आशिष पौडेल | लोकसंवाद | कात्तिक ०५, २०७९
स्वामी ऋषिकुमार पञ्चशील
महर्षि श्री १००८ स्वामी सच्चिदानन्द विशुद्धदेवले नेपालमा एउटा योग केन्द्रको रुपमा स्थापना गर्ने उद्देश्यले बनेपा– १० जनागाल, चरित्रपुरमा मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र ह्दयमा इमान्दारी भन्ने एउटा नारासहित योग, ध्यान, साधनामा रुचि राख्नेहरूलाई आत्म बोध, ईश्वर प्राप्ति र आफूलाई जान्न, चिन्न सहयोग पुर्याउने उद्देश्य अनुरुप हंसदा योग आश्रमको स्थापना गरेर जानुभयो ।
उहाँको महाप्रस्थानपछि यस आश्रमलाई योग तथा साधना केन्द्रको रुपमा अहिले स्वामी ऋषिकुमार पञ्चशीलले यसलाई व्यवस्थापन गरिरहनु भएको छ । योग, साधना तथा आश्रमको व्यवस्थापनका सन्दर्भमा लोकसंवादले उहाँसँग कुराकानी गरेका थियौँ । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको मुख्य अंश ।
स्वामी ऋषिकुमार पञ्चशील हुनु अघि आफूलाई कसरी परिचित गराउनु हुन्छ ?
स्वामी पञ्चशील हुनु अघिको परिचयमा नजाउ । त्यो परिचयबाट परिचित नगाउनका लागि नै यो पहिचान बनाइएको हो । त्यसैले त्यो परिचयको आवश्यक्ता रहेन । अब ऋषिकुमार पञ्चशीलका बारेमा नै कुराकानी गरौँ होला ।
के कारणले स्वामी पञ्चशील हुन पुग्नुभयो ?
जब मैले गुरुसँग दीक्षा लिएँ त्यहाँबाट मेरो आध्यात्मिक परिचय शुरु भयो अनि गुरुद्वारा नै स्वामी पञ्चशील वा ऋषिकुमार पञ्चशील भनेर नामाकरण गरेपछि मेरो नाम ऋषिकुमार पञ्चशील हुन पुगेको हो ।
गुरुले ‘तुम्हारा नाम ऋषिकुमार पञ्चशील है । ए तुम्हे गुरुद्वारा दिया गया नाम है । इससे आगे जो तुम्हारा जीवन था ओ समाप्त हो गया । ए तुम्हार दुसरा जीवन ऋषिकुमार पञ्चशील नामसे प्रारम्भ हुआ है ।’ भनेर दीक्षा तथा नाम दिएर यसरी ऋषिकुमार पञ्चशीलको नामबाट परिचय गराइदिनु भएको हो । यो नाम गुरुले त्यसै दिनु भएको होइन । यसलाई मैले जीवनभर सिद्ध गर्नुपर्छ र त्यो नै मेरो तपस्या हो ।
पञ्चशील भन्ने बित्तिकै पाँचवटा शीलका कुरा आउँछन् । यसमा योगको पहिला नियम अन्तर्गत पर्छ यम । यममा सत्य, अहिंसा, ब्रह्मचर्य, अस्तेय तथा अपरिग्रह । यो नै पञ्चशील हो र मैले बाँचुन्जेल यस नियम अन्तर्गत रहेर आफूलाई ऋषिकुमार पञ्चशील बनाउनु पर्ने हुन्छ ।
तपाईँको उमेर वयका अन्य भन्दा भिन्न रहेर ऋषिकुमार पञ्चशील भएर जुन जीवन बिताइरहनु भएको छ यो कत्तिको कठिन छ ?
