लोकसंवाद संवाददाता | साहित्य | जेठ १५, २०७६
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभाग, सांस्कृतिक संस्थान र लोकवार्ता परिषद् नेपालद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा सिलोक जुहारी (‘सिलकोमा ठोकान’ नामक कार्यक्रमको २०७६ जेठ १४ गते मङ्गलवार आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा लोपोन्मुख अवस्थामा रहेको सिलोक जुहारी र खाँडो जगाउने कार्यक्रम प्रस्तुत गरिएको थियो । लोपोन्मुख अवस्थामा रहेको नेपाली लोककविताको खोजी, संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रम सम्भवतः नेपालकै इतिहासमा औपचारिक रूपमा प्रथम पटक आयोजना गरिएको आयोजकहरूको दाबी रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले तीन संस्थाको आयोजनामा भएको सिलोक जुहारी कार्यक्रमले दूरगामी प्रभाव छाड्ने दाबी गर्दै ‘यस कार्यक्रमबाट लोप हुन लागेको संस्कृतिले पुनर्जीवन पाउनेमा आशा गर्न सकिन्छ’ भन्ने आशा व्याक्त गरिएको थियो । साथै त्रिपाठीले ‘उखान–बखान हाम्रा साहित्यका स्रोत’ भएको समेत दाबी गर्नु भएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सरकारको प्रतिनिधि संस्था प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले लोपोन्मुख संस्कृतिको संरक्षण र संवर्द्धन गर्नेतर्फ प्रभावकारी ढङ्गबाट काम गरिरहेको समेत जानकारी दिनु भएको थियो
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले लोकसंस्कृतिको पुनः जागरण हुन थालेको बताउनुभयो । उहाँले नेपालभित्र लोक कविता र लोकसंस्कृतिको अथाह स्रोत रहेको भन्दै त्यसको खोज, अनुसन्धान र संरक्षण आजको आवश्यकतामा जोड दिनुभएको थियो ।
प्रज्ञा–प्रतिष्ठान, बाल साहित्य तथा लोक वार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले देशभित्र लोक कविता, लोक साहित्य र लोकसंस्कृतिको खानी रहेको तर पुरानो र मौलिक सिलोक जुहारी समयक्रममा लोपोन्मुख अवस्थामा रहेको हुँदा यसको संरक्षण र प्रवर्द्धनका निम्ति यस कार्यक्रम आयोजना गरिएको समेत जानकारी दिनु भएको थियो ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले देशका पूर्व र पश्चिमका चुनिएका सिलोके कवि–कलाकारलाई एकै ठाउँमा जम्मा गराई सिलोक जुहारी कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।
लोक वार्ता परिषद्का अध्यक्ष प्रा.डा. प्रेम खत्रीले नेपालमा लोकसंस्कृतिको खानी रहेको तर आधुनिताले परम्परागत र मौलिक लोकसंस्कृति हराउँदै गएकाले तिनको अनुसन्धान, संरक्षण र सम्बद्र्धनतर्फ सम्बन्धित सबैको ध्यान जानु पर्ने बताउनुभयो । कार्यक्रममा डा. ध्रुव भट्टराईले ‘नेपाली लोककविताको स्वरूप, परम्परा र प्रस्तुति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वास्तविकताको झल्को दिने गरी प्रेक्षालयको मञ्चमा विवाह मण्डप तयार पारिएको थियो । ध्वजापताकासहित जग्गे पनि बनाइएको थियो । पञ्जेबाजाको धुनमा बजाउँदै दुलही लिन जन्ती आएको, दुलही पक्षले जन्ती पर्सिएको, दुलही र दुलाहा पक्षबिच सिलोक जुहारी खेलिएको थियो । कार्यक्रममा खाँडो जगाउने कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
समूहगत रूपमा भएको सिलोक जुहारीमा ताप्लेजुङका तुल्सीप्रसाद गिरी, झापाका टङ्कप्रसाद भट्टराई र थरेन्द्र बराल, तेह्रथुमका पदमप्रसाद निरौला, ओखलढुङ्गाका माधवप्रसाद दाहाल र डिल्लीप्रसाद दाहाल, भोजपुरका चण्डीप्रसाद नेपाल र सिन्धुपाल्चोकका राममणि आचार्यले सहभागी हुनुभएको थियो । यसै गरी कूटपद्यमा पाल्पाका लक्ष्मीचन्द्र पंगेनी र लक्ष्मीमाया तिवारी तथा स्याङ्जाका रुक्माङ्गत पाठक र नारायण पाठक सहभागी हुनुहुन्थ्यो । लोकअन्ताक्षरीमा नवलपरासीका ८६ वर्षीय नुमनाथ अधिकारी, सिन्धुपाल्चोकका विष्णुप्रसाद पौडेल र पाल्पाका पंगेनी र तिवारी सामेल हुनुभएको थियो ।
खाँडो जगाउने पूर्वको शैलीमा झापाका टङ्कप्रसाद र पश्चिमतिरको शैलीमा नुवाकोटका बलबहादुर थापाले प्रस्तुति दिनुभएको थियो । ताप्लेजुङका सविता बराल, राधिका मिश्र र ज्योति निरौला, काठमाडौँका उषा भट्ट र ललिता पन्तले कार्यक्रममा सङ्गिनी गीतिनृत्य समेत प्रस्तुत गर्नुभएको थियो ।