लोकसंवाद संवाददाता | समाचार | असोज १०, २०७९
मलेसिया । मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
गैरआवासीय नेपाली संघ सहित मलेसियामा रहेका नेपाली संघ(संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा राजदुत पौडेलले घर फिर्ती, तलब सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्वन्धित समस्यालाई तत्काल समाधान गर्न २४ सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताउनुभयो ।
विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उहाँले बताउनुभयो । सो अवसरमा राजदुत पौडेलले मलेसियामा रहेका नेपाली संघ संस्थाहरुसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दुतावास पुग्न नसक्ने स्थानमा नेपाली संघ संस्थाहरुलाई परिचालन गर्ने योजना रहेको बताउनुभयो ।
नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यन्वयन आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । सो अवसरमा उहाँले मलेसियामा रहेका नेपालीहरुलाई औपचारिक च्यानल ९बैंकिङ च्यानल०बाट मात्र रेमिटेन्स पठाउन आग्रह गर्दै हुन्डी लगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गर्ने बताउनुभयो ।
मुलुकको हितका लागि नेपाल-मलेसियाबीचको सम्बन्ध सुमधुर बनाउन आफू लागिपर्ने उहाँले बताउनुभयो । क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा भएको कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा लगायतले पौडेललाई स्वागत गर्नुभएको थियो ।