शुरुमा गुरुको शरणमा आइयो । गुरुको सानिध्यमा रहुन्जेल कुनै समस्या परेन । गुरुको शरणमा आइसकेपछि आध्यात्मिक जीवनको वा ब्रह्मचर्य जीवन असम्भव हो कि भन्ने लाग्थ्यो । कहाँ हामी दुनियाँ दारीमा रमाइरहेको मान्छे र जीवनका विभिन्न आयामहरू छन्, प्रलोभन तथा माता, पिता जिम्मेवारी कमाउ धमाउका कुरा छन् त्यसलाई छोडेर वा परिवार तथा आफ्नो जिम्मेवारीलाई छोडेर कहाँ यता लाग्न सकिएला । यो सम्भव हुँदैन होला भन्ने पनि लागेको थियो । पछि गुरुको संगत, गुरुको कृपा अनि ज्ञानद्वारा एकदमै सहज हुँदै गयो । जुन पहिले म बाहिरका कुरा सोच्थेँ त्यो कुरा गौण हुँदै गयो । वास्तवमा यो त केही होइन रहेछ । जीवन त धेरै फराकिलो रहेछ, धेरै विस्तार रहेछ त्यो कुरा नबुझेर रहेछ भन्ने ज्ञान गुरुको सानिध्य र संगतबाट आयो ।
मूल तत्व प्राप्तिको बाटोमा तपाईँलाई आफू कहाँ आइपुगे जस्तो लाग्छ ?
हामी कहीँ आइपुग्ने पनि होइन । यो ठाउँमा पुगें भन्ने पनि हुँदैन । आफू भित्रको चेतनाको जति विकास हुँदै जान्छ त्यतिनै आफूमा पूर्णता महसुस गर्ने हो । स्वयंमा मनुष्य जीवनको पूर्णता महसुस गर्ने हो । जीवन धेरै लामो छ । यो अनन्त जीवन प्राप्तिको मार्ग हो । अनन्त जीवनको यात्रामा म यहीं पुगें भन्ने निश्चित त गर्न सक्दिन ।
आश्रममा पाइने कुरा आश्रममै पाइन्छ । आश्रमलाई पालन, पोषण गर्ने पनि गृहस्थ नै हुन्छन् । उनीहरूद्वारा नै यसलाई हरेक प्रकारले सहयोग भइरहेको हुन्छ भने आश्रम भनेको त्याग, वैराग्य सिद्ध गर्ने, साधना, तपस्या सिद्ध गर्ने, सत्य प्राप्त गर्ने एउटा महत्वपूर्ण स्थान नै हो । त्यसो हुनाले गृहस्थ र आश्रममा यति भिन्नता छ ।
जुन अहिले म अध्यात्मको यात्रामा लागिरहेको छु त्यसमा बालापन, नौजवान हुँदै परिपक्व भइरहेको छु र त्यसमा आनन्द महसुस गरिरहेको छु । अब मलाई वास्तविक आध्यात्मिकता, साधनाको माध्यमबाट जीवनको आनन्द लिइरहेको छु भन्ने मलाई महसुस भइरहेको छु । अब म त्यो कुरा आरुलाई पनि बाँड्न सक्छु र यो मार्गमा हिँड्नेलाई त्यो आनन्द बाँड्न सक्छु भन्ने आत्मविश्वास जागिरहेको छ । मेरो अहिलेको अवस्था भनेको त्यही नै हो ।
भौतिक संसारमा पनि सुख र आनन्दका थुप्रै चिजहरु छन्, बाटोहरु छन् तर तपाईँले भने किन यो बाटो नै रोज्नुभयो ?
