दसैँ नेपालीको आदर्श सभ्यताको परिचायक: देवताहरू समेत देवी अर्थात् मातृ शक्तिको सुरक्षा शरणमा

फर्कलान् र ती दिनहरु

दसैँ नेपालीको आदर्श सभ्यताको परिचायक: देवताहरू समेत देवी अर्थात् मातृ शक्तिको सुरक्षा शरणमा

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  असोज २२, २०७९

जन्म, जीवन, मृत्यु, भविष्य, पूर्व जन्म, पुनर्जन्मका बारेमा संसारमा सबै दर्शनले आफ्ना आफ्ना बाटा देखाएका छन् तर कसैले पनि न त हिजोको जन्मका बारेमा भन्न सक्छन्, न त भोलिका बारेमा ठ्याक्कै भन्न सक्छन्।  

तर हाम्रा पूर्वीय वाङ्‍मयमा यस्ता कुराहरुको सप्रमाण भनिएको छ । कति प्रमाणित भएका होलान् या कति कुरा अनुभवका आधारमा भनिएका होलान्, सबै अनुसन्धानका विषय हुन सक्छन् । कतिले अनुसन्धान गरिसकेका होलान् या कति अनुसन्धानका लागि ताजा विषय हुन सक्छन् । त्यसो त अठार पुराणको अन्त्यमा व्यासले भनेका रहेछन्- परोपकार पुण्य हो , परपीडन चाहिँ पाप हो । अर्थात् पाप र पुण्यको कति राम्रो परिभाषा । सटिक परिभाषा । अर्थात् श्रुति स्मृति या पुराणमा वर्णित स्वर्ग र नरक यहीँ छ मृत्यु लोकमा । 

स्वर्ग, नरक र मृत्यु लोकमा हामी विचरण गर्नेछौँ । धर्मको सञ्चयले स्वर्ग, पापको संग्रहले नरक र बाँचुन्जेलका लागि मृत्यु लोक अर्थात् पृथ्वीमा । पुराणहरुमा, अझ मुख्यरुपमा गरुड पुराणमा विस्तृतमा नियमका बारेमा नियमनलाई पुष्टि गरिएको छ । सायद बाँचेकाहरूका लागि एउटा अनुशासन पालना गर्न र हिजो अनि भावी जीवनका लागि एउटा कल्पनाको स्वरुप गरुड पुराणमा धेरै उदाहरणहरु दिइएको पाइन्छ । सायद त्यही भएर होला, मृत्यु संस्कारमा १० दिनभन्दा पहिले नै ढिकुरो फुटाउनुभन्दा पहिले नै गरुड पुराण भन्ने र सुनाउने चलन छ । त्यसले जीवनको क्षणभंगूरता, बाँच्दा अपनाउनु पर्ने अनुशासन र मरे पछिको अवस्थालाई इंगित गरेको छ । अर्थात् बाँच्दा पालन गर्नुपर्ने मानवीय जीवनको अनुशासनलाई स्पष्ट रुपमा भनिएको छ, अन्यथा मृत्यु पश्चात् पाइने दण्डका बारेमा सविस्तार वयान गरिएको छ । 

त्यसो त श्रुति स्मृति सबै नै काल्पनिक तर जीवनोपयोगी सामग्रीहरुको संग्रह हो जुन पहिले कण्ठाग्र गरिन्थ्यो र पछि आएर लिखितरुपमा राखियो जसले गर्दा अहिले हामीले पढ्न, भन्न र अर्थ लगाउन पाएका हौँ । रामायण, महाभारत र पुराणहरू काल्पनिक नै हुन् भनेर मान्दा अत्युक्ति हुँदैन ।जस्तो कि रामायणका बारेमा भनिएको छ, रत्ना करमा आएको ज्ञानको धाराको पछिल्तिरको कारण थियो, रामको उल्टो तरिकाले भनिएको मरा शब्द जुन बारम्बार दोहोरिएर राम राम राम भएको थियो र रत्नाकरमा तपस्यापछिको ज्ञानप्राप्ति थियो ।

