लोकसंवाद संवाददाता | समाचार | जेठ १४, २०७६
काठमाडौं । विभिन्न क्षेत्रका जनप्रतिनिधिहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफुखुशी कर्मचारी पठाएकाले सेवा प्रवाह चुस्तदुरुस्त हुन नसकेको गुनासो गरेका छन् ।
कर्मचारी समायोजन गर्दा स्थानीय तहको आवश्यकतालाई ख्यालै नगरिएको आरोप लगाउंदै कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन भन्नुहुन्छ–‘समायोजनमा पठाइएका अधिकाशं कर्मचारीलाई कम्प्युटर नै चलाउन आउ“दैन । बच्चाको जन्मदर्ता अनलाइनमार्फत भर्नुपर्ने स्थिति छ । कम्प्युटरै नजान्नेबाट सेवाग्राहीले यथोचित सेवा कसरी पाउंलान् ?’
ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठको भनाइ पनि यो भन्दा फरक छैन । उहां भन्नुहुन्छ–स्थानीय तहका लागि कानून बनाउन जान्ने, योजना तर्जुमा एवम् कार्यान्वयन र समाज विज्ञानको अनुभव भएको कर्मचारी चाहिन्छ।
मन्त्रालयले यस्ता नभई महिला विभाग र हुलाक कार्यालयका कर्मचारी पठाएको टिप्पणी गर्दै नगरप्रमुख श्रेष्ठ थप्नुहुन्छ–‘यस्तो कर्मचारीले कसरी स्थानीय तह चलाउने ?’ नगरपालिकाका अनुसार अहिलेसम्म करिब १ सय जना कर्मचारी पठाइएको भए पनि स्थानीय तहका लागि आवश्यक कमै भेटिएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।