संसारमा अरु त्यस्तै थुप्रै कुरा छन् । मानव जीवन नै ठूलो पुण्य तथा सौभाग्यको बलले हुन्छ । संसारमा विभिन्न किसिमका भोगहरू छ त्यो आफ्नो ठाउँमा छ । हाम्रो प्रारब्ध आफ्नो कर्म छ । त्यो भोगले हामीले चाहेर प्राप्त हुने कुरा पनि होइन । चाहना आफ्नो ठाउँमा छ भने उसलाई प्राप्त हुने भोग आफ्नो ठाउँमा छ । उसले प्रारब्ध कर्ममा जे गरेको त्यही भोग उसले प्राप्त गर्छ र यो योग जीवन, आध्यात्मिक जीवनमा हिँड्दै मा भोगबाट अलग छ वा वञ्चित छ भन्ने होइन । उसले त्यो भोगलाई ज्ञान पूर्वक, जिम्मेवारीपूर्वक चाहिँ ग्रहण गर्न सक्छ, उपयोग गर्नु पर्छ, त्यसलाई सदुपयोग गर्नुपर्छ ।
ऊ वासनामा, संसारको तृष्णामा अनि संसारको विकारहरूमा फस्दैन । किनकि यसले ज्ञानको शक्तिद्वारा उसले संसार प्रतिको आसक्ति छ, लगाव छ, त्यसबाट छुट्न सक्ने एउटा शक्ति प्राप्त हुन्छ । ईश्वरसँग एकाग्र भइसकेपछि ईश्वरसँगको आनन्दमा अथवा आत्मासँगको आनन्दमा पुगिसकेपछि बाहिरको भोग विलासका कुराहरु उसका लागि तृण बराबर मात्रै हुन्छ ।
स्वामी पञ्चशील बनेर जुन पहिरन अनि कपाल तथा दारी लामो बनाइरहनु भएको छ परम सत्यको मार्गका लागि के यो साँच्चै जरुरी हो वा आफूलाई पृथक देखाउनका लागि मात्रै हो ?
यो योग तथा ऋषि परम्परा हो । योगी, ऋषि तथा तपस्वीको आफ्नै किसिमको पहिरन एवं लाउने, खाने परम्परा हुन्छ त्यस शैली अन्तर्गत हामी जानुपर्ने हुन्छ । हरेक व्यक्तिलाई परिचय दिने जस्तै यो दारी, कपाल देखि सकेपछि यसले यिनीहरु तपस्वी, साधक तथा योगी हुन् । र, यिनीहरु संसारसँग अलि फरक बसेका छन् । सादगीमा बसेका छन् । यिनीहरुमा वैराग्य छ । यिनीहरु आफ्नो बाहिरी रुपलाई चिटिक्क बनाउने संसारको फेसनमा गएनन् र भित्र अन्तर्मुखी हुँदै जाँदा बाहिरी कुराहरुलाई प्राकृतिक रुपले रहन दिने भएको हुनाले योगीहरूको भेषभुषा लामो कपाल, दारी हुन्छ । यो प्राकृतिक जीवनशैली हो ।
यस्तो आवरण भित्र धेरै कुकृत्य भएको हुनाले धेरै मानिसको मनमा यो एउटा आडम्बर मात्र हो कि भन्ने पनि भएको छ, यसमा के भन्नुहुन्छ ?
त्यो हुन पनि सक्छ । योगी बन्नु, अध्यात्ममा लाग्नु यो पनि एउटा विषय हो । यो संसारमा हरेक व्यक्ति एउटा न एउटा विषयमा लागि रहेका हुन्छन् । गृहस्थ हुनु तथा सन्यास हुनु यी दुवै एउटा विषय हुन् । योगी, व्यापारी, प्राध्यापक, इन्जिनियर तथा वैज्ञानिक हुनु यी सबै एउटा विषय हुन् । हरेक विषयमा कोही न कोही लागिरहेका हुन्छन् । हरेकको केही न केही लगाव भएर नै त्यस विषयमा लाग्ने हो ।
