झापा क्षेत्र नं १ : मा विश्वप्रकाश शर्माको हारको ह्याट्रिक कि जितको सुरुवात ?

झापा क्षेत्र नं १ : मा विश्वप्रकाश शर्माको हारको ह्याट्रिक कि जितको सुरुवात ?

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक ०७, २०७९

नेपाली काँग्रेसभित्र प्रष्ट वक्ताको छवि बनाएका नेता हुन्, विश्वप्रकाश शर्मा । नेविसंघको अध्यक्ष हुँदै पार्टी केन्द्रीय समिति सदस्य प्रवक्ता बनेका शर्मा गत महाधिवेशनबाट निर्वाचित महामन्त्रीमा जिम्मेवारीमा छन् ।

काँग्रेसमा सभापति शेरबहादुर देउवा र शेखर कोइरालाका दुई बलिया गुटबीच सभापति र महामन्त्रीमा कडा टक्कर रहेका बेला शर्मा प्रकाशमान सिंहको कमजोर समूहबाट महामन्त्रीका प्रत्यासी बन्न पुगेका थिए । तर उनले प्रकाशशरण महत र प्रदिप पौडेललाई पछि पारे र महामन्त्रीमा निर्वाचित हुन सफल  भए ।

पार्टीभित्र बलियो छाप बनाउँदै लगे पनि उनी गृहजिल्ला झापामा भने चुनावी मोर्चामा विगत सफल हुन सकेका छैनन् । २०७० र २०७४ मा भएका निर्वाचनमा उनी पराजित हुन पुगे । २०७० मा एमालेका रविन कोइरालासँग करिब ६ सय मतान्तरमा पराजित भएका शर्मा २०७४ मा वाम गठबन्धनका राम कार्कीसँग झण्डै २८ सय मतान्तरले हारे ।

यसपटक भने उनै राम कार्कीको सहयोगमा शर्मा चुनावी मोर्चामा सत्तारुढ गठबन्धनको उम्मेदवार बनेका छन् । उनी झापा–१ मा गठबन्धनका साझा उम्मेदवार हुन् । तीन चुनावमा उनले प्रतिस्पर्धी पनि अलग अलग पाएका छन् । यसपटक उनको भिडन्त एमालेका अग्नि खरेलसँग हुदैछ । लामो समय काठमाडौँका कानून व्यवसायी   खरेल केपी ओली प्रधानमन्त्री हुँदा सुरुमा कानुनमन्त्री र पछि महान्यायधिवक्ता भइसकेका व्यक्ति हुन् ।

यो क्षेत्रमा सत्ता गठबन्धन एमालेको गठबन्धनभन्दा करिब ८ हजार मतले पछि छ । एमालेसँग ३१ हजार २३२ मत छ भने राप्रपासँग ५ हजार ९२२ मत छ । राप्रपाको मत एमालेलाई गएको अवस्थामा शर्मालाई जितका लागि तटस्थ र लोकप्रिय मत तान्नुपर्ने हुन्छ । झापा–१ मा सत्ता गठबन्धनको २९ हजार ४७८ मत छ । यो एमाले र राप्रपाको मत एकैठाउँमा पार्दा हुने मतभन्दा करिब ८ हजार कम हो । 

मीठो र बान्की पुर्‍याएर बोल्नसक्ने कला, जनतासँग सहजै भिज्नसक्ने क्षमता, स्पष्ट वक्ताको छवि बनाएका शर्मा चुनावी मोर्चामा पास हुने रणनीतिसहित यतिबेला चुनावी मैदानमा खटिएका छन् । उनका प्रतिस्पर्धी खरेल झापा–२ बाट चुनाव लड्न चाहन्थे । तर देवराज घिमिरे सो क्षेत्रमा उम्मेदवार बनेपछि शर्माले खरेल प्रतिद्वन्द्वी पाएका हुन् । यो एमालेको बलियो पकड भएको क्षेत्र मानिन्छ । त्यसैले यसपटक शर्माले जितको सुरुवात गर्छन् या हारको ह्याट्रिक गर्छन् भन्ने ठोकुवा गरेर भन्न सक्ने अवस्था छैन

। झापा–१ मा मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुर नगरपालिकाका ९ र १० नम्बर वडा तथा बुद्धशान्ति गाउँपालिकाका वडाहरू ४, ५, ६, ७ पर्छन् । यो क्षेत्रमा करिब १ लाख २ हजार मतदाता छन् । 

गत ३० वैशाखमा भएको स्थानीय तहको चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतका आधारमा यो क्षेत्रमा खरेल बलियो उम्मेदवार हुन् । एमालेको यहाँ ३१ हजार २ सय ३२ मत छ । 

शर्माको नेपाली कांग्रेससँग २४ हजार ५९ मत छ भने राप्रपासँग ५ हजार ९२२ मत, नेकपा (माओवादी केन्द्र) सँग ३ हजार ९०५ मत, नेकपा (एकीकृत समाजवादी) सँग १ हजार २५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग २६२ मत छ ।

यो क्षेत्रमा सत्ता गठबन्धन एमालेको गठबन्धनभन्दा करिब ८ हजार मतले पछि छ । एमालेसँग ३१ हजार २३२ मत छ भने राप्रपासँग ५ हजार ९२२ मत छ । राप्रपाको मत एमालेलाई गएको अवस्थामा शर्मालाई जितका लागि तटस्थ र लोकप्रिय मत तान्नुपर्ने हुन्छ । झापा–१ मा सत्ता गठबन्धनको २९ हजार ४७८ मत छ । यो एमाले र राप्रपाको मत एकैठाउँमा पार्दा हुने मतभन्दा करिब ८ हजार कम हो । 

तर स्थानीय तहको मत ‘ट्रेन्ड’ कै आधारमा संघीय चुनावमा मत खस्दैन । २०७४ सालमा भएको प्रतिनिधिसभा चुनावमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार राम कार्की शर्माभन्दा धेरै अघि थिए । तर अन्तिममा शर्मा २ हजार ८६३ मतले मात्रै पराजित भए । यसरी नै शर्माले लोकप्रियताको मत पाएमा शर्माले जित्न सक्ने सम्भावना बलियो छ । अग्लिँदो राजनीतिक व्यक्तित्व र पटकपटक सोही क्षेत्रका उम्मेदवार भएका कारण पनि उनलाई चुनाव जित्न अप्ठ्यारो छैन । तर एमालेको संगठित मत नै एकजुट भएर खस्यो भने  खरेल भारी बन्ने सम्भावना त्यतिकै छ ।