अनि वाल्मीकिको अवतारमा उनले अन्तरात्माको पुकारमा एउटा कल्पना गरे जुन छिटै सम्भावना थियो रामा वतार । रामको अवतार हुनेछ र राक्षस संस्कृतिबाट दग्ध भएको , अनुशासनहीन समाजमा अनुशासनको पालना गराउन उनले सक्नेछन् , एउटा आदर्श पुत्र, आदर्श पति, आदर्श पिता र आदर्श राजाको परिकल्पनामा रामायण लेखिएको रहेछ । वनमा लवकुशले गाउने रामजीवनीले त्यही भन्छ र तिनै लवकुशको गायनले संसारमा रामायणको प्रचार भएको मानिन्छ । त्यसो त लव कुशको उत्पतिमा पनि धेरै कथाहरु भनिन्छन् ।  यसको अर्थ हो, रामायणका पनि धेरै संस्करणहरुको कल्पना गरिएको रहेछ । चक्रवर्ती राजा पुरुको शासनकालमा पूर्वीय दर्शनले पूर्वी एसियामा प्रभाव जमाएको र आजसम्म पनि त्यसको प्रभावले सांस्कृतिक रुप लिएको पाइन्छ । हामीले आफ्नो धर्मको के रक्षा गरेका छौ र ?

हामीले संस्कृत वाङ्‍मयको के सुरक्षा, सम्मान र रक्षा गरेका छौँ र ? जति आजभोलि पनि इन्डोनेसिया, फिलिपिन्स, कम्बोडिया, सियाम देश, चीन, कोरिया, जापानमा गरिएको छ आफ्नै पारामा । आफ्नै संस्कृतिको रुपमा विकास गरिएकोले हामीले नेपाली, भारतीय संस्कृतिमात्र नभनेर मानव संस्कृतिको रुपमा विकास गरिएको पाइन्छ । संस्कृत वाङ्‍मयको बारेमा पश्चिमा देशहरुले पूर्वीय ज्ञानको श्रोत र सभ्यताको रहस्योद्घाटनका लागि, हिजोको बेलामा गरिएको खगोल विज्ञान, आरोग्य विज्ञान र कृषि विज्ञानका बारेमा जानकारी लिन र त्यसै बमोजिमको नयाँ विकासक्रम पत्ता लगाउन उद्यत भएको प्रमाण हो विश्वविद्यालयहरुमा संस्कृत विभाग खडा गर्दै वेद, उपनिषद , पुराण, महाभारत, रामायण, स्वस्थानीका बारेमा अनुवाद गरेर अध्ययन गर्न गराउन थाल्नु ।

खासगरी नेपालको सभ्यता र भारतको सभ्यतामा केही मूलभूत अन्तर देखिएकाले नेपालको अनुसन्धानमा र नेपालको हिमाली संस्कृतिका बारेमा बढी नै जानकारी राख्ने जिज्ञासा देखिन्छ पश्चिमा र पूर्वीय अनुसन्धानका पाटोमा आजकाल । 

यसैक्रममा दसैँ साँच्चै नै नेपालको अनुपम सभ्यताको रुपमा देखिएको छ । संसारभर नेपाली संस्कृति, नेपाली कला, नेपाली खाना र नेपाली चाडबाडका बारेमा पुरानो सभ्यताको र नयाँ सभ्यताको जोड भेटिएको धारणा पाइन्छ। खोइ किन हो, नेपालभित्र नेपाली संस्कृतिको अवमूल्यन हुन थालेको तर विश्वभर छरिएका नेपाली मूलका विदेशीहरुले समेत त्यो संस्कृतिलाई अझ संसारभर विस्तार गरेको पाइन्छ, त्यसको अनुपम उदाहरण भनेको दसैँ र  तिहार हो । 