तर, लाग्दै मा सफल होइन्छ भन्ने छैन । यो क्षेत्रमा मात्र होइन जुनसुकै क्षेत्रमा कति सफल हुन्छन् कति हुँदैनन् । झन त्यसमाथि अध्यात्म क्षेत्र भनेको त एकदमै तरबारको धारमा हिँड्ने चुनौतीको क्षेत्र भएको हुनाले कतिपय योगीहरू योग मार्गमा लाग्छन् । तर भित्रैबाट बुझेर नलागि कन कतिपय ठाउँमा देखासिकी को भरमा लागेका पनि हुन्छन् ।
संसारको वैराग्य गएको छैन तर, म ठूलो योगी बन्छु, महात्मा बन्छु. चमत्कारी बन्छु अनि दुनियाँको अगाडि मेरो नाम इज्जत ठूलो हुन्छ भन्ने धारणा राखेर पनि यो मार्गमा लागेका हुन्छन् । त्यस्तो अवस्थामा कैयौं व्यक्तिहरुले त्यसमा संयम राख्न नसकेका कारण आडम्बर जस्तो पनि देखिन्छ ।
यथार्थमा भित्रैबाट सत्यको खोजीमा लाग्नेहरू, अनुशासनमा बसेर लाग्नेहरू, गुरु परम्परामा बसेर लाग्नेहरू, गुरुको सानिध्यमा बसेर जसले सिकेको छ त्यस्ता व्यक्तिबाट गलत कृयाकलाप हुँदैन । उनीहरु निरन्तर लागिरहन्छन् । कतै दुर्घटना वश हुने कुरा भनेको सामान्य कुरा हो । यस्तो दुर्घटनाबाट सिकेर, अनुभव लिएर सुरक्षित यात्रा गर्न सक्छ । अध्यात्ममा यस्ता कुरा आउँछन् यसमा हामी नकारात्मक नभइकन सकारात्मक रुपमा हेर्न सिक्नुपर्छ । र, कसैले आडम्बर देखाउँछ भने उसको भित्री कुरा बुझ्न तर्फ समाज लाग्नु पर्छ । बाहिर देखासिकी को भरमा व्याख्या गर्नतर्फ समाज लाग्नु हुँदैन ।
योगी पनि कहिलेकाहीँ योग मार्गमा त लाग्यो तर, सफलता प्राप्त गर्न सकेन, उसलाई सच्चा गुरु प्राप्त भएन, गुरुले यसलाई ठीकसँग मार्ग निर्देशन गर्न सकेन र यसले आफ्नो जीवनको गन्तव्य पहिल्याउन सकेन भने ऊ भड्किन पनि सक्छ । अध्यात्ममा झन भड्किने सम्भावना धेरै हुन्छ । सच्चा रुपबाट लागेका योगीहरूले गल्ती गर्दैनन् । गरि हाले पनि उनीहरु सम्हालिन् छन् । कोही योगीको भेषमा ठग्ने, भोग विलासमा लाग्ने, बढी भन्दा बढी फाइदा लिने अर्थात रावणको भेषमा सीता चोरेको जस्तो लागेका छन् भने उनीहरुबाट नराम्रो हुनु स्वभाविक हो ।
अहिले तपाईँ आश्रमको व्यवस्थापन गरिरहनु भएको छ आखिर आश्रम व्यवस्थापन र घर व्यवस्थापनमा के अन्तर छ र ?
