लोकसंवाद संवाददाता | समाचार | असोज ०२, २०७९
अछाम। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई नगदसहित राहत वितरण गरेर फर्केका छन् ।
आज काठमाडौंबाट धनगढी हुँदै अछाम पुगेका मन्त्री कुँवरले पहिरो प्रभावित क्षेत्रको अनुगमन गर्दै पीडित परिवारलाई नगदसहित राहात वितरण गरेर फर्केका हुन् ।
शुक्रबार राति अविरल बर्षापछि गएको पहिरोमा परी २२ र खोलाले बगाएर मृत्यु भएका १ जनासहित २३ जना मृतकका परिवारलाई भेटेर मन्त्री कुँवरले सरकारबाट दिइएको जनही १ लाख र आफ्नो ब्यक्तिगत तर्फबाट जनही १० हजारका दरले पीडित परिवारलाई नगद राहात वितरण गरेको उनको सचिवालयले जनाएको छ ।
अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले दिएको जानकारी अनुसार बाढी र पहिरोमा परी मृत्यु भएका परिवारलाई सरकारका तर्फबाट तत्काल किरिया खर्च वाफत जनही १ लाख रकम वितरण गरिएको हो ।
मन्त्री कुँवरले पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर त्रिपाल, बल्याङ्केट, खाद्यान्न लगायतका राहात सामाग्री पनि वितरण गरेको उनका प्रेस सल्लाहकार रमा खड्काले जानकारी दिए । मन्त्री कुँवरले पहिरोमा परी घाइते भएकाहरुको सम्पुर्ण उपचार सरकारले व्यहोर्ने समेत बताएका छन् । पीडितलाई आगामी दिनमा पनि थप सहयोग हुने मन्त्री कुँवरले आश्वासन दिएका छन् ।