अझ दसैंमा गरिने देवी आराधना, त्यो पनि प्रत्येक घरमा बेग्लाबेग्लै तर एकै प्रकारको पूजा आराधना गरिने, जमरा राखिने, दसौँ दिनमा विजया दशमीको रुपमा महान चाड भन्दै मान्यवरसँग आशीर्वाद माग्ने चलन आफैँमा एउटा अनुशासन, नैतिकता र आपसी मेलमिलापको दर्शनको उदाहरणीय, प्रायोगिक चालचलन थियो, छ र रहने छ ।

समाज शास्त्रीय अध्ययनले भन्दो रहेछ- मानव जातिमा जतिसुकै परिवर्तन आओस्, जहाँबाट जहाँ पुगोस् तर आफ्नो पन नछोड्ने गुण हुने रहेछ । नोबेल पुरस्कार विजेता बेलायती नागरिक भएर पनि भी एस नयपाले आफू पाल्पाको नेपाल थरको नेपाली हुँ भन्ने कहिल्यै बिर्सेनन् जव कि उनले पहिचानको बारेमा सायद त्यही भएर नेपालबाट भारत, भारतबाट टोबागो त्रिनिदाद हुँदै बेलायतको यात्रा परिवारहरूले गर्दै गरेको तर आफूमा नेपालीपन बाँकी रहेको जस्तो विचार व्यक्त गरेको बुझिन्छ ।

उनका विश्वचर्चित उपन्यासहरू र अन्य निबन्धहरूमा पहिचानको संकटलाई पात्रहरु मार्फत् व्यक्त गरिरहन्छन् । अझ नेपालबाट सय्यौं वर्ष पहिले थाइल्यान्ड, म्यान्मार, भारतमा रहेका नेपाली मूलका, अब त बेलायतमा रहेका, सिंगापुरमा रहेका, मलेसियामा रहेका , हंङकंङमा रहेका या अन्य देशमा छरिएर रहेका, उतै का नागरिक भएर र हिन्दू धर्मबाहेक अन्य धर्म लिएकाहरु समेतलाई आफू नेपाली भएकोमा गर्व र आफ्नो गौरवको संस्कृति भनेको दसैँ र तिहार र आफ्नो आफ्नो पूर्वजहरुको संस्कृति प्रतिको माया ममता, भाषाप्र तिको आदर देखाउने गरेको मलाई अनुभव छ किनभने केही समय यस्तो महान चाडमा मैले विदेशमा रहेका नेपालीहरुसँग मनाएको छु । उनीहरु आफूलाई इसाई धर्मको मान्दा पनि , या नेपालमा रहेका अन्य धर्मका अनुयायीले पनि नेपालको राष्ट्रिय चाड कुन हो भन्दा विना हिचकिचाहट दसैँ भनेको सुनेको छु ।

जुन बेलामा सभ्यताको चरम विकास भएको रहेछ, सभ्यता कसरी जोगाउने या भत्काएर नयाँ संस्कृतिको, रक्ष संस्कृतिको विकास गर्ने भन्ने विवादको भुमरीमा आर्यावर्त परेको देखिन्छ यो इतिहासले, मार्कण्डेय पुराणले वर्णन गरेको इतिहासले जसको कारणले दुर्गा आराधना गरियो र आजको नेपाली दसैंको सुरुवात भयो पर्वतको संस्कृति र  सभ्यताको जगेर्ना गर्न । 

यसको कारण हो नेपालको समतामूलक समाजको परिचय । रत्नपार्कको बिचमा मस्जिदहरू छन् या अनेक चर्चहरूको नामावली घरघरमा हुँदा पनि नेपालमा धार्मिक सहिष्णुता छ । मलाई कहिलेकाहीँ लाग्छ, साउदी अरब या कतारमा या खाडीका देशहरुमा त्यहाँ रहेका हिन्दू या इसाईहरूले आफ्ना आफ्ना मन्दिर या चर्च बनाउन पाउलान् ? धर्ममा जहिले पनि सहिष्णुता हुनुपर्छ भनिएको छ, अधर्मको नाश हुन्छ भनिएको छ र कुनै पनि धर्मले पाप र धर्मको एउटा सीमा रेखा तयार गरेको छ । सबैले भन्ने मानव सेवा नै धर्म हो, प्राणी मात्रको सेवाले नै धर्म हुन्छ , प्राणीहरूमा गरिने भेदभाव, हिंसा र ज्यादती नै पाप हो भनिएको छ । 

