दसैँ पूर्वजहरूको मान सम्मानदेखि मुद्दा मामिला, दण्ड सजाय होइन रमाइलो मनोविज्ञानको पर्व

फर्कलान् र ती दिनहरु

दसैँ पूर्वजहरूको मान सम्मानदेखि मुद्दा मामिला, दण्ड सजाय होइन रमाइलो मनोविज्ञानको पर्व

लोकसंवाद संवाददाता  |  समाज  |  असोज ०८, २०७९

दशैँलाई नेपालको मौलिक चाडको रुपमा लिइन्छ । त्यसको कारण होला, यो बेला नेपालको मौसम पनि समथरमा या तराईमा विस्तारै चिसो सुरु हुने र पहाडतिर गर्मीको अन्तभई जाडो नै सुरु त हुने तर हिमाली भेगबाहेक जाडो ने सुरु नभएको आरामदायी समयको बेला मानिन्छ ।

चारैतिर हरियाली, खोलानालामा पानी कलकल, नदीमा पानीको धमिलो पन हटेर निलो गाढा रङमा बदलिन थालेको बेला हुन्छ । चारैतिर फूल फुल्न थालेको, आकाशमा बादल पनि हटेको, बालीनाली पनि लटरम्म फल्न थालेको, धानको खेतमा लहलह धानका बाला लहराउन थालेको बेला हो ।

कृषिप्रधान समाजमा खेतीपाती लगाउने काम समाप्त भएको र बर्खे बाली भित्र्याएर घरमा खानेकुराको मनग्गे कुरा भए पनि दशैँलाई नेपाली समाजले चाडको रुपमा हिमालयकी छोरी पार्वतीलाई दुर्गा देवीको रुपमा पूजाआजा गरी दसौँ दिनमा उनको पाती र जमरा मार्फत् टीका टालामा  विजयको आशीर्वाद पाउने भएकाले  त्यो दशमीलाई विजया दशमीको रुपमा पनि लिइन्छ । खानका लागि दसैंमा दही, चिउरा, केरा र आफ्ना आफ्ना चलन अनुसारमा मासुको व्यवस्था गरिएको हुन्छ ।

पहिले पहिले जातीय हिसाबले चाडबाड मान्ने बेलामा  बाहुन र क्षेत्री वा सो सरहका घरमा बोका र खसीको बली दिइने र अन्य जातका घरमा चराचुरुङ्गी र सुँगुरको मासु खान्थे । दसैंको बेलामा पृथ्वी छोडेर आकाशमा उड्नु पर्छ भन्ने चलनअनुसार पिङ खेल्ने चलन थियो र अझै बालबालिकाहरुका लागि पिङ खेल्ने रमाइलो चलन छँदैछ । पहिलो बाबियो को पोयो बलियो बनाएर रुखमा या बाँसको लिङ्गो गाडेर झुन्ड्याउने र खेल्ने चलन थियो ।  पिङमा जहाँ उभिएर वा बसेर खेलिन्थ्यो , त्यहाँ काम्रो राखिन्छ जसले खुट्टा राख्न र बस्नका लागि सजिलो बनाउँछ । 

अहिले भने दशैँलाई टीकाटालो , भेटघाट , खानपिन र रमाइलो गर्ने चाडको रुपमा लिइन्छ । सायद दशैँलाई राष्ट्रिय चाडको रुपमा मनाइने हुनाले नै होला, फूलपातीदेखि एकादशीसम्म निरन्तर विदा दिइन्छ सरकारी सेवामा पनि । विद्यालय र अदालतमा भने घटस्थापनादेखि पूर्णिमासम्म नै विदा दिइन्छ किनभने त्यस्तो बेलामा मुद्दा मामिलामा हारजितको भावना भन्दा रमाइलो र कुनै पनि प्रकारको दण्ड नदिने मनोविज्ञानका लागि होला, अदालतमा नेपालमा लामो विदा दिइन्छ र खानपिन अनि माइत मावल, आफन्तका घरमा टीकाटालो , भेटघाटमा जानु पर्ने हुनाले विद्यालयमा आउने बालबालिकाहरुलाई पनि लामो विदा दिइन्छ । अझ पाउने ६० दिने विदामध्ये कति विद्यालयमा त दसैँ र तिहारको समयलाई विदाको निरन्तरताभित्र पारिन्छ । खासगरी होस्टेल भएका विद्यालयहरुमा अरु विदासँग  समायोजन गरेर दशैँदेखि तिहारसम्म या छठसम्मको विदा दिइने गरेको छ । 

