लोकसंवाद संवाददाता | समाचार | भदौ २९, २०७९
काठमाडौँ । साहित्यिक पत्रकार संघले थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कवि डन कार्की (अमेरिका)को कविता कृति 'परदेशी मन' को परिचर्चा कार्यक्रमको आयोजना गर्यो ।
साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजना गरिएको सो परिचर्चा कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहणको आसनबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष मोहन सिटौलाले नेपाली कवितामा डासपोराको योगदानको चर्चा गर्दै कवि डन कार्कीको काव्य यात्राको चर्चा गर्नु भयो ।
यसैगरी कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले संघको स्वर्ण महोत्सवबारे प्रकाश पार्दै 'परदेशी मन' र कवि डन कार्कीबारे मन्तव्य राख्नु भयो ।
यस्तै डा. शान्ति गिरीले 'परदेशी मनू' कविता कृतिको समीक्षात्मक मन्तव्य राख्नु भयो । वरिष्ठ समालोचक एवं संस्कृतिविद डा. राम दयाल राकेश, वरिष्ठ निबन्धकार युवराज नयाँघरे, गुन्जनकी निवर्तमान अध्यक्ष हिरण कुमारी पाठक, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, कार्यसमिति सदस्य डा.दामोदर पुडासैनीले पनि आआफ्नो मन्तव्य राख्नु भयो ।
परिचर्चा गरिएको कृति 'परदेशी मन' बाट कविहरू कल्पना खरेल र रेखा यादवले एकएक कविता वाचन गर्नु भयो । कार्यक्रमको संचालन कवि श्रीबाबु कार्कीले गर्नु भएको थियो । कार्यक्रममा अमेरिकाबाट आउनु भएकी साहित्यकार विना पौडेललाई अध्यक्ष लेकालीले स्वागत सम्मान पनि गर्नु भयो । कार्यक्रममा विभिन्न साहित्यकारहरूको पनि उपस्थिति रहेको थियो ।