यसमा धेरै अन्तर छ । घर गृहस्थ भनेको एउटा सीमित परिवार हुन्छ । त्यसमा आफ्नो लागि हुन्छ । आफ्नो परिवारको लागि हुन्छ । दोस्रोको लागि कमै सोचिन्छ । तर, आश्रम भनेको त सागर हो । यहाँ जुनसुकै व्यक्ति आउँछ । यहाँ आफ्नो लाभका लागि गरिँदैन । सबैको लाभको लागि गरिन्छ । जो आउँछ परमात्माकै सेवाको रुपमा हामीले गर्ने हुनाले यहाँ गरिने कर्म, क्रियाकलापहरु सबै कर्म योगको आधारमा टिकेको छ । त्यो कुनै लाभको हिसाबले नभइकन ईश्वर सेवाको रुपमा गरिन्छ र त्यो नै साधना हो ।
योगमा हामीले योगा सन, प्राणायाम गर्छौँ यो मात्रै योग होइन कि योग भनेको भक्ति योग, ज्ञान योग, कर्म योग विभिन्न प्रकारका योगहरू हुन्छन् । सेवा भावमा लाग्नु, सेवा गर्नु जो व्यक्ति आउँछ उसलाई ज्ञानको माध्यमबाट हुन्छ कि उसलाई कुनै पनि माध्यमबाट सेवा दिइन्छ भने त्यो कर्म योग हो । यसमा कुनै अपेक्षा हुँदैन । त्यसमा निरपेक्ष भएर अपेक्षा नराखि कन ईश्वरको सेवा सम्झेर गर्ने हुनाले आश्रम र घरमा यही फरक छ कि आश्रम भनेको एउटा मन्दिर भयो त्यहाँ जो व्यक्ति आइपुगे पनि हामी आफन्त सम्झिएर सेवा गर्छौँ । परिचित वा अपरिचित जो आए पनि परमात्माको स्वरुप सम्झिएर उसको आवश्यक्ता यथासम्भव पूरा गरिन्छ भने घर भनेको आफ्नो परिवार, आफ्नो छोराछोरी, आफ्नो इष्टमित्र यिनीहरु मा मात्र सीमित हुन्छ । र, आफूभन्दा दोस्रो व्यक्ति चाहिँ मेरो होइन भन्ने खालको आसक्ति भाव एक ठाउँमा केन्द्रित हुन्छ भने यसमा अनासक्त भाव एउटै ईश्वरसँग आसक्ति राखेर बाँकी सबै जो आउँछ ईश्वरकै परिवार भन्ने सम्झिएर गर्ने हुनाले यसमा धेरै फरक छ । आश्रममा गर्ने जति पनि कर्म छन् त्यो भनेको साधनाको कुरा भयो । घर, गृहस्थीमा जति पनि गरिन्छ त्यसमा स्वार्थ प्रेरित बढी हुनसक्छ । यही फरक छ आश्रम र घरमा गरिने क्रियाकलापमा ।
मूल तत्व प्राप्तीको लागि आश्रममा नै बस्नुपर्छ भन्ने चाहिँ के छ ?
गृहस्थीमा बसेर ज्ञान, ध्यान, तपस्या सम्भव हुँदैन । गृहस्थीको माहौल नै अर्कै हुन्छ । त्यहाँ बाहिरी पक्षलाई बढी ध्यान दिइन्छ । गृहस्थीमा पनि कोही माता, पिता एकदमै तपस्वी छन् भने आफ्नो बच्चाहरुलाई संस्कार दिनसक्ने माहौल पनि हुन्छ । गृहस्थीमा पनि तपस्वी माहौल र संस्कारित परिवार त्यस्तो छन् । तर, पनि हामीले केही सिक्नको लागि, केही विद्या हासिल गर्नको लागि भने गुरुकुलमा जानुपर्छ आश्रम भनेको गुरुकुल परम्परा नै हो । आश्रम भनेका खाने पिउने अड्डा मात्र होइन शिक्षालय नै हो । त्यहाँ जिज्ञासु व्यक्तिहरु बाहिरी शिक्षा नभइकन योग शिक्षा, भित्र चाहिँ उसको आत्म शुद्धि, चेतन शुद्धि, आत्म विकास प्राप्त गर्नको लागि नै आश्रममा जाने हो । त्यस्ता योग्य गुरुहरुले आश्रममा बसेर त्यस्ता विद्यार्थीहरुलाई शिक्षा दिने हाम्रो ऋषि परम्परा, गुरुकुल परम्परा हो । त्यसकारण जुनसुकै आश्रम पनि त्यही परम्परामा चलेको हुन्छ । त्यसकारण गृहस्थीमा पाइने कुरा गृहस्थीमै पाइन्छ । आश्रममा पाइने कुरा आश्रममै पाइन्छ । आश्रमलाई पालन, पोषण गर्ने पनि गृहस्थ नै हुन्छन् । उनीहरूद्वारा नै यसलाई हरेक प्रकारले सहयोग भइरहेको हुन्छ भने आश्रम भनेको त्याग, वैराग्य सिद्ध गर्ने, साधना, तपस्या सिद्ध गर्ने, सत्य प्राप्त गर्ने एउटा महत्वपूर्ण स्थान नै हो । त्यसो हुनाले गृहस्थ र आश्रममा यति भिन्नता छ ।
आश्रमको व्यवस्थापन कसरी चलिरहेको छ ?