नेपाली परम्परागत दसैंको महत्व बंगालको दुर्गा पूजाभन्दा अलि फरक देखिन्छ । सामूहिक रुपमा देवी पूजा गरेर जमरा पनि सामूहिक रुपमा लगाउने परम्पराभन्दा पनि फरक देखिन्छ । हिन्दु पौराणिक चलनदेखि नै देवीको पूरा विभिन्न बेलामा गरिने गरिएको थियो ।  नवरात्रिका समयलाई मौसमअनुसार चारपटक देवीको आराधना गरिएको पाइन्छ जसका शारदीय नवरात्रि र बासन्तिक नवरात्रि अलि बढी नै चल्तीमा रहेको रहेछ पहिले पनि । नेपालमा वासन्तिकलाई पनि नवरात्रिको रुपमा लिइन्छ र चैते दसैँ भनेर चैत्र अष्टमी र चैत्र नवमीको रुपमा दसैँ मनाइन्छ । चैत्र नवमीका दिन राम नवमी परेकाले बली दिने  मासु खाने काम गरिँदैन । सायद मनोरम मौसमका कारणले  पनि शारदीय नवरात्रिलाई बढी चलनमा लिइयो र त्यो नै परम्परागत चाडको रुपमा मनाइन थालियो । 

वेदभन्दा पहिले कस्तो सभ्यता थियो होला ? वेदको कल्पना गर्नेहरुको सभ्यताको स्तर कस्तो थियो होला ? त्यो कल्पनाको संसारको आधार भूमि के थियो होला ? सायद प्रकृतिको देनलाई कल्पनाको संसारमा घुम्दै मूर्तरुप दिनका लागि नयाँ समाजको कल्पना गरियो होला जसले सामूहिक जीवनको सूत्रपात गर्‍यो होला र अपनत्वमा जीवनको सामूहिकता खोज्यो होला ।

वैदिक परम्परामा भन्दा पनि पौराणिक परम्परामा दुर्गाको पूजा आराधना गरेर देवीको आशीर्वाद लिएर विजयको कामना गर्दै आफ्नो कामना पूरा गर्न सुरु गर्ने विश्वासमा विजया दशमी भनिएको हो र नेपालमा त्यो विजया दशमीमा शुभ साइत हेरेर दुर्गाको प्रसादको रुपमा फूल पातीमा भित्र्याएको पातीसहित जमराको पाती लाइन्छ । आयुर्वेदको सिद्धान्तमा जमरा अत्यन्त पौष्टिक आहाराको रुपमा र ओखतीको रुपमा लिइने हुन्छ तर दसैंमा यो लगाइन्छ , सायद यसको पनि पौराणिक कुनै धारणा होला । नेपाली परम्परामा प्रत्येक घरमा देवीको नाममा घटस्थापना गरिएको हुन्छ जसलाई दशमीका दिन अभिषेक गरिन्छ । घटस्थापनासँगै जमरा राखिन्छ । सायद घटस्थापनामा गाईको गोबरमा रोपिएको जौ अझ ओखती पो हुने रहेछ कि ? 

