महाभारतको अंश श्रीमद्भागवत गीताको मात्र चर्चा ! किन चर्चा गरिँदैन शासन प्रणाली र नैतिकताका बारेमा ?

फर्कलान् र ती दिनहरु

महाभारतको अंश श्रीमद्भागवत गीताको मात्र चर्चा ! किन चर्चा गरिँदैन शासन प्रणाली र नैतिकताका बारेमा ?

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  असोज २९, २०७९

जन्म ऐच्छिक पनि हुनसक्छ रे ! अर्थात् नजन्मिने बेलासम्मको समय चक्रलाई कुनै  नियन्त्रणको रेखाभित्र  पनि पार्न सकिन्छ रे !  भौतिक रुपमा जन्म चक्रको लेखाजोखा गर्दा यो पनि हुनसक्ने अवस्था छ तर जन्मभन्दा  पहिले नै जीवनचक्रको निर्णय भइसकेको हुन्छ भन्ने पूर्वीय मान्यता, अझ वैदिक संस्कृतिको धरोहर पञ्चम वेद या श्रुति-स्मृतिको अध्ययनबाट मजबुन निकाल्न सकिन्छ ।

त्यसो त वेदमा धेरै कुराहरु सूत्रमा छन् र आज पनि ती थाहा नै नपाएको बेलामा लेखिएको विधानमा, गरिएको घोषणाको अर्थ लगाउन खोजिँदैछ । मलाई त लाग्छ, हाम्रो नेपाली जीवन कला नै त्यही वेद या वेदले देखाएको बाटोमा अहिले पनि हिँडे कै छ । त्यसो त अनुसन्धाताहरुले समयको परिवर्तनसँगै संस्कृति, चलन र जीवन यापनका तरिकाहरु पनि बदलिँदै जान्छन् भनिएको छ । तर  समय बदलिँदैन किनभने समय अमूर्त हुन्छ र अनवरत अनवरत तीब्रताका साथ चलिरहेकै हुन्छ प्रत्येक पल । 

धेरै पहिलेदेखि नै  जीवनलाई हेर्ने दृष्टिमा तीनवटा धारा प्रचलित छन् । एउटा धारा हो, जे भनिँदै आएको छ, त्यो नै शाश्वत हो, त्यसमा जे लेखिएको छ वा भनिएको छ, त्यसकै वरिपरि बाट नै जीवन सञ्चालित छ र त्यसका लागि अदृश्य शक्ति जसलाई बलवान भगवानको रुपमा अर्थ्याउनु सकिन्छ । त्यो देखिँदैन तर सहयोगका लागि जहिले पनि मानिसहरुका लागि उपलब्ध हुन्छ र सबैको, सबै प्राणीको हिसाव राखेर बसेको हुन्छ, प्राणीको पूर्व जन्मका आधारमा अहिलेको जन्म र अहिलेको कामका आधारमा पुनर्जन्मको व्यवस्था गरिने हुन्छ ।

कसैको पुनर्जन्म हुन पनि सक्छ, नहुन पनि सक्छ । पुनर्जन्म नहुने केही सर्तहरु छन्, अहिलेको भन्दा पनि गए गुज्रेको जीवन यापनका लागि पनि केही पूर्व सर्तहरु आफैँ कुँदिएका हुन्छन्  जानेर वा नजाने रै पनि घटित हुन्छन् । पुराणहरुमा, उपनिषद्हरूमा यस्ता प्रसङ्गहरू प्रशस्तै पाइन्छन् । अझ अनुसन्धान र तिनका अर्थहरूको व्यापकताको जरुरत छ भनेर भनिन थालेको छ । ती परम्परावादी मानिन्छन् तर त्यस्ता मानिसहरु छन् ।

दोस्रो तर ठ्याक्कै पहिलो धाराको उल्टो या फरक धारणा राख्नेहरूले न त ईश्वरको अस्तित्व स्वीकार गर्छन्, न त वैदिक काल या उत्तर वैदिक कालमा गरिएको जीवन र जगतको, ब्रह्माण्डको बारेमा विश्वास गर्छन् । भौतिक जीवनका पक्षमा आफ्ना तर्कहरु दिँदैछन् र भन्छन् -हिजो मन गढन्त तरिकाले ब्रह्माण्ड, पृथ्वी , जन्म, मृत्युको बारेमा भ्रमात्मक तथ्य र तर्कले मानिसहरुलाई भ्रमित बनाइएको थियो । अब नयाँ अनुसन्धानले जेजे प्रमाणित गर्नेछ, त्यसैलाई नै प्रमाण सम्मत तरिकाले मान्नुपर्छ । त्यसो भन्नेमा त वैदिक राजा वेन नै थिए र प्रत्येक कल्पमा, बेलामा ईश्वरीय सत्ताको विपक्षमा देखिने र त्यसको विपक्षमा बोल्ने चलन थियो भन्ने कुराको प्रमाण स्वयं वेद व्यासले आफ्ना ग्रन्थहरुमा नढाँटी कन भनेका छन् ।

