आशिष पौडेल | अन्तर्मन्थन | असोज २२, २०७९
उहाँको बुवाआमा सामान्य परिवारको हुनुहुन्थ्यो । आठ/नौ बिघा जमिन थियो महोत्तरीमा । त्यसैमा खेती किसानी गरेर जीवन चलेको थियो । उहाँको जन्म २०२८ सालमा महोत्तरीको ईटाटार टोलमा भएको हो ।
उहाँको बाल्यकाल पनि आम मानिसको जस्तै रमाइलो गरी बित्यो । घरमा छोरी/चेली नभएकोले घरका खाना बनाउने, खाने, भाँडा मस्काउने अनि स्कूल जानुपर्थ्याे । साना मसिना सबै काम पनि गर्नुपर्थ्याे । उसो त उहाँले पनि अरुले जस्तै बाल्यकालमा गणेश चतुर्थी (चौथी चाँद) मा काँक्रो चोर्ने, पांग्रा गुडाउने, अरुलाई हिलो छ्याप्ने, वर्षात्को पानी जमेका साना खाल्डा जसलाई खात्ता (सानो पोखरी) भनिन्थ्यो त्यसमा नुहाउने देखि चारपाटे कोठा बनाएर खेलिने छुर पनि खेल्नु भएको छ । कबड्डी, कुस्ती पनि खेल्नु भएको छ ।
०००
उहाँको कखरा चिनेको चाहिँ टोलटोलमा राखिने गुरुजी तथा मास्टरहरुबाट हो । काठको कालो पाटीबाट शुरु भएको उहाँको कखरा पछि साहित्यका सुनौला अक्षर पनि बने । यो छुट्टै पाटो हो । तर, उहाँको प्रारम्भिक शिक्षा भने निम्न माध्यमिक विद्यालय राम नगरबाट भएको हो ।
माटोलाई चर्खामा गोलो बनाएर काटेर बनाउने जसलाई खपडा भनिन्थ्यो । एक प्रकारले भन्नुपर्दा टायलको सानो रुप भन्दा हुन्छ । स्कूल काठले बनेको थियो । पूर्वबाट फैलिएर उत्तरतर्फ बढेर अंग्रेजी एल आकारको थियो स्कूल । बाँसको फरिकोले बारेका कोठा हुन्थे । झण्डै एउटा कोठामा ५० देखि एक सय विद्यार्थीसम्म अट्न सक्ने गरिको कक्षा हुन्थ्यो ।
केटी मान्छेहरुलाई पढाउनु हुन्न भन्ने मान्यताले होला शायद महिलाहरुको सहभागिता एकदमै न्यून थियो । छात्राहरु एउटै कक्षामा हुँदा पनि पुरुषहरूभन्दा चार/पाँच वर्ष अधिक उमेरका हुन्थे । पुरुषहरुको उपस्थिति भने उल्लेख्य थियो । उहाँको कक्षामा भने झण्डै ५०/६० जना विद्यार्थीमा महिलाहरु भने केवल ७/८ जना मात्र हुन्थे । अरु कक्षामा विद्यार्थी संख्या धेरै भएर नअटाएर बाहिर चौरमा गएर पढ्नु परेको स्थिति पनि छ ।
स्कूलले सबै सुविधाहरूलाई प्राथमिकता दिएको थियो । प्रायः सबै खेल सामग्रीहरु थिए । भलिबल, फुटबल, क्रिकेट सबै थियो स्कूलमा । स्कूलमा खेलकुद प्रतियोगिता भए पनि उहाँलाई भने खेलप्रति रुचि नभएका कारण खासै सहभागी हुनुहुन्नथ्याे । उहाँले खेल्ने भनेको रिङ बल अनि क्यारम बोर्ड हुन्थ्यो ।
०००