मार्कण्डेय पुराणमा वर्णित सप्तशती श्लोकहरुको पाठ जसलाई १३ अध्यायमा बाँडिएको छ र नेपालीमा हामी त्यसैलाई चण्डी पाठको रुपमा लिन्छौं । चण्ड मुण्डजस्ता दानवहरूको वध गरेकीले नेपाली हिमालय पर्वतकी छोरी पार्वतीलाई चण्डी पनि भनिएको होला, उनका धेरै नाम छन् र शैलपुत्री, ब्रह्म चारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि , महागौरी र सिद्धि दात्रीका नाममा नवरात्रिको पूरा गरिन्छ । अर्थात् प्रकृतिको पूजा गर्ने बेला शारदीय समयमा राखिएको होला किनभने हिमालयकी पुत्री जसले सम्पूर्ण क्लेश, द्वेष , राग र लोभलाई राक्षस या दानवको रुपमा स्वीकार गरी समाज परिवर्तन गरेकी थिइन् , तिनको पूजा अरु शाक्त, शैव र वैष्णवभन्दा फरक तरिकाले नेपालमा गरिन्छ ।

अझ मदन्मत्त हुने हाम्रो सत्ता स्वादका शासकहरूलाई महिषासुरको प्रतीकका रुपमा नष्ट गरेको जुन वर्णन मार्कण्डेय पुराणमार्फत् अठ्ठाइसौँ व्यासले गरेका छन् र जसरी आज फेरि त्यो संस्कृतिको खोजमा विद्वान तथा अनुसन्धाता हरु लागेका छन् , त्यसको प्रमुख स्थान नेपाल नै होला किनभने चण्डीको सम्पूर्ण कथाले एउटा संस्कारको अन्त्य र नयाँ विद्रोहको सूत्रपात कसरी महिलाले लिएकी थिइन् अत्यन्त निर्भीक ताका साथ र बुद्धिमत्तापूर्ण तरिकाले भन्ने इतिहासको वयान हो चण्डीको भाग । 

सायद विश्वमा नेपाल नै त्यस्तो मौलिक तरिकाले दुर्गा पूजा गर्ने ठाउँ होला । त्यसो त भारतमा दुर्गापूजाको आफ्नै मौलिक परम्परा छ पश्चिम बंगालमा, अन्य शक्तिपीठहरुमा,इन्डोनेसियामा, थाइल्यान्डमा र अन्य हिन्दू तथा बौद्ध धर्मको जग भएका ठाउँमा पूर्वी एसियामा ।  

त्यसो त हिन्दू धर्मको वा भनौँ वैदिक परम्पराको थालनी भएको पुरानो ठाउँ अफगानिस्तान, इराक, इरान र अहिलेको पश्चिम एसियाका कतिपय देशहरुमा दसैँ या दुर्गा पूजाको कस्तो प्रचलन होला, त्यसका बारेमा खासै चर्चा हुँदैन किनभने या त ती देशहरुमा ईसाइ धर्म या इस्लाम धर्मका बाहुल्यता छ ।

मेरो एकजना विद्वान दाजु इन्जिनियर मुकुन्द ढकालले तत्कालीन सोभियत संघका कतिपय राज्यमा घुमघाम गर्दा हाम्रो वैदिक परम्परा र पौराणिक परम्परालाई जीवनको अन्य संस्कारमा अपनाएको पाएँ भन्नुहुन्थ्यो । सायद संसारमा पाइएको सभ्यताको श्रुति स्मृतिमा सबैभन्दा आधिकारिक रुपमा पाइएको बौद्धिक सम्पदामा वेद नै मुख्य देखिएको छ । 

एउटा प्रश्न अहिले पनि अनुत्तरित छ- वेदभन्दा पहिले कस्तो सभ्यता थियो होला ? वेदको कल्पना गर्नेहरुको सभ्यताको स्तर कस्तो थियो होला ? त्यो कल्पनाको संसारको आधार भूमि के थियो होला ? सायद प्रकृतिको देनलाई कल्पनाको संसारमा घुम्दै मूर्तरुप दिनका लागि नयाँ समाजको कल्पना गरियो होला जसले सामूहिक जीवनको सूत्रपात गर्‍यो होला र अपनत्वमा जीवनको सामूहिकता खोज्यो होला ।

