समाजवादी प्रेस संगठनको संयुक्त भेला: कमिटि बिस्तार गर्दै १३ बुँदे घोषणापत्र जारी (पूर्ण विवरणसहित)

समाजवादी प्रेस संगठनको संयुक्त भेला: कमिटि बिस्तार गर्दै १३ बुँदे घोषणापत्र जारी (पूर्ण विवरणसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज ०८, २०७९

नयाँ जिम्मेवारी लिनेलाई हार्दिक बधाई तथा कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद
समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेशको सम्पन्न संयुक्त भेलाले दुवै कमिटि बिस्तार गरेको छ । 

 कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष तथा वागमती प्रदेश सरकारका मुख्यमन्त्री  राजेन्द्रप्रसाद पाण्डे, पार्टी उपमहासचिव तथा केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा लगायतको उपस्थिति रहेको भेलाले दुवै प्रदेश स्तरीय कमिटिको  विस्तार गरेको हाे ।

जस अनुसार उपत्यका प्रदेश समितिको उपाध्यक्षमा केशव लुँइटेल र अप्सरा गौतम, सहसचिव निरोज तोलाङे र विष्णु रैगाँइ, कोषाध्यक्षमा कञ्चन गजमेर  तथा सदस्यहरुमा रामहरि चौलागाँइ, मिलन लामा, महानन्द भट्ट, प्रदिप खड्का चयन हुनुभएको छ भने वागमती प्रदेश समितिको उपाध्यक्षमा सोनिका राई, कोषाध्यक्षमा आशिष ठकुरी तथा सदस्यहरुमा फुवा बहादुर लामा, डेनी  थिङ, एलिना कार्की लगायत समेटिनुभएको छ ।

बागमती प्रदेश कमिटीका इन्चार्ज नवराज छत्कुलीको सभापतित्वमा सम्पन्न  भएको संयुक्त भेलाले श्रमजीवी पत्रकार ऐनले व्यवस्था गरेका  सेवासुविधा प्राप्तिका जारी आन्दोलनप्रति समर्थन गरेको छ । 

उपत्यका प्रदेश इन्चार्ज शन्तराम बिडारीका अनुसार सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दशैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महँगीलाई दृष्टिगत गर्दै पत्रकारको न्यूनतम मासिक पारिश्रमिक रु ४० हजार सिफारिस गर्न माग गरेको छ ।

साना लगानीमा सञ्चालित स्वरोजगारमूलक मिडियाको संरक्षणका लागि सबै सरोकारवालासँग छलफल गरी विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश सरकारलाई सुझाव दिएको छ ।

साना लगानीका सञ्चारमाध्यमलाई सहुलियतस्वरुप कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरालगायत सामग्री खरिद गर्न ५० प्रतिशत अनुदानको माग गर्दै भेलाले हाल पत्रपत्रिकालाई उपलब्ध गराइएको लोककल्याणकारी विज्ञापनवापतको रकम तत्काल शतप्रतिशत वृद्धि गर्न र अनलाइन मिडियालाई समेत लोककल्याणकारी विज्ञापन प्रदान गर्न आग्रह गरेको छ । भेलाले पारित गरेको १३ बुँदे विशेष प्रस्तावमा मिडिया काउन्सिल विधेयक जारी हुन नसकेकामा चिन्ता प्रकट गर्दै सरोकारवालाको सहमति समेतमा लामो छलफलपछि प्राप्त सुझावलाई समावेश गरेर विधेयक अगाडि बढाउन आग्रह गरेको छ ।

भेलाले प्रेस काउन्सिललगायतका निकायबाट वितरण हुने पुरस्कार तथा  अन्य सहुलियतमा राजनीतिक आस्थाका आधारमा नभई निष्पक्षता तथा वैज्ञानिक, पारदर्शी र भेदभावरहित बनाउन आग्रह गरेको छ ।

