लोकसंवाद संवाददाता | पर्यटन | भदौ ३०, २०७९
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंको छाउनी स्थित राष्ट्रिय मुद्रा संग्रहालयको नवनिर्मित प्रर्दशनी कक्षको उद्घाटन गर्नुभएको छ ।
राष्ट्रिय संग्रहालयको दक्षिणपट्टि रहेको पुल घरमा पुनः निर्मित भवनमा स्थापना गरिएको प्रर्दशनी कक्ष उद्घाटन गर्नुहुँदै मन्त्री श्रेष्ठले मुलुकको इतिहासलाई क्रमबद्ध रुपमा झल्काउने प्रमुख स्रोत 'मुद्रा संग्रहालय' पर्यटनका लागि समेत आकर्षणको केन्द्र रहेको बताउनुभयो ।
देशको इतिहास, संस्कृति तथा सभ्यतालाई प्रमाणित गर्न मुद्राले महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुहुँदै उहाँले नेपालको इतिहास दर्शाउने मुद्राहरूको संकलन गरी संग्रहालयको रुपमा विकास गरिनु महत्वपुर्ण उपलब्धी भएको बताउनुभयो । नेपालमा आउने पर्यटकका लागि मात्र नभएर इतिहास, संस्कृति तथा पुरातत्वका अध्येता र शोधकर्ताका लागि समेत संग्रहालय महत्त्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने मन्त्री श्रेष्ठको भनाइ छ । मुलुकको इतिहास संग्रहालयमा देखिने भएकोले यसलाई समय सापेक्ष बनाउनुपर्नेमा जोड दिनु हुँदै मन्त्री श्रेष्ठले संग्रहालयका लागि निश्चित मापदण्ड बनाउने सरकारको तयारी रहेको बताउनुभयो ।
संग्रहालयमा संकलित मुद्राहरूलाई नेपालको ऐतिहासिक कालखण्ड अनुसार प्रदर्शन गरिएको छ । नेपालको अत्यन्त दुर्लभ मानिने ईसा पूर्व पाँचौं शताब्दीदेखि ईसाको पहिलो शताब्दीसम्मका विभिन्न सिक्काहरु संग्रहालयमा राखिएको छ । संग्रहालयमा भारतमा बेलायतको औपनिवेश कालका चाँदीका मोहरहरूको माला तथा औंठीहरु पनि प्रदर्शनमा राखिएको छ । छाला तथा माटोका मुद्राहरु संग्रहालयको आकर्षणको रुपमा रहेको छ ।
संग्रहालयमा राखिएका मुद्राहरु सुन, चाँदी, तामा, पित्तल, निकल, आल्मुनियम आदी धातुबाट बनेका छन् । संग्रहालयमा रहेको फुकादाम विश्वकै सबैभन्दा सानो मुद्राको रुपमा गिनिज बुक अफ वल्ड रेकर्डमा समेत सुचीकृत भएको राष्ट्रिय मुद्रा संग्रहालय प्रमुख प्रतिमा रञ्जितले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय मुद्रा संग्रहालयले प्रकाशन गरेको नेपालको मुद्रा इतिहास सम्वन्धी पुस्तक मन्त्री श्रेष्ठले विमोचन गर्नुभएको थियो ।