महोत्तरीको मुख्य बजार गौशालामा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा शुरु भयो उहाँको माध्यमिक तहको पढाइ भने । गौशालामा रहेको त्रिभुवन माध्यमिक महोत्तरीको राम्रो विद्यालयमा गनिन्छ । त्यहाँ त्यस बेला वर परबाट पनि थुप्रै विद्यार्थी आउँथे । त्यहाँ त्यस बेला सात वटा विद्यालयका विद्यार्थी आएका थिए । उहाँ पनि रामनगरबाट प्रथम भएर त्यहाँ जानु भएको थियो ।
उहाँसँग कहिलेकाहीँ च्याटमा कुरा हुँदा अरु थुप्रै मानिसले उहाँलाई पूर्व वरिष्ठ प्रहरी अधिकृत तथा सर्जक डा.राजुबाबु श्रेष्ठ ठानेपछि उहाँले आफू चाहिँ राजबाबु मात्र भएको धेरैलाई बताउनु परेको छ । यसकारण राजुबाबुसँग नाम जुध्न गएपछि भने उहाँले आफ्नो नाममा 'सागर' थप्नु भएको हो । उहाँले २०७५ सालमा सागर थप्नु भएको हो ।
उहाँ पढाइ पनि राम्रो भएकोले पहिलो बेञ्चमा नै बस्नुहुन्थ्यो । अरु विद्यार्थी बस्न पनि डराउँथे राजबाबु बस्ने फर्स्ट बेञ्च हाे भनेर । माहौल त्यस्तो समेत थियो ।
उहाँ आफू ८ कक्षा पढ्दै गर्दा ८ कक्षाकै विद्यार्थीलाई पढाउनुहुन्थ्यो भने ९/१० कक्षा पढ्दा पनि अवस्था यस्तै थियो । उहाँ कहिलेकाहीँ आफूले पहिले पढेको विद्यालयमा पनि फुर्सदमा आएर पढाउनुहुन्थ्यो । पढ्ने, पढाउने कुरामा उहाँलाई राम्रो रुचि थियो ।
चित्र बनाउने कुरामा पनि उहाँ तेज नै हुनुहुन्थ्यो । जनावर अनि मान्छेको चित्र दुरुस्त बनाउनुहुन्थ्यो त्यसैले साथीभाइले मेरो चित्र बनाइ देउ भनेर पनि धेरैले चित्र बनाउन दिन्थे । उहाँले यसलाई पेशा नबनाए पनि चित्र कारिता पनि उहाँको उम्दा नै थियो ।
उहाँलाई त्रिभुवन मावि हिँडेर जान झण्डै डेढ घण्टा लाग्थ्यो । त्यसकारण उहाँ छात्रावासमा बसेर पढ्नु भयो । त्रिभुवन माविकाे स्वामित्वमा धेरै जमिन थियो । क्रिकेट, फुटबल, भलिबल सबै खेल्न पर्याप्त थियो । उहाँको भने खेलकुदमा रुचि नभएका कारण खेलकुदमा लाग्नु भएन । छात्रावासमा छात्रावासमा बस्दा साँझपख चौरमा गइ सबै विद्यार्थी लामबद्ध भइ राष्ट्रिय गीत 'हटी होइन डटी लड्ने' गाइ प्रार्थना गरी कोठामा गइ आ-आफ्ना गृहकार्य गर्नुपर्थ्यो ।
७ वटा विद्यालयबाट गएका विद्यार्थी गरेर उहाँहरुको एउटै कक्षामा झण्डै ८०/९० जना विद्यार्थी हुन्थे । तर, छात्राहरु भने केवल एक प्रतिशत मात्र अर्थात ८/९ जना मात्र हुन्थे । केटीहरुलाई घर व्यवहार सबै सम्हालेर पढ्न समस्या हुने कारण पनि महिलाहरुको सहभागिता कम भएजस्तो लाग्छ उहाँलाई ।
उहाँले २०४४ सालमा एसएलसी दिनु भएको हो । उहाँको ब्याचका झण्डै ८० जना जति थिए । त्यसमध्ये झण्डै ४५ जना पास भए । उहाँ प्रथम श्रेणीमा उत्तीर्ण हुनुभयो । उहाँ ९ कक्षासम्म कक्षामा प्रथम नै हुनुहुन्थ्यो । तर, १० कक्षामा भने केही माया–प्रेममा डुबेपछि एसएलसीमा भने उहाँभन्दा अर्को विद्यार्थीले उहाँलाई उछिने ।