आगोको खोजीसँग वेदको यज्ञको सुरु भयो होला किनभने आगोको दुई रुप सूर्य र पृथ्वीको गर्भ नै हो । सूर्यले दिने ताप त सधै तापिन्छ, देखिन्छ तर पृथ्वी भित्रको ताप त या त खाल्डो खनेर तातो थाहा पाइन्छ, या त  ज्वालामुखी फुटेर बाहिर लावा देखे पनि थाहा हुन्छ । यसरी थाहा पाउन र त्यसको अनुभूतिलाई भाषामा परिणत गरी एकअर्कालाई सम्झाउन विश्वको उत्पत्ति भएको कैयौँ वर्ष लाग्यो होला र त्यसपछि एउटा समाजको बाटो देखाउने वेदका सूत्रहरूले समाजलाई बाटो देखाउन थाले होलान् ।

अपौरुषेय वेदको सारको रुपमा पछि अनुसन्धाताहरुले उपनिषद्को यात्रा सुरु गराए जसलाई आज सबैभन्दा बढी ज्ञानको श्रोत मानिएको छ र त्यो ज्ञानको श्रोत निःसृत गराउने बेलाको सभ्यताको कल्पना गर्दा पनि शिर श्रद्धाले निहुरिन्छ । पूर्वको सान भनेको नै ज्ञानको श्रोतको निःसृत गर्ने परम्परा नै हो । जति पनि पूर्वीय र पश्चिमी दर्शनहरुको समीचीन समीक्षा गरिन्छ, अहिलेका दर्शनहरुमा नयाँ  पनभन्दा पनि उपनिषद्ले देखाएको परम्पराको व्याख्या गर्ने तरिकामा विनिर्माण गरिएको देखिन्छ । 

मेरो बेला मौकामा इस्लाम धर्मी र इसाई धर्मी साथीहरुसँग छलफल र वहस हुँदा उनीहरुको एउटा जिरह हुन्छ, हिन्दू धर्म पहिलो धर्म होइन । हिन्दू धर्मको संकुचित अर्थले त त्यो देखाउँछ तर इसाई धर्मका प्रवर्तकले २ हजार वर्ष पहिले र इस्लाम धर्मका प्रवर्तकले करिब त्यही वरिपरि बाट आफ्नो धर्मको प्रवर्तन गरेको पाइन्छ । त्यसो त येरुसलम प्रति इसाई , यहुदी र इस्लाम धर्मका समर्थकहरुले आफ्नो पवित्र भूमि भनेर हानथाप गरेको र हिंस्रक लडाइँ समेत गरेको प्रसङ्गमा वैदिक धर्मका वारेमा त्यस्तो प्रवर्तक कोही पनि नदेखिएको तर अदृश्य भगवानको अस्तित्व मानिएको कुरामा भने अचम्मको सामीप्यता पाइन्छ ।

मार्कण्डेय पुराणले त्यही कुराको संकेत गर्छ किनभने प्रलयको बेलामा जीवित एकजना मार्कण्डेय थिए जसले प्रकृतिको प्रलय र भगवानको अस्तित्वको बारेमा संसारलाई बताएको भन्ने पनि प्रसङ्ग पाइन्छ ।  यशु भन्दा पहिले पनि परमपिता परमेश्वर र त्यसलाई मान्ने धर्म थियो, मोहम्मदभन्दा पहिले पनि अल्लाह तालाको अस्तित्व थियो किनभने यशु र मोहम्मदले परमपिता र अल्लाहको आविष्कार गरेका होइनन्, ती सम्मानित तर अदृश्य रुपमा आफ्ना काम गर्नका लागि आफैँले खटाएको ईश्वरहरू (आफ्ना आफ्ना धर्मका ईश्वरहरू) ब्रह्माण्डको अनुशासन पालना गराउन लागेकै थिए र प्रत्येक प्राणीको सबै क्रियाकलापको अनुगमन र मूल्यांकन गर्ने काम प्रकृतिको निरन्तर अनुशासनमार्फत गरेकै थिए भन्ने मान्नुपर्छ । संसारमा कतिवटा धर्मको पालना भएको छ भनेर अनुसन्धान नै गर्नुपर्छ किनभने प्रत्येक धर्मको आफ्ना आफ्ना विनिर्माण भएकै छन् र फरक फरक तरिकाले समाजको गतिशीलताको व्याख्या गरेकै छन् । प्रकृति , पुरुष र ब्रह्माण्डको बारेमा जेजे अर्थ लगाउँदा पनि आखिर ती सबैले अहिलेसम्म थाहा पाएको मानव वस्ती पृथ्वीको कसरी विकास भयो, कसरी यसको सुरक्षा होला भन्नेमा नै केन्द्रित देखिन्छ । 

