आशिष पौडेल | अन्तर्मन्थन | असोज २९, २०७९
उहाँको बुवा आमा खेती किसानी गर्नुहुन्थ्यो । परिवारको आर्थिक स्थिति राम्रो थिएन । उहाँ जन्मेको ३ वर्षमा आमाको निधन भएपछि उहाँको पालन पोषण बुवाबाट नै भयो । सन्तानका रुपमा भने उहाँ कान्छो छोरा हुनुहुन्छ । उहाँको एक जना दाइ तथा दिदीमा दिदीको भने झण्डै दश वर्ष अगाडि निधन भयो ।
उहाँको जन्म २०२९ सालको फागनु महिनामा धादिङको त्यस बेलाको धुस्या गाविसको स्यादुलमा भएको हो । आमाको निधनपछि बुवाले राति १२ बजे भए पनि जंगलबाट घाँस दाउरा गरेर आएर पकाएर ख्वाउनु हुन्थ्यो । उहाँहरु भने त्यस बेलासम्म भुइँमा नै सुतिसकेको हुनुहुन्थ्यो । आमा नभएका कारण घर लिपपोतदेखि खाना बनाउने अनि जंगलमा घाँस पातसम्मको जिम्मेवारी पनि बुवाको नै टाउकोमा पर्ने नै भयो । बिहानै खाना बनाएर तयार गरेर छोराछोरीलाई स्कूल पठाउने दायित्व पनि बुवाकै थियो ।
०००
घरमा केही कखरा सिकेपछि उहाँ प्रारम्भिक शिक्षाका लागि भने उहाँ धादिङको स्यादुलमा रहेको पञ्चकन्या प्राविमा जानुभयो । पञ्चकन्यामा उहाँले सात कक्षासम्मको अध्ययन गर्नुभयो । त्यस बेला एउटा कक्षामा २५/३० जना विद्यार्थी हुन्थे ।छात्राहरुको सहभागिता ज्यादै न्यून थियो झण्डै ५/६ जना । राम्रो परिवार र पढाउनु पर्छ भनेर बुझेका मान्छेले मात्र छोरीलाई पढाउने गर्थे ।
उहाँ पढाइमा भने अब्बल हुनुहुन्थ्यो । उहाँ कहिल्यै दोस्रो हुनुभएन । बस्नलाई बेन्चसम्म थियो । तर, किताब राख्नका लागि डेस्क थिएन । किताब, कापी किन्ने पैसा हुँदैनथ्यो । बाउकै मुख ताक्नु पर्थ्यो । तर, त्यसका लागि बाउसँग पनि त हुनुपर्यो । समस्या यहीँनेर थियो ।
उहाँको स्कूलसँगै एउटा डेरी थियो । दूध बजारमा लैजानका लागि ८/९ घण्टा हिँड्नु पर्थ्यो । अनि ती दूध लिएर आउने मानिसहरुलाई चुरोट ल्याउन लगाएर त्यो चुरोटलाई बेचेर त्यही नाफाबाट उहाँले कापी, किताब किन्ने गर्नुहुन्थ्यो ।
पछि भने सुन्तला टिपेर उहाँले आफ्नो कापी, किताबको खर्च जुटाउन थाल्नुभयो । एक घण्टा सुन्तला टिपेको एक रुपैयाँ थियो ज्याला ।
सात कक्षापछि भने उहाँ पढ्नका लागि चितवनको सर्वशान्तिमा जानु भयो । सर्वशान्ति स्कूलमा तीन वर्ष पढेर उहाँ चितवनको चितवन हाइस्कुलमा जानुभयो । जहाँ बाट उहाँले आफ्नो स्कुले शिक्षा पूरा गर्नु भएको हो ।
