लोकसंवाद संवाददाता | समाचार | जेठ १४, २०७६
लमजुङ । जिल्लामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौर गाउँका १८ वर्षीय सुनिल साँखीको सोमबार साँझ ५ बजेतिर परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक साँखी दिउँसो ४ बजेतिर धानको बीउ राख्नका लागि घरबाट करिब पाँच किलोमिटर टाढाको खेतमा गएको र राति अबेरसम्म पनि घर नफर्किएपछि घर–परिवार, आफन्तजन र स्थानीयवासीले खोजतलास गर्दा सोमबार राति ११ बजे इन्द्रबहादुर थापाको खेतमा मृतावस्थामा भेटिएपछि प्रहरीलाई जानकारी आएको प्रहरीले जनाएको छ ।
खबरलगत्तै भोर्लेटार इलाका प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल पुगेको थियो । चट्याङ लागेर मृतक साँखीको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए ।
उनका अनुसार शव परीक्षणका लागि छिमेकी जिल्ला तनहुँस्थित दमौली अस्पतालमा लगिएको छ । आज साँखीको शव परीक्षण हुने प्रहरीले जनाएको छ । मृतक साँखीले मंगला माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिएर बसेका थिए । त्यस्तै सोही स्थानकै स्थानीय कृष्णप्रसाद बगालेको एउटा राँगो चट्याङ लागेर मरेको खबर राससमा छ ।