सायद त्यसैले पनि आज आएर वेद व्यासमा कृतिहरूप्रति बढी नै आकर्षण र तथ्यहरूप्रति खोजी सुरु गर्न थालिएको होला ।  तरिकाले गरिएको  जीवनको पहिले नै व्यवस्था गरिएर जन्म र मृत्यु हुन्छ भन्ने कुरामा विश्वास गर्दैनन् । आफूलाई प्रकृति वादी भन्छन्, भौतिक वादी भन्न रुचाउँछन् र अनुसन्धानले प्रमाणित गरेका कुराहरुका आधारमा आफ्नो जीवनको बाटो पहिल्याउने, समाजको बाटो पहिल्याउने र विश्वलाई त्यसको सन्देश मार्फत् चेतना दिने हौँ भन्छन् । त्यस्ता पक्षहरूले आफूलाई अनीश्वरवादीको रुपमा आफूलाई चिनाउन चाहन्छन् ।

प्रकृति वादी हौँ भन्दा प्रकृति जसलाई भनिन्छ, त्यसको उत्पत्ति का बारेमा उनीहरुको आफ्नो व्याख्या हुन्छ तर त्यो पनि कल्पनाका आधारमा । अनि प्रकृतिको उत्पत्तिका बारेमा भने उनीहरु अनभिज्ञता प्रकट गर्दै अरु अनुसन्धानबाट पाइने प्रमाणका आधारमा भोलिको भविष्यको बारेका बताउने उनीहरुको तर्क हुन्छ । त्यस्ता भौतिकबादीहरु एउटा  समयको अन्तरालमा भ्रमात्मक शैलीमा केही गलत तथ्यहरुमार्फत् आफूलाई स्थापित त गर्न चाहन्छन् तर ईश्वरवादीहरुलाई भने चित्त बुझाउन सकेका पाइँदैनन् । 

पूर्वीय मान्यतामा यस्ता प्रसंगहरु पनि छन् जसले भावी जीवनको गणितलाई पहिले नै निर्णय गरेर तयार गरिएको हुन्छ । जस्तो कि महाभारतमा देव व्रत अर्थात् कुरु मध्येका सबैभन्दा पछिल्ला पुस्ता त्यस्ता व्यक्ति जो भन्दा पछि वर्णसङ्करले भरतको सन्तानको रुपमा आफूलाई उभ्याउने छन् तर वास्तवमा ती भरतको सन्तानका रुपमा स्वीकृत हुन लायक हुने छैनन् । राजाको छोरा राजा हुने एउटा प्रचलन चलाइयो तर त्यसको विकल्प पनि दिइएको पाइन्छ । 

तेस्रो पक्ष हो मध्यम मार्गी । त्यो वर्गले कहिले अनीश्वरवादीहरुको तर्कलाई मान्छ त कहिले ईश्वरवादी हरुको तर्कमा आफूलाई उभ्याउँछ । त्यो वर्ग तर निर्णायक हुन्छ किनभने त्यस्तो पक्षलाई मान्नेहरुको संख्या अत्यधिक छ । अझ आधुनिक अनुसन्धाताहरु जसका भरमा अनीश्वरवादीहरुले पुराना मान्यताहरुलाई चुनौती दिने हुन्छन् , ती आफैँ पनि अनुसन्धान गर्दा पाइने तथ्यहरूको अर्थ लाउन नसक्दा वा प्राप्त तथ्यहरुको स्रोतका बारेमा अन्यौल हुँदा, अनि कसरी ती स्रोतहरुको उत्पत्ति भयो भने घोत्लिँदा अन्ततः कुनै अदृश्य अनुशासनको भरमा ब्रह्माण्डको परिचालन भएको बताउन बाध्य भएका छन् र आफूलाई ईश्वरको पक्षमा उभ्याउने हुने रहेछन् ।

हाम्रै देशमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाले यात्री कवितामा आफूलाई अत्याधुनिक मानवको रुपमा मान्दै आध्यात्मिक यात्रीको रुपमा व्यक्तिलाई उभ्याउँदै उसको आत्मामा नै ईश्वरको बास छ, मन्दिर तिम्रै शरीर हो , आत्मालाई ईश्वरीय वरदान मानेको उदाहरण पाइन्छ तर क्यान्सरको पीडाबाट आक्रान्त र जीवनको अन्त्यलाई नजिकैबाट नियालेपछि , अन्तमा श्रीकृष्ण रहेछ एक भनेर आध्यात्मिक चिन्तन, त्यो पनि ईश्वरको सत्तामा आफूलाई विसर्जन गर्ने  अवस्थामा पुगेको पाइन्छ र गीतामा श्रीकृष्णले भनेजस्तै शरणागतीको रुपमा त्यस्तो यात्री आफूलाई सम्झेका छन् कि अरु कसैको सत्ता नदेख्ने गरी ईश्वरप्रति आफूलाई समर्पण गरेको देखिन्छ ।