पहिले उहाँ पढ्नका लागि उहाँ ठूली फुपू कहाँ बस्नुभयो । त्यहाँ त्यति राम्रो व्यवहार नगरेको थाहा पाएपछि बुवाले उहाँलाई काँइली फुपूकहाँ लगेर राख्नुभयो । त्यहाँ पनि फुपाजुले उहाँले खाएको हिसाब यति भयो भनेपछि उहाँले खाएको भन्दा केही बढी नै हिसाब गरेर बुवाले बुझाएपछि भने उहाँ पछि कोठा लिएर भाडामा बस्न थाल्नु भयो । दुई/दुई हप्तामा घर आउँदा पैसा नभएर ट्रकमा झुण्डिएर आउँदा भाडा मागेर ड्राइभरले गाली गरेका त कैयौँ छन् छन् ।
उहाँको आफ्नो पढाइ खर्च भने उहाँ ट्युसन पढाएर जुटाउनु हुन्थ्यो । उहाँले आफू पढ्दै गरेका हरेक कक्षालाई ट्युसन पढाउनु भएको छ । अझ दश कक्षामा त उहाँले एसएलसीलाई नै ट्युसन पढाउनु हुन्थ्यो । दश कक्षामा पढ्दा त उहाँको शिक्षकभन्दा धेरै उहाँसँग ट्युसन पढ्ने विद्यार्थी हुन्थे ।
पैसाका हिसाबले उहाँले एक जना विद्यार्थीसँग पचास, सय रुपैयाँ लिए पनि संख्या धेरै भएका कारण रकम अलि धेरै भयो र करिब दश हजार रुपैयाँ उहाँले बुवालाई ल्याएर दिनु समेत भएको छ ।
पढाउने शिक्षकहरु कडा थिए । लट्ठी ल्याएर कक्षामा आएर पिट्ने चलन थियो । सरहरूले कतिपय अवस्थामा पढाउँदै गर्दा छोडेर ए सानुबाबु तिमीले पढाऊ है भनेर छोडेर गएका पनि उदाहरण प्रशस्तै छन् ।
स्कूलमा त्यस बेला हुने अतिरिक्त क्रियाकलाप कविता, निबन्ध, हाजिर जवाफ आदि कुनैमा पनि उहाँ दोस्रो भएको रेकर्ड छैन । खेलकुदमा पनि उहाँको त्यत्तिकै रुचि थियो ।
उहाँले २०४७ सालमा एसएलसी दिनु भएको हो । उहाँको ब्याचका झण्डै ३०/३५ जना थिए । त्यसमा झण्डै १५/१६ जना पास भएकोमा उहाँको मात्र प्रथम श्रेणी आएको हो ।
०००
एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि उहाँ वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा विज्ञान संकायको भौतिक शास्त्रमा भर्ना हुनुभयो । तर, काठमाण्डौ पढ्नु पर्छ भन्ने लागेको हुनाले उहाँ काठमाण्डौ आउनु भयो । पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ओभरसियर नाम पनि निस्कियो तर खर्चका कारण उहाँ पढ्न सक्नु भएन । अनि पाटन क्याम्पसमा भने भौतिक शास्त्र विज्ञान विषय र रत्नराज्य कलेजमा मानविकी पढ्न थाल्नुभयो । मानविकीमा भने उहाँको अर्थशास्त्र र मनोविज्ञान थियो । विज्ञान अन्तर्गत भौतिक शास्त्रमा आइएस्सी गरेपछि उहाँले त्रिचन्द्रमा ऐच्छिक गणित, अर्थशास्त्र र मनोविज्ञान लिएर बिएमा भर्ना हुनुभयो ।
अब पढ्नलाई पैसा पनि चाहियो के गर्ने भनेर सोच्दै गरेको बेला साथीहरुले पत्रकारिता गर्नु पर्छ भनेर सुझाए । उहाँले त्यसपछि रामचन्द्र न्यौपाने सम्पादक रहेको आरती साप्ताहिकमा काम गर्न थाल्नुभयो । आरती साप्ताहिकपछि भने उहाँले राष्ट्रवाणीमा काम गर्नुभयाे । अहिले त पत्रकारितामा तलब नपाएर धर्ना बस्नु परेको अवस्था छ भने त्यो बेला झन कस्तो होला । कल्पना गर्न सकिन्छ । दुई/तीन महिना सिने पत्रकारिता शुरु गरेपछि यसले पार लाग्दैन भन्ने उहाँलाई लाग्यो ।