दसैंको मात्र कुरा होइन, चण्डीको मात्र अर्थको कुरा होइन कि बाइबल, कुरान , मुन्धुम जस्ता अरु पनि पवित्र धार्मिक ग्रन्थ र तिनले दिने ब्रह्माण्डको उत्पत्ति, संरक्षण र भविष्यका बारेमा मानवीय रक्षाको महत्व बढेको हुन्छ । आजको मानिसले भन्दा हजारौँ वर्ष पहिलेका मानिसहरुले ब्रह्माण्डको अनुशासनसँग त्यसको उत्पत्तिको बारेमा, लाखौँ तारा, नक्षत्र अनि सम्पूर्ण खगोलको अनुशासनमा  आफुलाई केन्द्रित गरी भावी मानिसहरुका लागि बाटो खनेका हुन् ।

हामीले ती पूर्वजहरुप्रति सधैँ अनुगृहीत हुनुपर्छ । ती सामाजिक सम्पदाको बारेमा चिन्तित हुने पूर्वजहरुप्रति आभार व्यक्त गर्दै भोलिको संसारका बारेमा सोच्न हामीलाई हस्तान्तरण गरेको कुरामा गर्व गर्नुपर्छ । 

पूर्वीय वाङ्‍मयमा संस्कृतको जुन महत्व छ, त्यसलाई हामी दक्षिण एसियाली खासगरी नेपाली तथा  भारतीयहरुले मात्र गर्व गरेर हुँदैन, त्यो त विश्व सम्पदा हो । त्यसको रक्षा, सुरक्षा, लेखिएका कुराहरुको अर्थ र प्रयोगका बारेमा संसारलाई खुला गर्नुपर्छ । कुनै पनि भाषा, धर्म, धार्मिक ग्रन्थ मानव मात्रका सम्पत्ति हुन् । हुनसक्छ ती हामीले बुझ्ने भाषामा होलान्, हाम्रा क्षेत्रमा लेखिएका होलान् । हामी विद्यार्थी हुँदा हाजिरी जबाफमा सोधिन्थ्यो- संसारमा कुन विश्व विद्यालयमा संस्कृत अनिवार्य छ ? हामी भन्थ्यौँ - काबुल विश्वविद्यालयमा ।

आज ती दिन गएका छन् तर पश्चिमा मुलुकले आयुर्वेदमा वर्णित शल्यक्रियाका पिता सुश्रुतको काल्पनिक सालिक राखिन्छ, गीताका सबै श्लोकहरु विश्वविद्यालयहरुको प्राङ्गणको पर्खालमा सगर्व लेखिन्छ र संस्कृतको विकास र प्रवद्र्धनका लागि विभागहरु खोलिन्छ र स्वस्थानी, पुराणहरूको अनुवाद आफ्ना आफ्ना भाषामा गरिन्छ । अनि लाज लाग्छ, हामी स्नातकोत्तरमा शिक्षा  विषय पठन पाठन गर्ने विद्यापीठहरूका न त गीतासम्बन्धी पुस्तक राखिन्छ, न त त्यसबारेमा छलफल गरिन्छ । दोष हाम्रै हो , माल पाएर पनि चाल नपाउने हाम्रो चलनमा । क्रमशः