लोकसंवाद संवाददाता | समाचार | भदौ २७, २०७९
काठमाडौं । विवादास्पद मिडिया काउन्सिल विधेयकको सट्टा प्रेस काउन्सिल ऐन संसोधन गरी अधिकारसम्पन्न बनाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । मिडिया विधेयकले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने भन्दै उनीहरुले त्यसलाई रोक्नुपर्ने धारणा पनि राखे ।
संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का सामू बरिष्ठ सञ्चारकर्मीहरुले पत्रकारको अहित गर्ने कानुन ल्याउने प्रयास भएकाले समितिले खारेज गर्नुपर्ने बताए ।
सञ्चारकर्मीका सुझाव लिएपछि समितिका सभापति खड्काले सरकारले सरोकारवालाहरुसँग परामर्श नै नगरी हतारमा विधेयक ल्याएको पाइएकोले विस्तृत छलफल हुने जानकारी दिइन ।
‘प्रेस जस्तो संवेदनशील विषय हतारमा ल्याएर हुँदैन । प्रेस काउन्सिलको साटो मिडिया काउन्सिल नाम परिवर्तन गर्दैमा हुँदैन । हामी कस्तो काम गर्छौ रु के मिडियाको विकास र सम्बद्र्धन गर्न लाग्छौं रु यसतर्फ गम्भीर छलफल हुनुपर्छ । समितिले यस्ता पाटोलाई गम्भीर भएर हेर्नेछ, सभापति खड्काको भनाई थियो ।
तराई विकास तथा सञ्चार केन्द्रले मिडिया काउन्सिल विधेयकबारे सरोकारवालाहरुसँग राखेको अन्तक्र्रियामा बरिष्ठ पत्रकार एवं ई कागज डट कमका प्रधानसम्पादक हरिबहादुर थापा, राजधानी दैनिकका सम्पादक सागर पण्डित, नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाई, प्रेस युनियनका उपाध्यक्ष नहकुल अर्याल, प्रेस चौतारीका उपमहासचिव सुरोजंग पाण्डे, सर्वोच्च अदालत बार एशोसिएसनका सदस्य समेत रहेका पत्रकार अनन्त राज लुइटेल, नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झालगायतले विभिन्न सुझावहरु राखेका थिए ।
बरिष्ठ पत्रकार हरिबहादुर थापाले सुरुमा आउँदा अपारदर्शी र अधिनायवादी सोचका साथ ल्याइएको भनिएको यो विधेयक अहिलेको सरकारले ल्याएकोमा आश्चर्य प्रकट गरे । ‘समग्र मिडियाको अहित गर्ने यो विधेयक अहिले कसरी लोकतन्त्रवादी भयो । लोकतन्त्रमा नाम फेर्ने होइन, प्रवृत्ति फेर्नुपर्ने हो । जबर्जस्ती यस्ता विधेयक लाउनु लाजमर्दो अवस्था हो । समितिले यसलाई रोक्नुपर्छ, थापाले भने । उनले अहिलेको प्रेस काउन्सिललाई नै झन् बलियो बनाउनुपर्ने धारणा राखे । राजधानी दैनिकका सम्पादक सागर पण्डितले प्रेस काउन्सिल ऐन परिमार्जन गरी श्रोत, साधन सम्पन्न गर्न सरकारलाई सुझाव दिए ।