अनि त्यसपछि २०५० सालमा उहाँले राजनीतिक पत्रकारिता शुरु गर्नुभयो । त्यसै वर्ष उहाँको विवाह पनि भयो । जागिर नहुनु, बिहे हुनु, पैसा नहुनु, पढाइ पनि पूरा नहुँदाको अवस्थाले उहाँलाई एकदमै अप्ठ्यारो पर्याे ।
पहिलो पटक उहाँले पत्रकारितामार्फत पैसा पाएर सुन्धारामा छोरीलाई लुगा किनिदिएर दशैँमा घर जानुभयो । त्यो बेलाको उत्साह उहाँको मुहारमा अझै झल्किन्छ । अहिले पनि अमेरिकामा रहेको डाक्टर रहेकी उहाँको छोरीलाई यो कुरा सम्झाउनुहुन्छ । उहाँको छोरा अहिले एमआटीमा पिएचडी गर्दै हुनुहुन्छ ।
जनज्योति, जनसत्तामा काम गर्ने क्रममा उहाँले पिपल्स रिभ्यू अंग्रेजी पत्रिकामा पनि काम गर्नुभयो । त्यतिन्जेल उहाँले बिए पास गरिसक्नु भएको थियो । एमए भने उहाँले अर्थशास्त्र र मनोविज्ञानमा गर्नु भएको हो । उहाँले जन प्रशासनमा पनि एमए गर्न खोज्नु भएको थियो । तर, आफूले पहिले ट्युसन पढाएको विद्यार्थी त्यहाँ पढाउँदै गरेको देखेर उहाँले जन प्रशासनमा एमए गर्ने चाहनालाई त्यसै छोड्नु भयो । पछि यो कुरा उहाँले त्यो साथीलाई पनि भन्नुभयो ।
विज्ञानको विद्यार्थी भएको नाताले पछि भने उहाँ वातावरण पत्रकारितातर्फ लाग्नुभयो । उहाँले वातावरण पत्रकार समाज (सेज नेपाल) भन्ने संस्था पनि गठन गर्नुभयो । त्यही संस्थामार्फत उहाँले मेचीदेखि महाकालीसम्म झण्डै आठ हजार पत्रकारलाई प्रशिक्षण पनि दिनु भएको छ । त्यसपछि उहाँ वातावरण मन्त्रालयमा सञ्चार सल्लाहकार हुनुभयो मन्त्री भक्तबहादुर बलायरको पालोमा । मन्त्री शरदसिंह भण्डारीको पालामा स्वास्थ्य मन्त्रालयमा पनि उहाँ सञ्चार सल्लाहकार हुनुभयो । २०५७ सालमा वातावरण पत्रकारितामार्फत वातावरण संरक्षणमा सहयोग गरे वापत उहाँलाई त्यस बेलाको त्यसबेलको श्री ५ को सरकारले राष्ट्रिय पुरस्कार पनि दिएको छ ।
यसै क्रममा उहाँ पत्रकारितातिर पनि पत्रकार महासंघको चुनावमा सभापतिको उम्मेदवार बन्न खोज्नुभयो । त्यस बेला विष्णु निष्ठुरीलाई छोड्देउ भनेर छोड्नु भयो । पछि उप–सभापतिदेखि महासचिवसम्मका कुरा भए । अनि उहाँले पत्रकार महासंघ भन्ने जिनिस नै छोड्नु भयो ।
यसै क्रममा उहाँ विदेशमा तालिम तथा गोष्ठीहरूमा भाग लिन जान थाल्नुभयो । हुनत यस अघि पनि उहाँ धेरै पटक अमेरिका नजानु भएको होइन । सन् २००५ मा उहाँ तालिमको लागि फेरि अमेरिका जानुभयो । अनि तालिम सकाएर नेपाल फर्कने बेलामा एक जना साथीले न्युयोर्क घुम्न जाउँ उतैबाट नेपाल जाउँला भन्ने प्रस्ताव राखे । उहाँ पनि साथीको प्रस्ताव मानेर न्युयोर्क जानुभयो ।