दसैंको कथा बेग्लै छैन । तर देवीको आराधनासँग, असत्यसँग लड्ने देवीको नाममा नौ दिनसम्म आराधना गरेर, त्यसको फलिफापका लागि दसौँ दिनमा विजयको कामना गरेर कार्यारम्भ गर्ने कुराले नेपालमा देवी पूजा हुन लागेको हुनुपर्छ किनभने देवी नेपालकै हिमालयकी छोरी थिइन् पर्वतकी छोरी पार्वती । कुनै पनि साहित्यले त्यसबेलाको इतिहास, चलन, संस्कृति र सभ्यताको परिचय दिन्छ । जस्तो कि आजभोलि सृजित काब्य, कथा, तथा निबन्धहरुमा कोरोनाले प्रवेश गर्नेछ किनभने करिब २वर्षसम्म समाजलाई, संसारभरका वैज्ञानिकहरुलाई चुनौती खडा गर्‍यो ।

समाजलाई अचिन्त्य पीडामा घरमै थुपारेर राख्यो र लाखौँ मानिसहरुको त्यसबाट निधन भयो । जुन ओखती त आयो, तर त्यसले आफ्नो चक्र पूरा नगरी तत्कालका लागि बचाउने काम गर्‍यो । भन्न खोजेको के भने कुनै पनि साहित्यले इतिहासको काम गर्छ । त्यसैले महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए- साहित्य समाज चियाउने आँखीझ्याल हो । 

नेपाली दसैंको सभ्यता भनेको खासमा पहाडी सभ्यता हो रहेछ जसले संसारभर देवी संस्कृतिकाकै रुपमा प्रभाव जमाएको छ । यसको अनुसन्धान निष्पक्ष रुपमा हुनुपर्छ किनभने एउटै देवीको बारेमा गरिएको आराधना र आराधनाको परिणामको एउटै वरदानका रुपमा मान्दा मान्दै पनि त्यसैले मैदानी सभ्यतामा पुग्दा अर्कै चलनको रुपमा विकसित भएको देखिन्छ । 

वैदिक कालमा धर्मलाई धारण गर्ने जीवन पद्धतिको रुपमा अर्थ्याइएको थियो र त्यस्तै मान्यता दिइएको थियो । नेपालका प्रत्येक जिल्लामा पौराणिक आधारमा नाम,संस्कृति र आराधनाका इतिहास रचिएका छन् । तिनको अनुसन्धान आवश्यक छ नै । अनि दसैंमा देवीको आराधना गरिँदा पढिने सप्तशती चण्डी मार्कण्डेय पुराणबाट निकालिएको देवी, जुन देवी पर्वतकी छोरी हुन्, जसले त्योबेलामा स्वर्गसमेत जितेर रजगज गर्ने असुरहरूलाई वध गरेर सामान्य जनताको जीवन बचाएको मानिन्छ । देवताहरू असुरबाट सुरक्षा प्राप्त गर्न तिनै देवी अर्थात् मातृ शक्तिको सुरक्षा छाता ओडेको देखिन्छ । 