एसएलसी दिएपछि उहाँ जनकपुरको राम स्वरुप राम सागर (आरआर) कलेजमा भर्ना हुनुभयो । तर, कलेज भने रात्रि कलेज पढ्न थाल्नुभयो । कारण उहाँको कक्षा ९ मा पढ्दा नै बिहे भयो । त्यो जिम्मेवारी निभाउन पनि ट्युसन पढाउँदै पढ्दै गर्न थाल्नुभयो । उहाँले आरआर कलेजबाट बिए सकाउनु भयो । अंग्रेजी वर्णमालाकाे ठूलो यु आकारको थियो कलेज । ठूलो कम्पाउण्ड । गेट उत्तर फर्केको थियो । उहाँलाई कलेजको खासै अरु कुरा अनि गतिविधिका बारेमा सम्झना छैन । कारण उहाँ रात्रि कलेजमा भर्ना हुनुभएको हुँदा पनि त्यसो भएको हो ।
०००
बिए सकेपछि उहाँ एक वर्ष त्यसै घरमा बस्नुभयो । त्यसपछि भने उहाँ काठमाण्डौ आउनु भयो । उहाँको दाइ काठमाडौँमा ग्रीलको व्यवसाय गर्नुहुन्थ्यो । उहाँ काठमाडौँमा आएको २०५१ सालमा हो ।
उहाँको समयमा रेन्बो अनि श्वेत भैरव भन्ने रात्रि बस चल्थे । साझा यातायातको बस पनि चल्थ्यो तर दिवा सेवा मात्र । उहाँ रात्रि बसमा ६० रुपैयाँ तिरेर काठमाण्डौ आउनु भयो । उहाँ पहिला काठमाडौँमा आउनु भएको थिएन ।
काठमाडौँमा आएर उहाँ नयाँ बसपार्क गोंगबुमा झर्नु भयो । दाजु भाउजु काठमाण्डौको बानेश्वरमा बस्ने हुनाले कहाँ कसरी बस समातेर आउने भनेर उहाँहरुले भने बमोजिम नै बानेश्वर चोक आइ पुग्नु भयो । दाजु बानेश्वरमा चोकमा लिन पर्खिरहनु भएको थियो ।
जनकपुर शहर आउजाउ गरेका कारण काठमाण्डौ शहरले उहाँलाई त्यस्तो छोएन । तर, काठमाडौँमा आउँदा त्रिशुली नदीमाथिको नागबेली बाटो अनि चारैतिर पहाडले घेरिएको काठमाडौँमा उपत्यकाको चिसो वातावरणले भने बस्नुपर्ने ठाउँ त यो पो रैछ भन्ने चाहिँ गरायो ।
काठमाडौँमा आएपछि दाइको ग्रील पसलमा बसेर काम सिक्नुभयो । काम गर्नुभयो । काठमाडौँमा आएपछि पहिले स्कूल पढ्दाका साथी टेकबहादुर बलम्पाखीसँग भेट भयो । उहाँले पहिलेदेखि कला क्षेत्रमा लागेर नाटक लेखेर, नाटक खेलेर सक्रिय भएको मान्छे यसरी निष्क्रिय भएर बस्नु हुन्न भनेर इन्द्रेणी सांस्कृतिक समूह (इसास) मा संलग्न गराउनु भयो । उहाँले पनि इसास अन्तर्गत रहेर नाटक खेल्ने खेलाउने काम पनि गर्नुभयो ।
उहाँले खेलेका धेरै नाटक धेरै जिल्लामा मञ्चन पनि भयो । सुरज श्रेष्ठले लेखेको प्रतिशोध नाटक सभागृहमा मञ्चन भयो । जसमा उहाँले सन्तेको भूमिका निर्वाह गर्नु भएको थियो । त्यो निकै प्रभाव पार्न सफल नाटक थियो । घर एक नर्क भन्ने उहाँले फिल्मको स्क्रिप्ट पनि लेख्नुभयो । यसै बीचमा ओम प्रतिक सँग भेट भएपछि उहाँको निर्देशन तथा लेखनमा दुई वटा धारावाहिक टिभी सििसयलमा उहाँ खेल्नुभयो ।
