लोकसंवाद संवाददाता | समाचार | जेठ १४, २०७६
काठमाडौँ । अभिभावकको रोजगारीले बालबालिकालाई के दिन्छ ? सबैको जवाफ हुन्छ लालनपालन तर रोजगारीका नाममा कामको पछि दौडिएर छोराछोरीलाई समय नदिदाँ उनीहरूको जीवनलाई कसरी मनोवैज्ञानिक असर गर्छ भन्ने कहिले सोच्नुभएको छ ?
संयुक्त राज्य अमेरिकाको ड्रेक्सेल विश्वविद्यालयका अनुसन्धानकर्ता जेफ ग्रिनहोले अभिभावक माझ गरिएको सर्वेक्षणलाई आधार बनाएर काम र पारिवारिक जीवनबीचको सम्बन्ध खोज्नुभएको थियो । अध्ययनमा २५ देखि ६३ वर्ष उमेरका विभिन्न व्यवसायमा संलग्न अभिभावकलाई समेटिएको थियो । अध्ययनको निष्कर्षले अभिभावकहरू डिजिटल माध्यममा व्यस्त रहँदा बालबालिकालाई नकारात्मक असर पर्छ भन्ने देखाएको छ ।
अभिभावकले काममा व्यस्त रहेर बालबालिकालाई समय नदिनु नै सबैभन्दा ठूलो नकारात्मक पक्ष हो । मनोचिकित्सक रिचा अमात्य भन्नुहुन्छ, “हामी काममा यति धेरै व्यस्त हुन्छौँ कि कार्यलयको काम पनि घरमा गर्छौ जसले गर्दा बाल मस्तिष्कमा आमाबुबाले माया नगर्ने जस्ता सोचाइ आउँछ ।
उहाँले अभिभावकले बालबालिका सँग समय नबिताउँदा उनीहरु अन्तै माया पाउने आशामा भाँैतारिन सक्ने जानकारी दिनुभयो । डा. अमात्यले अहिले काम नगरी खाने अवस्था छैन् कामबाट आइसकेपछि एक घण्टा भए पनि छोराछोरी सँग खेल्नु र रमाइलो गर्नुपर्छ । बुवाआमाले बालबालिकालाई समय नदिँदा अभिभावले कोहीसँग राम्रोसँग बोल्दा पनि रिस गर्ने, आमाबुबा देख्नेबित्तिकै रुने, विद्यालय जाँदा पनि एकोहोरो बस्ने, कोहीसँग मिल्न नखोज्ने, झगडालु स्वभावको हुने, कोही सानो बच्चालाई माया गरी बोलेमा टोलाएर हेर्ने जस्ता व्यवहार हुनसक्ने उहाँको भनाइ छ । गाेरखापत्र दैनिकले याे समाचार प्रकाशित गरेकाे छ ।