चरम दुःख भोगेर अहिले चरम सुखको अवस्थामा पनि उहाँलाई आफ्नो धरातल राम्रो याद छ । लेखन मार्फत पनि उहाँ अरुलाई पनि धरातल सम्झाइरहनु हुन्छ । हिजो न्यूनतम आवश्यक्ता पूरा गर्न नसकेको मान्छे आज संसारको जुन कुनामा गए पनि आरामदायी जीवन बिताउने हैसियत बनाइसक्दा पनि धरातल भने स्मरणमा नै छ उहाँको । उहाँ आफूले हिजो भोगेको दुःख र अहिले भोग्दै गरेको सुख दुवै अस्थायी भएका कारण पनि यसमा घमण्ड गर्नुपर्ने कारण नरहेको अध्यात्म चेतको कुरा पनि गर्नुहुन्छ ।
यसो बेलुका बसेर खानपिनको क्रममा साथीले यतै बसे भइगो नि भन्ने कुरा भयो । उहाँको परिवारको चाहना पनि केटाकेटी पढाउनु छ, दुःख छ उतै बसे हुन्थ्यो भन्ने भयो । तर, उहाँले भने कुनै ठोस निर्णय गर्न सकिरहनु भएको थिएन । तर, भोलिपल्ट बिहान उहाँको साथीले ल काममा जाउँ भनेर लिएर हिँडे । तर, काममा जाँदा हातमा भुइँ पुछ्ने मब थमाएपछि उहाँको आँखाबाट बरबर आँसु झर्यो । अनि बाथरुममा गएर आँसु पुछेर आएर उहाँले साथीलाई म यस्तो काम गरेर बस्दिन जान्छु भन्नु भयो ।
अनि फेरि फर्केर बेलुका बसेर साथीहरुसँग बसेर खानपिनपछि फेरि साथीहरुले बस् भनेर कर गरे । कामको सिलसिलामा उहाँ न्यु जर्सी पुग्नुभयो । त्यहाँ उहाँलाई काम गर्न पनि मन लागेन । कागजपत्र केही थिएन । भिसा सकिने बेला भएको थियो । पैसा पनि थिएन । मोबाइल पनि थिएन । उहाँसँग त्यस बेला भएको भनेको दुई वटा ठूलो झोला र एउटा सानो झोला गरेर ३ थान झोला र जे जे भएपनि ठूलै भारीको आत्मविश्वास भने थियो ।
यसै क्रममा उहाँले युनियन स्क्वायरमा दुई रात बिताउनु भयो तर, कोही साथी कहाँ पनि जानु भएन । त्यसपछि उहाँले कानूनी कागजात बनाउनु भयो । बस्ने ठाउँ बनाउनु भयो । त्यो बेला अमेरिकामा इन्टरनेट किन्नुपर्ने थियो । उहाँको साथमा दश डलर थियो । पाँच डलरको इन्टरनेट किन्नुभयो । अनलाइनमा खोज्दै जाँदा नर्थ क्यारोलाइनामा एउटा कामको अवसर रहेछ । उहाँले इमेल पठाउनु भयो । इमेलमा मोबाइल नम्बर मागेपछि उहाँले साथीको नम्बर दिनुभयो । कम्पनीले फोन त गरेको रहेछ तर, साथीले खबर गरिदिएनन् । उहाँले इमेलमार्फत नै यो कुराको जानकारी पाउनु भयो । र, फेरि अर्को साथीको नम्बर दिनुभयो । अर्को साथीले भने उहाँलाई खबर गरे । र उहाँलाई कानुनी कागजात, अंग्रेजी बोल्न सक्ने, लेख्न सक्ने आदि कुराका बारेमा सोधे । उहाँले आफूसँग कागजात पनि भएको र अंग्रेजी बोल्न र लेख्न पनि सक्ने बताउनु भयो । त्यसो भए काममा आउन भनियो । त्यस बेला उहाँसँग ८० डलर थियो । ७०/७५ डलरको टिकट काटेर इन्टरनेट समेत किन्दा उहाँसँग थ्री क्वार्टर बाँकी थियो ।