देशैभरिका साना लगानी तथा स्वरोजगार सञ्चारमाध्यमलाई आन्तरिक राजस्व कार्यालयका अतिरिक्त स्थानीय तहमा व्यवसाय दर्ता गरी दोहोरो कर तिर्न बाध्य पारिएकामा आपत्ति प्रकट गर्दै सबै सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन माग गरेको भेलाले विज्ञापन बोर्डले उपलब्ध गराउने सुविधालाई सहज बनाउन र अन्यथा बोर्डको औचित्यताका प्रश्न उठाउने काम नगर्न आग्रह गरेको छ ।

ज्येष्ठ पत्रकारहरूका लागि सुरु गरिएको जीवनवृत्ति भत्ताको स्वागत गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारबाट प्रमाणीकरण गर्नुपर्ने संविधानको व्यवस्थालाई उल्लङ्घन गरेकामा खेद व्यक्त गरेको छ ।

पारित प्रस्तावको पूर्ण विवरण

समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेशको संयुक्त भेला २०६९ असोज ८, काठमाडौंद्वारा जारी  घोषणापत्र’

२०७९ असोज ८ गते काठमाडौंमा सम्पन्न समाजवादी प्रेस संगठन नेपाल उपत्यका प्रदेश र बागमती प्रदेशको संयुक्त भेलाले यो घोषणापत्र जारी गरेको छ ।
१. प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेर पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने संविधानको धारा ११३ (५) को व्यवस्था उल्लंघन गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक जस’ लिने प्रयास गरेको प्रति यो भेला खेद व्यक्त गर्दछ । संवैधानिक सिमा र पदीय मर्यादा बाहिर गएर भएका राष्ट्रपतिको कदम लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्ने कार्यलाई बाधा पुर्‍याउने तर्फ अग्रसर रहेको ठहर गर्दै यो भेला लोकतान्त्रिक मुल्य मान्यताप्रति सचेत, सजग र प्रतिवद्ध रहन सम्वन्धित सबैलाई आग्रह गर्दछ । 

२. पाँच वर्षे अवधीमा समेत सरोकारवाला निकायको सुझाव बमोजिम मिडिया काउन्सिल विधेयक जारी हुन नसकेकोमा यस भेला चिन्ताप्रकट गर्दछ । सरोकारवालाको सहमति समेतमा लामो छलफलपछि प्राप्त सुझावलाई समावेश गरेर विधेयक अगाडि बढाउनुपर्नेमा त्यसो नगरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । प्रेस काउन्सिलको वर्तमान नेतृत्वको कार्यकाल लम्ब्याउने वा तत्काल नयाँ काउन्सिल गठन गरी त्यसको नेतृत्व कसलाई दिन्ने भन्ने जस्ता नितान्त व्यक्तिगत स्वार्थकेन्द्रित विषयमा अल्मलिएर पत्रकार महासंघको नेतृत्वसमेत विभाजित भएकोमा यो भेला गम्भिर असहमति प्रकट गर्दछ । विश्वव्यापी प्रेस स्वतन्त्रता र प्रेस काउन्सिलको स्वायत्तता कायम गर्ने मूल मर्म भन्दा अन्य खुद्रा–मसिना विषयमा अल्मलिएर उक्त विद्ययेक फेरि शुन्यको अवस्थामा पु¥याउनु वा टार्नु नेपाली सञ्चारजगतलाई बदलिँदो परिवेश अनुरुप फराकिलो ढंगले कानुनी दायरामा समेट्न नसक्नु हो भन्ने ठहर गर्दै यो भेला ती कदमहरुको भत्र्सना गर्दछ । 