१३ अध्यायमा वितरित देवी माहात्म्यलाई सायद मार्कण्डेयले भनेको भनेर, मेधा ऋषिले राजा सुरथ र समाधि नामक वैश्यको कथा मार्फत् व्यासले हामीलाई सुम्पिएका रहेछन् । चण्डीको पाँचौँ अध्यायमा एउटा प्रसङ्गमा देवीले शुम्भ असुरका असुर दूतलाई भन्छिन्- धेरै मलाई डर नदेखा तेरा राजाको, जसले मलाई जित्छ, म उसै कि दासी अर्थात् पत्नी हुनेछु । देवीले भनेकी छिन्  :
यो मां जयति संग्रामे यो मे दर्पं व्यपोहति।यो मे प्रतिबलो लोके सा मे भर्ता भविष्यति ।।
तदागच्छतु शुम्भोत्र निशुम्भो वा महासुर ः। मां जित्वा किं चिरेणात्र पाणिं गृह्वातु मे लघु ।।

(अर्थ—जो मलाई संग्राममा जित्ला, जो मेरो अभिमानलाई धुलो पार्ला र संसारमा जो म समान बलियो योद्धा होला, उही मेरो स्वामी हुनेछ । यसै निम्ति शुम्भ अथवा महादैत्य नि शुम्भ आफैँ आई मलाई जितेर शीघ्र मेरो हात माग्न आऊन् वा पाणि ग्रहण गर्न आऊन् या विवाह गरुन् यसमा विलम्बको के आवश्यकता छ र ? )।

यो एउटा जीवित इतिहास हो । पार्वती स्वयं पर्वत सभ्यताकी प्रतीक हुन् र उनैले त्यो बेलाका निरंकुश , अत्याचारी र दुराचारी शासकहरूबाट आम जनतालाई सहित स्वर्गका शासक इन्द्र तथा देवताहरुको रक्षा गरेकी रहिछन् । नारी शक्तिप्रतिको आड भरोसा र त्यसबेलाको संस्कृतिलाई कति राम्रोसँग कविता मय भाषामा व्यक्त गरिएको देखिन्छ । 

आफ्ना कल्पनाका आधारमा तर उनका विचारमा सत्य घटनामा आधिकारिक जय नामक ग्रन्थ जसलाई पछि गएर महाभारत भनियो र महाभारतका रचयिता र पुराणहरूका रचयिता स्वयं श्रीकृष्णद्वैपायनव्यास थिए जसलाई हामीले अट्ठाइसौँ व्यासको रुपमा मानेका छौँ र उनैका कण्ठबाट निसृत कविताका स्वरलाई श्री गणेशले लिपिबद्ध गरेका मानिएको छ ।

साँच्चै भन्ने हो भने देवीको सम्मानले कुनै धर्मको भन्दा पनि त्यो बेलाको, हजारौँ वर्ष पहिले  जुन बेलामा सभ्यताको चरम विकास भएको रहेछ, सभ्यता कसरी जोगाउने या भत्काएर नयाँ संस्कृतिको, रक्ष संस्कृतिको विकास गर्ने भन्ने विवादको भुमरीमा आर्यावर्त परेको देखिन्छ यो इतिहासले, मार्कण्डेय पुराणले वर्णन गरेको इतिहासले जसको कारणले दुर्गा आराधना गरियो र आजको नेपाली दसैंको सुरुवात भयो पर्वतको संस्कृति र  सभ्यताको जगेर्ना गर्न । 

प्रत्येक देशमा देवीको आराधना बेग्लाबेग्लै, प्रकृतिको पूजा र विभिन्न उत्पत्तिको आधारका रुपमा नारी शक्तिको कुरा आउँछ । लाग्छ, ती सबैको आधार भनेको वेद हुनुपर्छ र देवीको आराधनाले नारी शक्तिको असीमित क्षमतालाई विभिन्न पुराणमार्फत व्यक्त गरिएको हुनुपर्छ । 

दसैँ त्यसैले नेपालीहरुको मौलिक चाड र पर्व दुवै हो । धर्मको हिसाबले माने पनि , सभ्यताको हिसाबले माने पनि, संस्कृतिको हिसाबले माने पनि र प्राग ऐतिहासिक नृशास्त्रको आधुनिक संस्करण माने पनि । क्रमशः