बस स्टेशनसम्म हिँडेर गएर बसमा चढेर भर्जिनियामा गएर बस फेर्ने बेलामा भोक लाग्यो । डेढ दिनदेखि केही खाएको थिएन । चिेकेन स्याण्डवीच खान खोज्दा एक डलर भनेपछि खाने सपना पनि यत्तिकै भयो । कम्पनीको मान्छे लिन आए । भोलिपल्ट अफिस जानका लागि लुगा थिएन । लुगा धोएर सुकाउनुका लागि भनेर हाल्दा बल्बमा परेर लुगा पनि प्वाल पर्यो । अनि पुरानो लुगा लगाएरै जानु भयो काममा । भोक लागेर खान खोज्दा एक जना भारतीयले योसँग पैसा छैन भन्ने थाहा पाएर खान दिए । अनि कम्पनीको मेनेजरलाई मसँग त पैसा पनि छैन भनेर तीनसय डलर अग्रिम पेश्की माग्नु भयो । त्यसपछि त्यही तीन सय डलरले वालमार्टमा गएर चामल किनेर ल्याएर भात पकाएर खानु भयो । यसरी काम परिवर्तन गर्दै विभिन्न काममा संलग्न हुनुभयो ।
यसरी काम गर्दै अगाडि बढ्ने क्रममा आफूसँग भएको केही पैसा र साहुसँग लिएको केही पैसाले उहाँले सानो व्यवसाय शुरु गर्नुभयो । यसरी व्यवसाय शुरु गर्दै, किन्दै बेच्दै गर्ने क्रम चलिरह्यो र अहिले अमेरिकामा उहाँको झण्डै एक सय सत्तरी मिलियन बराबरको लगानी रहेको छ । जसमा रियल स्टेट, ग्यास स्टेशन, रेष्टुरेण्ट, कमर्सीयल प्रपर्टी आदिमा लगानी रहेको छ ।
०००
सानोमा आमा बितेको हुँदा एउटा पुरुषले हुर्काएको बाल्यकाल सम्झँदा अहिले पनि उहाँ भावुक हुनुहुन्छ । बिहान खाना खान दिएर बुवा जंगलमा घाँस दाउराका लागि गएपछि कुन बेला आउने ठेगान हुन्नथ्यो । अनि स्कूलबाट आउँदा भोकले पेटमा मुसा दगुर्थ्यो । सँगै स्कूल गएर आएका साथीभाइ अनि ठूलो बाउ काका बाउका छोराहरूसँग सँगै खेल्दा चोखे लाग्छ भनेर उहाँलाई छलेर लगेर कुनामा आफ्ना छोराछोरीलाई खुवाउँथे । त्यो कुराले त्यस बेला मनमा चोट परे पनि अहिले त्यही कुराले संघर्ष गर्न सिकाएकोमा उहाँका ती पात्रप्रति कुनै गुनासो छैन । बरु धन्यवाद ज्ञापन गर्न चाहनुहुन्छ ।
उहाँको बुवालाई भने कहिलेकाहीँ यो दृष्यले पीडा पनि दिन्थ्यो । यो सबै देख्दा उहाँको मनमा बिहान बेलुका त मैले भात पकाएर खुवाइ हाल्थेँ दिउँसोका खाजा यिनीहरुले आफ्ना केटाकेटीसँगै यिनीहरुलाई पनि दिँदा यिनीहरुको पनि जाँदैनथ्यो भन्ने लाग्थ्यो पनि ।