३. यो भेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट सञ्चारसम्वन्धी नियुक्तिहरुमा गरिएको एकपक्षीय कदमको कडा आलोचना गर्दै गठवन्धन सरकारको संस्कृति अनुरुप योग्यता र क्षमताको आधारमा नियुक्ति प्रक्रिया अघि बढाउन सञ्चारमन्त्री र सम्वद्ध निकायलाई आग्रह गर्दछ । 
४. यो भेला प्रेस काउन्सिल लगायतका निकायहरुबाट वितरण हुने अवसर, पुरस्कार र अन्य सहुलियतहरुमा राजनीतिक आस्था, आग्रह र भनसुनलाई जोड नदिई आफ्नो निश्पक्षता कायम गर्दै उक्त संस्थाको गरिमा उचो राख्न विशेष आग्रह गर्दछ ।  साथै प्रेस काउन्सिलबाट प्रदान गरिने आर्थिक सहायता, उपचार खर्च, पुरस्कार, सम्मानलाई व्यवस्थित वैज्ञानिक, पारदर्शी र भेदभावरहित बनाउन आग्रह गर्दछ । 

५. श्रमजीवी पत्रकार ऐन र ऐनले व्यवस्था गरेका सेवासुविधा प्राप्तिका जारी आन्दोलनहरु प्रति यस भेला पूर्ण ऐक्यवद्धता र समर्थन गर्दछ ।  हाम्रो संगठन श्रम समस्या तत्काल समाधान गरी पत्रकारले दसैँको मुखमा तलब नपाउने, सेवासुविधा र दसैँ भत्ता नपाउनेलगायतका गुनासो नहुने गरी काम गर्न मिडिया संचालकहरुलाई अनुरोध गर्दै राज्यका नियामक निकायहरुलाई पनि यस मामलामा कठोर नीति अपनाउन आग्रह गर्दछ । यो भेला सम्बन्धित सञ्चार प्रतिष्ठानहरूलाई तत्काल नियमित पारिश्रमिक, बक्यौता रकम र दसैँ भत्तालगायत अन्य सेवा सुविधा उपलब्ध गराउन माग गर्दै न्युनता पारिश्रमिक निर्धारण समितिलाई बढ्दो महंगीलाई ध्यानमा राखी पत्रकारको न्युनतम मासिक पारिश्रीमक रु.४० हजार सिफारिस गर्न माग गर्दछ । 

६.यो भेला साना लगानीमा सञ्चालित स्वरोजगारमुलक मिडियाको रक्षाका लागि सबै सरोकारवालासंग छलफल गरी विशेष कार्ययोजना ल्याउन केन्द्रीय सरकार र प्रदेश सरकारसमक्ष आग्रह गर्दछ । मुख्यगरी साना लगानीका सञ्चारमाध्यम र तिनमा आश्रीत पत्रकारहरु बढी मारमा परेकोले त्यसको उचित सम्बोधन गर्न तथा साना लगानीका मिडियाको लागि सहुलियत दरमा वा ५० प्रतिशत अनुदानमा कागज, ल्यापटप, विद्युतीय उपकरण, क्यामरा लगायतका सामान खरिद गर्न पाउने व्यवस्था गर्न माग गर्दछ । हाल पत्रपत्रिकालाई प्रदान गर्दै आइरहेको लोककल्याणकारी विज्ञापन वापतको रकम तत्काल सतप्रतिशत वृद्धि गर्न र अनलाइन मिडियालाई समेत लोककल्याणकारी विज्ञापन प्रदान गर्न आग्रह गर्दछ । 

७.देशैभरीका साना लगानी तथा स्वरोजगार सञ्चार माध्यमलाई आन्तरिक राजश्व कार्यालयका अतिरिक्त स्थानीय तहमा व्यवसाय दर्ता गरी दोहोरो कर तिर्न बाध्य पारिएको छ । स्थानीय सरकारले मिडिया सञ्चालनको अवधीदेखिको स्थानीय कर तिर्नुपर्ने जस्ता दोहोरो करमुखी प्रावधान अघि सारेकोमा  यो भेला त्यसप्रति आपत्ति प्रकट गर्दै सबै सञ्चारमाध्यमलाई लगाइएको दोहोरो करको व्यवस्था हटाउन माग गर्दछ ।