पत्रपत्रिकाका दर्ता खारेज गर्ने मनसायले मिडिया काउन्सिल विधेयक ल्याइएको ले समग्र सञ्चार जगतले विरोध गर्नुपर्ने उनको सुझाव थियो । ‘संविधानमै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति छ । सरकार भने मिडिया मार्ने विधेयक ल्याउन खोज्छ । यस्तो बेला संसदीय समितिले मिडिया बचाउने भूमिका खेल्नुपर्छ । यो विधेयक प्रथम दृष्टिमै खारेज योग्य छ ।’, सम्पादक पण्डितको सुझाव थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव गोविन्द प्रसाद चौलागाईले सरकारले सरोकारवालासँग छलफलै नगरी हतारमा ल्याएकोमा आपत्ति जनाए । महासंघसहित विभिन्न पत्रकार संगठनहरुले यो विधेयकको विरोध गरेको अवगत गराउँदै चौंलागाईले भने–‘यस्ता महत्वपूर्ण विधेयक यसरी चुनावका बेला हतारमा ल्याउँदा सरकारको गलत नियत देखिन्छ । समितिले रोक्नुपर्छ ।’
प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले युनियनको यही भदौ २३ र २४ गते जनकपुरमा सम्पन्न प्रथम बैठकले मिडिया काउन्सिल विधेयकको विषयमा गम्भीर प्रश्न उठाइ सकेकाले यसलाई स्वीकारेर अघि बढ्ने अवस्था नभएको बताए ।
पर्याप्त छलफल बिनै यो विधेयक आएको भन्दै अर्यालले आफूहरुले दिएका सुझाव उपेक्षा गर्दै अघि बढे प्रेस युनियन सडक आन्दोलनमा उत्रने बताए ।
‘भोलि आन्दोलन गर्ने अवस्था नआओस्’, उनले भने ।
प्रेस चौतारीका उपमहासचिव सुरोजङ्ग पाण्डेले विधेयकका प्रावधान संविधान विपरित रहेकाले यसलाई रोक्नुपर्ने बताए । पहिले यही सरकारले विरोध गरेको थियो । अहिले कसरी आयो रु आफ्ना कार्यकर्ता भर्ती गर्न प्रेस काउन्सिल जस्तो स्वतन्त्र, स्वायत्त निकायमाथि हस्तक्षेप गर्न मिल्छ रु, पाण्डेको प्रश्न थियो । उनले यो विधेयकको विरुद्ध सडक आन्दोलनमा जाने समेत बताए । अधिवक्ता अनन्त राज लुइँटेलले विवादित विधेयकले पत्रकारको मात्र नभएर जनताकै हक अधिकार खोसेको दावी गरे ।
‘प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्ने काम भएको छ । सरकारले गलत मनसायका साथ विधेयक ल्याएको छ । यसलाई तत्काल संसदीय समितिले रोक्नुपर्छ, लुईँटेलको सुझाव छ । उनले प्रेस काउन्सिलले नेपाली मिडियाको अनुगमन, नियमन र कारवाही हुँदै आइरहेकाले यसैलाई थप अधिकार दिइनुपर्ने र त्यसको लागि सरकारले अर्कै विधेयक ल्याउनुपर्ने सुझाव राखे ।
देश निर्वाचनमा होमिएका बेला यस्ता मिडिया काउन्सिल विवादास्पद विधेयक ल्याउन सरकारलाई के जरुरी पर्यो भन्दै बरिष्ठ सञ्चारकर्मीहरुले सरकारले जबर्जस्ती गरे मिडिया जगतले कडा आन्दोलन गर्नुपर्ने बताए ।
कार्यक्रममा उपस्थित सञ्चारकर्मीहरुले मिडिया काउन्सिल विधेयकबारे विभिन्न सञ्चारमाध्यमले गरेको विरोधको संग्रह सहित सुझाव पत्र समिति सभापति खड्कालाई बुझाएका थिए । खड्काले यो विधेयक विवादमा परेकाले समितिले कुनै हतार नगरी अघि बढ्ने दृढता समेत राखेकी थिइन ।
मिडिया काउन्सिल विरुद्ध नेपाल पत्रकार महासंघले केही दिन अघि विज्ञप्ति निकालेर आन्दोलन गर्ने चेतावनी सरकारलाई दिइसकेको छ । त्यस्तै समाजवादी प्रेस संगठनले पनि यो विधेयकले मिडिया उद्योगलाई नै खलल पुर्याउने भएकाले रोक्न आन्दोलन गर्ने बताइसकेको छ ।