अर्थात् मृत्युको शाश्वत पनसँग आत्मसात् भएका देवकोटाले आफूलाई निरीह यात्रीको रुपमा भीडभित्रको एक्लो यात्री सम्झेको पाइन्छ । त्यस्ता धेरै उदाहरणहरु पाइन्छन् तिनै सबै अनीश्वरवादीहरुको जीवनमा । अनि मध्यमार्गी कुनै अतिभन्दा भिन्न अनि जीवनमा कतै ईश्वरको सत्ताप्रति नतमस्तक अनि कतै  आफ्ना कर्तव्यहरु प्रति अडिग र निरन्तर कर्तव्यप्रति, कर्मप्रति आस्थावान देखिन्छन् ।

ईश्वरको अस्तित्वलाई मान्ने या नमान्ने भन्ने बहसको बेलाभन्दा पहिले पनि यो ब्रह्माण्ड थियो, यो पृथ्वी थियो, वेदले भन्ने गरेको पञ्च तत्वको समिश्रण थियो, आत्माको अस्तित्वको रुपमा प्राणी मात्रमा चेतना थियो । जन्मनु, मर्नु, रोग लाग्नु, बुढ्यौली पनको अनुभूति हुने त हुन्थ्यो तर पछिमात्र त्यसबारेमा व्याख्या गरियो । अनि बाँच्नका लागि अनेक उपायहरुको खोजी गरियो । सायद आजको औषधि विज्ञान भनौँ या हतियार विज्ञान भनौँ वा कृषि विज्ञान भनौँ  सबैको खोजी गरियो होला । बाँच्नका लागि , बाँच्नका लागि आवश्यक सतर्कता अपनाउने कुरामा चेतना त्यसैगरी पलायो होला जसलाई वेदको बेलामा, उत्तर वैदिक बेलामा या आजको आधुनिक युगमा पनि त्यसको प्रयोग गरिएको होला । 

व्याख्या जसरी गरे पनि, चेतनाको ज्योतिलाई प्रकाशित गर्ने ग्रन्थमा, जीवनलाई सापेक्ष र निरपेक्ष रुपमा हेर्ने क्रममा रामायण, महाभारतको रचना भएको पाइन्छ । त्यसैले , यसो भन्दा पूर्वीय मान्यतामा यस्ता प्रसंगहरु पनि छन् जसले भावी जीवनको गणितलाई पहिले नै निर्णय गरेर तयार गरिएको हुन्छ । जस्तो कि महाभारतमा देव व्रत अर्थात् कुरु मध्येका सबैभन्दा पछिल्ला पुस्ता त्यस्ता व्यक्ति जो भन्दा पछि वर्णसङ्करले भरतको सन्तानको रुपमा आफूलाई उभ्याउने छन् तर वास्तवमा ती भरतको सन्तानका रुपमा स्वीकृत हुन लायक हुने छैनन् । राजाको छोरा राजा हुने एउटा प्रचलन चलाइयो तर त्यसको विकल्प पनि दिइएको पाइन्छ । 

कल्पित कलियुगको सुरुवाती बेलामा रचित महाभारतमा त्यस्ता धेरै निरन्तरता र क्रमभङ्गताका उदाहरणहरु सप्रसङ्ग दिइएका छन् । अझ जो रचयिता हुन् , स्वयं रचयिता आफैँ एउटा पात्रको रुपमा सहर्ष आफ्ना करतुतहरुसमेतको रिट्ठो नबिराइ वयान गरेका छन् ।

एउटा भरत वंशीहरुको राज्यको निरन्तरताको  क्रमभङ्गताको रुपमा गङ्गाको पृथ्वीमा पदार्पण, गङ्गाको मानवीय सन्तान हुनका लागि मृत्यु अनिवार्य र अपरिहार्य रहने कुराको कति राम्रो व्याख्या र तर्कहरु दिइएको छ । जति अध्ययन गरे पनि सधैँ रहस्यात्मक लाग्ने महाभारतका तथ्य, कथा र तर्कहरूले आजको बेलामा पनि थुप्रै  अनुसन्धानको आवश्यकताको महसुस हुन्छ । 