व्यवस्थापनको लागि गुरुहरूकै कृपा छ । गुरुहरूको कृपाले आश्रममा आउने भक्तजनहरुको श्रद्धा प्रेमले नै आश्रम चलिरहेको छ । आश्रम चलाउन कठिन पनि छ । तर, त्यसलाई हामीले कठिन नसम्झि कन सहज रुपले चलिरहेको छ । भन्नुपर्दा यो एउटा त्याग वृत्तिले चलिरहेको छ । भिक्षाबाट चलेको हुनाले श्रद्धापूर्वकको दान, अनुदान आश्रमले स्वीकार गर्छ । प्रेम पूर्वक, सद्भावले कसैले केही दिन्छ भने स्वीकार गर्ने हो ।
आश्रमले कस्ता कार्यक्रमहरु सञ्चालन गर्ने गर्छ ?
यो आश्रम २५ वर्षदेखि चलिरहेको छ । हामीले सात दिन, पन्ध्र दिनका विभिन्न कोर्सहरू सञ्चालन गर्ने गरेका छौँ । हामीले दुई दिने, तीन दिने छोटा कोर्सहरु भने गरेका छैनौँ । अहिले भने मान्छेलाई आश्रम आउने चाहना पनि छ तर, समय नभइरहेको सन्दर्भमा हामीले पनि दुई, तीन दिने कोर्स सञ्चालन गर्ने बारेमा सोचिरहेका छौँ । मौन साधना, आध्यात्मिक परामर्शका कक्षाहरु गर्ने बारेमा हामीले सोचिरहेका छौँ । अहिले भनेको स्वस्फूर्त रुपमा कोही आउँछ भने हामीले सिकाउने गरेका छौँ ।
आश्रमको मुख्य उद्देश्य के हो ?
स्वामी सच्चिदानन्द विशुद्ध देवले यस हंसदा आश्रमलाई नेपालमा योगको केन्द्रको रुपमा स्थापना गरेर जानुभयो । उहाँको समाधि स्थल पनि यहीँ आश्रम परिसरमा नै छ । उहाँको जन्म भारतमा भए पनि नेपाललाई कर्म भूमी बनाएर योगको केन्द्रको रुपमा गरेर जानु भएको छ । योगमा रुचि राख्ने, चाहना राख्नेहरूले यहाँ आएर योग सिकेर जान सक्नुहुन्छ । नेपाल आफैँमा योग भूमी हो, शिव भूमी हो । यहाँका हरेक स्थान योग मय छ । यहाँका हरेक ठाउँ अध्यात्मले ओतप्रोत छ । यहाँ आउने विश्वका हरेक मानिसले आत्मीयता महसुस गर्छन् । यसकारण पनि हामी यसलाई एउटा योग, अध्यात्मको केन्द्रको रुपमा विकास गर्न खोजिरहेका छौँ । हाम्रो उद्देश्य पनि त्यही हो ।
आश्रमको मुख्य उद्देश्य भनेको योग, अध्यात्ममा लागेर सत्यको खोजी गर्ने, आत्म ज्ञान प्राप्त गर्ने र जन्म मृत्युको चक्रबाट माथि उठेर कोही योग, ध्यान, तथा अध्यात्मको बाटोमा लाग्न चाहन्छ भने उसलाई योग, अध्यात्मको बाटोमा लागेर ईश्वर प्राप्तिको बाटोमा लाग्न सहयोग गर्नु नै आश्रमको मुख्य उद्देश्य हो । त्यसका अलावा आश्रमको कुनै अन्य उद्देश्य छैन । कोही मानिसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र आत्मिक रुपले अनि चेतनाको स्तर माथि उठाउनु नै आश्रमको उद्देश्य हो ।