८. विज्ञापन बोर्डले विभिन्न कानूनी उल्झनको बहाना बनाएर मिडियाहरुको विज्ञापन वापतको भुक्तानी रोक्ने काम गर्दै आएको छ । त्यतिमात्र होइन हरेक सरकारी निकायहरुका विज्ञापनमा ३ प्रतिशत बोर्डले कट्टा गरेर लिनेगरी पत्राचार गरेको छ । विभिन्न सरकारी कार्यालको विज्ञापन सञ्चारमाध्यमहरुले पाइरहेकोमा पत्राचार गरेर नदिन भनेको छ । यस्ता कदमले ति मिडियाहरु सञ्चालन हुनै नसक्ने अवस्थामा पुगेका छन् । विज्ञापन बोर्ड मिडियाहरुको रक्षक होइन, भक्षक जस्तो भएको छ । यस विषयमा बोर्डका पदाधिकारीहरूलाई संगठनका निकायमार्फत पटकपटक ध्यानाकर्षण गराए पनि त्यसको सुनुवाइ भएको छैन । यो भेला साना तथा स्वरोजगारमूलक मिडियालाईसमेत सहज रूपमा विज्ञापन उपलब्ध गराउने वातावरण मिलाउन र अन्यथा बोर्डको औचित्यताका प्रश्न उठाउने काम नगर्न बोर्डलाई विशेष आग्रह गर्दछ । 

९. जेष्ठ पत्रकारहरुका लागि सुरु गरिएको जीवनवृति भत्ताको स्वागत गर्दै ६० वर्ष उमेर पुगेका र २५ वर्ष भन्दा बढी समय निरन्तर पत्रकारिता गरिसकेका जेष्ठ तथा अग्रज सञ्चारकर्मीहरुलाई विशेष कोभिड राहत एवं मासिक रुपमा जीवन निर्वाह भत्ताको व्यवस्था गर्न यस भेला जोडदार माग गर्दछ । 

१०. यो भेला प्रदेश स्तरमा बहुलतामा रहेको भाषा र उक्त भाषाभाषीको सञ्चार माध्यमलाई प्रोत्साहनको नीति अघि सार्न प्रदेश सरकार समक्ष माग गर्दछ । र,  मातृभाषामा पत्रकारिता गर्नेलाई सरकारले प्रोत्साहनको व्यवस्था गनै विशेष आग्रह गर्दछ । समावेसी संचार नीति अन्तरगत महिला,आदिवासी, जनजाती,दलित, अपाङ्ग, सिमान्तकृत लगायत पिछडिएका समुदायको संचारमा पहुँच स्थापना गर्न आवश्यक नीति कार्यान्वयन ल्याउन पनि यो भेला विशेष आग्रह गर्दछ । 

११. राष्ट्रिय समाचार समितीलगायतका सरकारी संचारमाध्यममा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गर्न थालेकोप्रति यो भेलाको गम्भीर ध्यानाकर्षण भएको छ । आस्थाका आधारमा पत्रकारलाई निष्कासन गर्ने कार्य नगर्न यो भेला सबै सञ्चारमाध्यमलाई आग्रह गर्दछ । साथै, सरकारले नियुक्त गरेका सरकारी सञ्चारमाध्यमका प्रमुखहरुले कार्यरतहरुलाई अवसर दिने सवालमा गरेको विभेद र समाचार कभरेजका सन्दर्भमा गरिएको असन्तुलित व्यवहार तत्काल सच्याउन माग गर्दछ । 

१२. साना लगानीमा सञ्चालित स्वरोजगार मूलक पत्रपत्रिकाहरु अनलाइन (डिजिटल) मा मात्र प्रकाशन गर्न चाहेको खण्डमा पनि पत्रिकाले पाउँदै आएको सुविधा अनलाइनमा यथावत रुपमा उपलब्ध हुने नीतिगत व्यवस्था कायम गर्न यो भेला माग गर्दछ । 

१३ .नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायत नेतृत्वगणप्रति यो भेला प्रमुख आतिथ्यता र विशेष आतिथ्यता ग्रहण गरिदिनु भएकोमा हार्दिक आभार प्रकट गर्दै भेलालाई सफल पार्न आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण कमरेडहरुमा विशेष कृतज्ञता प्रकट गर्दछ ।