दसैँ सकियो कर्मचारीलाई सकिएन:  अधिकांश सरकारी कार्यालय सुनसान

दसैँ सकियो कर्मचारीलाई सकिएन:  अधिकांश सरकारी कार्यालय सुनसान

लोकसंवाद संवाददाता  |  समाचार  |  असोज २५, २०७९

सिन्धुली । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सरकारी कार्यालयको आकस्मिक निरीक्षण गरेको छ । 

दसैँको बिदापछि खुलेका कार्यालयमा कर्मचारी तोकिएको पोशाकमा समयमै आइपुगे/नपुगेको यकिन गरी सेवा प्रवाहमा रहेका समस्याका बारेमा जानकारी लिन सोमबार आकस्मिक निरीक्षण गरिएको प्रशासकीय अधिकृत प्रनिसा घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार निरीक्षणका क्रममा दसैँ बिदा सकिए पनि कर्मचारी कार्यालयमा नआएको पाइएको छ । विभिन्न १०  कार्यालयमा सात कार्यालय प्रमुखसहित ४९ कर्मचारी अनुपस्थित रहेको पाइएको उहाँले बताउनुभयो । त्यस्तै तीन जना ढिला आइपुगेको र १३ कर्मचारीले तोकिएको पोशाक नलगाएको पाइएको उहाँले जानकारी दिनुभयो ।

सरकारी नियमविपरीत चलिरहेका कार्यालय प्रमुख तथा कर्मचारीलाई छलफल गरेर आवश्यकतानुसारको कारबाही गर्ने निर्णय भएको उहाँको भनाइ छ । बिहान १० बजेदेखि तीनवटा टोली बनाएर जिल्लाका विभिन्न कार्यालयमा पुगेको टोलीले दसैँ बिदापछि कार्यालय खुलेको दोस्रो दिन भए पनि केही कार्यालय सुनसान रहेको जनाइएको छ ।

सरकारले दसैँ बिदा यही असोज १६ फूलपातीका दिनदेखि २३ गतेसम्म मात्र दिएको थियो । कार्यालय खुलेको पहिलो दिन जिल्ला निर्वाचन कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाहेकका अधिकांश सरकारी कार्यालय सुनसान थिए ।