बिहे गरेर जहान परिवार भएको मान्छे कला क्षेत्रले खान नदिएपछि भने उहाँ बीचमा यी सबै कुराबाट टाढिनु भयो ।
उहाँले पछि अनामनगरमा ग्रील पसल पनि खोल्नुभयो । रोअर पम्प तथा जडिबुटीमा बसको जीउ अर्थात बडी बनाउने कारखाना पनि खोल्नु भएको थियो । जिन्दगी ठिकठाक चल्दै थियो । तर, यसै बीचमा श्रीमती बिरामी भएर उपचारमा उहाँले कमाएका सबै सकियो । श्रीमतीको पनि निधन भयो । अनि अब उहाँलाई अब यसरी छोराछोरीको पढाइलगायत खर्च कसरी धान्ने भन्ने भयो । यसकारण यी सबै समस्या समाधानका लागि उहाँ वैदेशिक रोजगारमा साउदी अरब जानुभयो । साउदी अरबमा करिब ७ वर्ष बस्नुभयो ।
०००
उहाँले स्कुल पढ्दै गर्दा १४ वर्षको उमेरमा प्रेम फैसला भन्ने नाटक लेख्नु भएको थियो । उक्त नाटकको निर्देशनसमेत उहाँ आफैँले गर्नु भएको थियो । निर्देशन मात्र नभएर नाटकमा नायिकाको भूमिका पनि उहाँ आफैँले निभाउनु भएको थियो । यो नै उहाँको साहित्यको सुरुआत थियो ।
साउदी अरबमा बस्दाबस्दै बन्द फ्रेम भित्रको चिठी भन्ने उपन्यास निस्कियो २०५७ सालमा । जुन उपन्यास पहिले धारावाहिक रुपमा प्रकाशित हुन्थ्यो । हप्तामा चार पेज प्रकाशित भएर आउँथ्यो । यसैको संग्रह थियो उपन्यास । यो नै उहाँको पहिलो प्रकाशित कृति हो ।
हराएका छोराहरु कविता संग्रह, देशको चिना मुक्तक संग्रह, यादका बस्तीहरु गीति संग्रह प्रकाशित छन् । उहाँको एउटा कथा संग्रह र दुई वटा उपन्यास पनि प्रकशोन्मुख अवस्थामा रहेका छन् ।
त्यस्ता ठूला र उल्लेख्य पुरस्कार नभए पनि साना पुरस्कार र सम्मान भने उहाँका धेरै नै छन् । उहाँ कवितामा विम्व र प्रतीकको धेरै प्रयोग गर्नुहुन्छ । शायद त्यसैले उहाँका कवितालाई अलि क्लिष्ट पनि मानिन्छ । उहाँको कविता उत्कृष्ट भएकै कारण दार्जिलिङ र सिक्किममा उहाँको हराएका छोराहरुलाई पाठ्यक्रममा राख्न प्रयास भइरहेको छ ।
उहाँलाई कविता आफ्नो स्वादको हुनुपर्छ भनेर कवि तुलसी दिवसले भनेको सम्झनुहुन्छ । यसले उहाँलाई कविता उत्कृष्ट र पुरस्कृत हुन भन्दा पनि आफ्नो स्वादको लेख्न प्रेरित गरेको छ । यसकारण पनि उहाँ सरल भन्दा पनि जटिल किसिमका कविता लेख्न रुचाउनुहुन्छ । यसकारण उहाँ आफ्नो कविता बुझ्न अलि गाह्रो हुने पनि बताउनुहुन्छ ।
उहाँसँग कहिलेकाहीँ च्याटमा कुरा हुँदा अरु थुप्रै मानिसले उहाँलाई पूर्व वरिष्ठ प्रहरी अधिकृत तथा सर्जक डा.राजुबाबु श्रेष्ठ ठानेपछि उहाँले आफू चाहिँ राजबाबु मात्र भएको धेरैलाई बताउनु परेको छ । यसकारण राजुबाबुसँग नाम जुध्न गएपछि भने उहाँले आफ्नो नाममा 'सागर' थप्नु भएको हो । उहाँले २०७५ सालमा सागर थप्नु भएको हो ।