लोकसंवाद संवाददाता | समाचार | कात्तिक ०१, २०७९
तनहुँ ।तनहुँको म्याग्दे गाउँपालिका–७ स्वामीधाराका सोमबहादुर सार्की शारीरिक रुपमा अपाङ्गता हुनुहुन्छ । चार वर्ष अगाडी काम गर्दा गर्दै अचानक ढल्नुभएका उहाँ त्यसपछि आफ्नै सहारामा उठ्न सक्नुभएको छैन । उठ्न पर्यो भने उहाँलाई परिवारको सहारा चाहिन्छ ।
उहाँको दैनिक ह्विलचियरबाट चलिरहेको छ । घरको मूली नै शारीरिक अपाङ्गता भएपछि परिवार चिन्तित छन् । उहाँले हालसम्म अपाङ्गता परिचयपत्र पाउनुभएको थिएन । परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म जान असमर्थ उहाँलाई गाउँपालिकाले घरमै ल्याएर परिचयपत्र प्रदान गर्दा उहाँको मुहारमा खुशी छाएको छ । गाउँपालिकाले आयोजना गरेको एकीकृत घुम्ती शिविरको अवसरमा वडाध्यक्ष बसन्तकुमार श्रेष्ठले घरमै पुगेर सार्कीलाई निलो रङ्गको परिचयपत्र प्रदान गर्नुभएको छ ।
'अपाङ्ग भइसकेपछि अपाङ्गता परिचयपत्र बनाउनका लागि जान कोशिस गरेता पनि पालिकाको कार्यालय धेरै टाढा पर्छ, जान आउन पनि समस्या हुँदै आएको थियो' , उहाँले भन्नुभयो, “गाउँपालिकाले घरमै ल्याएर दिँदा राहतको महशुस भयो ।” अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि सरकारी तवरबाट प्राप्त हुने सुविधा पाउनेमा सार्की विश्वस्त छन् । म्याग्दे –७ स्वामीभञ्ज्याङका ६३ वर्षीया देउमाया भुजेलले घर नजिकैबाट ज्येष्ठ नागरिक परिचयपत्र पाउनुभयो । ज्येष्ठ नागरिक परिचयपत्र बनाउन एक घण्टा भन्दा बढीको पैदल र सवारी यात्रा गरी गाउँपालिको कार्यालयसम्म पुग्नुपर्ने बाध्यता रहेको उहाँले घरदैलोमा नै परिचयपत्र पाउँदा खुशी लागेको बताउनुभयो ।
'ज्येष्ठ नागरिक परिचयपत्र बनाउन गाउँपालिकाको कार्यालयसम्म पुग्नुपर्दा समस्या हुँदै आएको थियो', उहाँले भन्नुभयो, 'गाउँपालिकाले घरदैलोमा नै ल्याएर परिचयपत्र दिँदा सहज भयो ।' सोही ठाउँका ज्येष्ठ नागरिक रामबहादुर थापा जनप्रतिनिधि तथा कर्मचारीले घरदैलोमा नै ल्याएर परिचयपत्र दिएकामा हर्षित हुनुहुन्छ । ' यो भन्दा ठूलो कुरा हाम्रा लागि के हुन्थ्यो र, स्थानीय सरकार त भनेको सुनेका थियौ, व्यवहारमा नै महशुस भयो' , उहाँले खुशी हुँदै भन्नुभयो, 'सेवा लिन गाउँपालिकाको कार्यालयमा धाउनुपरेन, घरदैलोमा पनि पायौ ।' वडा कार्यलय टाढा पर्ने र वृद्धावस्थामा हिँडेर जान नसक्ने अवस्था भएकाले घरदैलोमा नै परिचयपत्र पाउँदा राहत मिलेको थापाले बताउनुभयो ।
निलो रङ्गको अपाङ्गता परिचयपत्र प्राप्त गरेपछि मासिक सामाजिक सुरक्षा भत्ता बापत रु तीन हजार उपलब्ध गराउने प्रावधान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले दिनुभयो । सोही वडाका ५९ वर्षीय कृष्णबहादुर विकले घरमै कोभिड–१९ विरुद्धको खोप लगाउन पाउँदा खुशी लागेको बताउनुभयो । 'खुट्टा काटिएर अपाङ्ग भएर बस्नुपरेपछि खोप लगाउन जान पनि सकेको थिइँन, सबैले खोप लगाइसकेपनि आफू खोप केन्द्रसम्म जान नसक्दा घरमा नै आएर खोप लगाइदिएको आभारी छु', उहाँले भन्नुभयो ।
जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले आयोजित एकीकृत घुम्ती शिविरका अवसरमा आठ सय २५ जनाले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । विभिन्न वडामा गरी दश जना अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । 'स्थानीय सरकार जनताको नजिकको सरकार हो, वडा तथा गाउँपालिकासम्म आएर सेवा लिनुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका नै स्थानीयको घरदैलोमा पुग्ने अभ्यास सुरु गरेका हौ', उहाँले भन्नुभयो, 'यसले गर्दा सर्वसाधारणलाई राहत मिलेको अनुभूति भएको छ ।'
एकीकृत घुम्ती शिविरका अवसरमा महिला स्वास्थ्य सेवा अन्तर्गत महिलाहरुको पाठेघर परीक्षण, देखापरेका स्वास्थ्य समस्याको उपचार, व्यवस्थापन प्रेषण एवं परामर्श सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताउनुभयो । यसका साथै एकीकृत घुम्ती शिविरमा परिवार नियोजन परामर्श सेवा, कोभिड–१९ विरुद्धको पहिलो, दोस्रो र अतिरिक्त मात्रा खोप सेवा, आयुर्वेद सेवा, स्वास्थ्य बीमा सेवा प्रदान गरिएको छ । बहिरङ्ग सेवा अन्र्तगत बिरामीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण, प्रयोगशाला सेवा अन्तर्गत रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमुना सङ्कलन, औलो रोगको परीक्षण हुनेछ । जन्म, मृत्यृ, बसाईसराईको सेवा घुम्ती शिविरबाटै प्रदान गरिएको छ ।
प्रशासन शाखा अन्तर्गत व्यवसाय दर्ता, राजश्व सङ्कलन, मालपोत तथा भूमिकर सङ्कलन सेवा प्रदान गरिएको छ । कृषि तथा पशुशाखा अन्तर्गत बीउविजन वितरण एवं कृषि अनुदान माग सङ्कलन, गोबर परीक्षण र नतिजाको आधारमा पशुपंक्षीलाई औषधि वितरण, बाख्रा, पाठालाई बन्ध्याकरण, पशुको उपचार सेवा प्रदान गरिएको छ । गत असोज ३० गतेदेखि कात्तिक ४ गतेसम्मको दोस्रो चरणको शिविर वडा नम्बर ५, ६ र ७ मा सञ्चालन हुनेछ । यसअघि पहिलो चरणको शिविर असोज २ गतेदेखि असोज २८ गतेसम्म वडा नम्बर १, २, ३ र ४ मा सम्पन्न भइसकेको छ ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनता सधैँ वडा र पालिकामा आउने नभई पालिका पनि जनताको घरमा जानुपर्छ भन्ने उद्देश्यसहित एकीकृत शिविर आयोजना गरिएको बताउनुभयो । 'स्थानीय सरकार जनताको घरमा पुग्नुपर्छ भन्ने मान्यतासहित यो शिविर सुरु गरिएको हो, घरदैलोमा जाँदा आम जनतासँग साक्षात्कार पनि हुन्छ, समस्या पनि सुन्न पाइन्छ,' उहाँले भन्नुभयो