, पुनरुत्पादन प्रक्रिया आखिर एउटै हुन्छ र हामीले जानेको इतिहास कालदेखि नै, हामीले अंकित गर्न सकेको इतिहासदेखि नै धेरै प्रक्रिया दोहोरिएको पाइन्छ । पूर्वको वैदिक इतिहासले बताएका कतिपय कुराहरुले देखाएका कतिपय तथ्यहरु नमान्दा नमान्दै पनि फेरि सत्य साबित हुन थालेका छन् ।
लाग्छ, हाम्रा श्रुति र स्मृतिले भनेको देवता पनि हामी नै हौँ जस्तो, राक्षस पनि हामी नै हौँ जस्तो, मानव त हामी हुँदै हौँ । सर्जक पनि हामी, विध्वंसक पनि हामी र पुनर्निर्माण कर्ता पनि हामी । पुराण बनाउने पनि हामी, आफैँले बनाएका नियम तोड्ने पनि हामी अनि नैतिकताको पाठ पढाउने पनि हामी अनि नैतिकता भनेर आफैँले बनाएको सीमा उल्लंघन गर्ने पनि हामी । क्रमशः