अब गाउँमा खेती किसानी गरेर हुर्किएको हुँदा असार, साउन तथा अरु खेतीका बेला मौसम अनुसारका काम गर्नुपथ्र्यो । असारमा खेत खन्ने, बाउसे गर्ने गोड्ने देखि मकैका बेला खन्ने, खोस्रने, पानी लाउने, गहुँ काट्ने, चुट्ने सबै गर्नुपथ्र्यो । घाँस, दाउरा पनि छँदै थियो । किसानको छोराले उमेरको हिसाबमा थेग्न सक्ने काम सबै गर्नुभयो ।
उहाँका खुट्टामा चप्पल हुँदैनथे भने गरिबीका कारण नुहाउने साबुन थिएन । साबुनको साटो पिनाले नुहाउनु पर्थ्यो । पानी लिन घरबाट दुई घण्टा तल जानुपर्थ्यो । गाउँमा सुन्तला तथा फलफूल खेती भने प्रशस्त हुन्थ्यो । अहिले भने गाउँमा मान्छे तथा सुन्तला दुवै छैनन् ।
०००
उहाँले अमेरिकामा रहेका नेपालीलाई पनि आफू जस्तै व्यवसायी बनाउनु पर्छ भनेर ‘आफ्नो साहू आफैँ बनौँ, आफ्नो पे चेक आफैँ काटौँ र फाइनान्सियल फ्रिडमका निम्ति साना व्यवसाय गरौँ’ भन्ने एउटा अभियान पनि लिएर आउनु भएको थियोे । अहिले पनि दशौं हजार नेपाली यो अभियानमा छन् ।
अहिले पनि उहाँले व्यवसायिक ज्ञान मात्र नभएर उनीहरुको बीउ पूँजीलाई प्रयोग मात्र नभएर कहाँ कहाँ अवसर छ र भएको ज्ञानलाई अमेरिकामा कसरी सदुपयोग गर्ने भनेर सिकाउने गर्नु भएको छ ।
यति मात्र नभएर अमेरिकामा घरेलु हिंसामा परेका नेपाली दाजुभाइ दिदी बहिनीलगायत आर्थिक रुपमा ठगिएका, शोषित, पीडित अनि श्रमबाट ठगिएका शोषितहरुलाई समेत सहयोग गर्दै आइरहनु भएको छ । अमेरिकी कानून अनुसार विभिन्न कम्प्लायन्सहरु भाषाको हिसाबले, कानुनको हिसाबले, अध्यागमनका बारेमा नबुझेका झण्डै दैनिक एक दर्जन मानिसहरुलाई पनि सहयोग गर्दै आइरहनु भएको छ ।
अमेरिकामा आर्थिक सपना लिएर गएका अनि बीउ पूँजी बोकेर बसेका मानिसहरुलाई वित्तीय स्वतन्त्रता कसरी दिने भनेर सबै साना नेपाली व्यवसायीहरुलाई समेट्नका लागि नेपाल अमेरिका चेम्बर अफ कमर्स भन्ने संस्था स्थापना गरियो । त्यसको उहाँ कार्यवाहक सभापति हुनुहुन्छ ।
पहिले पहिले उहाँ विभिन्न ठाउँमा हुने कार्यक्रममा गएर भाषण गर्ने, मन्तव्य राख्ने गर्नुहुन्थ्यो । त्यसो गर्दा खादा, माला लगाएर सम्मान गर्ने तथा पुरस्कार पनि दिने गर्ने । तर, अचेल भने समय नभएका कारण उहाँ आफ्नो सन्देश सामाजिक सञ्जालमा लेखेरै अमेरिकामा काम, व्यवसाय कसरी गर्ने, दुःख पाएकालाई सहयोग गर्ने गरिरहनु भएको छ यसको कारण भने उहाँको आफ्नो पनि समय अनि त्यहाँसम्म जानु पर्दाको भाडाको पैसा पनि जोगिने कारण यसो गरिरहनु भएको छ । एक, दुई दिन नलेख्दा के भयो, कसो भयो भनेर चासो व्यक्त गरेर उहाँलाई थुप्रै फोन आउने गर्छ ।