आधुनिक विश्वमा, साहित्यका फाँटमा, संस्कृतिको फाँटमा र ज्ञानको फाँटमा महाभारतको एउटा अंश श्रीमद्‍भागवत गीताको कुरामात्र गरिन्छ । गीता भनेको गीत या त्यसमा मात्र केन्द्रित भएर गरिएको वयान हो । महाभारतमा त्यस्ता धेरै गीताहरू छन् तर तिनको वयान गरिँदैन । शासन प्रणालीका बारेमा, मानवीय अनुशासनका बारेमा, राजा या राज्य सञ्चालकका नैतिकता वारेमा, जीवनको सही बाटोका बारेमा वर्णन गरिएको पाइन्छ । भनिन्छ, जे कुरा महाभारतमा छैन, अन्त कतै पनि त्यो पाइँदैन । यन्न हास्ते तन्न हास्ते । त्योबेलामा श्रुतिबाट स्मृतिक्रममा राखिएको महाभारत ठ्याक्कै कति बाँकी छ भन्ने कुरा भन्न गाह्रो छ र पनि आज पनि सबैभन्दा ठुलो महाकाव्यको रुपमा, सर्बगुण सम्पन्न ग्रन्थको रुपमा रहेको पाइन्छ । 

मैले त पहिले महाभारतको बारेमा सुनेको हुँ , गाउँमा चौमासामा लगाइने पुराणको रुपमा पण्डित ज्वाला प्रसाद कोइरालाले भन्नुभएको पुराणको रुपमा । अहिले पनि सम्झना छ, जरात्कारु ऋषिका २१ कुल पुर्खाले मोथेको डाँठमा मात्र अल्झेर कालो कुवामा बसेका कथा । जहाँबाट उनीहरु कुनै पनि बेला नरकमा झर्ने सम्भावना रहन्छ । संसारमा वितरागी भएर हिँडेका युवा ऋषि जरत्कारु जो फेरि सांसारिक जञ्जालमा फस्न चाहँदैनथे , विवाह गर्न चाहँदैनथे र फेरि पत्नी, बच्चा , गृहस्थको झन्झटमा फस्न चाहँदैनथे । उनले त्यो कालो कुवाबाट आएको रुन्चे खुसुरफुसुरलाई ध्यान दिएर सुने र चीत्कारका लागि एउटा ऋषिले दिने सल्लाह हुन्थ्यो, आशीर्वाद हुन्थ्यो र समस्याको समाधान हुन्थ्यो ।

उनले सोधे-तपाईँहरु को हो र किन यसरी मोथेको मुन्टोमा मात्र समाएर बस्नुभएको ? खस्ने अवस्था हुने जस्तो छ नि । अनि ती पितृहरूले भनेछन्- हाम्रो एउटा सन्तानमात्र बाँकी छ यो संसारमा, जरत्कारु । ऊ अन्तिम सन्तान हो । ऊ विवाह नगर्ने भनेर हिँडेको छ र उसको अन्त पछि हामी नरकमा खस्नेछौँ किनभने हामी सन्तान विहीन हुनेछौँ ।

अनि जरत्कारुले भनेछन् - म पनि जरत्कारु नामको ब्राह्मण हुँ, मैले पनि विवाह गरेको छैन र गर्दिन पनि यो सांसारिक झन्झटमा फस्नका लागि । अब के गरौँ त तपाईँहरूलाई नरक जानबाट जोगाउन ? यमराजलाई भनौँ कि, इन्द्रलाई भनौँ कि या विष्णुलाई भनौँ कि ? मुख्य पुस्ताका मुलीले भने—विना सन्तान केही हुनेवाला छैन । तिमीले विवाह गर्नुपर्छ ।  सन्तान पाउनु पर्छ र मात्र हामी स्वर्ग जानेछौँ यहाँबाट सिधै । जरत्कारुले पनि अप्ठ्यारो कुरा गरेछन् , मेरै नामको कन्या पाएमात्र म विहे गर्नेछु । नभन्दै नागकन्या जरत्कारुसँग विवाह भएछ र आस्तिक नामका पुत्रको जन्म भएपछि ती २१ कुल तरेछन् ........। मैले सम्झेको पहिलो कथा हो महाभारतको पुराणका रुपमा । ध्यान दिएर सुनेँ । पछि पढ्दा थाहा भयो, कलियुगको सुरुवातमा इतिहासको धारा बदल्ने तिनै युवा तपस्वी आस्तिक रहेछन् जसले मावलीलाई बचाउनका लागि सर्पयज्ञ ध्वस्त पारेर तक्षकलाई बचाएछन् र तिनै तक्षकले राजा परीक्षित लाई डसेर मारेछन् । कथाभन्दा पनि एउटा गणितीय समीकरणको रुपमा महाभारतलाई व्याख्या गर्न सकिने रहेछ । क्रमशः