सामाजिक सञ्जालमा उहाँ खाने खाने समय, खाजा खाने समय यस्तै कतैबाट उब्रेको समयमा लेख्ने काम गर्नुहुन्छ । यसो गर्दा धेरैले हेर्ने र पछि पनि चाहेमा हेर्न सकिने उहाँको बुझाइ छ ।
पुरस्कार र सम्मान भन्दा पनि कसैलाई उसको दुःखमा साथ दिन सकियो र आम मान्छेले आफूलाई त्यही रुपमा चिने भने त्यो भन्दा ठूलो अर्को पुरस्कार नरहेको उहाँको बुझाइ छ ।
उहाँ अमेरिकामा रहेका नेपालीलाई हर तरहले सहयोग गर्न तल्लीन रहेको उहाँका सामाजिक सञ्जालमा देखिन्छ । दुःख पाएका नेपालीलाई काम खोजिदिने, व्यवसाय गर्न सल्लाह, सुझाव दिनुका अलावा पैसा खाइदिएका, फसाएका, विभिन्न कारणले घर–झगडा परेका नेपालीलाई उहाँ सल्लाह र सहयोग पनि गरिरहनु भएको छ । यस्तोमा पीडकहरुले उहाँलाई नेपालमा भए देखाइ दिन्थें लगायत ज्यान मार्ने धम्कीसमेत दिने गरेको छन् ।
अमेरिकामा नेपाली समुदायलाई मात्र नभएर गोरा, काला, स्पेनिश तथा अरु हरुलाई पनि उहाँले सहयोग गरिरहनु भएको छ । हिन्दु भए पनि चर्च तथा अन्य धार्मिक समुदायलाई पनि उहाँको सहयोग रहने गरेको छ ।
बच्चाको लागि आएको पैसामा आफू रक्सी, चुरोट र गाँजा खाने तर बच्चाले चकलेट नकिन्दिने आमाहरूका अगाडि आफ्नै खल्तीबाट चकलेट किन्दिने तथा अरु हरुलाई पनि पाउरोटी, पेट्रोल जस्ता कुराहरु सहयोग गर्ने गर्नुहुन्छ ।
पहिले पहिले अमेरिकाबाट मात्रै सहयोगको लागि फोन आउने गरेकोमा हिजोआज उहाँलाई क्यनडा, अरब राष्ट्र, जापान तथा युरोपमा बस्ने नेपालीहरुले पनि सहयोग तथा सल्लाहको लागि फोन गर्ने गरेका छन् ।
०००
चरम दुःख भोगेर अहिले चरम सुखको अवस्थामा पनि उहाँलाई आफ्नो धरातल राम्रो याद छ । लेखन मार्फत पनि उहाँ अरुलाई पनि धरातल सम्झाइरहनु हुन्छ । हिजो न्यूनतम आवश्यक्ता पूरा गर्न नसकेको मान्छे आज संसारको जुन कुनामा गए पनि आरामदायी जीवन बिताउने हैसियत बनाइसक्दा पनि धरातल भने स्मरणमा नै छ उहाँको । उहाँ आफूले हिजो भोगेको दुःख र अहिले भोग्दै गरेको सुख दुवै अस्थायी भएका कारण पनि यसमा घमण्ड गर्नुपर्ने कारण नरहेको अध्यात्म चेतको कुरा पनि गर्नुहुन्छ । आखिर यो सबै छोडेर एकदिन जानैपर्छ ।
उहाँलाई समृद्धिका निमित्त अमेरिका नै जानुपर्छ भन्ने पनि लाग्दैन । नेपालमै पनि थुप्रै बाटाहरु छन् । तर, राज्यले त्यसलाई संरक्षण गरेर अगाडि नबढेकोले यहाँ समस्या रहेको उहाँको बुझाइ छ ।
उहाँ आफू पनि नेपालमा आउन सक्ने बताउनुहुन्छ । यदि आफू नेपाल आए यहाँको जनशक्ति र स्रोतको कसरी उपयोग गर्ने भन्ने ज्ञान आफूसँग भएको तर, त्यसको लागि राजनीतिक चेतना र राजनीतिक स्थिरता पनि जरुरी हुनुपर्ने भन्ने लाग्छ उहाँलाई ।